काठमाडौं । आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दा अर्थमन्त्री युवराज खतिवडाले खेलकुद क्षेत्रको विकासका लागि उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको घोषणा गरे । उनले खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकासका गर्न बजेट विनियोजन गरेको पनि बताए ।
यसअघि उच्च पर्वतीय प्रशिक्षण केन्द्रबारे धेरै अध्ययन र छलफल भने नभएका होइनन् । यसको सम्भावनाका विषयमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभन्न संघसंस्थाहरुले अध्ययन गरेका थिए । यसैका लागि भन्दै सरकारले वर्षेनी बजेट समेत विनियोजन गर्दै आएको थियो । बजेट विनियोजन भए पनि काम भने सुरु हुन सकेन । जस कारण यस शीर्षकमा छुट्याइएको बजेट 'फ्रिज' हुँदै आएको थियो ।
तर, पहिलो पटक कर्णाली प्रदेश भन्दै तोकेरै छुट्याइएको यस बजेटले मुर्त रुप लिनेमा कर्णालीबासीहरु आशावादी छन् । कर्णाली प्रदेशलाई सरकारले खेलकुदमा पहिलो पटक समेट्दा खेलाडीहरु निकै उत्साहित भएका छन् । तर, सरकारी कार्यलाई ओलम्पियन धावक हरिबहादुर रोकायाले ‘आकाशको फल आँखा तरि मर’ उखानको संज्ञा दिएका छन् ।
सरकारले उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि बजेट विनियोजन गरे पनि काम हुने-नहुनेमा उनले शंका व्यक्त गरे । “सरकाले बजेट त छ्ट्याएको छ । तर, नेपालको राजनीतिले यसलाई कहाँसम्म पुर्याउने हो पत्तो छैन्,” कीर्तिमानी धावक रोकायाले भने, “यसअघि पनि धेरै पटक उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि भन्दै बजेट नछुट्याइएको होइन । तर, यस पटक कर्णाली प्रदेश नै भन्दै तोकेको छ । हाम्रै प्रदेशलाई भनेर छुट्याएको बजेट सही ठाउँमा लाग्छ भन्ने आशा लिएको छु ।”
उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि कर्णाली प्रदेशको जुम्ला सदरमुकाम र गुठिचौर सबैभन्दा उपयुक्त स्थान मानिन्छन् । तर, बजेटले कर्णाली प्रदेशको कुन क्षेत्र र ठाउँलाई समेट्ने हो त्यो भने अझै टुंगो लाग्न बाँकी छ ।
“बजेट कर्णाली प्रदेशको कुन ठाउँमा जान्छ, सरकारले कसरी काम गर्छ । त्यो अझै बाँकी नै छ । किनकि कर्णाली प्रदेशको उच्च पर्वतीय क्षेत्रमा जुम्ला, हुम्ला, डोल्पा र कालिकोट पनि पर्छन्,” उनले भने, “तर, सबैभन्दा उच्च पर्वतीय प्रशिक्षण केन्द्र बन्ने सम्भावना भएको जिल्ला जुम्ला हो ।”
कर्णाली प्रदेशबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भएका छन् । कीर्तिमानी धावक रोकायाले पनि हाई-अल्टिच्युडमै प्रशिक्षण गरेका थिए । सुनमाया बुढा, दुर्गा बुढा, रेजिना, पुर्ण, लक्ष्मीजस्ता खेलाडी कर्णाली प्रदेशको जुम्लामा प्रशिक्षण गरेका खेलाडी हुन् । यीमध्येबाट धेरै खेलाडीले अन्तर्राष्ट्रिय यात्रा गर्दै पदक समेत भित्र्याइसकेका छन् । जुम्लामै उच्च पर्वतीय प्रशिक्षण केन्द्र बने सबैका लागि उपयुक्त स्थान हुने रोकायाको विश्वास छ ।
“प्रशिक्षण केन्द्र जुम्लामै भयो भने झनै राम्रो हुनेछ । यो स्थान प्रशिक्षण गर्न र अन्य व्यक्तित्वका लागि समेत उपयुक्त हुनेछ । तर, त्यो बजेट कर्णालि प्रदेशलाई भनेर प्रदेशको अन्य कुनै कुनामा दियो भने एक क्षणको खुसी मात्रै हुनेछ,” उनले भने ।
पहिला छुट्याइएको बजेटले अहिलेसम्म त्यस्तो कुनै कार्य नै गर्न सकेन । पहिलो पटक कर्णाली प्रदेशलाई भन्दै छुट्याइएको बजेटले जुम्लाका दुई स्थानमा उच्च पर्वतीय प्रशिक्षण केन्द्र निर्माण गर्न सकिने छ । बसोबास, हावापानी र खानपिनको हिसाबमा पनि जुम्ला उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि उपयुक्त स्थान रहेको उनको बुझाइ छ । “आशा गरौं प्रशिक्षण केन्द्र जुम्लामै हुनेछ । यसका लागि जुम्लाका दुई स्थानलाई छनोट गर्न सकिन्छ । तर, सदरमुकामका थोरै जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ,” रोकायाले भने ।
उनले जुम्लामा नभएपनि खेलकुद पूर्वाधार नभएको कर्णालीको कुनै पनि स्थानमा भए प्रदेशवासी नै धेरै खुसी हुने उनको भनाई छ ।
यसले देशलाई नै फाइदा
सुन्दरताले समेत भरिएका कर्णाली प्रदेशको माथिल्लो स्थानमा उच्च पर्वतीय प्रशिक्षण केन्द्र बन्दा यसले देशलाई नै ठूलो फाइदा पुर्याउने छ । भ्रमण वर्षको नाममा करोडौं पैसा खर्च भइरहेको बेला उच्च पर्वतीय प्रशिक्षण केन्द्रले अझै टेवा पुर्याउने छ ।
अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गर्न सकियो र यसलाई प्रचारप्रसार गर्न सके विश्वभरका खेलाडी समेत प्रशिक्षणका लागि आउनसक्ने अवस्था सृजना हुनेछ । “कर्णालीमा अन्तर्राष्ट्रियस्तरको उच्च पर्वतीय प्रशिक्षण केन्द्र बनाएर त्यसको प्रचारप्रसार गर्न सक्यो भने यसले देशलाई नै फाइदा पुर्याउने छ,” उनले भने, “यहाँ प्रशिक्षणका लागि विश्वभरबाट खेलाडी आउनेछन् । यहाँ सबै खाले इन्डोर खेलका प्रशिक्षण केन्द्र निमार्ण गर्न सकिन्छ । आउटडोरमा दौडका सबै विधा, साइक्लिङ र ट्राइथलनका लागि सबैभन्दा उपयुक्त छ ।”
उनले थपे, “अर्को देशलाई हुने फाइदा भनेको धेरै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने छ । जसले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउँदै पदक जितेर नेपाललाई विश्वसामु चिनाउन मद्दत गर्नेछ ।” दुई सय मिटरको आफ्नै ट्रयाक बनाएर प्रशिक्षण दिइरहेका रोकायाले बाग्लुङ र विदेशीहरु फ्रान्सबाट प्रशिक्षणका लागि खेलाडी आएको बताए ।
“रारा घुम्न आएका दुई जना फ्रान्सेली पर्यटनले हामीलई प्रशिक्षण गरिहेको देख्दा उनीहरु पनि आए । उनीहरुले एक साता प्रशिक्षण गरेका थिए,” उनले भने, “फ्रान्सेलीले मलाई भनेका थिए । यहाँ धेरै गाह्रो हुँदो रहेछ । यहाँ प्रशिक्षण गर्ने खेलाडीले विश्वको कुनै पनि देशमा गएर पदक जित्न सक्छन् ।”
अल्ट्रा धाविका मिरा राईका छ जना प्रशिक्षार्थीसमेत प्रशिक्षणका लागि जुम्ला पुगेको उनले बताए । उनीहरुलाई पनि एक महिना अल्टिच्युड पचाउन समय लागेको रोकायाले सुनाए ।
तर, जुम्लामा अन्तर्राष्ट्रिय स्तरको उच्च पर्वतीय प्रशिक्षण केन्द्र बनाउन त्यती सजिलो भनेछैन । जसका लागि विभिन्न अन्तर्राष्ट्रिय नियम पुगेका प्रशिक्षण केन्द्रसँगै अस्पताल र डाक्टर हुन अत्यावश्यक हुन्छ । तर, डाक्टर जान नमान्ने तथा सिटामोलसमेत नपाइएका समाचार सञ्चारमाध्यममा बारम्बार आइरहेका बेला यो कार्य त्यती सजिलो भने छैन ।
उच्च पर्वतीय प्रशिक्षण केन्दको आवश्यकता किन ?
उच्च स्थान अर्थात हिमाली क्षेत्रमा प्रशिक्षणका लागि निर्माण गरिएका प्रशिक्षण केन्द्रलाई उच्च पर्वतीय प्रशिक्षण केन्द्र भनिन्छ । समुन्द्री सतहबाट जति उचाई बढ्दै गयो त्यति अक्सिजनको मात्रा कम हुन्छ । अक्सिजनको मात्रा कम भएको स्थानमा खेलाडीले प्रशिक्षण गर्दा अक्सिजनको मात्रा बढी भएको स्थानमा उनीहरुको प्रर्दशन राम्रो हुने आँकलन गरिएको छ ।
अक्सिजनको मात्र कम हुँदा प्रशिक्षण गर्न निकै नै गाह्रो हुन्छ । जसले त्यहाँ प्रशिक्षण गरेका खेलाडीलाई अन्य क्षेत्रमा गएर प्रशिक्षण गर्न र प्रतियोगिता खेल्दा धेरै सहज हुने गर्छ ।
“उच्च क्षेत्रमा प्रशिक्षण गर्दा अक्सिजनको मात्रा कम हुन्छ र खेलाडीलाई प्रशिक्षण गर्न गह्रो हुन्छ । तर, तिनै खेलाडी अक्सिजनको मात्रा बढी भएको क्षेत्रमा गएर प्रतियोगिता खेल्दा उनीहरुको प्रदर्शन राम्रो हुन्छ,” धावक रोकायाले भने, “जुम्लामा एक घण्टा दैडिन सक्ने खेलाडीले तराईमा गएर तीन घण्टा दौडिन सक्छ ।”