५० को दशक । राष्ट्रियता र देशभक्तिको आन्दोलनका लागि उर्वर बन्दै थियो । टनकपुर समझदारी-सन्धि प्रकरणले देशभक्तिको सुषुप्त भावनालाई एकाएक जागृत तुल्याएको थियो । तिनताक राष्ट्रियताको आन्दोलनको नेतृत्व नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले गरेका थिए ।
२०४६ सालमा व्यवस्थाविरोधी आन्दोलनको उठान हुँदा भण्डारी भर्खरै खुला राजनीतिमा प्रवृष्ट भएका थिए । वाचाल भण्डारीको व्यक्तित्वसँग देश साक्षात्कार–परिचित भइसकेको थिएन । टनकपुर सन्धि–सम्झौता प्रकरणलले उनको व्यक्तित्वलाई माथि उकासिदियो ।
तर, टनकपुर सम्झौता र भण्डारी एकैसाथ किनारा लागे ।
टनकपुर समझदारी संसद्ले पारित नगर्दै मुलुक मध्यावधि चुनावमा प्रवृष्ट भयो । भण्डारीलाई दासढुङ्गाले निल्यो ।
भण्डारी अल्पायुमै अस्ताए पनि असमान सन्धि–सम्झौता खारेजीको आन्दोलन भने मुर्झाएन । बरु सङ्घर्षले नयाँ–नयाँ पात्र सिर्जना गर्दै गयो । र, नेपाली राजनीतिमा हलचल ल्याइरह्यो । तरङ्गित तुल्याइरह्यो ।
त्यसैको उत्पादन थिए– योगेश भट्टराई ।
“टनकपुर सन्धि–सम्झौता देशभक्तिपूर्ण आन्दोलनको महत्त्वपूर्ण परिघटना हो । यसैले त हो, नेपालमा देशभक्ति आन्दोलनको दियालो जगाएको,” संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री भट्टराई सीधै पचासको दशकतिर फर्कन्छन् ।
सुदूरको भू–खण्ड, दार्चुलाका उद्दीप्त व्यक्तित्व थिए, प्रेमसिंह धामी । मदनको अवसानपछि राष्ट्रियताको आन्दोलनको बिँडो उनैले थामे । दार्चुलाको पश्चिमोत्तर पहाडको फेदी, कालापानीमा सन् १९५२ देखि भारतीय फौज तैनाथ रहँदै आएका थिए । मातृकाप्रसाद कोइरालाका पालादेखि नेपाल सीमावर्ती पहाडी इलामा भारतीय सैनिकले परेड खेलिरहे पनि हटाउने तागत कसैको पुगेको थिएन ।
नेपाल पक्षको बेवास्तालाई फाइदामा बदल्दै भारतीय पक्षले भूमि हडप्ने कृत्यलाई बढावा दिइरह्यो । कालापानीमा सैन्य, अर्धसैन्य (इन्डो–टिबेटिन, बोर्डर फोर्स) फौज तैनाथ गर्नेदेखि कृत्रिम काली नदी खडा गर्नेसम्म कृत्यलाई निरन्तरता दिइ नै रह्यो । यी सबै घटनाबारे दार्चुलाकै जनप्रतिनिधि प्रेमसिंह पूरापूर जानकार थिए । राजनीतिमा उपयुक्त भूमिका पाएपछि ‘कालापानीको ऐंठन’ लाई काठमाडौंसँग चिनापर्ची गराए ।
“राष्ट्रियताको सवालमा नभूतो, न भविष्यती पात्र हुन् प्रेमसिंह धामी । उहाँले कालापानीमा भारतीय फौजले बुट बजारिरहेका छन् नभनेको भए अहिलेसम्म काठमाडौंलाई थाहा हुन्थ्यो कि हुँदैनथ्यो,” शङ्का व्यक्त गर्छन्, भट्टराई ।
५० को पूर्वाद्र्धतिर ललितपुरको न्यु समिट होटल तलतिर डेरा गरी बस्थे प्रेमसिंह । पार्टीको महाकाली इन्चार्ज जिम्मेवारीमा भएकाले टनकपुर, कालापानीका अनेकन कथा–व्यथा हुन्थे उनीसँग । पार्टीका युवावयका नेता–कार्यकर्तालाई राष्ट्रियताको ‘कक्षा’ लिन्थे ।
युवा पुस्ताले आफूले बोकेको मुद्दा बोक्न काँध देओस् ठान्थे । पार्टीमा कम्युनिस्ट विचार दृष्टिकोण दुखे पनि माटो नदुखेकाप्रति उनको गुनासो हुन्थ्यो । कालापानीको छाती नदुख्नेहरू राष्ट्रघाती हुन् भन्ने उनको ‘भाष्य’ थियो । कालान्तरमातिनै विचारका ‘शिष्य’ भए भट्टराई । प्रेमसिंहको गुरुकुलमा भर्ती भए ।
भट्टराई अलि अगाडि फर्किएर सम्झन्छन्, टनकपुरले देशको छाती चिरिएकाबेला तत्कालीन एमालेले साइकल र्याली आयोजना गरेको थियो । शारदा ब्यारेजमाथि, टनकपुरबाट सुरु भएको साइकल र्याली काठमाडौं आइपुगेको थियो ।
“तिनताका उहाँ पार्टीको महाकाली इन्चार्ज हुनुहुन्थ्यो । पार्टीको अगुवा भएको नाताले साइकल र्यालीको अगुवाइको जिम्मा पनि उहाँकै थियो,” भट्टराई साइकल र्यालीबारे प्रष्ट्याउँछन् ।
त्यतिबेला साइकल र्यालीको अगुवाइ गर्ने उर्वादत्त पन्त, ऋषि लुम्साली, दीपक भट्ट, ईश्वरी रावललगायत कतिपय नेताहरू अद्यापि राजनीतिमा सक्रिय, अर्ध–सक्रिय छँदै छन् ।
टनकपुर सन्धि अघि नबढाउन अदालतमा मुद्दा पर्यो । तत्कालीन एमाले ५७ दिन संसद अवरूद्ध गर्यो । सडकमा रेलिङ, बारहरूले पाउनुसम्म दुःख पायो । काठमाडौंको आकाश, टायरको धुवाँमा रङमङ्गियो । बहुदल ल्याउन एकै कित्तामा उभिएका दलहरू विभाजित मात्र थिएनन्, भिडन्तको मुडमा थिए । टनकपुर प्रकरणले ठूलो मुठभेडको अवस्था सिर्जना गरेको थियो । साइलक र्यालीलाई पनि ठाउँठाउँमा अवरोध भयो । कावासोतीमा त ठूलो झडप भएर हताहतीकै अवस्था बन्यो ।
भट्टराई त्यो दिन सम्झँदै भन्छन्, “यसले महाकालीको सेरोफेरोमा ठूलो राष्ट्रघाती काम हुँदै छ भन्ने कुरालाई तलतल लग्यो । राजनीतिमा हुर्कंदै गरेको पुस्तालाई राष्ट्रियताका आन्दोलनमा एकाकार गराउन काम गर्यो । युवामा सुषुप्त अवस्थामा रहेको राष्ट्रियता र देशप्रेमको भावना एकाएक जागृत तुल्यायो ।”
संसद् विघटन गरेर मध्यावधिमा गएसँगै टनकपुरको घाउ टन्किन मत्थर भएको थियो । एकीकृत महाकाली सन्धिका नाममा रूप फेरेर प्रकट भयो ।
टनकपुर समझदारीले काङ्ग्रेस–एमाले विभाजित भएका थिए । एकीकृत महाकाली सन्धिले एमालेलाई नै विभाजित अवस्थामा पुर्याइदियो । महाकाली सन्धिले मालेको जन्म दियो । त्यतिबेला पार्टीले मियो गुमाएको र वृद्ध मनमोहनको नियति महाभारतको पात्र भीष्मपितामहको जस्तो भएको चर्चा पार्टीभित्र नभएको होइन ।
यद्यपि, त्यसको धेरै विवेचना गर्न चाहँदैनन् भट्टराई । गल्तीहरू पाठ सिक्नका लागि हुन्छन्, प्रायश्चितका लागि हुँदैनन् । उनी यो मान्यतामा अहिले पनि अविचलित छन् ।
“एकीकृत महाकाली सन्धिको प्रसङ्ग आउँदा तल्लो र माथ्लो तटीय क्षेत्रको कुरा आयो,” उनी लिम्पियाधुराको प्रसङ्ग कोट्याउँदै भन्छन्, “प्रेमसिंह धामीले नै महाकालीको उद्गम लिम्पियाधुरा भएकाले कालापानीबाट भातरीय सेना हटाउनुपर्ने तर्क बलियोसँग राख्नुभयो ।”
प्रेम र भट्टराईको सान्निध्यता यतिमै सीमित छैन ।
२०५३ सालमा वामदेव पहिलोपल्ट उपप्रधान र गृहमन्त्री नियुक्त भए, लोकेन्द्रबहादुर चन्दको नेतृत्वको सरकारमा । २०५२ सालबाट सुरु भएको माओवादी जनयुद्धको फैलावट बढ्दो थियो । आफ्नैजस्तो झण्डा बोकेर हिँडेको पार्टीले हतियारबन्द सङ्घर्षको नेतृत्व गरेकाले र निशानामा पार्टीकै नेता–कार्यकता पर्न थालेपछि तत्कालीन एमाले चिन्तिन हुने नै भयो । वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ भन्ने निष्कर्ष कतिपयको थियो । वामदेव पनि त्यही विचारका पक्षपाती थिए ।
२०५४ सालमा स्थानीय निकायको निर्वाचन भएको थियो । एमालेले डाँडाकाँडा सर्वत्र विजयको दुन्दुभी बजायो । पहाडी इलाकाका एकाध ठाउँमा माओवादीले अवरोध पनि पुर्यायो । भर्खर उदय भएको ‘शिशु शक्ति’ले सुरुआती समयमै आतङ्क मच्चाएपछि वामदेवले गृह मन्त्रालयको तर्फबाट ‘माओवादी समस्या समाधान आयोग’ गठन गरे । आयोगको अध्यक्ष थिए तिनै प्रेमसिंह ।
आयोगमा नेपाल प्रहरीका तर्फबाट कृष्णमोहन श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट देवीराम शर्मा र योगेश पनि त्यसको सदस्य थिए । उनीहरूले रुकुम, रोल्पा, सल्यान, प्युठान आदि जिल्लाका बारुदी आकाश नियाले र माओवादी जनयुद्धको फैलावटलाई मिहीन र वस्तुनिष्ठ अध्ययन गरे । त्यही आयोगको निष्कर्षका आधारमा पनि भन्न सकिन्छ– प्रेमसिंह धामी राजनीतिज्ञ मात्रै थिएनन्, सुदूरदृष्टि पनि थिए ।
प्रेमसिंह आयोगले उतिबेलै निष्कर्ष निकालेको थियो– माओवादी जनयुद्ध हतियारले किनारा लगाउन सकिने सङ्घर्ष होइन । राजनीतिक समस्या भएकाले वार्ताद्वारा समाधान खोज्नुपर्छ । वर्गशक्ति नै युद्धमा होमिएकाले नेकपा एमाले नै पहल गर्नुपर्छ । ‘युद्ध विद्रोही र सरकारमध्ये एकले जित्ला तर देशले हार्नेछ । युद्धले हामी कङ्कालको धनी त होउँला तर देश कङ्गाल बन्ने छ,’– प्रतिवेदनको सार यही थियो ।
विडम्बना त्यो थाहा पाउन ८ वर्ष पर्खनुपर्यो । ८ वर्षमा शवहरूको उरूङ लाग्यो । देश पचास वर्षपछि धकेलियो ।
भट्टराई अहिले पनि आफ्नो तर्कमा उभिन्छन्, “उतिबेला हाम्रो निष्कर्ष कार्यान्वयन भएको त्यत्रो जनधनको क्षति र भौतिक संरचनाको नष्ट हुने नै थिएन । भौतिक सम्पत्ति त जोडिएला, सिर्जना गर्न पनि सकिएला, गुमेका नागरिकको पुर्ताल कहिल्यै सम्भव छैन । हामीलाई त्यसको ऐंठन भइरहनेछ ! युगौंयुगसम्म मूल्यबोध भइरहनेछ !”
नियति सदैव निर्मम हुन्छ । युद्धले आयोगकै सदस्य बनेकालाई समेत निल्न बाँकी राखेन । नेपाल प्रहरीबाट सशस्त्रमा लगेर महानिरीक्षक बनाएका कृष्णमोहन युद्धकै भुङ्ग्रोमा परेर निभे ।
जे होस्, धामीको दूरदृष्टिको साक्षी योगेश बने ।
० ० ०
२०५४ भदौ २८ को धमिलो बिहान । बासिबिदो बसेको थियो । दिउँसो अनेरास्ववियुको कार्यक्रम भएकाले बिहान चाँडै उठेका थिए योगेश । प्रेमसिंहको खबर आयो– नुवाकोट जाउँ । घुमेर पनि आउँला । प्रेमसिंहले एक्लै जान मन नलागेकाले साथी खोजेको आशय व्यक्त गरे । योगेशलाई आपद आइलाग्यो– दिउँसो आफैं आयोजक रहेको कार्यक्रम छ । प्रेमसिंह नुवाकोट जाने प्रस्ताव राख्छन् ।
उनले मुटु मसक्क कसेर ‘म भ्याउन्न’ कमरेड भने । “म बिरलै उहाँका कुरा काट्थेँ । तर, त्यसदिन काटेँ । काट्नु बाध्यता नै थियो । तर, दिउँसोसम्म ग्लानिबोध भइरह्यो,” उनी अहिले पनि सम्झन्छन् । योगेश दिउँसभर कार्यक्रममै व्यस्त रहे । बेलुका अबेरतिर हुनुपर्छ, खबर आयो– प्रेमसिंह चढेको जिप दुर्घटनामा पर्यो । उनी सख्त घाइते रहेको खबर छ ।
अघिल्लो दिनमात्रै काठमाडौंलाई कालापानी किन दुख्दैन ? लेखमार्फत तहल्का मच्चाएका, भोलिपल्टै दुर्घटनामा परेको खबर ! उनी छाँगाबाट खसेजस्तो भए । मुटु शीताङ्ग भयो । “राष्ट्रियताको मुद्दा उठाउने सबैको नियति एकै हुने के दशा आइलाग्छ पार्टीलाई ? दासढुङ्गाकै पुनरावृत्ति त होइन,” झल्याँस्स भए योगेश ।
दुर्घटनामा परेपछि प्रेमसिंह बाँचिदिए कालापानीको मुद्दा धर्मराउने थिएन भनेर उनलाई छटपटी भइरह्यो । उनको छटपटीले हात थाम्ने वाला थिएन । अन्ततः प्रेमसिंह रहेनन् । कालापानीको मुद्दा देशलाई नै सुम्पिएर महाप्रस्थानको बाटो रोजे ।
० ० ०
राष्ट्रियताको मुद्दा उठाउँदा उठाउँदै प्रेमसिंह दृष्यपलटबाट गायब भएपछि बिँडो थाम्ने जिम्मा योगेशहरूको थाप्लामा आइपर्यो । नुवाकोट, मदानपुरको केउरिनी भिरमा प्रेमसिंह अस्ताए पनि कालापानीको मुद्दा मर्न नदिने अठोट गरे ।
“वास्तवमा प्रेमसिंह रहनुभएन भन्ने सुनेपछि मेरो मुटु चोइटियो । देशले सच्चा राष्ट्रवादी गुमाएजस्तो अनुभूति भयो । उहाँको शेषपछि नै मलाई अब यो मुद्दा मैले बोक्नुपर्छ भन्ने भान भयो । उहाँ छँदासम्म त हामी पछि लागे पुग्थ्यो,” योगेश भावविभोर हुन पुग्छन् । नेपालगन्ज महाधिवेशनपछि पार्टी दुई फ्याक भयो । विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने जिम्मा योगेशकै काँधमा आयो । २४ क्यारेटको राष्ट्रवादी घोषणा गर्दै पार्टी विभाजन गरेको औचित्यपुष्टि गर्नु त छँदै थियो । प्रेमसिंहले देखाएको बाटोमा अविचलित हिँड्नु पनि थियो । दोहोरो कार्यभार पो थपियो ।
२०५५ सालको वैशाखको दिन हुनुपर्छ । पार्टी विभाजनको रापताप सेलाइसकेको थिएन । समय पनि उस्तै अग्नितुल्य थियो । अनेरास्ववियूका तत्कालीन अध्यक्ष योगेश, उपाध्यक्ष रूपनारायण श्रेष्ठ, महासचिव रवीन्द्र अधिकारी पोखरा जाँदै थिए । दमौलीमा रोकिए ।
चियानास्ताका लागि दमौली उत्रिएका थिए, आन्दोलनको योजनाका पो अङ्कुरायो । “तिनताक हामी अधिकांश आन्दोलनका कार्यक्रम यात्राकै दौरानमा तय गथ्र्यौं । यात्राले परिस्थिति र परिवेशसँग साक्षात्कार गराउँथ्यो । त्यहीअनुसार दिमाग चलायमान हुन्थ्यो र योजना तय हुन्थ्यो,” उनी पुलकित हुँदै प्रस्तुत हुन्छन् ।
त्यही दमौलीको खाजाघरमा बनेको हो– कालापानी मार्चपासको योजना । नेपाली कम्युनिस्ट आन्दोलनमा चिनियाँ सांस्कृतिक र रुसी अक्टोबर क्रान्तिको प्रभाव जीवितै छ । कालापानी मार्चपास पनि चीनको लङमार्चबाट प्रभावित भएर तय भएको भन्न हिच्किचाउँदैनन् योगेश ।
“त्यो खाजाघरमा तीनवटा अभियान तय भएको थियो । पहिलो, काठमाडौं–कालापानी मार्चपास गर्ने । यसले राष्ट्रिय एकताको भाव मुखर गर्छ । विद्यार्थी आन्दोलनलाई देशभक्तिको बाटोमा त हिँडाउँछ नै, राष्ट्रलाई पनि एकताबद्ध गर्छ । दोस्रो, विवि अभियान चलाउने । त्यसले विश्वविद्यालयदेखि विद्यालयसम्मका मुद्दालाई सडकमा ल्याउँछ । कक्षाकोठाभित्रका समस्यालाई राष्ट्रिय रूप दिन्छ । तेस्रो,साजा भनेर सांस्कृति जागरण अभियान सञ्चालन गर्ने । मेची–महाकाली सांस्कृतिक जागरण पैदा गर्ने । यी तीन अभियानले अनेरास्ववियूलाई विद्यार्थीका बीचमा जबरजस्तढङ्गले स्थापित गर्छ,” भट्टराई त्यो दिन सम्झँदै सुनाउँछन्, “यसरी हामी कालापानी मार्चपासको निष्कर्षमा पुग्यौं ।”
० ० ०
२०५५ जेठको पूर्वाद्धतिर योगेशसहित तत्कालीन अनेरास्ववियूको समूह पार्टीका शीर्ष नेता, साहना प्रधान, वामदेव गौतमलगायत नेतासँग सामूहिक बस्यो । अंशमा राष्ट्रियताको मुद्दा बोकेर मूल घर छाडेको मालेले विद्यार्थीको अभियानसँग विमति राख्ने कुरै थिएन । सैद्धान्तिक अनुमति दिइहाल्यो ।
अझ अगाडि बढेर वामदेवले भने, “कालापानी पुगेर विद्यार्थीको शक्ति देखाएर आउनू !”
अनेरास्ववियू कालापानी क्षेत्र जाने तयारीमा जुट्यो । लिम्पियाधुरा, कालापानी, लिपुलेक सन् १६६० देखि भारतीयको प्रशासनिक अधिनमा छ । दुई देशबीच दरार ल्याउन होइन आफ्नो भूमिको जगेर्नाका निम्ति उठेको स्वतःस्फूर्त आन्दोलन थियो त्यो । योगेशहरूले दुई देशबीचको मैत्रीसम्बन्ध शीतमिश्रित तुल्याउन खोजेका थिएनन् । लैनचौरमा रहेको भारतीय राजदूतावासलाई औपचारिक जानकारी गराउन उचित ठाने ।
भारतीय राजदूतावासमा जानकारी पत्र बुझाउन जाँदाको रोचक संस्मरण पनि भट्टराई सुनाउँछन् । कालापानी मार्चपास आरम्भ गर्नु केही दिनअघि हुनुपर्छ, उनीहरू पत्र बोकेर दूतावासको मूलढोकाअगाडि पुगेका थिए । त्यसअघि पनि अनेरास्ववियूले विभिन्न विषयमा दूतावासलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । सङ्गठनको पत्र बोकेर दूतावासको ढोकामा ठिङ्ग उभिएको पहिलो अनुभव पनि थिएन ।
त्यसदिनको माहोल भने भिन्नै थियो ।
अघिपछि दूतावासले कर्मचारी (प्रतिनिधि) मार्फत ज्ञापनपत्र बुझ्थ्यो । र, जवाफ दिन आवश्य नै नठान्ने रवाफ दोहो¥याउँथ्यो । त्यसदिन तत्कालीन नेपालका लागि भारतीय राजदूत केभी राजनले भित्रै जाने अनुमति दिए । विद्यार्थीको प्रतिनिधि मण्डलसँग कुरा गर्न पनि आफैं तम्सिए ।
“कालापानी क्षेत्र जानुपर्ने काम के हो ?,” विद्यार्थीलाई केभीको पहिलो प्रश्न यही थियो ।
“हामी कालापानी क्षेत्र जाँदै छौं । पैदलै गएर वस्तुस्थिति बुझ्ने र तपाईंहरूका सेना किन त्यहाँ बसेका हुन् जान्न चाहन्छौं ? नेपाली भूमिमा भारततर्फको फौज बसेको कुरा अन्तर्राष्ट्रिय समुदायलाई पनि जानकारी गराउन चाहन्छौं । तपाईंहरूलाई पनि यो कुरा थाहा होस् ।” योगेशहरूले निर्भीकतापूर्वक आफ्ना कुरा राखे ।
विद्यार्थीको दृढ आवाज सुनेपछि भावभङ्गी बिगारेका केभी राजनले अलि चर्को स्वरमा भने, “तिमी विद्यार्थीहरू कालापानी किन जान्छौ ? तिमीहरूका नेतासँग हाम्रो कुरा भइरहेको छ । उनीहरूको कुरा हामीले बुझेका छौं । यहाँका नेताहरूको सबै कुरा हामीलाई थाहा छ । तिमीहरूले त्यहाँ जाने इच्छा त्याग्दा हुन्छ ।”
केभीसँग उनीहरू अनुमति लिन गएका थिएनन् । राजदूतको हैसियतको व्यक्तिसँग धेरै चर्काचर्की गर्नु पनि खासै अर्थपूर्ण नहुने ठानेर विद्यार्थीहरू सरक्क फर्किए । कार्यालय आए र आवश्यक चाँजोपाँजो मिलाउनतिर लागे ।
२०५५ जेठ २२ गते योगेशको नेतृत्वमा ५७ जनाको टोली बागबजारको कार्यालय रहेको रातोघरबाट बिदाबारी भएर कालापानी प्रस्थान गर्यो । मार्चापासमा सहभागी हुन ३०० जनाले नाम लेखाएका हुँदा हुन् । ठूलो समूह व्यवस्थापन गर्न कष्टसाध्य हुने भएकाले छाँटिएर ५७ जनामा सीमित भएका थिए ।
समूहमा दीपक पाण्डे, सीताराम बराल, शरद अधिकारी, सञ्जय घिमिरे र गणेश खत्री पत्रकार पनि थिए । समूहको नेतृत्वचाहिँ नन्दु उप्रेतीले गरेका थिए । इन्दिरा पन्त, इन्दिरा अर्याल, पार्वती केसी, सुस्मिता ढकाल, कौशिला थापा आदि महिला नेतृहरू पनि टोलीमा थिए ।
बागबजारबाट ब्यानरसहितको र्याली आरम्भ भयो । उनीहरूलाई कलङ्की पुर्याएर जुलुस बिदाबारी भएको थियो । कलङ्कीबाट ओह्रालो झर्दा नागरिकहरू कतिले बिदाइको हात हल्लाउँथे, कतिको आँखामा कौतूहलता प्रतिविम्बित हुन्थ्यो ।
त्यो क्रमले गाडी चढेपछि पनि निरन्तरता पाइनै रह्यो । धादिङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी जिल्लाले ठाउँ–ठाउँमा स्वागतद्वार बनाएर टोलीको स्वागत र बिदाइ एकैपटक गरेको थियो । योगेश बैतडीसम्म त्यसअघि पनि पुगेका थिए, भारतको पिथौरागढ छिचोल्दै । यसपटक उनीहरू नेपालकै भूमिबाट हुँदै बैतडीको गोकुलेश्वर पुगे । बैतडीसम्म कच्ची बाटो र अत्यन्त कष्टकर यात्रा थियो । देशभक्तिको हृदय उमाल्ने भावका अघिल्तिर ती सबै गौण हुने नै भए ।
कालापानी मार्चपासको विगुल फुक्नुअघि उनीहरूले अतिक्रमित भूभाग समेटेको नक्सा छापेका थिए । गाडीबाट ओर्लिएर ठाउँठाउँमा टाँस्दै, कोणसभा गर्दै बैतडीसम्मको यात्रा तय गरे ।
“अतिक्रमित भूभाग समेटेको नक्सा देख्दा नागरिकहरू द्रवीभूत हुन्थे । हामीसँग कालापानी जान पाए हुन्थ्यो ठान्थे । कतिको अनुहारमा भय गरिबीसँगै बास बस्न आइपुगेको हुन्थ्यो,” उनी त्यतिबेलाको क्षण सम्झिन्छन् ।
गोकुलेश्वरबाट सुरु भयो कठिन यात्रा ।
समूहमा सबैसँग समभाव थियो । सबैको रगतमा देशभक्तिको रगत उम्लिएर आएको थियो । गोडा फड्कारेर हिँडेको अनुभवचाहिँ धेरैसँग थिएन । देशभक्तिले घँचेटेको थियो ।
दार्चुला प्रेमसिंह धामीको वियोगले नियास्रिएको थियो । राष्ट्रियता र माटो प्रेमको आन्दोलन पनि एक किसिमले ‘टुहुरो’ बनेको थियो । तिनै प्रेमसिंहले खनेको राष्ट्रियताको आलो डोब पछ्याउँदै योगेशहरू दार्चुला पुगेका थिए । कालापानी गर्जन गर्जिनुअघि प्रेमसिंहप्रति श्रद्धाञ्जली अर्पण गर्ने इच्छा जागृत भयो ।
त्यो रात उनीहरू प्रेमसिंहको गाउँ शङ्करपुरपाली गएर बस्ने निधो गरे । प्रेमसिंहले पढेको स्कुलमै स्थानीयले खानाको बन्दोबस्त मिलाएका रहेछन् ।
“अभिशप्त कालापानी नियाल्न हिँडेका ताता र राता युवाहरूलाई अझै तताउनुपर्छ भने हो कि के हो ? त्यहाँका बा–आमाहरूले दालको झोल होइन, खुर्सानीको झोल उमाल्नुभएछ,” ठट्टा गर्छन् योगेश ।
भोलिपल्ट शङ्करपुरबाट खलङ्गातर्फ अघि बढे । खलङ्गामा पार्टीका केही नेताहरू स्वागतका लागि तम्तयार थिए । कालापानीको मुद्दा प्रखर रूपमा उठेपछि तत्कालीन पार्टीका केही नेताहरू, गणेशसिंह ठगुन्ना, दीपक भट्ट, नरबहादुर धामी, ऋषि लुम्सालीले पनि कञ्चनपुर–कालापानी मार्च गरेका थिए । त्यो समूहका अधिकांश लाखापाखा लागिसकेका रहेछन् । ठगुन्ना र भट्ट खलङ्गामा स्वागतार्थ बसेका थिए ।
दार्चुलाकै पार्टी नेता हुनाले ठगुन्नासँग भूगोलको यथेष्ट जानकारी थियो । भर्खरै कालापानी क्षेत्र पुगेर फर्किएकाले मार्चको दुःख पनि हुने नै भयो ।
दुईतिर भीमकाय पर्वत श्रेणी । तल खोँचभित्र सौम्य र आफ्नै लयमा बगिरहेको महकाली । त्यही महाकालीको फेरो समातेर कष्टकर यात्रा छिचोल्नुपर्छ । जति पर्वत पछ्याउँदै गयो, उति ढुङ्ग्यान डाँडो र उच्चाटिला पहाडसँग जम्काभेट हुन्छ । अक्करको भिरजस्ता लाग्ने ठुल्ठूला पहाडको छेउकुनामा मानवबस्ती त भेटिन्छन् । तर, आफैं गरिबी र अभावसँग सिँगौरी खेलिरहेका निमुखाहरूले केले स्वागत गर्नु ! महाकालीको चित्कार सुनेर हुर्किएका एकलास गाउँमा मानिसहरूले दुःख र व्यथाबाहेक सत्कार गर्ने कुरा केही छैन ।
ठगुन्नाले वृतान्त पस्किएपछि योगेशहरूले खानेकुराको जोहो गरे । दुई–चारजनाले मात्रै बोक्दा मुस्किल हुन्थ्यो । समूहका सबैले बाँडीचुँडी झोलामा हाले । लम्बेतान बाटो तय गरे ।
जेठ २७ गते खलङ्गाबाट कालापानीको यात्रा आरम्भ भयो । त्यही दिन चट्टाने उकालो छिचोल्दै सुनसेरा भन्ने थुम्केली गाउँमा पुगे । बाटामा सञ्चारको सुविधा थिएन । सङ्गठनमा कालापानी हिँडेको टोली कता पुग्यो भन्ने चिन्ता छँदै थियो । मानिसहरूमा पनि कौतूहलता व्याप्त थियो ।
विशाल पर्वतमालाको मुनिपट्टिको सुनसेरा गाउँमा भीएचएफ फोनचाहिँ रहेछ । त्यहीँबाट योगेशले काठमाडौंमा रिपोर्टिङ गरे । समूहमा रहेका पत्रकारले आ–आफ्ना सञ्चारमाध्यमलाई सूचित गरे ।
कालापानी मार्चले काठमाडौंमा भूकम्पीय तरङ्ग उत्पन्न गरेको थियो । त्यसको कम्पन दार्चुलाको गाउँघरसम्म पुगेको थियो । भारतीयहरूको बलमिच्याइँ र हेपाहा प्रवृत्ति सदियौंदेखि झेल्दै आइरहेका महाकाली सेरोफेरोका मानिसहरू भय र तनावग्रस्त देखिन्थे । भारतीयहरूले फेरि तुइन काटिदिने हुन् कि भन्ने चिन्ताले उनीहरू पिरोलिइरहेका हुन्थे । आखिर उनीहरूको ‘सास’ भन्नु त्यही फलामे डोरी र घिर्नी न हो ।
“तुइनमा झुन्डिँदै वारपार गरिरहेका दीनहीन जीवन देख्दा आफैंलाई महाकालीमा हेलिउँजस्तो लाग्थ्यो । उनीहरूको पुकार सुनिदिने र उपकार गरिदिने कोही थिएन,” योगेश भावुक हुँदै भन्छन्, “पीडाको एक्लो साक्षी महाकाली सिवाय केही थिएन ।”
सुनसेराबाट जति अघि बढ्दै गयो, उति दुःखका पहाड अग्लिँदै गएँ । जति नदीको किनार पछ्याउँदै अघि बढ्थे उती महाकाली कर्कश र विदारक बन्दै जान्थ्यो । निमुखा निःसहायहरूको जीवनलीला छिनेको व्यथा सुन्दा घरीघरी महाकाली कालीकै रौद्र अवतार प्रतीत हुन्थ्यो ।
“हामी कहिले महाकालीसँग लय मिलाउँदै राष्ट्रप्रेमका गीत गाउँथ्यौं । कहिले महाकालीकै तालमा भक्कानिन्थ्यौ । कालापानी सम्झँदा रगत उम्लिएर आउँथ्यो । दुई पैताला नअट्ने बाटाको दर्द सम्झँदा छाती चिरिन्थ्यो,” योगेश महाकालीको कहर क्रमशः पस्कँदै जान्छन्, “कतैकतै भिर, पहराले निल्न बाँकी बाटो भेटिन्थ्यो । कतै त बाटो नभेटेर हराउँथ्यौं पनि ।”
उनीहरू कालीको काँठैकाँठ अघि बढिरहेका थिए । पारिपट्टि भारतीय सैनिकका डफ्फा देखिन थाले । सुरुसुरुमा सैनिक जाँच चौकी होला भन्ठानेर खासै वास्ता गरेनन् । तर, केहीबेरमा सेनाको लावालस्कर देखिन थाल्यो । आकाशमा हेलिकोप्टरले फन्को मार्न थाल्यो ।
“हामी लड्न, भिड्न जान लागेका थियौँ । माटोको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य हो । हो, हामी कर्तव्यको त्यही हिस्सा पूरा गर्न जाँदै थियौं । रत्तिभर विचलित भएनौं,” उनी पुलकित हुँदै सुनाउँछन् ।
बासका लागि कतै घर, कतै भेडीगोठ भेटिए । सबैजना सुत्न नपुगेर पालो गर्नुपर्थ्यो । “स्याँठले निद्रा पर्दैनथ्यो,” योगेश भन्छन्, “गीत, कविता रात गुजार्ने माध्यम बन्थे ।”
जेठ २८ गते बेलुकी उनीहरू छाङ्ग्रु पुगे । अजङ्ग, अजङ्गको पहाडको फेदीमा रहेको छाङ्ग्रुमा अझै हिउँ रित्तिइसकेको थिएन । अझ पर महाकाली त हिउँमुनि नै अलप भएको थियो । माथि डाँडाकाँडातिर पनि हिँउ नै फुलेका थिए । पारिपट्टि, भारततर्फका डाँडाकाँडाचाहिँ पठार प्रतीत हुन्थ्यो ।
त्यो दिन उनीहरू छाङ्ग्रुमै बसे । छाङ्ग्रुनजिकै सीतापुलबाट भारतीय पनि ओहोरदोहोर गर्थे । तथापि, छाङ्ग्रुसम्म नेपालको प्रशासनिक उपस्थिति नभएको होइन । छाङ्ग्रुमा चार–पाँचजना प्रहरीको दरबन्दी रहेछ । काठमाडौंबाट विद्यार्थीको समूह मार्चपासका लागि आउँदै छ भन्ने सूचना पाएपछि खलङ्गाबाट पनि केही प्रहरी थपिएका रहेछन् ।
छाङ्ग्रुबाट भारतीय फौजले ओगटेको कालापानी झन्डै १७ किलोमिटवर पर्छ । बीच भूभाग मानवबस्ती शून्य छ । तिङ्करसम्म मानिसहरूको उपस्थिति रहे पनि त्यो बर्खामा मात्रै सम्भव हो । शरद सुरु भएपछि हिउँ पर्न थालिहाल्छ । त्यसपछि छाङ्ग्रुका मानिसहरू पनि डुम्लिङ र खलङ्गा कुन्चा (बसाइँ) झर्छन् ।
छाङ्ग्रुमा बासको प्रबन्ध भए पनि खानको बन्दोवस्त रहेनछ । छाङ्ग्रुकै यो हाल छ, माथिको अवस्था कल्पिएर उनीहरूको दिमाग चक्कराउन थाल्यो । स्थानीयले काठमाडौंदेखि गएको ५७ जना र छाङ्ग्रुबाट थपिएका १० प्रहरीसमेतलाई पुग्ने फापरको रोटी र आलुको तरकारी तयार पारिदिए ।
त्यही बोकेर उनीहरू कालापानीतर्फ अघि बढे । छाङ्ग्रुबाट अघि बढेपछि तल्लो र माथ्लो कौवानी आइपुग्दो रहेछ । जहाज अवतरण गर्न मिल्ने विशाल फाँटका छेउछाउमा घरहरूका अवशेष देखिन्थे ।
“महाकालीको उच्चाटिलो बगर छिचोल्दै त्यहाँ पुगेपछि हो थाहा भयो, कालापानी क्षेत्रको महत्त्व । समथर भूभागमा खण्डर बनेका घरहरूले मन विरक्त तुल्यायो । मोटरबाटो मात्रै बनेको हुँदो हो त मानिसहरूले थातथलो छाड्दैनथे । अनेक कुरा मनमा झुत्तिन थाले,” कालापानी मार्च सम्झँदा योगेशको मन अहिले पनि रोमाञ्चित हुन्छ ।
जेठ ३० गते बिहान ११ः३० बजे उनीहरू कालापानी क्षेत्र पुगे । त्यतिबेलासम्म कालापानी क्षेत्रको तस्बिर एउटा मात्रै उपलब्ध थियो । धरानका पत्रकार यात्रा थुलुङले खिचेको तस्बिर उनीहरूले पोस्टरमा प्रयोग गरेका थिए । तस्बिरमा भारतीय सैनिकहरू नेपाली भूमिमा क्याम्प बनाएर बसेका थिए । भारतीय सैनिकले कालापानी क्षेत्रमा थुप्रै बङ्करसमेत खनेका थिए ।
त्यो ठाउँभन्दा चार सय मिटर वरै उनीहरूलाई भारतीय सैन्य फौजले अगाडि बढ्न मनाही गर्यो । “हामी हाम्रो भूमिमा, हामीले किन टेक्न नपाउने ? हामी होइन तिमीहरू यहाँबाट हट” योगेशको समूह कड्कियो । रूपनारायण झनै उत्तेजित भए । समूहका रहेका अरूले पनि आक्रोश थाम्न सकेनन् । ‘भारतीय सैनिक कालापानी छाड्’ को नारा लाग्यो ।
निर्जन पहाडको यात्रा । गाँसबासको ठेगान छैन । बाटोमा असुविधा होला, दाउरा र लाठीको आवश्यकता पर्ला भनेर उनीहरूले साथमा खुकुरी पनि बोकेका थिए । त्यही खुकुरी निकालेर हावामा उज्याउन थाले । “वीर गोर्खालीका पुस्ता हौं भनेर देखाउन पनि होला हामी सम्हालिएनौं । झोलाको खुकुरी निकालेर नारा पो लगाउन थालेछौं,” योगेश सम्झन्छन् ।
विद्यार्थीले हुलहुज्जत गर्न थालेपछि भारतीय फौजले माइकिङ गरे, “कृपया त्यहाँबाट एक पाइला पनि अगाडि नबढ्नुहोस् । नत्र बल प्रयोग गर्न बाध्य हुनेछौं ।” आफ्नो माटो आफैंका लागि निषिद्ध भएपछि योगेशहरूको आवेग कसैगरी थामिएन । माटोको रक्षा गर्न नसकेकामा खुबै ग्लानिबोध भयो । भारतीय सैनिकले परेड खेलेको माटो छातीमा नटाँसी नजाने निधो गरे ।
“कालापानी क्षेत्र पुग्दा थाहा हुन्छ, माटो के हो ? देश के हो ? काठमाडौं बस्दा एकथरी अनुभूति भएको थियो । कालापानी पुगेपछि जुनसुकै मूल्य चुकाएर भए पनि आफ्नो भूमि जोगाउनुपर्छ भन्ने वीरभाव निःसृत भयो,” उनी अझै उद्वेलित हुन्छन् ।
झन्डै एकघण्टा भारतीय फौजसँग गलफती भयो । फिल्ड कमान्डर गोर्खाका गुरुङ थरका युवक रहेछन् । विडम्बना आफ्नै खुन (भूमि) माथि उभिएर भारतीय नुनको सोझो गर्न लाचार, अभिशप्त थिए । उनलाई कालापानी नेपालको भूमि हो भन्ने ज्ञात थियो । तथापि, विवशताको बन्धनले मसक्क कसिएका थिए । उनको आँखामा देशप्रेम उद्वेलित हुन खोज्थ्यो । तर, भारतीय बर्दीको छायाले त्यसलाई बेपत्ता तुल्याइदिन्थ्यो ।
कालापानी टेक्न प्रतिबन्धित भएपछि उनीहरूले काठमाडौंबाटै तयार पारेर लगेको ज्ञापनत्र बुझाउन खोजे । “हामीलाई नबुझ्ने आदेश छ,” फौजले पुनः देशको बोली बोल्यो । योगेशहरू त्यसै फर्कनेवाला थिएनन् । भारतीय फौजले नबुझे पनि माटोको काखमा सुम्पिएर उनीहरू आए ।
“आफ्नै भूमि टेक्नसमेत प्रतिबन्धित तुल्यायौं । छिटै तिमीहरू यहाँबाट हट्न बाध्य हुनेछौ,” त्यतिबेला आफूहरूले कसम खाएको योगेशले भुलेका छैनन् ।
आफ्नै भूमिमा परचक्रीले बुट बजारेको टुलुटुलु हेरेर आएको २२ वर्षपछि सरकारले कालापानी क्षेत्र समेटेको नक्सा प्रकाशनमा ल्याएको छ । संयोगले त्यो क्षण पनि वर्तमान सरकारको सदस्य भएको नाताले योगेशले पनि साक्षी बस्न पाए । त्यो महत्त्वपूर्ण घडीमा वर्षौंअघि कालापानीकै भूमिमा उभिएर देखेको सपना अर्थसार्थक भएको आभाष भयो ।
“मानचित्र प्रकाशित हुँदा अर्धखुसी छु म । माटो नै आफ्नो भएको दिन कालापानी नै गएर खुसी साट्छु,” योगेश पुनः वाचा बाँध्छन् ।
तस्बिर सौजन्य : नन्दु उप्रेती