विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता हुने भएको छ । पार्टी एकताको घोषणा मंगलबार हुनेछ ।
राप्रपाका अध्यक्ष पशुपति शमशेर जबरा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मंगलबार पार्टी एकता हुने बताएका छन् ।
नयाँ बन्ने पार्टीको नाम राप्रपा हुनेछ । झण्डा राप्रपा नेपालको गाईसहितको हुनेछ भने चुनाव चिन्ह केन्द्रीय समितिले टुंगो लगाउनेछ । राप्रपाले हलो र राप्रपा नेपालले गाई नछाडेपछि यसको जिम्मा केन्द्रीय समितिलाई लगाइएको हो ।
पार्टीमा कार्यकारी अध्यक्ष र राष्ट्रिय अध्यक्ष गरी दुईजना अध्यक्ष हुनेछन् । उच्च स्रोतका अनुसार राप्रपा नेपालले गणतन्त्र स्वीकार गर्ने र राप्रपाले हिन्दू धर्म स्वीकार गर्ने सहमति भएको छ । तर, यसबारेमा दुवै दलका नेताहरूले आ–आफ्नो वैचारिक स्वतन्त्रता कायम रहने बताउँदै आएका छन् ।
राप्रपा नेपालले आफ्नो वैचारिक बाटो बिराएको भन्दै पार्टीका नेता तथा कार्यकर्ता अर्को पार्टीमा जान लागेपछि एकता बाध्यता बनेको स्रोतले बतायो ।
“पार्टीबाट नेता तथा कार्यकर्ताहरू अर्को पार्टीमा जान थाले, यसले पार्टीलाई राम्रो गर्दैन भन्ने निष्कर्ष निकालेर बृहत् राष्ट्रवादी एकताका लागि पार्टी एकता गर्न लागेका हौं,” राप्रपा नेपालका एक नेताले बाह्रखरीसँग भने, “अहिलेको शक्ति सन्तुलनमा राप्रपा नेपाललाई ठूलो पार्टी हुनुपरेको छ । अस्तित्वको संकटले गर्दा पनि एकता अनिवार्य थियो । एकतापछि पनि नमिलेका केही विषयहरू विस्तारै मिल्दै जान्छन् ।”
स्रोतका अनुसार राप्रपा नेपालले हिन्दू धर्म र राजतन्त्र छाडेको भन्दै कार्यकर्ताहरू अन्य पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बनेको थियो । “पार्टीले हिन्दू धर्म र राजतन्त्र छाड्यो भनेर कार्यकर्ताहरू अन्य पार्टीमा जान थाले,” स्रोतले भन्यो ।
दुवै पार्टीका कार्यकर्ताको तीव्र दबाबपछि एकता हुन लागेको हो । “पछिसम्म पनि नेताहरूमा एकता गर्ने इच्छा थिएन, तर युवा नेताहरूको दबाबले एकताको ढोका खोलेको हो,” राप्रपा नेपालको ती नेताको भनाइ छ । नेतृत्वमा लामै रस्साकस्सी भएपछि दुईजना अध्यक्ष रहने गरी एकताको टुंगो लागेको हो ।
“नेताहरूले अरूको कुरा बढी सुन्ने तर कार्यकर्ताको कुरै सुन्न नचाहने अवस्था थियो,” राप्रपा नेपालका एक नेताले भने, “अहिले त्यसको अन्त्य गरेर एकता प्रक्रिया अघि बढाइएको हो ।” एकीकृत पार्टीमा दुवैतर्फका गरी ३ सय केन्द्रीय सदस्य हुनेछन् ।
राष्ट्रिय अध्यक्षमा पशुपति शमशेर राणा हुनेछन् भने कार्यकारी अध्यक्ष कमल थापा । निर्देशन समितिमा दुई अध्यक्ष, लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी रहनेछन् । निर्देशन समितिको नेतृत्व राणाले गर्नेछन् । यसले पार्टीका नीतिगत निर्णयहरू गर्नेछ ।
“सरकारमा जाने÷नजाने, कसलाई पठाउने, विभागमा कसलाई राख्नेलगायत निर्णय निर्देशक समितिले गर्छ,” राप्रपाका एक नेताले भने ।
हिन्दू धर्म दुवै पार्टीले स्वीकार गरिसकेपछि राजतन्त्र कि गणतन्त्र भन्ने विषय महाधिवेशनले टुंगो लगाउने सहमति भएको छ । “चैत मसान्तसम्ममा महाधिवेशन हुन्छ, त्यसैले यसको टुंगो लगाउँछ,” राप्रपाका सहप्रवक्ता किरण गिरीले भने । स्रोतका अनुसार राप्रपा नेपालले राष्ट्रपतिको निर्वाचन र नयाँ संविधान स्वीकार गरेर सरकारमा गइसकेकाले अब गणतन्त्र मान्न कुनै समस्या छैन ।
तत्कालीन राजा ज्ञानेन्द्रले ०६१ माघ १९ गतेको कदमलाई हेर्ने विषयमा विवाद भएपछि ०६२ पुस २६ गते राप्रपा विभाजन भएको थियो ।
त्यसपछि दुवै पार्टीले २÷२ वटा निर्वाचनमा सहभागिता जनाए । ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा राप्रपाको ८ सिट थियो भने राप्रपा नेपालको ४ सिट ।
०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन । समानुपातिकतर्फ भने २५ सिट प्राप्त गरेर संविधानसभामा चौथो शक्ति कायम भएको थियो ।
राप्रपाले ३ सिट प्रत्यक्ष चुनावबाट जितेको थियो । राप्रपाको अहिले संसद्मा १२ सिट छ । राप्रपा संसद्को छैटौं ठूलो दल हो । दुवै पार्टी एकता भएपछि एकीकृत राप्रपा ३७ संसद्मा सिटको हुनेछ ।
“देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यकता रहेकाले हामीले पार्टी एकताको महसुस गरेका हौं,” राप्रपा नेपालका सहायक प्रवक्ता एवं युवा नेता मोहन श्रेष्ठले बाह्रखरीसँग भने, “पार्टीका कार्यकर्ता र शुभेच्छुकको भावनाअनुसार पार्टी एकता हुन लागेको हो । यो जीवन्त एकता हुनेछ । अब एकीकृत राप्रपा युवाहरूको पार्टी हुनेछ ।”
राप्रपाका सहायक प्रवक्ता गिरीले पनि बृहत् प्रजातान्त्रिक राष्ट्रवादी शक्तिका लागि दुई पार्टी एक हुन लागेको बताए ।
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३ ११:०१
प्रतिक्रिया दिनुहोस्