
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ हुँदै बग्ने सेती नदीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना सञ्चालनमा आएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको प्रवर्द्धनमा निर्माण भएको आयोजना गत वर्षको कार्तिक २७ गतेबाट उत्पादन सुरु गरेको थियो । उक्त आयोजनाको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो ।
कुल २६६.३५ वर्ग किलोमिटर क्याचमेन्ट, १६ क्युसेक डिस्चार्ज, १६३.५० मिटर ग्रस हेड र ६ किलोमिटर लामो हेडरेस पाइपसहित टनेल प्रविधिबाट निर्माण गरिएको आयोजनामा दुई थान होरिजेन्टल एक्सिस फ्रान्सिस टरबाइन जडान भएको कम्पनी प्रमुख जगतबहादुर पोखरेलले जनाए ।
आयोजनाबाट वार्षिक १९.०९ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । हाल आयोजनाबाट मासिक औसत १.५९ गिगावाट आवर विद्युत् उत्पादन भइरहेको जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणको १३२ केभी क्षमताको ट्रान्समिसन लाइनमार्फत आयोजनाबाट उत्पादित विद्युत् लेखनाथ सबस्टेसनमा जोडिएको छ ।