
काठमाडौं । बज्र इनर्जी भेन्चर्स प्रा. लि.द्वारा प्रवर्द्धित बज्र मादी जलविद्युत् आयोजना (२४.८ मेगावाट)को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । एनएमबि बैंक लिमिटेड लिड बैंक तथा कृषि विकास बैंक लिमिटेड सदस्य बैंकका रूपमा आवद्ध रही कुल तीन अर्ब ७४ करोड पाँच लाख रुपैयाँबराबरको ऋण लगानी सुनिश्चित गरिएको हो ।
कास्कीको मादी गाउँपालिका भएर बग्ने मादी नदीमा निर्माणाधीन यो आयोजना अन्नपूर्ण हिम श्रृंखलाको पानी स्रोतमा आधारित रन अफ रिभर प्रकृतिको हो । हाल २४.८ मेगावाट क्षमताको इजाजत प्राप्त गरेको आयोजना स्तरोन्नति गरी ३१ मेगावाट बनाउने प्राविधिक अध्ययन सम्पन्न भई विद्युत् विकास विभागमा अनुमतिका लागि आवेदन दिइसकिएको कम्पनीले जनाएको छ ।
पोखराबाट २० किलोमिटरको दूरीमा रहेको यस आयोजनाबाट २४.८ मेगावाट क्षमतामा वार्षिक १४७.१२३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ भने क्षमता वृद्धि गरी ३१ मेगावाट बनाउँदा वार्षिक १८३.११ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको कम्पनीको भनाइ छ ।
परियोजनाको डिजाइनअनुसार ४३ मिटर लामो ड्याम, १०० मिटर लामो डिसेन्डर, झन्डै आठ किलोमिटर लामो सुरुङमार्ग र १२५.५ मिटरको ग्रस हेड हुनेछ । दुईवटा फ्रान्सिस भर्टिकल टर्बाइनमार्फत उत्पादित विद्युत् १३२ केभीको ७.२ किलोमिटर लामो सिंगल सर्किट ट्रान्समिसन लाइनद्वारा लेखनाथ सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
२०७८ माघ २८ गते नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन तथा उत्पादन इजाजत समेत प्राप्त भइसकेको छ। कुल लागत ५ अर्ब ३५ करोड रुपैयाँ अनुमान गरिएको आयोजनाको निर्माण अवधि ४२ महिना तोकिएको छ । आयोजनाको प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सल्टेन्ट रहेको छ ।
यसअघि कास्कीकै माछापुच्छ्रेमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न गरिसकेका ऊर्जा व्यवसायी जगतबहादुर पोखरेलको नेतृत्वमा लगानीकर्ताको रूपमा आवद्ध छन् । संस्थापक लगानीकर्ताबाट ७० प्रतिशत स्वपुँजी र ३० प्रतिशत सार्वजनिक निष्कासन (आईपीओ) मार्फत पुँजी जुटाउने योजना रहेको छ ।
३१ मेगावाट क्षमतासहित आयोजनाको कुल लागत ६ अर्ब ३५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाको निर्माण कार्य सुरु भइसकेको र निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता आयोजक कम्पनीले जनाएको छ । कम्पनीले सरकारद्वारा तय गरिएको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई सहयोग पुग्ने अपेक्षा समेत गरेको छ ।