बिहान पत्रिका हेर्न जम्मा हुनेगरेका थियौं रोहितजीको स्टेसनरी पसलमा । हामी वीरेन दाइ (वीरेन्द्र दाहाल), पर्वतका नन्द पुन, चितवनका कृष्ण गुरुङ र म । त्यहीँ छेउमा कफी पिएर समसामयिक कुरा गर्थ्यौं महाराजगँजको चियापसलमा ।
राजनीति र पुस्तकको चर्चा गर्नुहुंथ्यो वीरेन दाइ । वीरेनदाइ र डा. गोपाल पाण्डेको निकट सम्बन्ध रहेछ रुचि मिलेर होला सायद । डाक्टर सापसँग मेरो दोहोरो चिनापर्ची त्यहीँ भएको हो । वीरेन दाइको निधनपछि डाक्टर साप सँग उठबस झन् बढेको थियो मेरो । तर ,समय क्रम संगै उहाँ विश्वविद्यालयतिर व्यस्त हुनु भयो म बर्दिया गएँ ।
आमचुनाव भयो । चुनावमा नेपाली कांग्रेसको पराजय भयो ।
लामो समयपछि एक बिहान डाक्टरसापसँग पहिलेकै ठाउँमा भेट भयो - अधिकारीको चियापसलमा ।
“के गर्दै हुनुहुन्छ आजकल ?” डाक्टर गोपालले सोध्नुभयो । (अहिले उहाँ त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागको प्रमुख हुनुहुन्छ । )
“पार्टीको तोकिएको जिम्मेवारी छैन, पढेर बसेको छु" ।
पार्टीले भर्खरै भोगेको पराजयमै केन्द्रित भएर काठमाडौंमा हाम्रो कांग्रेसका टुक्राटुक्री गुटहरू भेलामा सक्रिय थिए । पछिल्लो निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा गर्ने भन्ने थियो भेलाको विषय । विज्ञहरूसँगको बसाइमा अब कसरी जानें भन्ने विषयमा भेला आयोजकले गोपाल जीलाई पनि बोलाएका रहेछन् सुझावका लागि । गोपाल जी त्यहाँ पुग़्दा मलाई नदेखेकोले मेरो अनुपस्थितिमा चासो व्यक्त गर्नु भएको रहेछ ।
हुन त, भेला आयोजकले मलाई खबर गरेका थिए । हामी नेविसंघका पूर्वअध्यक्षहरूको फोटो राखेको ब्यानर सामाजिक सञ्जाल भर व्यापक गरिएको थियो । 'अब केही हुन्छ कि ?' ‘भनेर सामाजिक सञ्जालमा जिज्ञासा थियो ।
म भने बर्दियामै थिएँ ।
युवा भेला सम्बन्धमा मेरा आफ्नै अनुभूति र धारणा छन् । विगतमा गोविन्द भट्टराईदेखि मसम्मका पाँच पूर्वसभापति मिलेर वानेश्वरमा चियापान आयोजना गरेका थियौं । पार्टीको नेतृत्व पंक्तिसमेत उपस्थित थियो । कांग्रेसजनबीच भेटघाट ,गफगाफ भयो । कांग्रेस पुनर्मिलन जस्तो भएको थियो चियापान । गहिरो सोचले आयोजना गरिएको थिएन ।
विसं २०६४ को संविधान सभा निर्वाचनमा हारपश्चात् पनि एउटा बृहद् युवा भेला भएको थियो प्रज्ञाप्रतिष्ठानमा । पूर्वअध्यक्ष हरू नै थियौं । एनपी सावददेखि मसम्म ।
युवा विद्यार्थीको उल्लेख्य सहभागिता थियो । सबै जम्मा भयौं । भाषण भीषण भयो । त्यसै सेलायो । ठोस परिणाम शून्य । निर्वाचन पराजयको कारण खोजिएन । पार्टी र लोकतन्त्रको पल्लवीकरणको उपायको खोजी भएन । मात्र आलोचनाको रोमाञ्चकतामा नाच्यौं । हार र टिकट नपाएको भडास पोखियो । सकियो ।
युवा भेला “मात्र भडास निकास भयो ।”
त्यसैले, अब फरक ढंगले सोच्नुपर्छ भन्ने लाग्यो । लोकतन्त्रको विकासक्रम र यसले समृद्धिमा पार्ने प्रभावबारे अध्ययन गर्न लागेँ । पढ़ाइ र भोगाइमा भिन्नता पाएँ । अध्ययनजन्य बुझाइ र नेतृत्वको व्यवहार ठीक उल्टो छ । लोकतन्त्रको विपथगमनको उपचार गरी यसमा जीवन्तता पैदा गर्ने दायित्व सम्हाल्नुपर्ने कांग्रेस नेतृत्व स्वयंनै पार्टी विचार, विधि पद्धति तोडमरोड गर्दै आफूलाई 'अजंग' भान पार्न उद्यत छ ।
गोपाल जीलाई भने - त्यसैले, व्यक्तिगत समर्थन र विरोधबाट निरपेक्ष रहेर म हारको जरो केलाउँन चाहन्छु । यही अवस्थाको निरन्तरतामा राम आय पनि श्याम आय पनि तात्त्विक भिन्नता आउँदैन । विश्वबाट लुप्त हुँदैगएको कम्युनिस्ट नेपालमा किन प्रभाव विस्तार गरिरहेको छ ? लोकतन्त्रको माध्यमबाट समृद्धि ल्याउने सोचले स्थापित कांग्रेस किन खुम्चेको हो ?
जनताको समृद्धिको सपना दूर अझ दूर भएको छ । यहीँबाट गहन छलफल सुरू गर्ने भए आउँछु भनी खबर पठाएको थिएँ युवा भेलाका आयोजकलाई । पार्टी पंक्तिको अहिलेको व्यवहार पार्टीको स्थापनाको ध्येयबाट विचलित देखिन्छ । यस्मा फड़्के किनारको साक्षी सबै छन् । आफू र आसेपासेलाई टिकट दिलाउन लागि परे। पार्टी आम कार्यकर्ताको हुँदै भएन । पार्टीमा काम गरेका, आन्दोलनमा योगदान गरेकाहरू शीर्षका प्रांगणसम्ममात्र सीमित भए । उनीहरू हेपिए । चौलिया, दलाल, पार्टीमै फितलो निष्ठा भएकाहरू शीर्षका 'किचेन' प्रबन्धक भए ।
‘एलिट क्लब' अभ्यासको नकारात्मक सन्देश तलसम्म पुग्यो ।
पार्टी र लोकतन्त्र साँगुरिएको कार्यकर्ताले महसुस गरे ।
पार्टीहरू चुनावलाई सबैको पहुँचमा लैजाने उपायमा लागेनन् । गैरलोकतन्त्रवादी पार्टी र यस्को नेतृत्वबाट लोकतन्त्रको उन्नयनको अपेक्षा गर्ने कुरै भएन । लोकतन्त्रमा देखिएका कमजोरीलाई सच्याई यसलाई जनसाधारणको पहुँचमा पुर् याउने दायित्व कांग्रेसजनकै हो नेपालको लोकतान्त्रिक आन्दोलनको पर्यायको नाताले।
समयको माग लाग्छ मलाई यो ।
इतिहास बोकेका कतिपय दलहरू समयको गति सम्बोधन गर्न चुकेर विलीन भएर गएका छन्, प्रभावहीन भएर गएका छन् ।
यस सम्बन्धमा अंतर्राष्ट्रिय सम्बन्ध विषयकी प्राध्यापक नीना ख्रुश्चेवा लेख्छिन् – "कुनै समयमा माक्रों स्वयं अर्थमन्त्री भएर संलग्न रहेको सोसलिस्ट पार्टी अहिले ट्रटस्कीले भनेजस्तो ‘इतिहासको कुडादानी‘मा फालिन पुगेको छ । फ्रान्सको अर्को मूलधारको ठूलो दल चार्लस डेगालको उत्तराधिकार बोकेको मध्यदक्षिणपन्थी रिपब्लिकन पार्टीले पनि खासै राम्रो गरेको देखिँदैन । "
लोकतन्त्र गतिशील प्रणाली हो । यो स्थिर रहिरहन सक्तैन । व्यक्तिको विवेकले समयको पदचाप अनुभूत गर्छ । समयको चाप नै समाजको गतिको चाल हुंन्छ । समाजको गतिमा आउने परिवर्तनलाई सम्बोधन गर्दै जानुपर्छ । समय चालसँगै विस्तार हूँदै जाने राजनीतिक र आर्थिक गतिविधिमा जनसाधारणको पहुँच फैलाउँने पद्धतिहो लोकतन्त्र । जे छ त्यसैमा बाँधिएर रहनु लोकतन्त्र होइन।
लोकतन्त्र अहिले साँघुरै छ । यस्को फैलावटको नेतृत्व गर्नुपर्छ हामी कांग्रेसीले । प्रजातन्त्रको निम्ति शीर्षहरूको योगदान सम्मान योग्य छ । तर गणतन्त्रले समाजका बिभिन्न आयाममा आएको परिवर्तन हाम्रो र हामीपछिको पुस्ताले अनुभूत गर्न सक्छ ।
मेरो भिन्नता छ नेतृत्व पंक्तिसँग । मध्यमार्गी, समाजवादी व्यवहारबाट नेतृत्व पंक्ति विचलित छ । दक्षिणपन्थी बाटोतिर ओरालो लागेको अनुभूति मेरो छ । अब पार्टी र लोकतन्त्रको प्रस्फुटनका लागि योगदान हाम्रो पुस्ताले गर्ने हो । मेरो सोचमा सहमत हुनुभयो गोपाल जी । “रूपान्तरणकारि सोच छ तपार्इंको । तपार्इँका ‘पोस्ट'हरूमा यस्तै छनक पाइरहेको छु ।” सामाजिक सञ्जालमा मलाई पछ्छ्याउनु भएको रहेछ गोपाल जीले ।
थप्नुभो "अब लेख्नुस् “ ।
“आफुलाई सुसज्जित गर्ने मेरो सोचलाई सहयोग गर्ने साथीहरूले किताब उपलब्ध गराउने गरेको मैले उहाँलाई भने र थपेँ - पुस्तक अक्सर अंग्रेज़ी मै छन । 'गुगल‘ गर्नुपर्छ कतिपय शब्दको अर्थ जान्न।”
“नेपाली पुस्तक पनि हेर्नु भयो भने लेखनमा सहयोग होला ।” सहयोगी पुस्तक सुझाउनुभयो र थप्नुभयो ”विचार प्रकट गर्नुपर्छ, आफूमै सीमित गर्न हुँदैन ।
शंकर लामिछानेको 'अब्स्ट्र्याक्ट चिन्तन प्याज' र 'लक्ष्मी निबन्ध संग्रह' म दिन्छु । पढ़नुस् । केही आइडिया आउँछ ।”
त्यही बेला चिया आयो । सुरुप्प पार्नु भयो । केही क्षण गम्नु भयो । “तपाइँले गर्ने गरेका पोस्टमा व्यक्त विचारहरूको स्रोत बल्ल थाहा पाएँ ।“
त्यो दिन बिदा भयौँ । अर्कों दिनको चिया गफमा भेट भयो । पुस्तक मेरो हात पार्नु भयो अन्य पुस्तक पनि उपलब्ध गराउने भनेर हौसला थप्नु भयो । डेरामा गएँ । सरर पढें ‘अब्स्ट्र्याक्टचिन्तन प्याज ‘।
सोचें जीवन ! उन्नत जिउन सिक्ने अथक प्रयास हो । यो सिकाइ कहिल्यै पूरा हुँदैन । यो त निरन्तर चलिरहन्छ ।अन्तिम सास फेर्दा पनि त मान्छे सहज सास फेर्ने भगीरथ प्रयासमै हुन्छ । जब उस्को प्रयास थामिन्छ । मृत्यु हुन्छ ।
यसपछि मोबाइल हातमा लिएँ । मोबाइलको ‘नोट एप्स’ क्लिक गरेँ । अनि टाइप शुरू गरेँ -
"स्थिरता मृत्यु हो
गतिशीलता नै जीवनहो
परिवर्तन हाम्रो गति हो
त्यसैले परिवर्तन जीवन हो ।
गणतन्त्रले समाजमा, समुदायमा, सोचाइमै परिवर्तन ल्याइदिएको छ ।
समाजमा आइको परिवर्तनको चाप बुझ्न सक्नु अपरिहार्य छ ।
चाप बुझ्न समाज छाम्न पर्छ, समाजका अंग प्रत्यंगको सम्पर्कमा रहेको हुनु जरूरी छ ।
यस्का निम्ति जीवित मस्तिष्क चाहिन्छ, क्रियाशील।
जसले अंगप्रत्यंग चञ्चल पार्छ
अनि समाजसँग घुलमिल गराउँछ ।
घुलमिलले सम्पर्क, सँसर्ग बढाउँछ, अनि बढाउँछ प्रेम ।
समाजसँगको आलिंगनले बोध गराउँछ समाज परिवर्तनको चाप ।
जीवित मस्तिष्कले गतिशील समाजको पदचाप अनुभूत गरिराखेको हुन्छ ।
स्थिर मस्तिष्क जड हुन्छ, दम्भी, अहंकारी अंततोगत्वा मृत ।
मृत समाजको गति महसुस गर्दैन । समाजको पदचापको चाल थाहा पाउँदैन । आलिंगन नभइ कसरी अनुभूत गर्नु समाजको गति ?
कृष्णप्रसाद कोइराला नेपाली समाजसँगको कसिलो आलिंगनमा बाँधिनु भएको थियो । त्यसैले त समाजको पदचाप महसुस नगरेका जड चन्द्र शमशेरकोमा दरिद्र रैतीका झुत्रा कपडाको थैली पठाउनु भयो ।
नेपाल, भारतमात्र हैन अन्तर्राष्ट्रिय समाजमा कसिलोसँग बाँधिएकै कारण बीपीले सामाजिक न्याय र स्वतंत्रताको अन्तर्राष्ट्रिय आन्दोलन सोसलिस्ट इन्टरनेसनलसँग र यसका खासखास चिन्तनसँग रोजा लक्जेमबर्ग, विली ब्रान्टहरूसँग गाँसिन पुग्नु भयो ।
समाजलाई ,व्यक्तिलाई सबै ढंगले ओल्टाईपल्टाई गरेकैले त बीपी फ्राएडसँग पिन मितेरी गाँस्न पुग्नुभयो ।
जीवित भौतिक शरीर छैन बीपीको तर उनकै वरपर थुप्रै तरुणतरुणीहरू झुलिरहेका छन् ।
ती परिवर्तनशीलता सँगै छन् ।
समाजको पदचाप पछ्छ्याउँदै जनता रूपी सुन्दरीतर्फ फर्किएका छन् सूर्यमूखी फूल सूर्यतिरै एकोहोरियझैँ ।
समाजसँगको आलिंगनमा बांधिउँ
यस्को धडकन अनुभूत गरौँ
पदचाप समाउँ ।
सलल बगिरहेकी सरिताको चपलताबाट शक्ति उत्पादन गरौँ
नेपाल आमाको गर्भमै रहेका खनिज खोतलौँ ।
ठुस्सियर मुग्लान विदेसिएका जीवित असर्फ़ीलाई नेपाल आमाकै गोडा थिच्न लगाऔँ
आमाले स्याहार सुसार खोजिकी छिन् ।
तब न,
तोते बोल्दैका भगवानका रूप बालकले भन्लान्
“बाबा बाबा
अब छँगै बछ्ने है, बाबा ।
अब बाबामामु म छँगै बछ्ने ,
बाबाको टिँटीँमा इछ्कुल जाने, इछ्कुल जाने ।”