काठमाडौं । काठमाडौं सहर लकडाउनमा छ । ५० र ६० को दशक दिनदिनै आन्दोलन बेहोर्ने काठमाडौंले जीवनमा धेरै कर्फ्यु झेल्यो । ढुङ्गामुढासँग परेड खेल्यो । अश्रु ग्याससँग मुकाबिला गर्यो । काठमाडौंको आकाशमा टायरको पिरो धुवाँ नरङ्मङ्गिएको दिनै हुँदैनथ्यो ।
१९ दिन लगातार आमहड्ताल बेहोरेको काठमाडौंले बन्दाबन्दीको अनुभूति गरेको थिएन । काठमाडौंबासीसँग घरबन्दीको अनुभव थिएन ।
काठमाडौं ठप्प हुँदा पनि सहरको परिचायक बनेर उभिएको घण्टाघर निर्निमेष चलिरहेकै थियो । यसका सुईहरूले एक मिनेट पनि विश्राम लिएका थिएनन् । सहरको कोलाहल, कर्कश आवाजको बीचमै अलप भए पनि साढे, सवा, पौने र घण्टाको जनाउ दिइरहन्थ्यो ।
बन्दाबन्दी यता निष्प्राणप्रायः छ घण्टाघर । यसका सुईहरू चटपटाउँदैनन् । पेण्डुलम थला बसेको छ । शीरमा राखिएका बडेमानका घण्टाहरू आवाजविहीन छन् ।
पहिलोपल्ट लामो निद्रामा सुतेको छ वीरकालीन घण्टाघर ।
घण्टाघरको आवाजसँगै ब्युँझने बचेराहरू र वीरस्तम्भको फलामे खुट्किला, काठेभर्याङका अन्तरकुन्तर र बरन्डामा आश्रय लिइरहेका परेवा–मलेवाहरू एक्लिएका छन् ।
घण्टाघरको घडीको भर पर्ने नै कति होलान् र सहरमा ! हातेघडी र मोबाइलको युग आरम्भ भएपछि घण्टाघर आफैं एक्लिएको थियो । सहरले कोरोनाको कहर बार्न थालेपछि बेवारिसे बनेको छ घण्टाघर । घण्टाघरको नियास्रो न सरकारलाई लागेको छ । यसको रखवारीको जिम्मा पाएको त्रिचन्द्र क्याम्पसलाई नै यसको आवाजको तलतल छ ।
वीरस्तम्भको एक्लो स्याहारकर्ता, घण्टाघरको एकमात्र सारथी गणेश सापकोटालाई चाहिँ ठूलो चिन्ता परेको छ । हरघडी घण्टाघरको घडीले पिरोलीरहन्छ ।
“लकडाउनले घरमै ‘बन्दी’ बनिरहेको छु । दम दिने मान्छे त थिए, पार्टपुर्जा बिग्रियो होला,” बाह्रखरीसँगको कुराकानीमा पिरोलिए गणेश ।
झण्डै ४० वर्षदेखि घण्टाघरको सान्निध्यमा हुर्किए गणेश सापकोटा । घण्टाघरको सह्यारसुसार, रेखदेख गरेकै ३४ वर्ष भयो । घडीका एकएक यन्त्र–उपकरणसँग उनी परिचित छन् । तिनलाई आइपर्ने समस्यासँग धेरैपल्ट साक्षात्कार भएका छन् । यसबीचमा कति पाटपुर्जा उनी आफैैंले बनाए । कति जतनले चलाए । फलामे पुर्जा खियालाग्दा आफ्नै कलेजो काटिएजस्तो हुन्थ्यो । पित्तले दाँतीहरूमा कस बस्दा मुटुको धमनी टालिएझैं हुन्थ्यो । दिनरात खप्ट्याएर घडीलाई लयमा फर्काउँथे ।
२०४४ सालसम्म घण्टाघर बेवारिसेजस्तै थियो । आगलागीका कारण यसका पार्टपुर्जा चलेका थिएनन । २०४४ कात्तिक १६ गतेदेखि १८ गतेसम्म काठमाडौंमा तेस्रो सार्क शिखर सम्मेलन आयोजना भएको थियो ।
त्यही सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा घण्टाघरको घडी घुमाउन सक्ने मानिसको व्यापक खोजी भयो । तीनै सहर चहार्दा पनि चलाउन सक्ने मानिस फेला परेनन् । त्रिचन्द्र कलेजमा सहायक इलेक्ट्रिसियनमा कार्य गरिरहेका गणेश आफैं अग्रसर भएर जिम्मा लिए ।
त्यसपछि मात्रै घण्टाघरले ‘अभिभावकत्व’ पायो ।
“मैले जिम्मा लिएदेखि एकदिन त्यसका काँटी रोकिन दिएको थिइनँ, अहिले के भयो होला ?,” निकै छटपटिएका छन् गणेश ।
२०७२ सालको विस्मयकारी भूकम्पपश्चात् ६ दिन रोकिएको थियो घण्टाघरको घडी । भूकम्पीय कम्पनको भय, तुफानकै बीच गणेश बलम्बुदेखि आएर यसका पुर्जा मिलाउँथे । दम दिन्थे । पेण्डुलमको धड्कन छाम्थे ।
लकडाउनले उनका पैताला ठप्प भएका छन् । गणेशका पैताला बलम्बुमै रोकिएपछि घण्टाघरका काँटी पनि ११ः४३ मै अडिएका छन् ।
“यसरी लकडाउन लम्बिन्छ भन्ने ठानेको भए पहिले नै पासको बन्दोबस्त गर्थें, उतै बस्ने बन्दोबस्त मिलाउँथे,” गणेश पिरोलिन छाड्दैनन् ।
तेस्रो सार्क शिखर सम्मेलनताक पनि उनले १३ दिन १३ रात लगाएर दाँती घुमाएका थिए । भूकम्पताक पनि घण्टाघरभित्रै ओछ्यान लगाएर भए पनि घडी रोकिन दिएका थिएनन् ।
कोभिड–१९ को कहरमा घण्टाघरसमेत लकडाउनमा पर्यो ।
फागुन ३० गते उनका काकाको ८८ वर्षको उमेरमा निधन भयो । काकाका सन्तति नभएकाले गणेश नै कोरा भित्र पसे । जुठो उत्रिएको पनि थिएन, कोरोना कहरले छपक्कै छोपिहाल्यो ।
गणेश कोराभित्र पसेपछि घण्टाघरले पनि ‘आशौच’ बारिरहेको छ ।
चैत ७ गतेदेखि घण्टाघरका काँटीले फेरो मारिरहेका छैनन् । लकडाउन नखुल्दासम्म घण्टाघर लयमा फर्कने सम्भावना पनि छैन ।
“घण्टाघरको घडी किन चलेन भनेर सबैले सोधिरहनुहुन्छ । म आफैं अनभिज्ञ छु, के भनेर जवाफ दिनु !” उनी निरुत्तरित हुन्छन् ।
घण्टाघर काठमाडौं सहरको चिनारी हो । सभ्यता हो । लकडाउनले मानिसहरूको दैनिकी रोकिएको छ । तर समय आफ्नै रफ्तारमा छ । सहरमा घण्टाघरमा आश्रित मानिसहरू नहोलान् । तर जिउँदो इतिहासको रूपमा बाँचिरहेको घण्टाघरको टठिलो आवाजले विश्राम पाउनुहुँदैन । समयरूपी यसका काँटाहरू अडिनु हुन्न ।
“मलाई मात्र चिन्ता लागेर के गर्नु घण्टाघर चलाउने जिम्मा पाएको प्रशासनलाई तातो लागेको छैन,” उनी दुःख पोख्छन् ।
३४ वर्षको सेवा–अवधिमा घण्टाघर चलाएवापत गणेशले अतिरिक्त सुविधाको माग गरेका छैनन् । सेवानिवृत्त हुनुअगावै घण्टाघरको घडी घुमाउन सक्ने उत्तराधिकारी तयार पार्ने उनको धोको थियो ।
उत्तराधिकारी नहुनुको पीडा घण्टाघर र गणेश दुवैले एकसाथ भोगिरहेका छन् ।
तस्बिर : हरिशजंग क्षेत्री