
काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । संघले वैशाख १ गतेदेखि निक्षेपको व्याजदर घटाउने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । नेपाल राष्ट्र बैंकले सीआरआर र ब्याजदर कोरिडोर अन्तर्गत पोलिसी रेट पनि घटाएको र त्यसको उद्देश्य कर्जाको व्याजदर घटाउनुपर्छ भन्ने रहेकाले निक्षेपको व्याजदर घटाएको उनले बताए ।
“राष्ट्र बैंकको नियमअनुसार आधार ब्याजदर घटबढ भएपछि कर्जाको व्याजदर पनि स्वत घटबढ हुन्छ,” उनले भने, “राष्ट्र बैंकको नियमअनुसार कर्जाको व्याजदर घटाउन आधार व्याजदर घटाउनु पर्यो ।”
सोही अनुसार बैंकर्स संघले वैशाख १ गतेबाट निक्षेपको व्याजदर घटाउने र त्यसैका आधारमा जेठ १ गतेबाट कर्जाको व्याजदर घटाउने निर्णय गरेको उनले बाह्रखरीलाई बताए ।
राष्ट्र बैंकको नीति हरेक तीन महिनामा मात्रै व्याजदर परिवर्तन गर्ने रहेको र वैशाखमा आधार व्याजदर घटाएपछि साउनमा मात्रै कर्जाको व्याजदर घट्ने भए पनि ऋणीलाई राहत दिन राष्ट्रबैंकको अनुमति लिएर जेठबाट नै कर्जाको ब्याजदर पनि घटाउने निर्णय गरेको दाहालले दाबी गरे ।
अहिले चैतको केही दिन निक्षेपको व्याजदर घटाउँदा पनि महिनाभरिको औषत व्याजदर खासै नघट्ने भएकाले निक्षेपको व्याजदर वैशाख १ गते र त्यसैको आधारमा जेठ एक गतेबाट कर्जाको व्याजदर घटाउने सहमति बैंकर्स संघले गरेको दाहालले बताए ।
बैंकहरूले बुधबार पत्रपत्रिकामा सूचना नै प्रकाशित गरेर वैशाख १ गतेदेखि व्याजदर घटाउने जनाएका थिए । जसअनुसार मुद्धति, बचत, कल र चल्ती सबै प्रकारको निक्षेपमा कम्तीमा एकदेखि डेढ प्रतिशतसम्म व्याजदर घट्ने छ । संघले यसअघि भद्र सहमति गर्दै व्याजदरको अधिकतम सीमा कायम गरेको थियो ।
नयाँ सहमतिअनुसार बैंकहरूले एक वर्षे व्यक्तिगत मुद्दतिको व्याजदर एक प्रतिशत विन्दुले घटाएर अधिकतम सीमा ८.७५ प्रतिशत कायम गरेका छन् । यस्तै संस्थागत निक्षेपको ब्याज ९.५ प्रतिशतसम्म दिँदै आएकोमा डेढ प्रतिशत विन्दुले घटाएर अधिकतम सीमा ८ प्रतिशत कायम गरेका छन् । संस्थागत निक्षेप नवीकरण गर्दा भने ८.१ प्रतिशतसम्म दिन सक्ने बैंकर्स संघले जनाएको छ ।
यस्तै बैंकहरूले बचत खाताको व्याजको पनि अधिकतम सीमा ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेका छन् । बैंकर्स संघका अध्यक्ष दाहालका अनुसार यो अधिकतम सीमा भएको र बैंकले त्यो भन्दा कम ब्याज दिन सक्नेछन् ।
यस्तै संघले अब लगानी गर्ने कर्जामा आधार व्याजदरमा ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने सहमति पनि गरेको अध्यक्ष दाहालले बताए । संघले निर्देशन दिन नमिल्ने तर क्रेडिट कार्डबाहेक अन्य कर्जामा आधार व्याजदरमा ५ प्रतिशतभन्दा बढी प्रिमियम नजोड्न सुझाव दिएको उनको भनाइ छ । यसअघि बैंकहरूले आधार व्याजदरमा अधितम ६ प्रतिशतसम्म प्रिमियम जोड्दै आएका थिए ।
पर्यटन लगायतका केही क्षेत्रबाहेक चैतमा २० दिनको असर लोनको किस्ता तिर्न नसक्नेले असारमा कसरी किस्ता तिर्न सक्छ भन्ने कुरा पनि उठेको छ तर अहिले तत्कालका लागि चैतमा कर्जाको फलोअप नगर्न राष्ट्र बैंकले भनेको दाहालले बताए । वैशाखपछि राष्ट्र बैंकसँग छलफल गरेर त्यसको विकल्प पनि निकाल्ने उनकोे भनाइ छ ।
राष्ट्र बैंकले चैतमा दीर्घकालीन ऋणमा १० प्रतिशत व्याज छुट दिन भनेको र त्यो बैंकहरूले मान्ने दाहालल बताए । बैंकहरूले प्रभावित भएकाका लागि मात्रै त्यो व्याजमा छुट गरौं भनेको उनले बताए । केही बैंकले ९० प्रतिशत अहिले लिएर १० प्रतिशत नलिन पनि सक्छन् ।
यद्यपि बैंकहरूको सिस्टममा त्यो नहुन पनि सक्छ त्यसैले अहिले सबै लिएर वैशाखको पहिलो सातामा फिर्ता गर्न सक्ने उनले बताए ।
चैतको किस्ता असारमा तिर्दा बैंकहरूको आम्दानीमा प्रभाव पर्ने उनले बताए । चैतमा प्राप्त भएको रकमको पुनः लगानी गरेर असार सम्ममा गर्ने आम्दानी गुम्ने उनले बताए । त्यस्तै चैतमा किस्ता तिर्नेलाई दिने १० प्रतिशत ब्याज छुटले कति आम्दानी गुम्छ भन्ने कुरा कतिले किस्ता तिर्छन् त्यसको आधारमा वैशाख लागेपछि मात्रै एकिन हुने उनी बताउँछन् ।
यद्यपि हरेक बैंकको ३/४ देखि ५/६ करोड सम्म आम्दानी गुम्ने उनको दाबी छ ।