सांकेतिक तस्बिर ।
काठमाडौं । सरकारले खरिद गरेर ल्याएको र्यापिड डाइग्नोस्टि टेस्ट किटको गुणस्तर मापन गर्न परीक्षण तयारी सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदलाई उक्त किटको गुणस्तर प्रमाणिकरणसँगै अनुसन्धान गर्ने जिम्मा दिएको हो ।
काठमाडौंबाट ६ जनाको टोली कैलाली र कञ्चनपुर गइसकेको छ । आजदेखि काठमाडौंबाट गएको टोली र स्थानीय सरकारका गरेर करिब १५ जनाको टोलीले दुई सय जनाको नमुना संकलन गरेर लिएर आउने परिषदका प्रमुख अनुन्धान अधिकृत डा. मेघनाथ धिमालले जानकारी दिए ।
“मंगलबारबाट ती जिल्लाका गाउँ-गाउँमा गएर दुई सय जनाको नमुना संकलन गरेर ल्याएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिनेछ,” उनले भने, “ती नमुना पिसिआर मेसिन र र्यापिड डाइग्नोष्टिक टेस्ट किटको नतिजा एकै आएमा सो किटबाट काम गर्न सकिने भनेर सरकारलाई प्रयोग गर्न सुझाव दिइनेछ ।”
सरकारले खरिद गरेर ल्याएको किटले काम गर्छ कि गर्दैन भनेर गुणस्तर मापन गर्नका लागि नमुना संकलन गरेर परीक्षण गर्न लागिएको परिषदले जनाएको छ । विदेशबाट चैत १ गतेसम्म नेपाल आएका सबैको र्यापिड टेस्ट किटबाट कोरोना भाइरस परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहेका सबैलाई र बागलुङका कोरोना पोजेटिभ देखिएका आफन्त र छिमेकीको र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट कोरोना परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले कैलाली र कञ्चनपुरबाट रगत र थ्रोट स्वावको नमुना संकलन गरेर लिएर आउन निर्देशन दिइएको जानकारी दिइन् । उनले भनिन्, “सुरुमा ती नमुना र्यापिड टेस्ट किटमा परीक्षण गरिन्छ, पोजेटिभ नतिजा आएको नमुना पुन: पीसीआरमा राखेर परीक्षण गरिन्छ ।”
जनस्वास्थ्य विज्ञ डा. समिरमणी दिक्षितले र्यापिड टेस्ट किटबाट तुरुन्तै कोरोना भाइरस भएको पत्ता नलाग्ने बताउँछन् । “यो टेस्ट किट स्क्रिनिङभन्दा पनि सर्वेक्षणका लागि चलाउने हो,” उनले भने , “अहिले कति जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भनेर यो किटले पत्ता लगाउदैन् ।”
र्यापिड टेस्ट किटबाट गरिएको नतिजा ५० प्रतिशतभन्दा बढी विश्वासिलो नहुने उनले तर्क गरे ।
पीसीआरले अहिले भइरहेको कोरोना भाइरसको संक्रमण पत्ता लगाउँछ भने र्यापिड टेस्ट किटले त्यस्तो नतिजा दिन सक्दैन् । तर अहिलेको नेपालमा कोरोना भाइरस दोस्रो अवस्थामा प्रवेश गरेको छ । यो अवस्थामा पीसीआर मेसिनले मात्र परीक्षण गर्न सम्भव पनि छैन । यस्तो अवस्थामा सरकारले गाउँगाउँमा आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई घर-घरका ढोकामा गएर कसलाई खोकी लागेको छ, ज्वरो आएको छ भनेर खोज्न लगाउनुपर्ने उनले बताए ।
त्यसैगरी, त्रिविका माइक्रोबायोलोजी विभाग प्रमखु मेघराज बन्जाराले कोरोना भाइरसको संक्रमण र अन्य संक्रमण पनि भएको मानिसमा र्यापिड टेष्ट किटबाट परीक्षण गर्दा नतिजा नेगेटिभ पनि देखाउन सक्ने बताए ।
“यदि र्यापिड टेस्ट किटको गुणस्तर राम्रो छैन भने नतिजा पनि गलत आउँछ । शतप्रतिशत आउँदैन् ”,उनले भने, “कोरोना परीक्षण गर्ने र्यापिड टेस्ट किट बनाउने कम्पनीहरुले प्रमाणित नै नगरी आफैं नै यति प्रतिशत काम गर्छ भने दाबी गरिरहेका छन् । तर यसलाई कुनै पनि निकायले गुणस्तर प्रमाणित गरेको छैन ।”
सरकारले खरिद गरेर ल्याएको र्यापिड टेस्ट किटको राम्रोसँग गुणस्तर मापन गरेर प्रयोग ल्याउँदा मात्र सहित नतिजा आउने त्रिविका माइक्रोबायोलोजी विभाग प्रमखु बन्जारा बताउँछन् । र्यापिड टेस्ट किटले २० मिनेटमा नै नतिजा आउने हुन्छ तर सही वा गलत नतिजा आउने किटको गुणस्तरमा भर पर्ने उनको भनाई छ ।
सरकारले गत साता चीनबाट ७५ हजार थान र्यापिड टेस्ट किट खरिद गरेर ल्याएको छ भने सो किट सात करोडमा खरिद गरेर ल्याएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९ )संक्रमणको पहिचानमा उक्त किट प्रयोग नगर्न भनेको छ ।
पीसीआर मेसिनबाट कोरोना भाइरसको परीक्षणको हाल धरान, जनकपुर हेटौंडा, चितवन, धुलिखेल पोखरा, सुर्खेत, धनगढी, भरतपुर, भैरहवामा गरिएको स्वास्थ्य मन्त्रालयका जनाएको छ ।