काठमाडौं । अहिले कोरोनाले विश्वलाई हल्लाइरहेको अवस्था छ । नेपाल पनि तीन दिनदेखि लकडाउनको अवस्थामा छ । यसै अवस्थामा बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनको अवस्था हेर्दा कतिसम्म हेलचेक्र्याइँ भएको रहेछ भन्ने प्रस्ट देख्न सकिन्छ ।
यहाँको शौचालय र सुत्ने ठाउँको अवस्था झन्डै उस्तै–उस्तै छ । यही क्वारेन्टाइनमा बस्नका लागि आएका बाँके खजुराका गजेन्द्रबहादुर रेग्मीले यसबारे भिडियो बनाएरै खुलासा गरेका हुन् ।
माल्दिभ्समा एक होटलमा काम गर्ने गजेन्द्रबहादुर रेग्मी । ५० दिनको बिदा लिएर गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौं आए । सोही विमानमा फ्रान्सबाट कतार एयरवेज हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बाँके खजुराका रेग्मी काठमाडौं उत्रिएर तुरुन्तै आन्तरिक विमान चढेर नेपालगन्ज पुगे । उनी घरपरिवारसँग रमाइलो गरे, बजार गए । तर उनी आएको जहाजको मानिसमा कोरोना भएको थाहा थिएन । गत बुधबार बेलुका उनले फेसबुकबाटै थाहा पाए– कि उनी चढेको जहाजमा सवार एक युवतीमा कोरोना पोजेटिभ रहेछ ।
उनले तुरुन्त स्थानीय प्रशासनमा फोन गरी जाानकारी दिए । प्रशासनका एक कर्मचारीले उनलाई भने, ‘भोलि लिन आउँछौं तयारी भएर बस्नू,’ उनले प्रशासनलाई जवाफ दिए, ‘म घरमै बस्छु, कोठा पनि खाली छ ।’ तर यत्ति भन्दा उनलाई क्वारेन्टाइनमै बस्नुपर्ने सुझाइयो ।
बिहीबार दिउँसो नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा उनी पुगे । “हामी क्वारेन्टाइनमा आइपुग्यौं । अहिले म यहीं छु । अहिले १० जना छौं । हिजो ज्वरो चेक गर्न स्वास्थ्यकर्मी नै आएर चेक गरेका थिए । तर आजबाट आफैं चेक गर्न डिजिटल थर्मामिटर दिइएको छ । साथीहरूले यस्तो स्थानमा बस्नुपर्छ भनेर तापक्रम घटाएर लेखेर पठाएका छन् । एउटा कोठामा बेग्ला–बेग्लै सुत्ने स्थान बनाइएको छ । अवस्था भद्रगोल छ,” रेग्मीले फेसबुक लाइभ गर्दै त्यहाँको अवस्थाबारे चित्रण गर्दै भनेका छन्, “हिजै स्वास्थ्यर्मीले खकारको नमुना लिएर जानुभएको छ । तर आज कोही स्वास्थ्यकर्मीहरू आउनुभएको छ्रैन । स्वास्थ्य जाँचका लागि । हामीलाई कोरोना संक्रमतिजस्त व्यवहार गरिएको छ ।”
यस्तै उनले खिचिएको भिडियोमा त्यहाँको विद्रुप अवस्था देख्न सकिन्छ । सुत्ने ठाउँको अवस्था पनि निकै फोहोर छ । सफाइको त केही देख्नै नसकेको उनले भिडियोमा बताएका छन् ।
क्वारेन्टाइनमा बस्न आएका रेग्मीले भिडियोमा भनेका छन्, “मलाई रक्तचापको समस्या छ, आफन्तले खाना बनाएर ल्याइदिएका छन् । त्यही खाँदै छु । तर अरूलाई आज खानामा हिजो बेलुकाको बासी भात भुटेर जिरा राखेर दिइएको छ । क्वारेन्टाइनजस्तो पनि छैन । सफा कोठा छुट्टाछुट्टै हुनुपर्ने हो । तर यहाँ एउटै कोठामा छौं ।”
उनका परिवार घरमै छन् । परिवारमा दुई छोराछोरी र पत्नी भएको रेग्मीले खुलाएका छन् । यसबारे आफूलाई थाहा नभए पनि स्थानीय साथीहरूबाटै थाहा पाएर क्वारेन्टाइनमा आए पनि निकै सकस झेल्नुपरेको उनले बताएका छन् । उनले जनप्रतिनिधिहरूले यसबारे केही नभनेको दुखेसो पोखेका छन् ।
उनले भनेका छन्, “क्वारेन्टाइनमा एउटै धारा प्रयोग गर्नुपरेको छ । ट्वाइलेट बाथरुम फोहोर छ । भुइँमा सुत्नुपरेको छ । अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन । भोलि झन् बिरामी भइएला भन्ने पीर ।”