site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री पदसँग देउवाले कांग्रेसको अस्मिता साटे
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीवार बिहानै पार्टीका पदाधिकारी, पूर्व पदाधिकारीलाई पार्टी कार्यालय सानेपा बोलाए । सभापतिले चुनावी रणनीतिका लागि बोलाएको बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी पनि निर्धारित समयमै पुगे ।
बैठकमा सभापति देउवाले एउटा प्रस्ताव राखे – ‘स्थानीय चुनावमा माओवादी केन्द्रसँग तालमेलको कुरा भएको छ । सहमतिअनुसार भरतपुरमा हामीले माओवादीलाई छाडिदिने पोखरा र काठमाडौं माओवादीले हामीलाई छाडिदिने ।’ उनले ललितपुर पनि कांग्रेसलाई छाड्न गरेको आग्रह माओवादीले अस्वीकार गरेको पनि सुनाए ।

सभापतिको प्रस्ताव सुनिसकेपछि आफ्नो धारणा राखेका सबै नेताले कुनै पनि हालतमा अहिले माओवादीसँग तालमेल गरेर जान नहुने तर्क राखे ।
बैठकमा सहभागी एक नेताका अनुसार त्यहाँ देउवाबाहेक सबैले यो प्रस्ताव अहिले कार्यान्वयनमा लैजान नहुने धारणा राखेका थिए  – “यसले पार्टीलाई नोक्सान हुन्छ, कुनै पनि हालतमा त्यसलाई अघि बढाउन हुँदैन । माओवादीसँगको तालमेल अहिलेलाई नगरौँ । अर्को चुनावमा सल्लाह गराैँला ।” सबैजसो नेताको एउटै भनाइ बैठकमा व्यक्त भएको ती नेताले बाह्रखरीसँगको कुराकानीमा बताए ।

बैठकमा नेता रामशरण महतले त अझ भरतपुर कांग्रेसको जित सुनिश्चित भएको महानगर भएकाले अहिले त्यो निर्णय गर्नै नहुने धारणा राखेको स्रोतले जानकारी दियो । “भरतपुरमा नेपाली कांग्रेसले जित्ने ठाउँ हो, यसअघि सुशील कोइरालाले पनि जितेर छाड्दा त्यहाँका कार्यकर्ताको मन दुखेको छ । अहिले त्यही ठाउँमा कांग्रेसले माओवादीलाई छाड्दा राम्रो सन्देश जाँदैन, यो निर्णय नगराैंँ,” महतको भनाइ उद्धृत गर्दै कांग्रेसका एक नेताले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

महतको भनाइमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला सबैले सहमति जनाए ।
सिटौलाले त छुट्टै देउवालाई भेटेर यस बारेमा कुनै पनि हालतमा निर्णय नगर्न पटकपटक आग्रह गरेको ती नेताको भनाइ छ । भरतपुर महानगरमा कांग्रेसबाट मेयरका उमेदवार बनेका दीनेश कोइराला सिटौला पक्षका मानिन्छन् ।

Global Ime bank

पार्टी सभापतिको एकलौटी निर्णयविरुद्ध बिहीवार चितवनमा उनको पुत्ला दहनसमेत गरियो । कांग्रेस कार्यकर्ताले स्थानीय पार्टी कार्यालय घेराउ गरेर निकैबेर नाराबाजीसमेत गरेका थिए ।

तर, देउवाले आफ्नो प्रस्ताव निर्णय भएको बताउँदै भरतपुर महानगरमा उमेदवारी दिएका दिनेश कोइरालालाई टेलिफोन गरेर पार्टीको निर्णयअनुसार उमेदवारी फिर्ता लिन निर्देशन दिए ।

कोइरालाले भने सभापति देउवाको निर्देशन ठाडै अस्वीकार गरिदिए । स्रोतका अनुसार देउवाले उनलाई टेलिफोनमा थर्काउँदै भनेका थिए –उमेदवारी फिर्ता नलिने हो भने मैले यहीँंबाट पार्टीको निर्णयअनुसार नै उमेदवारी फिर्ताका लागि निर्वाचन कार्यालयमा पत्र पठाउँछु ।” त्यसपछि कोइरालासँग उनको कुरा हुन नसकेको स्रोतको दाबी छ ।

कोइरालाले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान कायमै राखेपछि सभापति देउवाले आफ्नै हस्ताक्षरसहितको पत्र जिल्ला निर्वाचन कार्यालय चितवनमा पठाएर कोइरालाको उमेदवारी रद्द गराएका थिए ।

ती नेताका अनुसार सभापति देउवाले त्यसअघि नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सहमति गरिसकेका थिए । भरतपुर नगरपालिका प्रमुखमा माओवादी केन्द्रकी उमेदवार रेणु दाहाल प्रधानमन्त्री दाहालकी छोरी हुन् ।

 कांग्रेसले जित्ने सुनिश्चित महानगरपालिकामा किन देउवाले यस्तो अप्रिय र प्रत्युत्पादक निर्णय लिए त ?

कांग्रेसकै अर्का नेताको टिप्पणी छ– “यो विशुद्ध प्रधानमन्त्री पदसँग जोडिएको विषय हो । दाहालमा पुत्री मोह हुनु सामान्य हो । त्यसलाई स्वाभाविकरूपमा लिन सकिन्छ तर हाम्रा सभापतिलाई पहिलो चरणको निर्वाचनको  साता दिनभित्र प्रधानमन्त्री हुनुछ । यो तालमेल अरू केहीसँग जोडिएको छैन । तर, उहाँले यसले पार्टीलाई कति नोक्सानी पुर्याउँछ भन्ने बुझ्नै सक्नुभएन ।”

ती नेताको टिप्पणी छ – “दाहाल र देउवा एकअर्काप्रतिको लेनदेनमा कति गहिरोसँग भासिँदै गएका छन् भने अब उनीहरू टाढा जानै नसक्ने अवस्थामा पुगेका छन् । एकलाई अर्काको कमजोरी राम्रोसँग थाहा भइसक्यो । दुवैको ‘क्यारेक्टर’ पनि एकैखालको देखिन थाल्यो । शेरबहादुर देउवालाई दाहालले सरकार बनाउने बेलामा धोका देलान् कि भन्ने डर छ । दाहाललाई एमालेले पेलेको बेला कांग्रेसलाई चिढ्याउन हुँदैन भन्नेछ । यहाँ प्रधानमन्त्री हुनेबाहेक केही देखिएन । प्रधानमन्त्रीको पदसँग पार्टीको अस्मिता साँटियो । यसले नेपाली कांग्रेसलाई ठूलो क्षति हुँदैछ ।”

उनीजस्ता पार्टीका धेरै नेतालाई सभापतिको यो निर्णयले आश्चर्यमा पारेको छ । तर उनीहरू चुनावका बेला सभापतिको तीव्र विरोध गर्न चाहँदैनन् र सक्तैनन् पनि ।

\"\"

केही नेताले सामाजिक सञ्जालमार्फत यसको विरोध गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले यसलाई ‘लोभीपापीहरूको रजाईँ चल्ने देश’ भनेर व्यंग्य गरेका छन् । “पार्टीका आआफ्ना हैसियत र अवस्था हुन्छ । चुनावमा तालमेल गर्नु पनि स्वाभाविक हो तर कस्तो पार्टीसँग केका लागि तालमेल गर्ने ? भन्ने प्रश्न उठ्छ । नेपाली कांग्रेसलाई समाजमा फरक तरिकाले हेर्छन् । कांग्रेसलाई समाजले ‘आइडोलोजी’का आधारमा हेर्ने गरेको छ । माओवादीसँगको तालमेललाई यसले न त आज र न भोलि कसैले पनि पुष्टि गर्न सक्दैन,” कांग्रेसका एक पूर्वपदाधिकारीले भने ।

देउवाको यस निर्णयले धेरै कांग्रेस कार्यकर्ता अलमलमा परेको उनको भनाइ छ । “कांग्रेसले यो तहको तालमेल कहिले कसैसँग पनि गरेको छैन,” उनले भने, “पार्टी जस्तोसुकै अप्ठेरो अवस्थामा पर्दा पनि गरेन । अहिले चितवनका कार्यकर्तालाई त कहाँ मतदान गर्ने भन्ने अलमल भयो भने त्यो बाहेकलाई पनि यो निर्णयले पार्टीप्रतिको विश्वास नै हरायो ।”

पुरानो संस्थापन निकट मानिएका ती नेताको तर्क यस्तो छ– “हामी, जो हिजोका संस्थापन थियाैँ, हिजो कांग्रेस विभाजनको अवस्थामा पनि हामीले एउटा अडान राखेर बसेका थियौंँ, त्यसले पार्टीलाई आजसम्म बचाएको हो । त्यसबेला न त सत्ताको लागि राजासँग पनि झुक्यौंँ न त माओवादीसँग, एमालेसँग पनि सधैंँ कडा टक्कर लिएरै बस्याँैं । शेरबहादुर देउवा त्यसबेला पनि सत्ताकै लागि भनेर गएका हुन् तर हामी गएनौं । हिजोको त्यो संस्थापन आज कमजोर भएको बेला पार्टी नै कमजोर गराउने निर्णय पटक पटक भएका छन् ।”

उनले महाभियोग प्रस्तावले पनि पार्टी कमजोर भएको बताए ।

नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि सभापतिको यो निर्णयप्रति पटक्कै खुसी छैनन् । उनले यसबारेमा नेतृत्वसँग पटकपटक कुरा पनि गरिसके । तर नेतृत्वले कुरै सुनेन ।

“कांग्रेस र कांग्रेसी फरक कुरा हो,” स्वास्थ्यमन्त्री समेत रहेका युवा नेता थापाले बाह्रखरीसँगको कुराकानीका क्रममा भने, “कांग्रेस टिकेको कांग्रेसीको कारणले मात्रै होइन, यो कुरा नेतृत्वले पनि बुझ्नुपर्छ । थुप्रै मान्छे कांग्रेसी होइनन् तर उनीहरू कांग्रेसका मतदाता हुन्, आज पनि छन् । कांग्रेसका मतदाता हुँदा उनीहरूका निश्चित धारणा छन् । महाभियोगको प्रस्ताव र तालमेलले कांग्रेसलाई असर पुर्याएको छ । यसले पार्टीका कार्यकर्ताको धारणा भित्रैदेखि खलबलिएको छ । यो पार्टी कांग्रेसीले मात्रै जोगाएको पार्टी होइन, ती आम मतदाताले जोगाएको पार्टी हो । त्यस्तो कांग्रेसले गर्दा जोगिएको हो । नेतृत्वको यो निर्णयले पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ।”

उनले महाभियोगको प्रस्तावको पनि नेतृत्वले औचित्य पुष्टि गर्न नसके कांग्रेसले नै क्षति बेहार्न तयार हुनुपर्ने बताए ।

“कांग्रेसको पहिचान नै खलबलियो भने मतदाताले विकल्प खोज्छ,” थापाले भने, “पछिल्ला दुईवटा घटनाले महाभियोग र तालमेलले गर्दा कांग्रेस नराम्रोसँग खलबलिएको छ । नेतृत्वले बेलैमा सोच्नुपर्छ ।”

\"\"तर, प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले भने तालमेल स्वाभाविक र प्राकृतिक पनि भएको दाबी गरे । सभापति देउवा निकट मानिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले शुक्रवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भने – “गणतन्त्रको पक्षधरता, संविधानको पक्षधरता, समावेशी पक्षधरता र संविधान कार्यान्वयन गर्ने पक्ष र पार्टीसँग कांग्रेसले चुनावी तालमेल गरेको छ । यो अत्यन्त स्वाभाविक र प्राकृतिक पनि छ । नेकपा (माओवादी केन्द्र)सँग भएको यो तालमेलले संविधान कार्यान्वयनमा बल दिन्छ ।”

लेखकले यसले ठूलो राजनीतिक महत्त्व राख्नेसमेत दाबी गरे पनि पार्टीका धेरै नेता र कार्यकर्ता पंक्तिका साथै समर्थक मतदाता माओवादीसँग गरिएको तालमेलको निर्णयबाट निराश र क्षुब्ध देखिएका छन् ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०७४  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement