
काठमाडौं । लामो सयमदेखि चर्चामा रहेको ‘बुक विल्डिङ’ मा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने विषयले अब पूर्णता पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले फागुन १ गते धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको तेस्रो संशोधन गर्दै ‘बुक विल्डिङ’ मार्फत् आईपीओ जारी गर्न सक्ने व्यवस्था गरेको छ ।
बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरेका कम्पनीले ‘बुक विल्डङ’ कार्यविधि कार्यान्वयनमा आएपछि सोही कार्यविधिअनुसार आईपीओ जारी गर्न मिल्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।
बुक विल्डिङमा आईपीओ निष्काशन गर्नका लागि मापदण्ड भने तोकिएको छ । बुक विल्डङमा आईपीओ जारी गर्ने कम्पनी विगत तीन आर्थिक वर्षदेखि लगातार खुद मुनाफामा सञ्चालित भएको हुनपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
त्यस्तै, संगठित संस्थाको साधारण सभाले बुक विल्डिङ्ग विधिमार्फत् धितोपत्र जारी गर्ने निर्णय गरेको, संस्थाको प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत भएको र संस्थाले कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गर्नुपर्छ ।
नियमावलीमा भएको व्यवस्थाअनुसार योग्यता पुगेका जुनसुकै संगठित संस्थाले बुक विल्डिङ विधिमार्फत् आईपीओ निष्काशन गर्न सक्नेछन् । यसका लागि योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।
संगठित संस्थाले खरिद आशय मूल्यको आधारमा सेयरकोे बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित सेयरको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत सेयर निष्काशन गर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले उक्त सेयर नेपाल स्टक एकचेन्ज (नेप्से) मा सूचीकरण भएको ६ महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था समेत नियमावलीले गरेको छ ।
कस्ता लगानीकर्तालाई योग्य संस्थागत लगानीकर्ता भन्ने ?
१. सूचीकृत संगठित संस्था,
२. विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था,
३. सामूहिक लगानी कोष व्यवस्थापक,
४. सामूहिक लगानी कोषका योजना,
५. मर्चेन्ट बैंकर,
६. मान्यता प्राप्त अवकाश कोष,
७. बोर्डले समय समयमा तोकेका अन्य कोष वा कम्पनी वा संस्था
बुक विल्डिङमार्फत् आईपीओ निष्काशनको व्यवस्था नियमावलीले गरे पनि त्यसको कार्यविधि आएपछि थप प्रस्ट हुने बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताए ।
“सबै कम्पनीले बुक विल्डिङमा आईपीओ निष्कासन गर्ने होइन नियमावलीमा भएको मापदण्ड पूरा गरेका संस्थाले चाहेमा निष्काशन गर्न सक्ने गरी बुक विल्डिङमा जान सक्छन्,” उनले भने, “सिधै सर्वसाधारण लगानीकर्ताले पनि बोलकबोलमार्फत् आवेदन दिनुपर्ने होइन, सुरुमा इच्छुक संस्थागत लगानीकर्ताको लागि सेयर बोलपत्र आह्वान हुन्छ र धेरै कबोल गर्नेलाई वितरण गर्दै आउँदा अन्तिममा अक्सनमा ल्याएको सेयर सकिन्छ त्यही मूल्यलाई कट अफ मूल्य मानेर सर्वसाधारणका लागि बिक्री खुला हुन्छ ।”
यसको मतलब संस्थागत लगानीकर्ताले कबोल गरेको न्यूनतम मूल्य नै सर्वसाधारण लगानीकर्ताले सेयर खरिद गर्न पाउने हो ।
यसरी आईपीओ निष्कासन गर्दा पहिले त्यहीअनुसार जनशक्ति भएका ठूला संस्थागत लगानीकर्ताले बोलकबोल गर्ने र उनीहरूले कबोल गरेको न्यूनतम मूल्यमा साधारण लगानीकर्ताले सेयर किन्ने हुँदा उनीहरूलाई पनि जोखिम कम हुने ढुङ्गानाको दाबी छ ।
एनसेल, स्मार्ट टेलिकम, सूर्य नेपाल, सिमेन्ट उद्योगलगायत राम्रो ‘गुडविल’ भएका वास्तविक क्षेत्रका कम्पनीलाई पुँजीबजारमा आकर्षण गर्न यो व्यवस्था गर्न लागिएको हो । यद्यपि सबै कम्पनीले भन्दा पनि नेटवर्थ १५० प्रतिशतभन्दा माथि भएको र ३ वर्ष लगातार नाफामा भएको कम्पनी मात्रै बुक विल्डिङ विधिमार्फत् आईपीओ जारी गर्न सक्ने उनले बताए ।
अन्य मुलुकको व्यवस्था हेरेर कम्पनीको पुँजी लगायतका विषयमा कार्यविधिमा थप व्यवस्था गरिने उनले बताए । १०० रुपैयाँमा नै आईपीओ पाउने सम्भावना कम हुने तर बुझेका संस्थागत लगानीकर्ताको भन्दा कम मूल्यमा नै सर्वसाधारणले पनि सेयर पाउने भएकाले उनीहरूका लागि समेत लगानीको अवसर बढ्ने तर जोखिम कम हुने अध्यक्ष ढुंगानाले दाबी गरे ।
अहिले पनि धितोपत्र बोर्डले प्रिमियम मूल्य र आधार मूल्य गरी दुई तरिकाले आईपीओ निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ । भारत र बंगलादेशमा पनि बुक विल्डिङ प्रणाली धेरै अगाडिदेखि लागू भएकाले त्यहाँको अभ्यासलाई हेरेर कार्यविधि बनाउने बोर्डले जनाएको छ ।