काठमाडौं । २२ माघमा कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गयो । मध्यरातमा प्रदेश ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर ३ दिनपछि प्रहरीले पत्ता लगायो । टिपरको ठक्करबाट रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरीले ज्यान गुमाए ।
माघ १५ गते सुर्खेतमा टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका ३, सिमखेतका २१ वर्षीय केशर सिंहको ज्यान गयो । भे१प २१७८ नम्बरको मोटरसाइकललाई पछाडिबाट भे१ख २२४२ नम्बरको टिपरले ठक्कर दिँदा उनको ज्यान गयो । सिहंको मृत्युपछि महोल अशान्त हुँदा स्थिति नियन्त्रणमा लिन कफ्र्यु नै जारी गर्नुपर्यो ।
९ माघमा कञ्चनपुरको महेन्द्रनगरमा टिपरको ठक्करबाट भीमदत्त नगरपालिका– १५, गोबरैयामा बस्ने २० वर्षीया रमिता भट्टको ज्यान गयो । आफ्नो विवाहको निमन्त्रणा बाँड्न गएकी रमितलाई से १ क ८८७ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
गत जेठ २९ गते भक्तपुरको जडिबुटीमा टिपरकै ठक्करबाट स्कुटर चालक रौतहट गौर घर भई हाल काभ्रेको बनेपा बस्दै आएकी २४ वर्षीय अस्मिता राजभण्डारीको मृत्यु भएको थियो । भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा४ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा७०प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो ।
जेठ ९ मा काभ्रेको साँगाबाट काठमाडौंतर्फ आउँदै गरेको टिपरको ठक्करबाट स्कुटरमा सवार तीन जनाको घटनास्थलमा नै मृत्यु भयो । बा३ख ६६७४ नम्बरको टिपरले बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अरविन घिमिरे थिए ।
गत असोज १७ गते भक्तपुरको सूर्यविनायकमा टिपरकै ठक्करबाट मोटरसाइकलमा रहेका नमोबुद्धका २५ वर्षीय रामकृष्ण श्रेष्ठको ज्यान गयो । बा४ख ३६५० नम्बरको टिपरले बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । आक्रोशित स्थानीयले टिपरमा आगजनी गरे ।
असोज १७ मा आक्रोशित स्थानीयले भक्तपुर सूर्यविनायकमा आगजनी गरेको टिपर
गत असार ८ मा सानोठिमीमा टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सेलाङ ६ का४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भयो । पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा२क ३९३४ नम्बरको टिपरले बा६६प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
केही समयअघि गोरखामा टिपरले किचेर महिलाको ज्यान यो । टिपरको ठक्करबाट दूध बिक्रीका लागि बजार जाँदै गरेकी गोरखा नगरपालिका– १०, अमलापानीकी ५२ वर्षीया मनमाया तामाङको ठक्करबाट मृत्यु भएको थियो । आक्रोशित स्थानीयले २६ वटा टिपर र स्क्याभेटरमा तोडफोड र आगजनी गरे । यी प्रतिनिधिमुलक घटना मात्रै हुन् । टिपरको ठक्करबाट ज्यान गुमाउने गरेका घटना बेलाबेला सार्वजनिक भइरहन्छन् ।
उपत्यकामा टिपर आतंक
देशका अन्य क्षेत्रभन्दा काठमाडौं उपत्यकामा टिपरको ठक्करबाट ज्यान गुमाउनेको संख्या बढी छ । उपत्यकामा पछिल्लो तीन आर्थिक वर्षमा सवारी दुर्घटनामा ६२७ जनाको ज्यान गएको छ ।
चालु आर्थिक वर्षमा हालसम्म १०१ जनाको ज्यान गएको छ । पछिल्लो तीन वर्षमा टिपरको ठक्करबाट ६१ जनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाएका छन् । त्यसबोहक ट्याङ्कर र ट्रकबाट पनि ज्यान गुमाउनेको संख्या पछिल्लो तीन वर्षमा ९६ छ । चालु आर्थिक वर्षमा ट्रकको ठक्करबाट मात्रै उपत्यकामा १४ जनाले ज्यान गुमाइसकेका छन् । यसले हेर्दा ट्रक र टिपर यात्रुका लागि ज्यानमारा नै बनेका छन् । फरक के छ भने टिपरको ठक्करपछि प्रायजसो सबैले ज्यान गुमाउँछन्,त्यो पनि घटनास्थलमै ।
किन डरलाग्दो हुन्छ टिपर ?
त्यसो त टिपर मुख्य सडकमा गुड्ने साधन होइन । निर्माणस्थलमा सामग्री ढुवानीका लागि मात्रै यसको प्रयोग हुनुपर्ने हो, तर उपत्यकासहित नेपालमा भने मुख्य राजमार्गकै टिपर गुडिरहेको हुन्छ । टिपरको सबैजसो भागमा फलाम हुन्छ ।
एक ट्राफिक अधिकारी भन्छन्, ‘‘टिपरको उचाइ बढी हुन्छ । भिजन स्पेस निकै कम हुन्छ । लुकिङ ग्लासले सबैतिर देख्न सक्दैन । कतिपय मोटरसाइकल घुमेर टिपरको अगाडि आइपुग्छन् जो टिपर चालकले देख्ने सम्भावना कम हुन्छ र टिपरले किच्ने अवस्था रहन्छ ।’’
त्यसका लागि टिपरको वनावटमै केही सुधार गर्नुपर्ने ट्राफिक प्रहरीको सुझाव छ ।
अन्यसवारीसाधनले ठक्कर दिँदा उछिट्टिएर जान्छन् भने टिपरले ठक्कर दिँदा टायरमुनि च्यापिने अवस्था बढी हुने गरेको ट्राफिक प्रहरीको अनुभव छ । टिपरको तौल अन्य सवारीको तुलनामा बढी हुन्छ ।
टिपरको अगाडिको भाग र चक्का ठूलो भएका कारण दुर्घटनामा घाइतेभन्दा ज्यान जाने सम्भावना बढी रहन्छ ।
पहेंला रेखाभित्र रहेका व्यक्तिलाई टिपर चालकले देख्दैनन्, जसका कारण दुर्घटनाको सम्भावना अधिक रहन्छ ।
महानगरीय ट्राफिक महाशाखा रामशाहपथका एसएसपी भीमप्रसाद ढकाल बनावटको विषय आफूलाई जानकारी नभएको बताउँछन् । टिपर लगायत अन्य सवारीका कारणले हुने दुर्घटना न्यूनगर्न सक्रिय भएको उनको दाबी छ । टिपरका ऐना,लाइट लगायतका विषयमा आफूहरूले ध्यान दिएको ढकाल बताउँछन् ।
ओभरटेक गर्ने, जेब्राक्रस पार गर्ने पैदलयात्रुलाई प्राथमिकता नदिने, लेन मिच्ने, साइड नदिने, अधिक गतिमा हाँक्ने लगायतका कमजोरी टिपर चालकले गर्दै आएको ड्युटीमा खटिएका प्रहरी बताउँछन् । नियमित कारबाही गर्दा समेत टिपर आतंक रोक्न नसकिएको प्रहरीकै अनभुव छ ।
महाशाखाका एसएसपी ढकालका अनुसार उपत्यकाभित्र बेलुका ८ बजेपछि र बिहान ८ बजेअघि मात्रै टिपर गुडाउन अनुमति छ । यातायत व्यवस्था विभागको तथ्याङ्क अनुसार तत्कालीन वाग्मती अञ्चलमा आर्थिक वर्ष ०७६/०७७ कात्तिक मसान्तसम्म ९ हजार ३३ टिपर दर्ता भएका छन् । जसमध्ये अधिकांश टिपर काठमाडौं, ललितपुर र भक्तपुरमा गुड्छन् । वाग्मतीमा दर्ता भएका सवारी साधनको संख्या भने १३ लाख ९६ हजार ५ सय ५० छ ।
भविष्यको चिन्ता गर्दैनन्, टिपर चालक
प्रहरीसँग यकिन तथ्याङ्क त छैन तर अधिकांश टिपर चालकको उमेर १८ देखि २५ वर्ष समूहको छ । प्रायजसो टिपर चालकको पारिवारिक पृष्ठभूमि पनि त्यति देखिँदैन । एक प्रहरी अधिकारी भन्छन्,‘‘ट्यापे,मुन्द्रे र कोही त आपराधिक पृष्ठभूमिका पनि छन् ।
उनीहरू चालक बने । तर, भविष्यको चिन्ता त्यति गर्दैनन् । उमेरको अपरिपक्वता पनि देखिन्छ । मनलाग्दी चलाउँदा पनि टिपर डरलाग्दो बनिसकेको छ । टिपरले बचाउने होइन,टिपर देख्यो कि आफैं सतर्क हुनुपर्ने अवस्था पनि देखिन्छ ।’’
उपत्यकाको सडकको लम्बाई २ हजार ८३ दशमलब ०६ किमि छ । सबै ठाउँमा सडकको अवस्था पनि मापदण्डअनुसारको छैन । मापदण्डअनुसार सडक नहुँदा पनि कतिपय अवस्थामा दुर्घटना हुने गरेका छन् ।