.jpeg)
काठमाडौं । काठमाडौं महानगर प्रहरीले २९ वटा छाडा चौपाया नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उक्त परिमाणका चौपाया महानगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौंका सडकमा छाडा रूपमा छोडिएका धेरै संख्याका बहरका कारण सडक दुर्घटना हुने खतरालाई मध्यनजर गर्दै महानगरले चौपाया नियन्त्रणमा लिइएको महानगर प्रहरी काठमाडौं बताउँछ । “छाडा चौपायाका कारण सडक दुर्घटना मात्रै बढेको छैन,” काठमाडौं महानगर प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद जोशीले भने, “सडक फोहोर पार्ने र सडक आसपासका क्षेत्रमा लगाइएका बोटबिरुवामा पनि क्षति पुर्याएका छन् ।”
कानुनमा के छ ?
स्थानीय स्वायत्त ऐन २०५५मा छाडा चौपाया नियन्त्रण गरी लिलाम बिक्री गर्ने व्यवस्था छ । “त्यसपछि यस नियममा आवश्यक रूपमा संशोधन भएको छैन,” उपरीक्षक जोशीले बाह्रखरीसँग भने, “हामी स्थानीय स्वायत्त ऐनको सोही नियममा आधारित रहेर कारबाही अगाडि बढाइरहेका छौं ।”
महानगर प्रहरी नायव उपरीक्षक जोशीका अनुसार महानगर प्रहरी टोलीले साप्ताहिक रूपमा छाडा चौपाया नियन्त्रणमा लिई लिलामी प्रक्रिया अगाडि बढाउँदै आएको छ । “हामी नियन्त्रणमा लिएका चौपाया टेकुस्थित कान्जी घरमा राख्छौं र लिलाम गरी बिक्री गर्छौं ।” जोशीका अनुसार उक्त कान्जी घरमा नियन्त्रणमा लिइएका चौपाया धेरै दिनसम्म राखिँदैन । यसो हुनाले चौपायाको आहारमा महानगरले धेरै रकम खर्च गर्नु पर्दैन ।
“लिलामीका लागि टेकु पुर्याइएका चौपाया बढीमा एकदिन मात्र त्यहाँ रहन्छन्,” जोशीले भने, “एकदिनका लागि हामी वस्तुलाई केही खानेकुरा दिँदैनौं, पानीमात्रै खुवाउँछौं ।”
यस्ता चौपायामा धेरैजसो बहर हुन्छन् । काठमाडौंमा हलो जोत्न नपाइने परम्परागत नियमका कारण महाराजगञ्ज, गौशाला, बबरमहल, तीनकुने, चाबहिल, कलंकी, बालाजु, कोटेश्वरका क्षेत्रमा रहेका गाई फार्म तथा स्थानीयले पालेका बहरहरु केही हराएर र केही जानाजान सडकमा ल्याएर छोडिन्छ ।
महानगरले गत आर्थिक वर्षमा ५१३ वटा छाडा चौपाय नियन्त्रणमा लिएको छ ।
प्रभावकारी नियन्त्रणको उपाय के त ?
छाडा चौपाय नियन्त्रणका लागि नेपाल सरकारले प्रभावकारी कानुन नल्याएसम्म हालको कानुनले छाडा चौपाया पूर्ण नियन्त्रण हुन नसक्ने बताउँछन्, महानगर प्रहरी नायव उपरीक्षक जोशी । “हालको कानुनले छाडा चौपायाको यो क्रम दोहोरिहन्छ मात्रै, पूर्ण नियन्त्रण हुँदैन,” जोशीले भने ।