site stats
बाह्रखरी :: Baahrakhari
देश
तारकेश्वरमा लागुऔषधरहित सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा लागुऔषध दुर्व्यसनरहित घर अभियानसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यमा बुधबार कार्यक्रम गरिएको हो ।    

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा सञ्चालित लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत तारकेश्वर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बोहोराटार बालाजुको आयोजनामा तारकेश्वर नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनबीच लागुऔषधविरुद्ध आपसी सहयोग, समन्वय र सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान समेत भएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले देशैभर समस्याको रूपमा देखिएको लागुऔषध दुर्व्यसनले शान्ति सुरक्षामा असर गर्नुका साथै विभिन्न आपराधिक क्रियाकलापसमेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणका निम्ति सबै सरोकारवाला निकायको समन्वय तथा सहकार्य आवश्यक रहेको बताए । 

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरू अत्यन्तै फलदायी हुने उल्लेख गर्दै सबै सरोकारवाला निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शनप्रसाद कोइराला, प्राध्यापक डा. केशवराज खड्का र विशेषज्ञ प्राध्यापक डा. केदारनरसिंह केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्