site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्को गलत सहमति 

सत्तारुढ राजनीतिक दलका नेताले जे दाबी गरे पनि २०७४ साल वैशाख १० गतेको सहमतिले फेरि एकपटक देशलाई गलत बाटामा लगेको छ । देशमा दुई चरणमा निर्वाचन गराउनु नै गलत हैन । विगतमा पनि धेरै पटक स्थानीय निर्वाचन चरण चरणमा भएका छन् । अहिले २ नम्बर क्षेत्रका केही जिल्लामा निर्वाचन हुन नसक्ने वा सार्नुपर्ने अवस्था थियो भने ती क्षेत्रमा मात्रै अर्को चरणमा निर्वाचन गर्नुपर्थ्यो । तर, तराईको भूभाग छोएका सबै प्रदेशमा निर्वाचन स्थगित गरियो । यसले तराई मधेसी मोर्चाको 'बिर्ता' हो र देशको अन्य भूभागभन्दा फरक हो भन्ने गलत 'नजिर’ स्थापना गर्न खोजेको छ । त्यसो त हस्ताक्षर नगरिएकाले यो सम्झौता भन्न नमिल्ने सहमति कार्यान्वयन नहुने सम्भावना नै बढी छ । 

मधेसी मोर्चाका नेताको नियत ध्येय दुवै स्पष्ट छैन । विशेषगरी विधि, प्रक्रिया र लोकतन्त्रको मूल्य मान्यताप्रति तिनले गरेको उपेक्षा तथा नेपाली राष्ट्रियताको अवमूल्यनले अबका दिनमा पनि यिनले लोकतान्त्रिक विधि र प्रक्रिया स्वीकार गर्छन् भनेर विश्वास गर्ने ठाउँ छैन । अहिलेको सम्झौताअनुसार संविधान संशोधन गर्न बहुमत पुगेन वा संशोधन असंवैधानिक ठहर भयो भने सहमतिको अवस्था कस्तो हुन्छ ? के उनीहरू सम्झौतामा अडिन्छन् ? वा तत्कालै बोली फेर्छन् ? त्यस अवस्थामा १,२,५,७ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन कसरी गर्ने ? अझ, पहिलो चरणको निर्वाचनपछि सरकारको नेतृत्व हस्तान्तरण हुने प्रचार गरिएको छ । नेतृत्व हस्तान्तरण हुनेभन्दा सत्ता समीकरण नै परिवर्तन हुने सम्भावना पनि उत्तिकै बलियो छ ।

  त्यस अवस्थामा अहिलेको सहमति कसरी कार्यान्वयन होला ? नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन टुट्यो भने यो सहमतिको जिम्मेवारी कस्ले लिने ?  
संविधान संशोधनका लागि प्रमुख विपक्षी नेकपा (एमाले)को सहयोग अनिवार्य हुन्छ । करबल, छल प्रयोग गरेर दुईतिहाइ बहुमत जुट्यो नै भने पनि एमालेले प्रस्तावित संशोधन विशेषगरी नेपालको संविधानको धारा २७४ मा गरिने संशोधन स्वीकार गर्ने अवस्था देखिँदैन । यद्यपि, सत्तामा जान पाउने हो भने एमालेले कुनै पनि प्रस्ताव अस्वीकार वा स्वीकार गर्छ भनेर कसैले पनि ठोकुवा गर्न सक्तैन । तैपिन, संविधान संशोधन विधेयक पारित हुने सम्भावना अत्यन्त कम देखिन्छ ।

कांग्रेस र माओवादी केन्द्रभित्रै पनि प्रस्तावित संशोधनका विपक्षमा ठूलो समूह छ । तिनले विद्रोह गर्ने मन बनाए भने कसैले पनि रोक्नसक्ने छैन । कारण, अरू समूहजस्तो तिनको लगाम बाहिरका कसैको हातमा छैन । संविधान संशोधनको सर्तलाई निर्वाचनसँग जोडेर सहमतिका नाममा विधि र मूल्यको उपहास गर्ने गलत परम्परालाई नै निरन्तरता दिइएकाले यो संशोधन कसैको पनि हितमा छैन । मधेसी जनतालाई पनि यसले निराशमात्र बनाउनेछ । 

पटकपटक निर्वाचन स्थगित गरेर चुनाव र दलगत स्वार्थलाई पर्यायवाची बनाउने गलत परम्परा माओवादीलाई खुसी बनाउन गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदै सुरुभएको हो । अहिले मोर्चाका नेतालाई सन्तुष्ट बनाउन त्यही गल्ती दोहोर्‍याइएको छ । उतिबेलाको गल्तीले मुलुक अहिलेसम्म संक्रमणमा फसेको छ । अहिलेको गल्तीका कारणा संक्रमण र अस्थिरता लम्मिने निश्चितप्रायः देखिन्छ ।

तराईका जिल्लालाई मोर्चाको जमिनदारी नै माने पनि प्रदेश नम्बर १, ५ र ७ का पहाडी जिल्लामा समेत अहिलेको सहमतिले स्थानीय तहको निर्वाचन अन्योलको विषय बनाएको छ । संविधान संशोधनको माग ती जिल्लाका जनताले त गरेका थिएनन् । निर्वाचनमा भाग लिन व्यग्र उनीहरूलाई आफ्ना प्रतिनिधि छान्ने मौकाबाट किन वञ्चित गरिएको हो ? सरकार वा कुनै दलका नेतालाई यी जनताको मौलिक हकमा खेलबाड गर्ने अधिकार छैन । संविधान जारी भइसकेपछि पनि यसरी सहमतिका नाममा जनताका हक खोस्ने गलत परम्पराले संक्रमण लम्याउनेछ र लोकतन्त्रको उपहास पनि हुनेछ ।

संविधान संशोधन भएर मधेसी मोर्चाका नेताले चुनावमा भाग लिए नै भने पनि तिनले मत पाउँछन् र चुनाव जित्छन् नै भन्ने त छैन । मोर्चाका उमेदवार हारे भने लोकतान्त्रिक प्रक्रिया ठानेर सहजरूपमा स्वीकार गर्लान् भने पत्याउन पनि तिनको विगतको व्यवहारले दिँदैन । त्यसपछि निर्वाचन परिणाम मान्दैनौ भनेर अर्को बखेडा निकाले भने के गर्ने ?  मोर्चाले अर्को आन्दोलन घोषणा गरेर वा मोर्चाका ’मेन्टर’ले थप दबाब दिएर सरकारलाई फेरि झुकाउने उपक्रम थाल्दैनन् भनेर ढुक्क कसरी हुने ? 

दोस्रो चरणको निर्वाचन नहुने वा अधिकांश स्थानमा स्थगित हुने अवस्था उत्पन्न भयो भने त्यति बेला सरकारको नेतृत्व गर्ने भनिएका कांग्रेस सभापति तेस्रो पटक ’अक्षम’ ठहरिन पुग्नेछन् । त्यस अवस्थामा नेपाली कांग्रेस पनि नराम्ररी पछारिनेछ । लोकतन्त्रप्रति प्रतिबद्ध र राष्ट्रियताको उदार तर स्पष्ट दृष्टिकोण भएको संसद्को सबैभन्दा ठूलो दल 'कोमामा रहँदा' राष्ट्र र लोकतन्त्र दुवैको हित हुँदैन । अहिलेको सहमतिले भने बिस्तारै कांग्रेसलाई त्यही बाटामा उन्मुख गराएको छ ।

स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चाका नेतालाई खुसी तुल्याउन लोकतन्त्रको मर्ममै प्रहार गर्न परे पनि सरकार तम्सेको देखेपछि प्रदेश र संघको चुनावमा असन्तुष्टिलाई भजाएर स्वार्थ सिद्ध गर्ने जमातको हौसला बढ्नेछ । अनुचित विधि अपनाएर गलत माग पूरा भएकाले दुरुत्साहित मधेसी मोर्चाका नेताले प्रदेशको निर्वाचन अगाडि जसरी पनि सीमांकन परिवर्तन हुनै पर्ने हठ गर्नेछन् भनेर अहिल्यै ठोकुवा गर्न सकिन्छ ।

अर्कातिर १ नम्बर, ५ नम्बर र ७ नम्बरमा सीमांकन हेरफेर गर्न नमान्ने जनमत उत्तिकै बलियो  छ । प्रदेश नम्बर ५ को सीमांकन हेरफेरको प्रयास गर्दा भएको जनविरोधले यसलाई पुष्टि गरेको छ । त्यस अवस्थामा के गर्ने ? मधेसी मोर्चाका नेतालाई खुसी तुल्याउने कि स्थानीय जनभावनाको सम्मान गर्ने ? पटकपटक सहमतिका नाममा विधि, प्रक्रिया, मूल्यमान्यताको उल्लंघन र उपहास गर्दैआएको सरकार तुष्टीकरणको बाटामा हिँड्न नैतिकरूपमा पनि बाध्य हुनेछ । अर्थात्, विधिको शासनको मर्ममा फेरि प्रहार गरिनेछ । 

मधेसी मोर्चाले जस्तै अरू समूहले पनि माग राखे भने तिनका माग पूरा गर्न विधि र प्रक्रिया मिच्ने कि नमिच्ने ? जनताका नाममा केही ठालुले भनेको पत्याउने र राज्यले त्यसैअनुसार गर्ने परम्परा स्थापित भइसकेको छ । राउटेहरूको समूहले बनमा काठ निर्बाध काट्न पाउनुपर्ने माग राखे भने नाइँ भन्ने नैतिक अधिकार सरकारसँग हुन्छ ?
राष्ट्रियतालाई परोक्षरूपले खण्डित गर्ने यो ’समस्या गर्भिणी’ सहमति उचित देखिँदैन । सम्भवतः कार्यान्वयन पनि हुनेछैन । तर, चुनावलाई भने यसले पक्कै प्रभाव पार्ने भयो । निर्वाचन आयोगसँग सल्लाहै नगरी घोषित निर्वाचनको चरण बदल्ने सहमति गर्नेहरू विधि र लोकतन्त्रको शक्ति पृथकीकरणको सिद्धान्तका वैरी हुन् । गलत अभ्यासको परिणाम पनि सुखद हुनेछैन । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro