site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
 देशको दशादिशा अब कता ?

नेपाली कांग्रेस असफल ! नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असफल ! परिणाममा अन्ततः देश नै असफल हुने ? राजनीतिक परिवर्तनका लागि सफल मानिएका नेपालका राजनीतिक दलहरु राज्य सञ्चालन विधिमा भने प्रायः असफल देखिन्छन् । 

सात सालमा आधुनिक प्रजातन्त्र स्थापनाका लागि गरिएको जनक्रान्तिदेखि यताका सत्तरी वर्षमा भएका परिवर्तनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको चरणसम्म आइपुग्यो । प्रजातान्त्रिक संघर्षको निरन्तरतामा सात, पन्ध्र, छत्तीस, छयालीसलगायत सालहरु राजनीतिक परिवर्तनका कोसेढुंगा हुन् । बैसठ्ठीको आन्दोलनले देश गणतन्त्र र संघीयतामा प्रवेश गर्यो । गणतन्त्र सात सालकै प्रतिबद्धता थियो । 

यति धेरै, यति छिटो सफल राजनीतिक परिवर्तनको इतिहास बिरलै मुलुकमा भेटिएला । यस्ता परिवर्तनको आधार यहाँका राजनीतिक दलहरु नै हुन् । अहिलेसम्मको राजनीतिक उपलब्धि र शान्ति प्रक्रियाको नेतृत्व भने नेपाली कांग्रेसले गरेको हो । विगतमा राजादेखि दलहरुले राज्य सञ्चालनको जिम्मेवारी लिए । राजाको सत्ता महत्त्वाकांक्षाले प्रजातन्त्रलाई तीन दशक कुण्ठित पारिएको लामो इतिहास छ र छयालीसमा प्रजातन्त्र पुनःस्थापनापछि पनि राजशाहीले यताउता गरी नै रह्यो । 

KFC Island Ad
NIC Asia

राजसंस्थाले प्रजातन्त्र स्थापनालाई सहर्ष स्वीकारेको भए सायद वंश परम्परा विच्छेद हुने पनि थिएन । बरु सम्मानित भएर रहने सम्भावना बन्थ्यो । तर, यसविपरीत सक्रिय हुन खोज्दा भएको वंश परम्पराको अन्त्यले राज्य सञ्चालनको असफलता कसैको जिम्मा देखाएर दलहरु अब उम्कने ठाउँ रहेन । अर्थात्, दल नै जिम्मेवार हुने भए । अधिनायकवादी कम्युनिस्ट चिन्तन सैद्धान्तिकरुपले नै प्रजातन्त्र र राजतन्त्र विरोधी हो । तर, दुनियाँमा प्रजातन्त्रलाई साथ दिएर फस्टाएका राजसंस्थाका अझै थुप्रै उदाहरण छन् । 

नेपालको राजसंस्थाले पनि सत्ताभन्दा सम्मान खोजेको भए न प्रजातन्त्रले अस्थिर हुनुपथ्र्यो न मुलुक यतिधेरै राजनीति उहापोह भोग्न बाध्य हुन्थ्यो । यो चिन्ताभन्दा पनि इतिहासको चिन्तन हो र बढ्ने त अगाडि नै हो । नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आप्mनो अधिनायकवादी मनसुवा मुखरित गर्न खोजेको धेरै कोणबाट खुल्दैछ । यसले राजशाहीले गरेको भन्दा पनि थप गल्ती पुनरावृत्ति गर्ने प्रयत्न गर्दैछ । यसो गरे जसरी नागरिकको प्रजातान्त्रिक आकांक्षा राजतन्त्र सामु झुकेन बरु राजसंस्था नै उखेलियो कम्युनिस्टहरु राजतन्त्रको जस्तै नियति रोज्न स्वयं अभिशप्त नबनून् !    

Royal Enfield Island Ad

प्रश्न नेपालमा यति धेरै राजनीतिक परिवर्तन किन आवश्यक भयो र यसको कारण के हो ? कारण, जो सुकैले राज्य, सरकार सञ्चालनको भूमिका निर्वाह गर्दा पनि व्यवस्थापन कमजोरीकै परिणामले राजनीतिक परिवर्तनलाई द्रूत र धेरै बनायो । प्रजातन्त्रलाई निरन्तर गतिशील हुन रोकियो तर नागरिकको प्रजातान्त्रिक आकांक्षा सत्ता दमनको अघिल्तिर केही बाधित भए पनि सधैँ बन्दी बन्न तयार भएन । यही कारण परिवर्तन नै बारम्बारको राजनीतिक उद्देश्य बन्यो । 

बीचबीचमा आएका प्रजातान्त्रिक अवसरलाई राजशाहीले केही दलहरुकै प्रत्यक्ष, अप्रत्यक्ष सहयोगमा बिथोल्ने परम्परा बसालो । तानाशाही र अधिनायकवादी प्रशिक्षणमा हुर्के, हुर्काइएका दलहरुले प्रजातन्त्र विरोधी कृत्यलाई साथ दिए । तर, नेपाली जनताको प्रजातान्त्रिक अपेक्षाले त्यहाँसम्म पुग्ने संघर्षलाई निरन्तर साथ दिइरहेको परिणाम गणतन्त्रसम्म आइपुगे । अब राजनीतिमा जाने कहाँ ?

लोकतन्त्र भनियोस् कि प्रजातन्त्र यहाँबाट फर्केर जाने ठाउँ छैन । लोकतन्त्रलाई थप उन्नत, खुला र समृद्ध बनाउनु नै अबको राजनीतिक उपलब्धि हुन्छ । संविधानको अपेक्षा, निर्देश पनि यही हो । लोकतन्त्रबाट फर्कदा पाइने (अ)राजनीतिक विकल्प तानाशाही, अधिनायकवादी सत्ता संरचना नै हो । लोकतन्त्रबाहेकको उल्टो यात्रा नेपाली नागरिकलाई मान्य नभएको पाठ इतिहासले दिइसकेको छ । यहाँका कम्युनिस्ट शासकहरु उत्तराभिमुख कम्युनिस्ट ‘स्वप्नसुन्दरी’ देख्ने चाहमा हुन् भने नेपालको भूराजनीतिक सन्दर्भमा त्यो सम्भव छैन । लोकतन्त्रको दमन होला तर यहाँ कम्युनिस्ट सत्ता लामो टिक्ने छैन । 

अन्तको किन, यहाँ कै कम्युनिस्टहरुको अनुभवले पनि प्रमाणित गरेको तथ्य प्रजातन्त्रमै आउनु हो । संसदीय प्रजातन्त्रको बर्खिलाप बनेका सबै कम्युनिस्ट र अहिलेको मूलधार कम्युनिस्ट (नेकपा)लाई ओत लिन प्रजातन्त्र नै छहारी भयो, सहारा बन्यो ।

विगतमा राजशाहीलाई औँला तेस्र्याएर गरिने राजनीति अब रहेन । अन्य आन्तरिक वा वाह्य कारण होलान्, त्यस्तो प्रायः जहाँ पनि हुन्छ । यस्ता कारण देखाएर नेपालका दल र तिनका नेतालाई उम्कने मौका अब छैन । यस्तो मान्न जनता तयार पनि छैनन् । लिम्पियाधुरालगायत सीमाक्षेत्रको विषयमा प्रकट नेपाली मतले दिएको सन्देश यही हो । राज्यसत्ता सञ्चालन मूर्दा शान्तिको खोजी होइन, व्यापक हलचल र सक्रिय उहापोहको व्यवस्थापन हो । 

लोकतन्त्र जति खुला हुन्छ त्यति नै सुन्दर हुन्छ र यसले व्यवस्थापन कौशलको माग गर्छ । व्यवस्थापन समन्यायिक, सुशासनमा मात्र हुन्छ । कुनै न कुनैरुपको आन्तरिक र बाह्य कारण वा प्रभाव जुनसुकै मुलुकले पनि बेहोरेकै हुन्छन् । ती प्रभाव अहिलेको दुनियाँमा आर्थिक, राजनीतिक र अन्य हुनसक्छन् । यस्तै प्रभावबीच प्रगति गरेका र बचे, बचाएकाहरु नै मुलुक हुन् । सबै देशको सीमा छिमेकसँग जोडिएकै छ । जल वा थल सीमा । यस्ता कारण दलहरुलाई लाज छोप्ने बर्को बन्दैनन् । 

बहुदलीय व्यवस्थामा दलहरु नै राजनीतिका सम्बल हुन् । यिनीहरुको सबलता र सदाचार राष्ट्रिय भरोसाको आधार पनि हो । जनताले शक्ति दिने हो । जनताबाट शक्ति लिन र दिन दलहरुमा केही विशेष गुण, क्षमता र शुद्धता चाहिन्छ । त्यसो नभए केहीपटक झुक्याए पनि बारम्बार जनता झुक्किँदैनन् । अहिले सरकारी कम्युनिस्ट र प्रतिपक्षी नेपाली कांग्रेसले बुझ्ने यही हो । बुझेकै होलान् । बुझ्ने मात्रै किन ? आत्मसात पनि गर्ने यही हो । 

यी पंक्तिहरूको थालनी कांग्रेस, कम्युनिस्टकै असफलताबाट गरिएको थियो । इतिहासमा अनेक रुप होलान्, छन् । तर, वर्तमानले कांग्रेस, कम्युनिस्टलाई सफल मान्दैन । कुनै पनि कोण, जोड र विश्लेषणले यिनलाई सफलताको पगरी गुथाउन सक्दैन । प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट सरकारको तारिफ गर्ने मन, मुटुका पत्रकार खोजेछन् । उनले लाम लगाएर कम्युनिस्टको तारिफ गर्न आफ्ना पत्रकारलाई शपथ ख्वाएकै हुन् । तर, नेपालीले खोजेको तारिफ योग्य सरकार र काम हो । पत्रकारले बोल्ने होइन, काम बोल्ने हो । प्रधानमन्त्रीलाई चारओटा सरकारी सञ्चारमाध्यमले एकोहोरो ‘भक्तिगीत’ गाउँदा पनि चित्त बुझेन ?  

कम्युनिस्ट सरकार पूर्णतः असफल भएको छ । नेपाली कांग्रेसले त प्रजातन्त्र र आर्थिक दिशा दर्शन दियो । यहीभित्र आएर कम्युनिस्ट सरकारले पाएको प्रजातन्त्र र आर्थिक दिशासमेत  राम्ररी सञ्चालनसम्म पनि गर्न सकेन । संघीय, लोकतान्त्रिक, गणतन्त्रको दशादिशाको ‘इन्डिकेटर’ सबै असफलतातिर द्रूततर गतिमा उन्मुख छन् । झन्डै दुईतिहाइको सरकार भन्नुमात्रै । राजनीतिक र आर्थिकलगायतका विषयमा विगत गठबन्धन सरकारहरुभन्दा पनि कमजोर, असफल, अक्षम र अनुदार देखियो वर्तमान सरकार । 

यो सरकार बनेपछि लोकतन्त्र वा नागरिक अधिकार र नैसर्गिक स्वतन्त्रता खुम्च्याउने, राज्यशक्ति केन्द्रिकृत गर्ने, जनताको करबाट बने, बनाइएको साधनस्रोत सरकारी कम्युनिस्ट दल र कार्यकर्ता पोस्ने, शक्ति पृथकीकरण र सुशासन कायम गर्न नखोज्ने, देशलाई विकृति, भ्रष्टाचारको दलदलमा पार्ने गरिएको छ । सरकार सञ्चालन विधिले होइन, स्वेच्छाचार र मनपरी छ । प्रशासन, सुरक्षा र जतासुकै कम्युनिस्टीकरण गएिको छ । अनि प्रधानमन्त्रीले खोजेजस्तो सरकारको कुन कामको तारिफ गर्न उन र उनका अनुचरबाहेक, अरु कसैको मन झंकृत हुने ? 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस अहिलेको दिनमा सबैभन्दा असफल, अक्षम र निरीह देखिन्छ । वर्तमान अक्षमताले पार्टीलाई नै विघटन वा विसर्जनको बाटोमा लान थालेको आकलन भइरहेको कांग्रेसका नेताको आँखा, कानमा पनि परेको होला । यस्तो आकलनको भागीदार नेता वा सभापति बन्ने र बनिरहने सोख साच्चै उदेक लाग्दो र अन्ततः देशका लागि पनि  पीडादायी हुनेछ । कांग्रेसको लाचारी सरकारी मनपरीका लागि ऊर्जा भएको छ । 

कांग्रेसको पुनर्जागरण के सम्भव छैन ? अहिलेका शीर्ष नेतृत्वबाट पुनर्जागरण सम्भव किन छैन भने उसले परीक्षामा उत्तीर्णांक ल्याउन सकेकै छैन । ‘फेल’ छ । नेतृत्व उत्तीर्ण वा सफल थियो भने विघटनको आकलन कसैले पनि गर्थेनन् र पुनर्जागरणको अपेक्षा पनि जन्मिने थिएन । 

कांग्रेस असफल, कम्युनिस्ट (सरकार) असफल । देशको अवस्था यस्तोमा अब कस्तो होला ? राजनीति कता, कसको पोल्टामा जाला ? लोकतन्त्र रहला कि, नरहला ? देश नै असफल पार्ने हो कि कम्युनिस्ट सरकारले ? नागरिक समाज, नेपाली कांग्रेस र जनतालाई चेतना होस् !       
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro