site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा नर्सिङ पेसा : सेतो कुर्ता र एप्रोनभित्र लुकेको पीडा
SkywellSkywell

काठमाडाैं । रविना शाक्य (नाम परिवर्तन) लाई बिहान सात नबज्दै अफिस जाने हतारो भइसकेको हुन्छ । भक्तपुर सल्लाघारीदेखि काठमाडौंको गौशाला पुग्न उनलाई झण्डै डेढ घण्टा लाग्छ, त्यो पनि जाममा परिएन भने । नौ बजेदेखि ड्युटी समय भएकाले उनी बिहानै घरबाट निस्किन्छिन्, यो उनको दैनिकी हो । “एक मिनेट पनि ढिलो पुग्ने छुट हुँदैन हामीलाई, अरू अफिसजस्तो बिदा मिलाउन पनि सजिलो छैन,” उनी भन्छिन्, “हतार–हतार खाना खायो, नभए टिफिनमा बोकेर अफिसमै खानुपर्छ ।”

उनी ६ महिनादेखि गौशालामा रहेको एक निजी क्लिनिकमा कार्यरत छिन् । नर्सिङ संवेदनशील पेसा भएकाले आफूहरूको एकछिनको ढिलाइले कसैको जिन्दगी नै तलमाथि हुनसक्नेमा सचेत छिन् । “यो पेसा नै यस्तै हो, हामी आफ्नाका लागि जति बाँच्छौं, त्योभन्दा धेरै अरूका लागि बाँच्छौं,” पेसाको संवेदनशीलताबारे थप्दै उनले भनिन्, “अस्पतालमा हामीलाई कुरेर बस्नेहरू हुन्छन्, उनीहरूलाई स्वास्थ्य लाभ गराएर खुसीसँगै घर फर्काउनु हाम्रो दायित्व हो । जब एउटा बिरामी निको भएर घर फर्किन्छ । त्योभन्दा ठूलो खुसी अरू हाम्रा लागि केही हुन्न ।”
०००

आफन्त बिरामी भएको बखत अस्पताल पुग्दा देखिएका नर्स हुन् या बाटोमा सेता एप्रोनमा सजिएका हुन्, त्यही पोसाकले लोभ्याएको थियो, कलंकीकी अञ्जना तिमिल्सिनालाई । समाजमा पनि निकै सम्मानित पेसाका रूपमा चिनिने भएकाले अञ्जनालाई नर्स बन्ने रहरले कुत्कुत्यायो । “नर्सहरू सजिएर हिँडेको देख्दा र समाजले यो पेसाप्रति देखाएको सम्मानले मलाई पनि नर्स बन्न रहर लाग्यो,” उनले भनिन्, “परिवारको पनि साथ पाएपछि नर्सिङ अध्ययन गरें । र अहिले यही पेसामा छु ।”

KFC Island Ad
NIC Asia

पेसा भने उनले सोचेजस्तो सजिलो थिएन । “दिनरात नभनी खटिनुपर्छ । कहिलेकाहीँ त आफैँ बिरामी हुँदासम्म पनि आराम लिन पाउँदैनौँ । बाहिरबाट देखेको भन्दा धेरै फरक रहेछ,” उनले दुखेसो पोखिन् । 

काठमाडौं उपत्यकामै घर भएकाहरूलाई त झन् पर्वका बेला पनि बिदा सहजै पाइँदैन । “बाहिर जिल्ला घर भएका साथीहरू दसैं तिहार मनाउन जान्छन् हामीलाई चाहिँ एक दिन पनि बिदा मिल्दैन,” भक्तपुर घर भएकी रविनाले भनिन्, “एकैछिन त हो, हाजिर मात्र गर्न आउ भन्नुहुन्छ, आएपछि बिरामी हेर्नैपर्‍यो । निकै गाह्रो हुन्छ ।
काम अनुसारको सेवासुविधा नभएको रविनाको भनाइ छ । उनले भनिन्, “देख्दा चिटिक्क देखिए पनि सेवा र सुविधामा भने कमजोर छौं । सुरु सुरुमा कतिपय साथीहरूको तलब दस हजार पनि हुँदैन ।”

Royal Enfield Island Ad

पाटन अस्पतालमा कार्यरत अञ्जना डेढ वर्षदेखि अप्रेसन वार्डमा काम गर्छिन् । उनले ५ लाख १५ हजार रुपैयाँ खर्चेर नर्सिङमा स्नातक गरिन् । तर, अहिले सोही सरहको शिक्षा प्राप्त गर्न ७ देखि ८ लाख रुपैयाँ शुल्क लाग्ने गरेको उनले बताइन् ।

“कलेजहरूको मनपरि शुल्क छ । सबैतिर एउटै शुल्क नहुँदा विद्यार्थी मारमा छन्,’’ उनले भनिन् । उनी पाँचौं तहकी कर्मचारी हुन् । सरकारले जारी गरेको श्रम ऐनअनुसार सो तहको न्यूनतम पारिश्रमिक २८ हजार २ सय ताकेको छ । उनी अहिले आफूले पाइरहेको पारिश्रमिकमा पहिलेको तुलनामा सन्तुष्ट नै छिन् ।
उनले प्रवीणता प्रमाणपत्र तह (पीसीएल) पछि एक निजी अस्पतालमा काम सुरु गर्दा निकै थोरै सुविधामा काम गरेको अनुभव सुनाइन् ।

वृत्ति विकासको समस्या भने सरकारी अस्पतालमा पनि उस्तै छ । वर्षाैंसम्म करारमा कार्यरत नर्सहरूले सरकारी मापदण्डअनुसार पारिश्रमिक पाए पनि अन्य अतिरिक्त सुविधा भने पाउँदैनन् । “सरकारले स्थायी पदपुर्ति गर्दैन, हामी करारमा काम गर्नेहरूले महिनावारी तलब बुझ्नेबाहेक अरू सरकारी कर्मचारी जस्तो सुविधा पाउँदैनौं,’ भक्तपुर अस्पतालमा कार्यरत नर्स डिक्की शेर्पाले भनिन्, ‘करारमा काम गर्नेको जागिर कहिले जान्छ भन्ने पनि टुंगो हुँदैन, अर्काे कुरा सधैं एउटै तहमा काम गर्नुपर्छ । प्रमोसनलगायत अरू सरकारले दिने सुविधा पाउँदैनौं ।” तर उनको बुझाइमा सरकारी अस्पतालमा कार्यरत नर्सहरूलाई निजी अस्पतालमा अवसर पाउन भने सहज हुन्छ ।

०००

सेवामा जति खटिन्छन् नर्सहरू, त्यो अनुसार सेवासुविधा भने छैन । पाँच लाखभन्दा बढी खर्च गरेर नर्सिङ अध्ययन गरेका नर्सहरू न्यून पारिश्रमिकमा अधिकतम समय सेवामा खटिएका हुन्छन् । सेतो कुर्ता र एप्रोनमा निकै खुलेको देखिने नर्सहरूको साझा पीडा हो, थोरै पारिश्रमिक । सरकारी अस्पतालमा नर्सका लागि पारिश्रमिकको निश्चित मापदण्ड भए पनि निजीमा भने छैन । निजी अस्पताल र क्लिनिकहरूले आफूहरूमाथि श्रम शोषण नै गरेको नर्सहरूको गुनासो छ । “सरकारी अस्पतालमा त  ठिकै छ, धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन, तर निजीमा भने एकदमै न्यून छ पारिश्रमिक,” नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेलले भनिन्, “थोरै तलब दिएर काम गराउने र त्यसमा पनि लामो समय निःशुल्क स्वयंसेवकका रूपमा खटाउने प्रवृत्ति छ ।”

उनका अनुसार नर्सलाई स्वयम्सेवीका रूपमा काम गराउने प्रावधान छैन । तर, सुरुमा अनुभव नभएको भन्दै निजी अस्पताल वा क्लिनिकहरूले  इन्टर्नसिपका नाममा सित्तैमा काम गराउँछन् । थोरै तलब तर गाह्रो जिम्मेवारी बोकेर नर्सहरूले काम गर्ने पोखरेलले बताइन् । “हतार–हतार चेन्जिङ रुममा गएर सेतो कुर्ता र एप्रोनलगायतसँगै उनीहरू काममा खटिनुपर्छ,” उनले भनिन्, “चेन्जिङ रुममै आफ्ना मनको पीडा, दुःख र तनाव सबै त्यहीं छोडेर खुसीका साथ बाहिर निस्कन सक्नुपर्छ । यो नर्सहरूको महानता हो ।”

झण्डै ३ दशक नर्सिङ पेसामा बिताइसकेकी नर्सिङ संघकी पूर्वअध्यक्ष पोखरेल भन्छिन्, “नर्सको सेवासुविधा अत्यन्तै कम भयो । उनीहरूले आफू बाँच्न मिल्नेसम्मको पनि तलब पाउँदैनन् ।” नेपाल नर्सिंङ परिषद्की सदस्यसमेत रहेकी पोखरेल पछिल्लो समय नर्सको संख्या धेरै हुनुले पनि बजारमा प्रतिस्पर्धासँगै सहजै रोजगार पाउन पनि मुस्किल रहेको बताउँछिन् । “म नर्सिङ पढ्दा शुल्क पनि कम थियो, अनि पढिसकेलगत्तै जागिर पनि पाएँ,” उनले भनिन्, “म स्नातकोत्तर पढ्दा त स्थायी भइसकेकी  थिएँ । मैले पढ्दा यो पेसा रोज्नेहरू पनि विरलै पाइन्थ्यो भने अहिले प्रतिस्पर्धाको जमाना छ ।”

०००

विश्वभरि नै नर्सिङ पेसाप्रतिको सम्मान उच्च छ । पहिले कमैले मात्र रोज्ने यो पेसा अहिले हरेक छात्राहरूको पहिलो रोजाई जस्तै हुन पुगेको छ ।

एसएलसी अध्ययनपछि प्रवीणता प्रमाणपत्र तह (पीसीएल) मार्फत् नर्सिङ पेसामा आउने प्रावधान विगतमा थियो तर अहिले त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रवीणता प्रमाणपत्र तह बन्द भएपछि नर्सिङ अध्ययन गर्न १२ कक्षा उत्तीर्ण गर्नैपर्ने हुन्छ । यो नियम त्रिविमा लागू भए पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी) र अन्य विश्वविद्यालयले भने पीसीएलमै नर्सिङ शिक्षा अध्ययन गराइरहेका छन् ।

अस्पतालहरूमा नर्सलाई गरिने सम्मान र समाजले नर्स पेसाप्रति देखाउने हार्दिकता र सेतो कुर्ता तथा नीलो साडीमा सजिएर आत्मसम्मानका साथ हिँड्ने यो पेसा बाहिरबाट जति सम्मानजनक देखिन्छ उति नै संवेदनशील भएको नर्सहरू बताउँछन् । “भिन्न–भिन्न बिरामीका बेग्ला–बेग्लै रोग हुन्छन्, ती सबैको हेरचाह हामीले गर्नुपर्छ, कतिपय त सरुवा रोगका बिरामी पनि हुन्छन्, आफूले जति नै सावधानी अपनाए पनि उनीहरूको रोग सर्ला कि भन्ने डर हुन्छ,” गोंगबुमा रहेको एक निजी अस्पतालमा कार्यरत नर्स शर्मिला न्यौपाने भन्छिन्, ‘बिरामीसँगै आफ्नो पनि उत्तिकै केयर गर्नुपर्छ ।’ 

परिवार र आफन्तको सल्लाहमा नर्सिङ अध्ययन गरेकी उनले यो पेसाको संवेदनशीलता काम गर्न थालेपछि मात्र बुझिन् । “पहिला त दिनभर अस्पतालमा बस्ने त हो, सजिलै होला जस्तो लाग्थ्यो,” उनले करियरको सुरुवाति दिन सम्झिँदै भनिन्, “जब काम सुरु गर्न थालें, बल्ल थाहा पाएँ कि नर्स पेसा त सबैभन्दा ठूलो सेवाको काम रहेछ ।” बिरामीको सरसफाइदेखि उनीहरूलाई समयमा औषधि खुवाउने काम तिनै नर्सहरूले गर्छन् । “चिकित्सकहरू आफ्नो समयमा आउँछन्, बिरामीको रिपोर्ट हेर्‍यो, अनि कुन कुन औषधि दिनुपर्छ, लेखेर जान्छन्,” उनी भन्छिन्, “त्यसपछि त्यो बिरामीको सम्पूर्ण हेरचाह नर्सले गर्नुपर्छ । बिरामीलाई केही हुनेबित्तिकै उनीहरूका आफन्त हामीलाई नै खोज्न आउँछन् । एकछिन् ढिलो भयो भने हामीले नै गाली खानुपर्छ ।”

अहिले नर्सिङ पढ्ने विद्यार्थीको संख्या बढेसँगै कलेजहरूको संख्यामा पनि बृद्धि भएको छ । नेपाल नर्सिङ काउन्सिलका अनुसार अहिले २ सयभन्दा बढी कलेजहरूले नर्सिङ अध्ययन गराउँछन् । यी कलेजबाट बर्सेनि ८ हजार नयाँ जनशक्ति उत्पादन हुने गरेको छ । निजीतर्फबाट अधिकांश कलेजमा सरकारले तोकेको भन्दा अधिकतम रकम लिने गरेको विद्यार्थी र अविभावकको गुनासो छ । 
शिक्षा मन्त्रालयले नर्सिङ शिक्षाका लागि ४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेको छ तर कतिपय निजी कलेजले अतिरिक्त सेवासुविधाका नाममा ८७ लाख रुपैयाँसम्म विद्यार्थीबाट असुल्ने गरेको गुनासो उठ्दै आएको छ । त्यति मात्र नभई नर्सिङ काउन्सिलकै अनुसार ९३ वटा कलेजले त मापदण्ड पूरा नगरी अध्ययन गराइरहेका छन् । न्यून सेवासुविधा तर अधिकतम परिश्रम गर्नुपर्ने बाध्यताकाबीच पनि नर्सिङ पेसा अंगाल्नेको संख्या बर्सेनि बढेको छ ।
०००
नेपाल सरकारले २०७६ साउन १ गते सार्वजनिक गरेको श्रम ऐनअनुसार चिकित्सा पेसा अर्थात् नर्सहरूको न्यूनतम पारिश्रमिक १९ हजार ४ सय ८० रुपैयाँ तोकिएको छ । सरकार आफैंले तोकेको सेवासुविधाको मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गर्दैन । “हाम्रो काम नर्सिङ शिक्षा अध्ययन गराउने कलेजहरूको शैक्षिक गुणस्तर, अस्पतालको मापदण्ड हेर्ने हो, नर्सहरूको सेवासुविधा हेर्ने क्षेत्राधिकार हामीलाई छैन,’ नर्सिङ काउन्सिलकी रजिस्ट्रार विन्दा घिमिरेले भनिन्, ‘हामीकहाँ पनि सेवासुविधा कम भयो भनेर गुनासा आउने गर्छन्, हामीले मन्त्रालय नै जानूस् भनेर पठाउने गरेका छौं ।” उनले सरकारले निजी अस्पतालले दिने सेवासुविधा र त्यहाँ कार्यरत कर्मचारीको अवस्थाका बारेमा पनि समयसमयमा अनुगमन गर्नुपर्ने सुझाव दिइन् । 
“कतिपय अस्पतालमा इन्टर्नमा  आएका  विद्यार्थी नै बिरामीको उपचारमा संलग्न भएको पनि पाइएको छ । त्यस्तो गर्नु गलत हो,” रजिस्ट्रार घिमिरेले भनिन्, “अस्पतालमा नर्सहरूको ठाउँमा इन्टर्नलाई काम गराउनु एकप्रकारले गैरकानुनी हो । यस्तो गरेको पाइए हामीले कारबाहीका लागि सिफारिस गर्छाैं ।”
०००
दुई वर्षअघि देशभरका नर्सहरू सेवासुविधालगायत विभिन्न एघार बुँदे माग राखेर सडक आन्दोलनमै उत्रिएका  थिए । उनीहरू सम्भवतः पहिलो पटक सेतो एप्रोनसहित सडकमै उत्रिएका हुन् । नर्सिङ सेवा महाशाखा पुनःस्थापना, सरकारी तथा निजी क्षेत्रका नर्सलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता दिनुपर्ने, दुर्गममा काम गर्नेलाई उचित पारिश्रमिक र सुरक्षा प्रत्याभूति गर्नुपर्ने माग उनीहरूको थियो । त्यस्तै योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासको प्रष्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक, स्नातकलाई स्नातकोत्तर र स्नातकोत्तर नर्सिङलाई पीएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग राखेर करिब दस दिन सडकमा उत्रिएका थिए । 

सरकारले आन्दोलनरत नर्ससँग २०७४ साल माघ ४ गते ११ बुँदे सहमति गर्‍यो । नर्सहरूले उठाएका सबै मागको सम्बोधन गर्ने लिखित प्रतिबद्धता सरकारले जनाएको थियो । तर, दुई वर्ष पुग्नै लाग्दा पनि आफ्ना मागको सम्बोधन नभएको उनीहरूको गुनासो छ । ‘केही प्राविधिक विषयको सम्बोधन भयो तर नर्सहरूको मुख्य मागको सुनुवाई अझै भएको छैन,’ नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले भन्छिन्, ‘नर्सहरूको वृत्ति विकास, बिदा सुविधा, उचित पारिश्रमिक पाउनुपर्ने मुद्दाको सुनुवाई भएकै छैन ।’

यता सरकारले भने नर्सहरूका मागको सम्बोधन गर्न लागिपरेको जनाएको छ । सबै मागको सुनुवाई एकै पटक सम्भव नभएको क्रमशः सम्बोधन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘दुई वर्षअघि नर्स र सरकारबीच भएको ११ बुँदे सहमतिमा एउटा महत्त्वपूर्ण माग नर्सिङ महाशाखा पुनःस्थापनाको थियो, त्यो सम्बोधन भइसकेको छ,’ उनले भने, ‘सबै माग आजको भोलि नै पूरा गर्न सम्भव हुँदैन । समय लाग्छ तर पनि सरकारले सम्बोधन गर्छ ।’ उनले नर्सिङ शिक्षा अध्ययन शूल्क र निजी अस्पतालमा नर्सहरूको पारिश्रमिकका विषयमा सरकारले अनुगमन गर्ने उल्लेख गरे । “कतिपय कलेजहरूले सरकारले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएको भन्ने गुनासो सञ्चारमाध्यमबाट बारम्बार आइरहेका छन् । यसमा सरकारले आफ्ना संयन्त्रमार्फत् त्यस्ता कलेजलाई कारबाहीको दायरामा ल्याउँछ,” उनले भने, “निजी अस्पतालमा थोरै तलब दिने तर बढी समय काम गराउने भन्ने गुनासा आइरहेका छन्, यसको अन्त हुनैपर्छ । सरकारले तोकेको श्रम ऐनको मापदण्डभित्र रहेर सबै अस्पतालले सेवासुविधा दिनुपर्छ ।” उनले निजी अस्पतालको नियमित अनुगमन र नियमनको व्यवस्था पनि मन्त्रालयले गर्न लागेको जानकारी दिए ।

सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्सको व्यवस्था गर्ने घोषणा गरेको थियो । सरकारको यो महत्त्वाकांक्षी कार्यक्रम लागू भए नर्सिङ पेसा थप व्यवस्थित हुनुका साथै धेरैका लागि अवसर पनि बन्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी घोषणा कार्यान्वयनका लागि मन्त्रालयले आन्तरिक तयारी गरिरहेको जनाएको छ । “हामी अहिले यसका लागि आवश्यक नीतिहरू बनाइरहेका छौं, यो कार्यक्रम लागू गर्न सरकार दृढ छ,’ मन्त्रालयका जनस्वास्थ्य प्रशासक प्रमुख तथा प्रवक्ता श्रेष्ठले भने, ‘यो कार्यक्रमले नर्सिङ पेसा थप व्यवस्थित हुनेछ भने यसले आवश्यक सेवासुविधा नपाएर विदेसिनुपर्ने बाध्यतालाई पनि कम गर्नेछ ।” उनले सरकार नर्सिङ पेसालाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन लागिरहेको दाबी गरे । 

०००

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जनरल वार्डमा ५ जना बिरामी बराबर एक नर्स, प्रसूति कक्षमा एक बिरामी दुई जना नर्स हुनुपर्छ । शल्यक्रिया कक्ष (अपरेसन थिएटर) मा १ बिरामी ३ नर्स, आईसीयू र सीसीयूमा एक नर्स एक बिरामी र हाइकेयरमा दुई बिरामी एक नर्स हुनुपर्ने अनिवार्य व्यवस्था छ । विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्रका हैसियतले नेपालले पनि यसको पालना गर्नुपर्छ । जसअनुसार सरकारी अस्पतालमा मात्रै ३० हजार नर्स जनशक्तिको आवश्यकता हुन्छ । नेपाल नर्सिङ संघका अनुसार सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्ड लागू गरेको छैन । सरकारी स्वास्थ्य संस्थामै पर्याप्त दरबन्दी नभएको संघको भनाइ छ ।

देशभरका सरकारी अस्पतालमा ७ हजार अनमी र ३ हजार नर्स मात्रै कार्यरत छन् । ३० हजारभन्दा बढी नर्सको आवश्यकता रहेकोमा १० हजार जनशक्तिको भरमा सरकारले स्वास्थ्य संस्था सञ्चालन गरिरहेको तथ्यांकले देखाउँछ । 

त्यस्तै ३ सय बेडको अस्पतालमा ३ सय जना नै नर्स चाहिन्छ । तर, यहाँ १ सय बेडको अस्पतालमा जम्मा ३० जना नर्स मात्रै राख्ने गरेको सरकारी तथ्यांक छ । अस्पतालको सबैभन्दा संवेदनशील कक्ष भनेको अप्रेसन थिएटर हो । जहाँ डाक्टर तथा नर्सको एक सानो गल्तीले पनि बिरामीको ज्यान जान सक्ने खतरा हुन्छ । त्यसकारण अप्रेसन थिएटरमा एक बिरामीका लागि ३ जना नर्सको व्यवस्था गरिएको हो । तर, यी कुनै पनि मापदण्ड सरकारी अस्पतालले नै पूरा गरेका छैनन् ।

“पहिलो कुरा त सरकारले नै मापदण्डअनुसार नर्सको व्यवस्थापन गर्‍यो भने निजीलाई पनि दबाब हुन्छ,” नर्सिङ संघकी पूर्व सदस्य राजकुमारी ज्ञवालीले भनिन्, ‘नर्सहरू अवसर नपाएर कि त विदेसिनुपर्ने अवस्था छ भने कि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा विश्व स्वास्थ्य संगठनको मापदण्ड लागू गराउने हो भने धेरै समस्याको समाधान हुन्छ ।’ उनका अनुसार नर्सलाई ६ महिना सुत्केरी बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन छ । तर, नेपालमा भने यसको कार्यान्वयन फितलो छ । सरकारी अस्पतालमा तीन महिनासम्म बिदा दिने गरे पनि निजीमा सुत्केरी बिदा एक महिना पनि नपाइने उनले बताइन् । नेपाल सरकारकै श्रम ऐनमा कर्मचारीलाई एक महिना घर बिदा र १२ दिनसम्म बिरामी बिदाको सुविधा भए पनि निजीमा यस्तो बिदा कटौती गरिएको नर्सहरूले बताएका छन् । 

“हरेक अप्रेसन थिएटरमा ३ जना नर्स र एकजना बिरामी हुनुपर्छ भनिन्छ, तर हाम्रामा ठिक उल्टो हुन्छ । जसले गर्दा कहिलेकाँही बिरामीको पेटमा कैँची छुटेको समाचार हामी सुन्न पाउँछौं,” पाटन अस्पतालमा कार्यरत नर्स अञ्जनाले भनिन्, “एक जना नर्स अप्रेसन गर्दा प्रयोग गरिएक कैँची लगायतका औजारहरू गन्तीका लागि मात्रै राखिन्छ भने बाँकी दुई जना बिरामीलाई हेर्न र डाक्टरलाई सहयोग गर्न राखिन्छ । तर, हामीकहाँ बढीमा दुई जना नर्सले सम्हाल्नु पर्नेहुन्छ । जसले गर्दा मानसिक दबाब बढी हुन्छ ।” उनका अनुसार एउटै नर्सले धेरै बिरामी हेर्दा काम प्रभावकारी हुँदैन । जसको मारमा बिरामी परिरहेका हुन्छन् । 

०००

कुनै पनि सरकारी होस् वा निजी अस्पताल खोल्दा स्वास्थ्य मन्त्रालयमा बेड  संख्याअनुसार डाक्टर र नर्सको विवरण राख्ने लिखित सम्झौतामा हस्ताक्षर गरेपछि मात्रै लाइसेन्स दिइन्छ । अस्पताल नवीकरण गर्ने समयमा पनि यी विषय उल्लिखित हुनैपर्छ । तर, सरकाले आफैंले तोकेको मापदण्डप्रति आँखा चिम्लिँदा एकातिर बिरामीहरू राम्रो सेवा पाउनबाट वञ्चित भएका छन् भने अर्काेतर्फ अस्पतालमा कार्यरत चिकित्सक र नर्सलगायत अन्य कर्मचारीले तोकेबमोजिमको सेवासुविधा पाइरहेका छैनन् ।

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका नर्सको संख्या करिब ९० हजार छ । तीमध्ये कति नेपालमा छन्, अनि कति देशबाहिर भन्ने यकिन तथ्यांक भने काउन्सिलसँग छैन । नेपालमा नर्सिङ अध्ययन गरेका २० हजारभन्दा बढी नर्स विदेसिएको काउन्सिलको अनुमान छ । विदेसिनेमध्ये धेरैको रोजाइ क्यानडा रहेको छ । 

विश्व स्वाथ्य संगठनको मापदण्ड लागू गरिए अझै ४० हजारभन्दा बढी नर्स नेपालमै आवश्यक रहेको काउन्सिलको दाबी छ । तर स्वास्थ्यमन्त्रालयले मापदण्ड कार्यान्वयन गराउन उदासीनता देखाएका कारण नेपालमै आफ्नो भविष्य बनाउन चाहने नर्सले उचित सुविधा र  अवसर पाउन सकेका छैनन् । जसका कारण विदेसिनुपर्ने बाध्यता नर्सहरूको छ । पछिल्लो समय त विदेश जान सहज हुने र त्यहाँ आकर्षक सेवासुविधा पाइने भएकाले नेपालमा नर्स अध्ययन गर्नेको संख्या पनि बढ्दै गएको पाइन्छ । यसले नेपालमा नर्स अध्ययन गर्नेको संख्यामा बर्सेनि बढोत्तरी हुने तर मुलुकभित्रै नर्सको खाँचो हुने अवस्था सिर्जना नहोला भन्न सकिन्न । त्यसकारण नर्सहरूलाई देशभित्रै सम्मानित रूपमा सेवा गर्ने वातावरण सिर्जना गर्न सरकारले ढिलाइ गर्नुहुन्न ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro