site stats
बाह्रखरी :: Baahrakhari
देश
राजु पाण्डेको रिटमा बहस सकियो, आजै आदेश आउने सम्भावना

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजु पाण्डेको रिट निवेदनमा बहस सकिएको छ । उच्च अदालत पाटनमा बुधबार अपराह्न दुवै पक्षको बहस सकिएको हो । महानगर स्रोतका अनुसार, आजै आदेश आउने सम्भावना छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनविरुद्ध पाण्डेले गत जेठ २६ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनको रिटमा न्यायाधीश प्रकाश खरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नगरप्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदा सकेर कार्यालय आउन खोज्दा कार्यकक्षमा तालाबन्दी गरी प्रवेशमा अवरोध गरेका थिए । गाडीमा ह्विललक लगाएर ताला मारेका पाण्डेले वडाध्यक्षको सहयोगमा कार्यालय प्रवेश गर्न लाग्दासमेत माथिको आदेश भन्दै बाटोमा अवरोध गरेका थिए । 

हातपातसम्मको अवस्थामा उत्रिएपछि पाण्डेलाई गुरागाईंले निलम्बित गरेका थिए । जेठ २० गते ६ महिनाका लागि निलम्बित भएका उनले त्यसको एक सातापछि उच्च अदालतमा रिट दायर गरेका थिए । पाण्डेले उत्प्रेषणको आदेशबाट प्रमुख कार्यकारी अधिकृत गुरागाईंबाट भएको निलम्बन बदर गरिदिन माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्