site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पखेटा

माया पन्थी


केही दिनअघिको कुरा हो । त्यो दिन ब्युँझँदा अरु दिनभन्दा अलि भिन्न महसुस भयो । एक किसिमको अनौठो आभास । शरीर अलि गहु्रँगो जस्तो, तर मन अलि हल्का, रित्तो जस्तो । शरीरको पछाडिको भागमा केही बिझाएजस्तो, तर मुटुबाट सबै आवेग र भावना झिकिएजस्तो । कस्तो कस्तो...!

उठेर बाहिर बरन्डामा निस्केँ । घामले बरन्डालाई मायालु अँगालोमा लपेटिसकेको थियो । पारिपट्टि क्षितिजमा छिर्केमिर्के सुनौला बादलहरुले मन रोमाञ्चक बनायो । पारिपट्टि जाकारान्डाका फूलहरुले भुइँलाई बैजनी बनाएर मुस्कुराउँदै थिए । चराहरु चिरबिर गर्दै चारो टिप्न भुर्रभुर्र गर्दै घरी हाँगामा त घरी जमिनमा उड्दै थिए । मनमोहक । कृष्ण भजनजस्तो सुमुधुर चराहरुको चिरबिर । असजिलो शरीर, अलिकति तन्काएँ । पछाडिबाट केही आएर शरीरलाई छोपेजस्तो लाग्यो । सेता कपासजस्ता देखिने केही चिज दुवै काँधको माथिपट्टि उठे । दुवैपट्टि टाउको घुमाएर हेरेँ । ती पखेटाजस्ता लागे मलाई । हो, दन्त्यकथामा जस्तै परीका पखेटाजस्ता ।

म आत्तिएँ । एक्ली म अत्तालिएँ बेस्सरी । एकछिन त मस्तिष्क शून्य भयो । होस गुम्यो । सोचेँ म नशामा त छैन ? सपना देखिराखेको त छैन ? होस सम्हाल्दै टाउको घुमाएर फेरि काँध पछाडि हेरेँ ।  कोठाभित्र छिरेर दराजको ऐनामा आफ्नो सम्पूर्ण शरीर हेरेँ । पछाडि फर्किएर पनि हेरेँ । आम्मै ! के अचम्म यो कलीमा । मेरा ढाडमा त पखेटा उम्रेछन् । खै थाहै नपाई ड्रेसिङटेबल अगाडिको कुर्सीमा थ्याच्च बसेछु । कुहिनो त्यै टेबलमा अड्याएर हत्केलाले अनुहार छोपेँ । बन्द आँखाभित्र मन र मस्तिष्क एकत्रित भए । सायद म मनभित्रै डुबुल्की मार्दै गरेको हुनुपर्छ, एकचित्त भएर सोचमग्न भएको हुनुपर्छ । सायद मेरा पखेटाको रहस्य मनको गहिराइमा कहँ हुनुपर्छ । बिस्तारै त्यो भेटिएको हुनुपर्छ । म धोत्लिँदै थिएँ ।

यी पखेटाहरु पूर्णरुपमा अनपेक्षित कहाँ हुन् र ! ममा पनि अरु सामान्य मान्छेहरुको जस्तै एउटा चाह थियो । कतै मनको कुनामा अस्पष्ट र अव्यक्त । मलाई एकजोडी पखेटाको चाह थियो नै, नढाँटी भन्नुपर्दा । म सानैदेखि उड्न चाहन्थेँ, स्वतन्त्र । कुनै पनि नियमहरुले बाँध्न खोजे उद्वेलित हुन्थेँ म । सायद म जकडिएकी थिएँ अदृश्य साङ्लाहरुले । म सायद थुनिएकी थिएँ अदृश्य पिँजडामा । सायद..., सायद त्यसैले होला म मनमनै उड्थेँ । ममा विद्रोह गरेर साङ्ला चुँडाउने सामथ्र्य थिएन । न त पिँजडाको ढोका फोरेर निस्कने साहस नै थियो । म मेरो मनका पखेटा उडाएर सयर गर्थें । 

मेरो शरीरलाई पो बाँध्न सक्छ समाज, मेरो हिँडाइलाई पो रोक्न सक्छ । मेरो मनको उडानलाई रोक्न सक्ने, बाँध्न सक्ने कोही पनि र केही पनि जन्मिएको छैन अहिलेसम्म । मेरो स्वर्ग जहाँ मेरै कल्पनाका फूलहरु, पुतलीहरु, बायुपङ्खे घोडाहरु हुन्छन् । म मेरो स्वर्ग धित नमरुञ्जेल चहार्थें, स्वर्गका सबै कुराहरु स्पर्श गर्थें, महसुस गर्थें । म बायुपङ्खे घोडाको पुच्छर समातेर पछिपछि दौडन्थेँ । मनमनै एकान्तमा सबै हुन्थ्यो, बन्द आँखाभित्र । शान्त र सुनसानमा ।

म मनमनै होइन वास्तवमै उड्ने चाह राख्थेँ, पखेटा चाहन्थे उड्नलाई । तर यसरी त्यो दिन अचानक पखेटा उम्रलान् भन्ने कुरा कल्पनामा मात्र सम्भव थियो । सायद भगवान्लाई ममाथि निकै दया लागेछ क्यारे । या त यो केटी साँच्चै नै पुरस्कारको हकदार छे जस्तो लागेछ, त्यो उनले जानून् । यो जादु हो भने उही जादुगरले जानून् । बिनासूचना र सङ्केत मलाई एकजोडी पखेटा प्राप्त भएछन् । मलाई पाउलो कोएलोको एउटा वाक्य याद आयो– ‘‘यदि तिमी मनैबाट केही चिताउँछौ भने सम्पूर्ण ब्रह्माण्ड तिमीलाई त्यो कुरा प्राप्त गर्न योजना बनाउँछ, सहयोग गर्छ ।’’

मलाई यो कुराको सत्यता बोध भयो । उनको कुरामा सत्यता भएको कुरा त बुझेकी थिएँ, तर त्यो दिन मेरो चाह कति सत्य थियो भन्ने कुराको पनि मापन भयो । 

केहीबेर मनमनै पौडिएर म बाहिर निस्केछु । मैले मेरा पखेटाहरु स्वीकार्न सकेछु । म त्यसपछि निस्केँ आफ्नो यात्रामा । मेरो स्वर्ग...! यसो गराैंला, उसो गरौंला भन्दै, मनमा अनेकौं रोमाञ्चकता बोकेर म उडेँ, उडिरहेँ । मनभरि अनेकन कुराहरु खेलिरहे । सोचेँ, मलाई देखेर बायुपङ्खे घोडाले कस्तो प्रतिक्रिया देला ! पुतालीहरु मेरा हात चुम्न आउलान् कि नाइँ ? बायुपङ्खे घोडालाई मुसार्दै जब म उसका सेतो सुन्दर गाला चुम्नेछु उसको भावभङ्गिमा कस्तो होला ! म सपनाको तरेलीमा तैरिँदै आफ्नो यात्रा तय गरिरहेँ । मनसँगको भलाकुसारीमा कति छिटो गन्तव्यमा पुगिछु । समय काति छोटो !  

अहो ! कस्तो मनमोहक त्यो स्वर्ग । सबै कुरा पूर्ण–सम्पूर्ण लाग्ने । मैले कल्पना गरेको भन्दा पनि सुन्दर । रङ्गीविरङ्गी फूलहरुमा बसेका पुतलीहरु एकअर्कासँग जिस्किँदै, फूल चहार्दै थिए । कुन फूल कुन पुतलीको भन्ने थिएन सायद, उनीहरु घरि यता घरि उता गर्थे । रातो पुतलीले रस चुसिसकेको बैजनी फूलमा सेतो पुतली आएर बस्यो क्षणभरमै मैले हेरिरहेँ । मलाई रमाइलो लाग्यो । चराहरु पनि आफ्नै धुनमा थिए । मसँग कत्ति पनि डराएनन् । म खोलाछेऊ उभिएकी थिएँ । कस्तो सुन्दर, सफा पानी । मेरो अनुहार स्पष्ट र छर्लङ्ग देखियो । म कस्ती कुरुप र फोहोरी देखिएँ । झट्ट अनुहार हटाएँ । म त्यो स्वर्गलाई सुहाँउदी छैनझैं लाग्यो ।    

एकैछिनमा सेता दुइटा प्राणी पारिपट्टिबाट मैतिर आउँदै गरेको देखेँ । आम्मै ! यिनै त हुन् नि बायुपङ्खे घोडा । कस्तो मदहोश बनाउने चाल यिनको, म मन्त्रमुग्ध भए । लामोलामो सर्लक्क परेको पुच्छर हल्लाउँदै, पुष्ट शरीर भएका ती मन्द गतिमा हिँडिरहेका थिए । ती मात्र होइन, सबै कुरा गतिमान त थिए त्यहाँ तर कोही पनि हतारिएको, छट्पटिएको, दौडिएको देखिनँ मैले । हैनहैन एउटा सानो खरायोचाहिँ खुरुर्र दौडेर झाडीमा हरायो ! 

जब ती एक जोडी बायुपङ्खे घोडा मेरोछेऊ आए, मैले छुन चाहेँ । बिस्तारै टाउको मुसारेँ । सम्पूर्ण शरीर स्पर्श गरेँ । पुच्छर कस्तो नरम रेशमजस्तै । कस्तो चमक ती रौंहरुमा, हिँउ टल्किएजस्तो । मुखमा चुम्दै थिएँ, मेरा आँखा जुधेछन्, मैले यिनका आँखामा अचम्मको भाव देखेँ । ऊ मबाट छुट्कारा खोजिरहेको आभास भयो । उसलाई मेरा कुनै पनि क्रियाकलाप मन परिरहेका छैनन् भन्ने लाग्यो । उसको त्यो संसारमा मेरो न आवश्यकता छ न चाह ! 

म झस्किएँ । पीडाबोध भयो तत्क्षण । आफ्ना पखेटालाई उड्न आदेश दिएँ । घर फर्किन आदेश दिएँ । 

स्वर्ग पुग्नुअघि बाटोभरि सजाएका मेरा सपना टुक्रिएका थिए । सपना टुक्रिदाको पीडा यति बिघ्न कहिल्यै महसुस भएको थिएन । मलाइए लाग्यो– मान्छेलाई संसारमा सबैभन्दा दुःखी बनाउने तत्व केही छ भने त्यो हो आकाङ्क्षा, सपना । मभित्रको अपेक्षा एकदम मलिन देखिई । ऊ आफूलाई आँसुले धुँदै थिई । 

जोन किड्सले ग्रेसियन अर्नमा भनेको कुरा एकदमै सही लाग्यो । साँच्चै नै कहिलेकाहीँ नसुनिएका सङ्गीत मीठा हुँदा रहेछन् । नभेटिएका पलहरु पनि यादगार हुँदा रहेछन् ।

म फर्किएँ । मलाई मेरो कल्पनामा त्यो स्वर्गप्रतिको प्रेम, आकर्षण जति थियो त्यो फिकाफिका लाग्दै थियो । अलि धमिलिएर पो हो कि मलाई मेरा पखेटा बोझ लाग्न थाले । लाग्यो, जबसम्म यी पखेटा रहलान् तबसम्म मलाइ स्वर्ग निहार्ने तलतल लाग्ला र फेरि पनि जाउँला अनि उस्तै अतृप्त र तिरष्कृत भएर फर्कुंला ! जबसम्म यी पखेटा मसँग रहनेछन्, यो क्रम चली नै रहनेछ । मन मस्तिष्क कुरुक्षेत्र नै हो नि ! युद्ध चलिरह्यो ...। निक्कैबेर चल्यो ।

अचानक एउटा झिल्को उठ्यो मनमा । मैले मेरा पखेटा फर्काउन चाहँे ।  भगवान्लाई अनेक पुकार गर्दा पनि सुनेनन् । सायद दिन मिल्ने, फर्काउन नमिल्ने आशिर्वाद हुनुपर्छ यो । मैले मेरा पखेटा काटेँ मानव हात र मानवनिर्मित अस्त्रले । पखेटा काटिएपछि लागेको घाऊ शारीरिक चोट आलै छ । दुःखेको छ । तर खोइ किन यो दुखाइ तिरष्कृत भएर फर्कंदाको भन्दा केही शीतल छ । यो घाऊ शारीरिक मात्रै त हो, सम्पूर्ण उपचार सम्भव छ, यो मानव संसारमा । म छिट्टै निको हुनेछु । मेरो स्वर्ग कल्पनामै सुन्दर छ । म मेरो कल्पनाको बायुपङ्खे घोडाको पुच्छर जति बेला पनि समाउँदै स्वर्ग घुम्नेछु । उसका आँखामा तिरष्कार देखिने छैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro