site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली कांग्रेसले सम्झिएको  मेलमिलाप 

नेपाली कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’को सम्झना गरेको छ । दिनको सम्झना त भयो तर सन्देशको मर्म कति अनुसरण गरियो ? अहिले कांग्रेस यस्तै प्रश्नको घेरामा परेको छ । राष्ट्रिय एकताका लागि विविध विचार र मान्यता बहुल नेपाली समाजमा मेलमिलाप आवश्यकमात्र हैन हाम्रो भूअवस्थितिको मागसमेत हो । नेपालको सन्दर्भमा यस अवधारणाको मूर्त आकार प्रजातान्त्रिक आधुनिक समयको कल्पनाकार बीपी कोइरालाले कोर्नुभएको हो । 

आठ वर्ष लामो राजनीतिक प्रवास त्यागेर बीपी आफ्ना अनन्य सहयोगी नेताहरुसमेत  भारतबाट स्वदेश फर्किएको दिनले प्रतिवर्ष यस नीतिको पुनः पुनः स्मरण गराउँछ । चवालीस वर्षअघि आन्तरिक, छिमेक र दुनियाँको राजनीतिक अवस्था कस्तो थियो ? अहिले पनि यस प्रश्नको उत्तर खोजीमा गरिने गहिरो अध्ययनले मेलमिलाप नीतिको सान्दर्भिकता भेटिन्छ । त्यतिबेलाको सान्दर्भिकता अहिले  कति, कसरी बाँकी छ ? मनाइने वा सम्झिने दिवसमा बुझ्न मिहिनेत गर्ने प्रश्न हो यो । 

त्यसो त यो नीतिको सम्झना कुनै खास दिनमा मात्र गर्नुलाई सान्दर्भिक मानिने होइन । नेपाली समाजका लागि स्पष्ट बुझिने निरन्तरको मार्ग हो मेलमिलाप । मेलमिलाप सामाजिक आवश्यकता हो र यसको दर्शनमा राजनीतिक सन्देश थियो र छ । दुई ठूला छिमेकसँग सीमा टाँसिएको नेपालको भूअवस्थितिले निर्धारण गरेको मौन र मुखर माग राष्ट्रिय एकता हो र प्रजातान्त्रिक राजनीतिक दर्शनले पनि मेलमिलापकै माग गर्छ । अर्थात्, प्रजातन्त्र स्वयं सबै विचार र बहुल समाजको अस्तित्व बोधक मिलापको नीति हो  ।

नेता गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, निलाम्बर पन्थी र रामबाबु प्रसाईसमेत बीपी कोइराला २०३३ पुस १६ गते भारतबाट स्वदेश फर्कनु भएको हो । यस दिनले राष्ट्रिय एकता र मेलमिलाप नीतिको ऐतिहासिक सन्देश आत्मसात गरेको छ । त्यतिबेला नेपाली कांग्रेस नै राजनीतिकरुपले प्रवासी थियो भन्दा हुन्छ । देशभित्र कांग्रेस प्रतिबन्धित थियो । राजाको नेतृत्वमा चलेको तत्कालीन निर्दलीय शासनले अन्य दल वा स्वतन्त्र विचार सबैलाई प्रतिबन्धित गरेको थियो । 

तत्कालीन दस्तावेजहरुबाट आन्तरिक र वाह्य कारणले नेपाल पनि जोखिममा थियो भन्ने थाहा हुन्छ । बीपीले यस नीतिको प्रतिपादनमा दिएको व्याख्याले पनि यही कुरा स्पष्ट गरेको छ र यही स्थितिबोध पछि कांग्रेसका अरु नेतासमेत राष्ट्रिय एकता र मेलमिलाप नीतिप्रति सहमत भएको बुझिन्छ । शीतयुद्धकालीन विश्व र नेपालको राजनीतिक तथा भूराजनीतिक अवस्थाको गहिरो विश्लेषणले देखाएको संकटका बाछिटाको अग्रानुभूति नै यो नीतिको मर्म थियो भन्ने स्पष्ट छ । 

मेलमिलाप नीति लिएर नेपाली कांग्रेसका नेताहरु फर्किएपछि नेपाली राजनीति र वैचारिक तहमा भएको हलचल ऐतिहासिक विषय हो । भनिन्छ, शीतयुद्ध सिर्जित छिमेकसम्म आएको जोखिम देशमाथि पनि मडारिने सम्भावित हुरीको बहाव यो नीतिको कारण अन्यत्रै मोडिएको वा त्यसलाई धेग्न देश सक्षम भएको थियो । त्यतिबेलाको अफगानिस्तान, सिक्किम र बंगलादेशको अवस्था बुझ्दा सम्भावित जोखिमको अर्थ भेटिनेछ । कांग्रेसका नेतामाथि त्यतिबेला बढाइएको भारतीय दबाब निस्तेज गर्ने कारण पनि हो यो नीति । 

यस्तो सन्देशमूलक नीति वा मार्ग दर्शनको व्याख्या नेपाली कांग्रेसका नेताको लामो राजनीतिक अनुभवजन्य परिणाम मानिन्छ । अहिलेका कांग्रेसका नेता, कार्यकर्ताले गर्ने दाबा पनि यही हो । तर, यसको मर्म अहिलेको कांग्रेस र नेतृत्वले कति अनुसरण गरेको छ ? उत्तर खासै सकारात्मक देखिँदैन । कांग्रेसभित्रै यस नीतिलाई गहिरो गरी आत्मसात हुनुपर्ने खाँचो अहिले छ । पुस १६ हिजोको दिनले नेपाली कांग्रेसको नेतृत्वलाई मेलमिलाप नीतिको सम्झना गरायो होला अरु दिन सधैँ बिर्सिए पनि । 

प्रजातन्त्र पुनःस्थापना, गणतन्त्र र संघीयताको यात्रा देशले तय गरेपछिका दिनमा सबैभन्दा अहिले नेपाली कांग्रेस कठिन घडीमा छ । कठिनाइबाट कांग्रेस कसरी र कहिले तङ्ग्रिने हो ? भन्न सकिँदैन । झुन्ड र गुट, उपगुटमा फसेको नेतृत्वको व्यक्तिगत स्वार्थका कारण नेपाली जनताको प्रजातान्त्रिक संस्थालाई नै यतिबेला धरापमा पारिएको छ । यस्तो धरापको निवारण सभापति शेरबहादुर देउवाले गर्नुपर्छ । यो उनको स्वाभाविक पदीय दायित्व नै हो । सभापति देउवा अरुलाई चोर औँलो तेस्र्याएर उम्किने ठाउँ हुँदैन । 

पार्टीभित्र मेलमिलापका लागि अरु नेताहरुको योगदान पनि अपेक्षित हुन्छ र कार्यकर्ताले पनि यस्तो बेला संस्था बचाउन विवेक प्रयोग गर्नैपर्छ । अन्यथा, हेर्दाहेर्दै कांग्रेसको ज्यान जान बेर लाग्दैन । कांग्रेसका लागि अहिले स्थिति यस्तै खतरनाक देखिएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय कारण होलान्, स्वार्थी झुन्डले बाटो छेक्लान् तर समस्यालाई जोखिम लिएर पनि सम्बोधन गर्नसक्नु नै नेतृत्वको गुण हो । 

कांग्रेस ठूलठूला जोखिमलाई सम्बोधन वा समाधान दिएर यहाँसम्म आएको हो र अनेक ऐतिहासिक राजनीतिक घटनामा नेतृत्व दिन सफल भएको हो । नेपाली कांग्रेस नै आधुनिक र प्रजातान्त्रिक नेपालको नक्साको परिकल्पनाकार पनि हो । दुर्भाग्य, अहिले कांग्रेस कहाँ छ भन्नुपर्ने दिन आएको छ । यसको नेतृत्व अहिलेको आफ्नो अवस्थाप्रति चिन्तित छैन ? सभापति देउवाले यस स्थितिको जिम्मा लिएर सुल्झाउने दायित्व र हैसियत राख्छन् कि राख्दैनन् ? समयको प्रतीक्षा छ । तर, त्यो लामो हुनसक्तैन ।  

पार्टी सभापति देउवाले उल्झिएको आन्तरिक समस्या कसरी सुल्झाउछन् भन्ने हेराइ चासो राख्नेहरुको छ । चाँडै समस्यमा सुल्झाएनन् वा दीर्घरोग बनाएर दुर्घटना निम्तियो भने यसको मूल दोष सभापति देउवाकै टाउकोमा आउनेछ । अप्रिय लागे पनि भन्नैपर्छ – अहिले सिर्जित समस्याको देखल कारक पनि पार्टी सभापति देउवा नै हुन् । 

रत्नाकर डाँकु लुटेको धनले परिवार पाल्थ्यो रे ! एक दिन लुट्न खोजिएको कुनै योगीले रत्नाकरलाई लुटको धनको सबै भागिदार छन् तर लाग्ने पापको तिनीहरु हिस्सेदार हुन्छन् वा हुँदैनन् ? तिनलाई सोध भनेछन् । लुटको धन खानेहरु जब पाप ‘सेयर’ गर्न तयार पाइएनन् अनि रत्नकर डाँकु वाल्मीकि ऋषि बन्न प्रेरित भएछन् । सभापति देउवाले यो कथा थाहा नपाएको कुरा त होइन । 

बाहिरबाट हेर्दा नेपाली कांग्रेसमा यस्तो समस्या आउने कारण देखिदैन । पदावधि सकिँदा पार्टीको महाधिवेशनको मिति तयको माग गर्नु कुनै समस्या होइन । सभापति र  उनका समर्थकले यसलाई समस्या बनाउनुको कारण के हो, थाहा भएन । तर, पार्टीभित्रकै प्रतिपक्षले चाहिँ पार्टीको शक्ति क्षयीकरण भए पनि कब्जा जमाइरहने सभापति पक्षको मनसुवा नै समस्याको कारण भएको पहिचान गरेको छ । 

प्रतिपक्षको मागअनुसार आगामी मंसीरमा १४ औं महाधिवेशनको मिति तय गर्न नमिल्ने सभापति देउवाको बहुमतलाई फागुनमा मिति तय गर्न कुन तर्कले मिल्यो ? स्पष्ट छैन । प्रतिपक्षले चाहिँ फागुनबाट पुनः म्याद सार्ने र स्थानीय तहहरुको चुनावको बेला हार्रहुर्र गरेर पार्टी सत्ता कब्जा गर्ने देउवा निर्णयको अन्तर रहस्य हो भन्छन् । कुनै राजनीतिक योगदान नभएको प्राणीलाई समेत पार्टीको क्रियाशील सदस्यता दिन मिल्ने बहुमतीय निर्णयको शैली हेर्दा प्रतिपक्षको तर्क सत्य हुने सम्भावना प्रबल देखिन्छ ।  

सभापति पक्षको म्याद बढाउँदै जाने मनसाय बुझेर नै प्रतिपक्षले मंसीर भनेको र आवश्यक भए फागुनसम्म सार्ने बाटो राखेको बताइएको छ । अब कांग्रेसको महाधिवेशन हुन्छ कि हुँदैन ? भए कस्तो होला ? कांग्रेसप्रति चासो राख्नेहरुको जिज्ञासा हो । कांग्रेसको कलह जानकारी राख्नेहरुका लागि दिक्क लाग्दो भएको छ । चाँडै सुल्झाउन सभापति देउवासँग शुभेच्छुकहरुको आग्रहलाई सुने, नसुने झैं गरिएको छ । सभापतिले गर्ने उदार र सहअस्तित्वको समाधानका उपायमा अरु नेताले साथ दिने नै छन् र दिनु पनि पर्छ । अन्यथा कांग्रेस दुर्घटनाको डिलैमा पुगेको छ । 

अहिलेको रस्साकस्सीले कसैलाई किनारा लगाए, कसैलाई नेता सभापति हुने बाटो खुल्ला । यस्तो सपनाको नाल सभापति देउवाको काँधमा बोकाएर पड्काउने दाउ अरु कसैको होला । तर यो दाउ  ‘घरका सबै मरे तातो चुलोमा मजाले सुत्थें’ भन्ने बिराले सोच हो । संस्था नरहे के सभापति ? अध्यक्ष, सभापति वा महासचिव पदासीन दर्जनौँ पार्टी नेपालमा छन् । नेपाली कांग्रेसलाई पनि त्यस्तै बनाउने भए कुरा बेग्लै । 

कांग्रेस नेता, कार्यकर्ताले राष्ट्रिय एकता र मेलमिलाप दिवसमा पहिलो सर्त आफैँभित्र मेलमिलाप कायम र व्यवहारमा त्यो उतार्ने प्रणले काम गर्नुपर्छ । आफूभित्र मेलमिलाप राख्न नसक्ने कांग्रेसले राष्ट्रिय एकता पनि कायम गर्ने हैसियत राख्तैन र लोकतन्त्रको रक्षा पनि गर्नसक्ने छैन । देउवाकै भनाइमा कम्युनिष्ट सरकार अधिनायकवादी चरित्रको छ । सरकारको गतिविधि पनि त्यस्तै देखिँदैछ । तर, कांग्रेस दुर्गतिमा छ । पार्टी विभाजनको विगत भएका सभापति देउवा दुर्गतिको होइन प्रगतिको कार्य कारण बने हुन्थ्यो । केही समयमात्र बाँकी छ नि !                    

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro