आहा ! कस्तो क्युट नानी ! उसले मसँग बोल्ने बहानाको लागि हो वा मन परेरै हो, मेरो छ महिनाको काखको छोरीप्रति लक्षित गर्दै भनी । अँ बच्चाहरु क्युट नै हुन्छन् नि बैनी, मैले सहजताका साथ भनेँ । म बस्ने घरनजिकै भर्खर डेरा सरेर आएकी अन्दाजी १९–२० वर्षकी युवती बाटोमा देख्ने बितिक्कै सोधिहाल्थी, “दिदी सञ्चै हुनुहुन्छ ? बाबुनानीलाई नि ?” “हामीलाई ठिकै छ,” म जवाफ फर्काउँथेँ ।
साँझ परेपछि बच्चाहरुको लागि डेरीमा दुध लिन जानु थियो । श्रीमान्को काम बाहिर भएको अनि परिवारका अन्य सदस्य पनि आआफ्नो अनुकूलतामा छुट्टाछुट्टै बसेकाले जागिर छोडेर मैले ५ वर्षीय छोरा र छ महिने छोरीलाई एक्लै हुर्काउन परेको थियो । दिउँसोको समयमा छोरा स्कुल जान्थ्यो, तर छोरी जतिखेर पनि सँगै हुन्थी ।
ऊ फेरि नजिकै आएर सोधी, “दिदी कता जान लाग्नुभएको ?’’ बच्चाहरुको लागि दुध लिन जान लागेको कुरा मैले उनलाई बताएँ । ‘‘दिदी कति गाह्रो है काठमाडौंमा टिक्न, जति पैसा भए पनि नपुग्ने,’’ उसले भनी । हो नि भन्दै मैले उसको कुरामा सहमति जनाएँ । तिमीहरु भर्खर काठमाडौं आएका हौ ? मैले प्रश्न पनि सोधेँ । “हैन दिदी म अलि अघि आएको साथिसँग बस्थँे, अहिले भाइ पनि आउन लाग्यो त्यही भएर छुट्टै रुम लिएको । कति सामान किन्नु थोरै पैसाले नपुग्ने,” उसले भनी । “हो नि काठमाडौंको ठाउँ महँगो नै छ,” मैले थपेँ ।
“मेरो अङ्कलको छोरी पनि नानुजस्तै छिन् । कस्तो बैनीको याद आयो,” ऊ बहकिइरही । अब यसैलाई हेरेर नियास्रो मेट न त भने मैले । “भैहाल्छ नि दिदी,” उसले तत्कालै भनी । ऊ यो ठाउँमा एक्लै भएर हो वा खै कुन्नि के कारण मसँग नजिकिएर कुरा गर्न चाहन्थी । मलाई उसको व्यवहार, हाउभाउ अलि नौलो र अनौठो जस्तो वा अलि बेग्लै लाग्थ्यो ।
उसको लवाइ हेर्दा केही कुराले कम्ती नभएजसरी प्रस्तुत हुन्थी । तर विभिन्न अभाव र महँगीका गुनसाहरु पोख्थी, म पनि सुनिदिन्थे उसका कुरा । सायद उसको मन हलुका हुन्थ्यो कि मलाई कुराहरु सेयर गर्दा । मलाई ऊप्रति लगाव त थिएन तर १–२ दिनमै महिनौंदेखि चिनजानजसरी नजिकिँदै थिई । भो यहाँ नआउ कुरा नगर पनि कसरी भन्नु !
एकदिन करिब दिउँसो ३–४ बजे मेरोमा ऊ आई र भनी, ‘‘दी आज हामी स्वयम्भु गएको नि लाउनुस् बाबुनानीलाई खेलौना,’’ एउटा हेलिकप्टर र अर्को पुतली बोकेर आइछ । हरे ! किन ल्याएको ? यति धेरै यहीँ छ उनिहरुको खेलौना । उसले खेलौना ल्याएको मलाई अप्ठ्यारो लाग्यो । किन ल्याएकी होला । नल्याएको भए हुन्थ्यो । यो कति नजिकिन खोजेकी ? उसको त्यो नजिकिँदो व्यवहार एक किसिमले मलाई मन परिरहेको थिएन । खै किन तर अलि चाहिने भन्दा बढी नै नजिकिन खोज्दै थिई ।
“ल्याउन मन लाग्यो नि दी त्यही भएर ल्याएकी,” मुस्कुराउँदै उसले भनी । अनि मेरो रुमको भित्तातिर पनि हेर्दै थिई ऊ । मेरो ग्राजुयसनको फोटो हेर्दै सोधी, “दी हजुरले कति पढ्नुभएको छ ?”
मास्टर्स ।
‘‘अनि किन केही काम नगरी घरमै बस्नु भएको त ?”
छोराछोरी हुर्काउनुपर्यो नि ।
“ए ।” ऊ अरु केही भन्न खोज्दै जस्तो देखिन्थी । अलिअलि नर्भस जस्तो पनि । “अँ... दी यहाँ दुईजना बस्दा केही भन्छन् कि भन्दैनन् होला हगि ?” उसले आफ्नो कुरा खोली । म अचम्मित भएँ । “को दुईजना भनेकी ? दिदीभाइ बस्दा कसले के भन्छ र ?” मैले भनेँ । “दी ऊ र म दिदीभाइ हैन, हामी एकअर्कालाई माया गर्छौं,’’ कसैले सुन्लाझैं मन्द स्वरमा उसले भनी ।
म आश्चर्यचकित भएँ । अहिलेको जमानामा पश्चिमी समाजमा लिभिङ टुगेदर सामान्य कुरा हो । यसैको प्रभावले होला हाम्रो देशको सहरी क्षेत्र अझ काठमाडौंमा यो अवधारणा भित्रिसकेको समाचारहरु पनि पढिएकै हो । मैले बुझेअनुसार यो अवधारणमा एकअर्कालाई मन पर्ने जोडी (केटाकेटी वा अन्य) सँगै बस्छन । एकअर्कालाई मन परेको खण्डमा सम्बन्ध लम्बाउँछन्, मन नपरेमा छुट्टिएर आफ्नोआफ्नो बाटो लाग्छन् ।
कति सजिलो, यसरी बस्दा खर्च पनि कम लाग्ने विभिन्न किसिमका भौतिक आवश्यकताहरु पनि पूरा गर्न सहज हुने । यस्तो सोचाइ र मान्यता राख्ने युवा जमातको लागि सायद लिभिङ टुगेदर बरदान साबित नै भएको हुन सक्छ । तर मैले अहिलेसम्म प्रत्यक्ष यसरी बस्ने जोडीलाई भेटेको थिइनँ ।
हाम्रो नेपाली समाज विशेष गरी म हुर्केको समाज अर्थात् हाम्रो परिवारमा त अन्तरजातीयय प्रेम र विवाहलाई समेत अपराध सोच्ने मानसिकता छ । यस्तो जमातमा लिभिङ टुगेदर अवधारणा त सभ्यताविरुद्धको अपराध नै हुन्छ होला । त्यही भएर यसको कल्पनासमेत मैले गर्न सकेको थिएन । म छक्क परेँ, हिजो मात्रै दिदीभाइ बस्ने भनेकी उसले आज ऊ (प्रेमी) र म बस्ने भन्दैछे । समाज कति अघि बढिसकेछ ।
यो सहरमा मानिसलाई कति चटारो हुन्छ । हातमुख जोड्नको लागि बिहानबेलुका हावाको गतिमा दौडिरहेका हुन्छन् । कसलाई कसको मतलब, आफ्नै जिन्दगीमा भ्याइनभ्याइ छ । को कसरी बस्छ, के गर्छ, कता जान्छ, कोसँग बस्छ, यो गाउँघर हो र सबै थाहा पाउन ?
“दिदी घरबेटीले थाहा पाए भने गाली गर्लान् वा बस्न नदेलान् है,” उसले भनी । खै के गर्लान् बैनी मलाई त्यो त थाहा भएन, तर मलाई पनि अलि अनौठो लाग्यो तिम्रो कुराले । सायद म हुर्के–बढेको समाज, पारिवारिक संस्कार जहाँ व्यक्तिगत इच्छा आकाङ्क्षाभन्दा पनि समाज तथा सामाजिक विचारधारालाई पछ्याउनुपर्ने हुन्छ ।
यसैको प्रभावले होला मलाई उसले रोजेको बाटो राम्रो लागेको थिएन । भविष्य असुरक्षित होला कि जस्तो लागेको लाग्यो । हुन त म को नै हो र अरुको पर्वाह गर्ने । किनकि अहिलेको जमानामा कसैले पनि आफ्नो बाटोमा अरुले इन्टरफेयर गरेको मन पराउन्नन् । र, कसैको बन्देजमा बस्न चाहँदैनन् पनि । तै पनि भनेँ, “किन यसरी बसेकी अस्ति त भाइ र म बस्ने भन्थ्यौ त ।” “दिदी त्यसो नभनेको भए त ऊ र म भनेर कोठै पाइँदैन नि त्यही भएर झुट बोलेको । मङ्सिरमा हामी बिहे गर्ने हो, अहिले छुट्टाछुट्टै बस्दा खर्च पनि धेरै लाग्ने भएकोले सबै कुरा सजिलो हुन्छ भनेर सङ्गै बस्न लागेको,” उसले सहजै भनी ।
“अनि तिम्रो आमाबुवालाई थाहा छ त ?” म सोध्छु । ऊ बेलिविस्तार लगाउन थाली, ‘‘बुवालाई थाहा छैन दी, तर आमालाई अलिअलि थाहा छ । बुवाको गाउँमै लोकल बसमा हिँड्दा बस पल्टिएर पछाडिपट्टिको कट्टी हाड फुस्केको छ अनि आमाको पनि हात भाँच्चियो । घरमा कमाउने कोही भएनन्, म गाउँमा ११ कक्षा पढ्दै वायरिङ काम सिकिरहेको थिएँ । त्यसपछि महिनैपिच्छे क्याम्पसमा बुझाउने शुल्क तिर्न पनि धौधौ पर्यो । अनि म क्यम्पस जानै छाडेर घरमै काम गर्न थालेँ, मेलापात घाँसदाउरा सबै मैले गर्नुपर्थ्यो । भाइ स्कुल जान्थ्यो, बुवा सधैँ ओछ्यानमा, आमाको हात पनि ३ ठाउँमा भाँच्चिएको । आमाले साधारण काम मात्र गर्नुहुन्थ्यो, गह्राैं काम गर्न सक्नुहुन्थेन । मेरो एउटी मिल्ने साथी १२ कक्षा सक्ने बितिक्कै काठमाडौं आएकी थिई । एक वर्षपछि गाउँ फर्की अनि मेरो हालत देखेपछि उतै जाउँ काम गर्दै पढौंला, सँगै बसौंला, सजिलो हुन्छ भनी ।
भर्खर रहर पसेको थियो जीवनमा । तर रहरलाई त्यसै कुल्चँदै हिँड्न बाध्य थिएँ म, विकल्पै थिएन । आयश्रोत केही थिएन । बुवाले ज्यालामजदुरी काम गर्नुहुन्थ्यो र हाम्रो घर खर्च धान्नुहुन्थ्यो । तर बुवा ओछ्यानमा पल्टिएसँगै मेरो पढ्ने, केही सिक्ने र केही गर्ने सपना पनि बुवासङ्गै ओछ्यानमै पल्टिन पुगे । त्यसैले आमालाई सम्झाएँ– आमा म सन्ध्या(मेरी साथी)सँग काठमाडौं गएर काम गर्छु अनि पढ्छु पनि । कमाएर घर खर्च पनि पठाउँला । आमासँग भन्ने शब्दहरु थिएनन्, साधारण घर धन्दासम्म गर्न सक्नुहुन्थ्यो । यसै गर भनेर ठोस निर्णय दिन सक्ने अवस्था थिएन आमाको । म घरबाट सन्ध्यासँग काठमाडौंको लागि हिँडेँ । केही घरका जिम्मेवारी र दुःखले थिचिएर त केही उत्साह र उमङ्गका पखेँटाहरुको चालमा उडेर ।
काठमाडौं आइयो । एकदुई दिन त रमाइलै लाग्यो झिलिमिली सहर सबैको सपनाको सहर । यहाँको चहलपहल, मानिसहरुका बिहान–साँझका बेगहरु, गाडीका रफ्तारहरु, सबैले जीवन धान्नका निमित्त गरिरहेका कर्महरुका विभिन्न रुपहरु । कहीँकतै त्यसै यताउता रमाइलो हेरिरहेका झुण्डहरु, यी सबै सबैले मानिसलाई आफ्नै किसिमको व्यस्ततामा बाँधिरहेको देखिन्थ्यो ।
सन्ध्या बसपार्क नजिकैको होटेलमा काम गर्दी रैछ । साहुसँग मेरो लागि पनि कामको कुरा गरेकी रैछ । बसपार्कका होटेलहरुमा अझ केटीहरु कामका लागि प्राथमिकतामा पर्दा रहेछन् । मैले काम नपाउने कुरै भएन । होटेलका रुमहरु मिलाउने, गेस्टको अर्डरबमोजिम सामानहरु लगिदिनुपर्ने अनि रिसेप्सनमा पनि काम गर्नुपर्ने भनेर राखियो ।
सुरुसुरुमा मेसो परेन । साथीले बिस्तारै सिकाउँदै गई । कसरी काम गर्ने, कसरी ग्राहकहरुसँग डिल गर्ने, कसरी आफूलाई मेकअप गरेर टिपटप बनाउने सबै सिकाइ । बिस्तारै बानी पर्दै गयो अनि दुनियाँ अलिअलि रङ्गिन लाग्दै जान थाल्यो । ऊ(प्रेमी) सन्ध्याको साथी थियो, त्येसैले बेलाबेलामा कोठामा आइरहन्थ्यो । यसरी भेटघाट भैरहँदा हामीबीच माया बसेको जस्तो अनुभूति दुवैलाईव हुन गयो । ऊ पनि गाउँबाट आएको, सहरमा जीवन धान्न तथा आफ्नो पढाइलाई निरन्तरता दिनको निम्ति न्युरोडको एउटा कपडा पसलमा काम गर्दो रहेछ । र, साहुले नै एउटा सुत्ने कोठा मिलाइदिएको रहछ, खाना होटेलमा खान्थ्यो रे ।
बसपार्कका होटेलहरुमा विभिन्न किसिमका ग्राहकहरु आउँदारहेछन् । कोही साधारण ग्राहक त कोही व्यवसायी । कोही गैरकानुनी योजना बनाउने त कोही शारीरिक आवश्यकता पूर्ति गर्न पनि आउने रैछन् । भर्खर काम गरेको ३–४ महिना पनि भएको थिएन । होटेल मालिकले मलाई बिस्तारै अरु काम पनि अह्राउन थाले । मलाई पनि एकदिन होटेल साहुले यस्तै प्रस्ताव राख्यो, फलानो ग्राहकको इच्छा पुर्याइदेऊ भन्यो । तिमी चाँडै मालामाल हुन्छौ भन्यो । मैले सीधै इन्कार गरेँ । यस्तो काम मबाट हुन सक्दैन भनेँ । साहु रिसायो ।
बेलुका कोठा फर्कें । केही सोच्न पनि कठिन भइरहेको थियो । सन्ध्या कामबाट आई, मैले उसलाई सबै कुरा बताएँ ।
ऊ भन्न थाली, “हेर कोपिला यो सहर हो, यहाँ सोझो भइयो भने हामी जहाँको तहीँ रहिरहनुको विकल्प हुन्न । अलिकति दायाँबायाँ आएका अवसरहरुलाई चिन्न सकेमात्र अघि बढ्न सकिन्छ । नत्र त्यो साहुले दिएको तलबले मात्र मेरो खर्च चलेको छ भन्ठान्छेस् ? नाथे ९ हजारले के नै पुग्छ र यसो यताउता गरेर आउने टिप्सले हो मलाई सजिलो भएको । तँ पनि बेलैमा सोच् ।” म छक्क परें उसको कुरा सुनेर, सहर त सहर नै हुँदोरैछ क्यार, आफूले सोचेको जस्तो नहुने । उदेक लागेर आयो, म केही बोलिनँ ।
मलाई अब सन्ध्यासँग बस्न पनि मन लाग्न छाड्यो । तर के गरुँ, साहुले दिएको तलबले एक्लै कोठा लिएर बस्न सक्ने अवस्था थिएन । एकदिन मैले उसलाई (प्रेमी) सबै कुरा भनेँ । ऊ एकछिन सोचमग्न भयो अनि भन्यो, “तिमी र म सँगै बसौं न त । तिमिलाई म काम खोजँुला बिस्तारै अनि दुवैजना काम गरेपछि सजिलो पनि हुन्छ ।
त्यतिञ्जेलसम्मलाई मेरो कमाइले पनि खानलाई त पुगिहाल्छ ।” म सोचमग्न भएँ । घर फर्कुँ के गरी फर्कनु त्यो दुःखको कुण्डमा ? आमाले आश गरेर बसेकी होलिन् छोरीले केही सहयोग गर्ली कि भनेर । यहाँ बस्न पनि गाह्रो । साहुको कुरा नसुन्नाले ऊ रिसाएको छ, होटेलमा काम गर्न पनि जान मन लागेन । यतिकै बस्दा सन्ध्यालाई पनि बोझ, मलाई उसले भनेको कुरामा सहमत हुनुको विकल्प थिएन । त्यही भएर हामी सँगै बस्ने भनेर रुम खोज्दै यता सरेर आएको दी ।
उसले मेरो छेउ बसेर सबै बिस्तार लगाई अनि फेरि भनी “दी यो कुरा कसैलाई नभन्नु है फेरि यहाँको घरबेटीले थाहा पाए भने कोठा छोड्नुपर्ने हुन्छ होला ।” म भन्दिनँ किन भन्नू, तिम्रो आफ्नो जिन्दगी आफ्नै किसिमको बाध्यताहरु होलान् मैले यसै गर भनेर त तिमलाई केही भन्न मिल्दैन । तर जे भए पनि बिहेअघि सँगै बस्नुभन्दा बिहे गरेर सँगै बसेको भए हुन्थ्यो भन्ने सल्लाह दिएँ । आफ्नो निर्णयमा तिमीलाई विश्वास छ भने अघि बढ भन्ने कुरा गरेँ ।
उसले पनि घरमा कुरा राख्छ रे यही मङ्सिरमा जसरी पनि बिहे गर्ने योजना छ भन्ने कुरा उसले सुनाइ । जे गर्छौ राम्रोसँग सोचविचार गरेर गर्नु राम्रो भन्नेबाहेक मसँग अरु शब्द थिएन । “हुन्छ दिदी हजुरलाई सबै कुरा सेयर गरेर मन धेरै हलुङ्गो भयो, तर दिदी प्लिज यो कुरा कसैलाई नभन्नुस है,” उसले फेरि भनी । तिम्रो कुरा मैले अरुलाई किन भन्नु ? मैले विश्वास दिलाउँदै भनेँ । ऊ मलाई थ्याङ्कयु दिदी भन्दै मेरो सानी छोरीलाई म्वाइ खाएर आफ्नो बाटो लागी ।
उसले कति कुरा साँचो भनी कति कुरा झुटो बोली त्यो त म के जान्नु ! तर मलाई अझ ऊ केही कन्फ्युजनमै छे जस्तो लागिरहेको थियो । उसको हाउभाउले ऊ अझै केही भन्न चाहन्थी जस्तो देखिएको थियो ।
२–४ दिनपछि म श्रीमान्को काम भएको ठाउँमा बसाइ सरेँ । तर मेरो मनमा सन्ध्यासँग जोडिएका अनेक प्रश्नहरु आइरहे । उनीहरुबीच सम्बन्ध कस्तो चल्दै होला ? बिहेअगाडि यसरी बसेको सम्बन्ध के सुमधुर नै चल्दै होला त ? के ऊसँग यही विकल्प मात्रै थियो ? के उसले सबै साँचो कुरा भनेकी हो त ? मलाई खासै चासो लिन पर्ने विषय नभए पनि यो कुराले मनमा धेरै समयसम्म जरो गाडेर बसिरह्यो । समाजले पक्रन थालेको दु्रत गति र पुराना मान्यताबीचको द्वन्द्व ! उक्त द्वन्द्वले उत्पन्न गरिदिएको हाम्रो मानसिक द्वन्द्व । हामीले यस्तो सङ्क्रमणकालको साक्षी अझै कति बसिरहनुपर्ने हो भन्ने प्रश्नले मलाई धेरैबेर लखेटिरह्यो ।
me.gayatribhatta@gmail.com