site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 हामी सरकारको दुश्मन होइनौं, सरकार छाड्नुपर्दैन 

जनकपुर । समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको एकता प्रक्रिया सुस्ताएको छ । तर, भर्खरै सम्पन्न भएको उपनिर्वाचनले फेरि दुवै दललाई यो प्रक्रियाको गति बढाउन दबाब भने परेको छ । संविधान जारी भएलगत्तै तत्कालीन छ वटा मधेश केन्द्रित राजनीतिक दलहरुबीच भएको एकता संस्थागत हुन सकेको छैन ।

पार्टीको नेतृत्व दुईमहिने चक्रीय प्रणालीमै घुमिरहने व्यवस्थाले राजपाको एकता व्यवहारमा संस्थागत हुन नसकेको पुष्टि गर्छ ।  यद्यपि, पार्टीभित्र तेस्रो पुस्ताका नेता तथा भ्रातृ संगठनहरुले एकल नेतृत्व चयन गर्न दबाब दिइरहेका छन् । नेतृत्वमा रहेका नेताहरुले भने समाजवादी पार्टीसँगको एकता प्रक्रियालाई पर्खेर बसेको देखिन्छ । 

तत्कालीन एमाले र माओवादीबीचको एकताले तराई–मधेस क्षेत्रमासमेत चुनावी असर देखाएपछि यो भूगोललाई आधारभूमि बनाएर दलीय हैसियत बनाएकाहरुबीच एकताको आवश्यकता महसुस भयो ।  पछिल्लो संसदीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी र राजपाले चुनावी गठबन्धन गर्‍यो । गठबन्धनकै कारण प्रदेश २ मा दुई पार्टीको संयुक्त सरकार पनि गठन भयो । 

चुनावबाट प्राप्त जनादेशले नै दुवै पार्टीबीच तत्काल एकीकरण गर्न निर्देशन गरेको दुवैतर्फका नेताहरुले बताएका छन् । तर, नेतृत्वमा सहमतिमा पुग्न नसक्दा अहिलेसम्म एकता प्रक्रियाले मुर्त रुप लिन नसकेको राजपा तर्फबाट एकताका लागि वार्ता गर्ने जिम्मेवारी पाएका राजेन्द्र महतो बताउँछन् । 

“राजपा र सपाबीच अब एकताको अर्को विकल्प छैन,” राजपा अध्यक्ष मण्डलका सदस्यसमेत रहेका महतोले बाह्रखरीसँग भने, “एकताबारे दुवै पार्टी स्पष्ट छ । एकता प्रक्रियाको बारेमा धेरै अघि पनि बढिसकेका छौं, नेतृत्वको सवालमा केही कुरामा सहमति जुटेलगत्तै औपचारिक घोषणा गर्ने तयारीमा अग्रसर हुन्छौं ।”

पछिल्लो केही महिनायता राजपाको तर्फबाट महतोकै सक्रियतामा पार्टी एकताको विषयले प्राथमिकता पाइरहेको छ । मधेश आन्दोलनको जगमा स्थापित भएका पार्टीहरु संविधान संशोधनबाहेक मुद्दाबाट विमुख भइसकेका छन् । संविधान संशोधनको लागि सदनमा करिब दुई तिहाइ नजिक रहेको नेकपा पूर्णरुपले सहमत हुनु आवश्यक छ । 
तर, तत्काल यो सम्भावना देखिँदैन । यस्तै अवस्थामा अर्को निर्वाचन भए जनताबीच के मुद्दा लिएर प्रस्तुत हुने भन्ने चिन्ता यी दलका नेताहरुमा झल्किन्छ । महतो भन्छन्, “सपाका उपेन्द्रजी र बाबुरामजीलगायत शीर्षस्थ नेताहरुसँग निरन्तर सम्पर्क भइरहेको छ । उहाँहरु पनि एकता प्रक्रियामा निकै सकारात्मक हुनुहुन्छ । दुवैतर्फको अग्रसरतामै एकतापछि कायम हुने पार्टीको नाम, झन्डा, चुनाव चिन्हलगायत विषयमा सहमति भइसक्यो ।”

बीचमा छोराको वैवाहिक कार्यक्रममा व्यस्त भएको र मंसिर २२ गते विवाह भोज सकिएलगत्तै पुनः पार्टी एकीकरण प्रक्रियालाई गति दिने उनले बताए । “पार्टीको वैचारिक सिद्धान्तको बारेमा पनि करिब करिब सहमति जुटिसकेको छ,” महतोले भने, “मंसिर २३ गतेदेखि नेतृत्वको सवालमा केन्द्रित भएर औपचारिक छलफल सुरु हुन्छ ।”

अहिलेसम्म भएको मौखिक सहमतिहरुलाई दस्तावेजिकरण गर्दै नेतृत्ववारे टुंगो लगाएर अविलम्ब एकता घोषणा समारोहको आयोजना हुने उनले दाबी गरे ।  यता, समाजवादी पार्टीका उपाध्यक्ष लालबाबु राउतले पनि दुई पार्टीबीचको एकता प्रक्रिया कुनै बहानामा नरोकिने जिकिर गरेका छन् । “सपा र राजपाबीच एकता हुने विषयमा द्विविधा रहेन । केही सैद्धान्तिक कुराहरुमा सहमतिको प्रयास जारी छ । केही समयभित्रै सबै टुंगो लागेर एकता घोषणा हुन्छ,” प्रदेश २ का मुख्यमन्त्री समेत रहेका पार्टी उपाध्यक्ष राउतले भने । यकिन समय भने उनले पनि भनिहाल्न सहज ठानेनन् ।

राजपाका महासचिव केशव झाले राजपा र सपाबीच एकता गर्न नेतृत्वभन्दा पनि तलका नेता तथा कार्यकर्तास्तरबाट निरन्तर दबाव आइरहेको हुँदा एकताको विकल्प नदेखिएको बताए ।  “ढिलो छ भने मात्र शीर्ष नेताहरुलाई व्यवस्थापन गर्ने विषयमा सहमतिको लागि हो,” झाले बाह्रखरीसँग भने, “अन्य सबै विषय खुला छ ।”

पार्टी एकताको लागि सपाले संघीय सरकार छोड्नुपर्ने शर्तले खासै असर नपर्ने राजपाकै एक नेताले बताए । “राजपाको अध्यक्ष मण्डलमै छ जना नेता छन् । उहाँहरुलाई सम्मानजनक व्यवस्थापन गर्नुपर्ने स्वभाविक चुनौती हो,” ती नेताले भने, “सपाले सरकार छोड्ने नछोड्ने विषयमा सपाकै दायित्व र अधिकारको कुरा छ । राजपाले आफ्नो मजबुत उपस्थिति देखाउन शर्त राख्नु ठूलो कुरा होइन ।”

राजपा अध्यक्ष मण्डलका नेता महतोले पनि सरकार छाड्नुपर्ने शर्तको विषयमा टाउको दुखाइ रहनुनपर्ने बताए ।  “पार्टी एकताको आधार बनाउन उपेन्द्रजीले सरकार छोड्नुपर्ने हामीले शर्त राखेका छौं । यो विषयमा औपचारिक निर्णय गर्ने अधिकार उहाँहरुकै हातमा छ,” महतोले थपे, “हामी सरकारको दुश्मन होइन नि ! संविधान संशोधनका लागि सहमति, रेशम चौधरीको रिहाइ र आन्दोलन क्रममा लागेका झुटा मुद्दा फिर्ता लगायत विषयमा सरकार सहमत भइदिए हामीले जबरजस्ती विरोध गरिरहनुपर्ने कुनै आवश्यक्ता छैन ।”

आफुहरुले उठाउँदै आएको मुद्दामा सरकार लचिलो भए सपा भित्रै बसेको र आफुहरुले विगतमा समर्थन गरेको र फेरी पनि समर्थन गर्न सकिने उनको भनाइ हो । संघीय संसदमा राजपाका १६ जना र सपाका १५ जना सांसदको उपस्थिति छ । तर, कैलाली घटनामा मुछिएका रेशम चौधरीले विशेष अवस्थामा सपथ खानुबाहेक सदनमा उपस्थिति जनाउन सकेका छैनन् । अहिले पनि उनी जेलमै छ । रेशमबाहेक सदनमा दुवै पार्टीका १५ जनाको दरले सांसद छन् । प्रदेश २ मा सपाका ३० र राजपाका २५ सांसद छन् । दुवै मिलेपछि पुगेको बहुमतकै आधारमा संयुक्त सरकार गठन गरिएको हो । 

सपा र राजपाबीचको एकताले समग्र मुलुकमा राजनीतिक असर पार्ने नपार्ने आफ्नो ठाउँमा होला । तर, प्रदेश २ मा तत्काल यसको असर पर्ने देखिन्छ । कुल १०७ सांसद रहेको प्रदेश २ मा यी दुई पार्टीले मात्रै ५५ (बहुमत) जितेका छन् । भर्खरै विभिन्न स्थानीय तहका लागि १० पदमा भएको उपचुनावमा पनि सपाले चार र राजपाले दुई गरी छ सिट जितेको छ । 

दुवै पार्टी छुट्टाछुट्टै चुनावमा जाँदा १० मा ६ जितेको छ भने एकभएर गएको भए ८ देखि ९ पद जित्ने सम्भावना रहेको दावी गर्दै तल्लो स्तरबाट दुवै पार्टीलाई एकताको लागि दबाव बढेको राजपा महासचिव झा बताउँछन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro