अक्षर काका
काठमाडौंमा साउथ एसियन गेम (साग)को महोत्सव चलिरहेको छ । खेलाडीहरूले बुताले भ्याएसम्मको प्रदर्शन गरिरहेका छन् ।
७ देशका प्रतिस्पर्धी समेटिएको सागमा २६ खेलमा र ३ सय ८ स्पर्धा हुँदैछन् । खेलाडीहरूको काँधमा स्वर्ण, रजत र कास्य पदक मुस्कुराइरहेका छन् । विजयी र पराजित दुवै आँखामा आँसु टिल्पिलाएका छन् ।
२०७२ को विस्मयकारी भूकम्पबाट खण्डहर बनेको रङ्गशाला सागकै लागि रातारात पुननिर्माण सकियो । गुहाटी मेलाको तीन वर्षपछि हुन लागेको सागको भव्य उद्घाटको तयारी गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली आफैं चाहिँ ओछ्यान परे । आफ्नै हातले सागको उद्घाटन गर्ने इच्छा पनि शय्या पर्यो ।
९ गते मध्यरातिबाटअचानक उनको पेट दुख्न थाल्यो । सुरुमा दुखाइ सामान्य थियो । पछि पारो ह्वात्तै बढ्यो । बिहान आठ बजेसम्म दबाएरै बसे । निजी चिकित्सक दिव्यासिंह शाह साढे आठ बजेतिर आइपुगिन् । मनमोहन कार्डियोथोरासिक तथा भास्कुल प्रत्यारोपण सेन्टर लैजाने चाँजोपाँजो मिलाइन् ।९ बजे अस्पताल पुर्याइयो ।
अस्पताल पुर्याउँदा प्रधानमन्त्रीको अवस्था निकै टिठलाग्दो थियो । अनुहार सोहोरिएको थियो । आँखामुनि थैला झुण्डिएका थिए । रातभरिको दुखाइले कण्ठ बसिसकेको थियो ।ओठमुखसुकेका थिए ।
प्रधानमन्त्रीको कारुणिक हविगत देखेर सुरुमा त चिकित्सक नै अत्ताल्लिए । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएकाले नियमित डायलाइसिस विकल्प बनेको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा चार पटक डायलाइसिस गरिसकिएको थियो ।
एपेन्डिसाइटिसको तुरुन्तै शल्यक्रिया नगरिए पेटमा सङ्क्रमण फैलन सक्छ । अङ्ग प्रत्यारोपण गरिएका बिरामीमा त सङ्क्रमण फैलने जोखिम झन् दुई गुणा हुन्छ ।
तर बिरामीको अवस्था ‘पर्ख र हेर’को छ ।
चिकित्सकले तुरुन्तै सुझबुझपूर्ण निर्णय लिए । १० गते बिहान १० बजे शल्यक्रिया गरियो । मिर्गौला प्रत्यारोपण गरिएकाले चिकित्सकले ‘पेरिटोनाइटिस’को जोखिमको अनुमान गरेका थिए । चिकित्सकको अनुमान सत्य सावित भयो । त्यसको संक्रमण पेटमा फैलिइसकेको थियो । सङ्क्रमणले जोखिमको तह पनि पार गरिसकेको थियो ।
सामान्य एपेन्डिसाइटिस प्रताडित बिरामीको तुलनामा पेट निकै चिर्नुपर्यो । त्यसले प्रधानमन्त्रीलाई थप गलायो ।
शरीरमा एकपछि अर्को रोग थपिँदै गएकाले प्रधानमन्त्री चाँडै निको होलान्, स्वास्थ्य लाभ गरी यति छिट्टै बालुवाटार फर्किएलान् भनेर कसैले कल्पना गरेका थिएनन् । विशेषज्ञ चिकित्सकको समूहले पनि गरेको थिएन । चिकित्सकको आँखामा पनि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार कल्पनातीत थियो ।
तर, प्रधानमन्त्री आफैं भने विश्वस्त थिए । दृढ आत्मजिगीषा र जिगमिषाका कारण उनले जुनसुकै रोगमा सहजै विजय हासिल गर्दै आएका छन् । अरूलाई लाग्दो हो– प्रधानमन्त्री पसरका पसर औषधिमा टिकेका छन् । चिकित्सा विज्ञान नै उनको प्राण रक्षाको माध्यम बनेको छ ।झण्डै १४ थरि औषधि प्रधानमन्त्रीको जीवनका रक्षाकवच बनेका छन् ।
अहिले त झन् सत्ता र शासकले पाउने सेवा–सुविधाले टिकाएको छ ।
तर, प्रधानमन्त्री ओलीले पटकपटक चिकित्सा विज्ञानलाई माथ खुवाएकाले चिकित्सक आफैं चित खाएका छन् ।
प्रधानमन्त्रीको जिजीविषाले औषधिलाई उछिनेको छ । साग स्पर्धाका अब्बल खेलाडी काँधमा स्वर्ण जडित तक्मा भिरेर मैदानबाट बाहिरिरहँदा मृत्यु जितेका यी दृष्ढ आत्मविश्वासी अनुहारमा स्वर्ण आभा बोकेर नियमित काममा फर्किएका छन् । उनको थाप्लामाथि मडारिएको मृत्युको बादल फाटेको छ ।
उनको शिरमाथि मृत्युको बादल मडारिएको पहिलोपटक कहाँ हो र !
२०७० माघ २१ गते एमाले स्थायी कमिटी सदस्य रहेका केपी शर्मा ओली पार्टी संसदीय दलमा निर्वाचित भए लगत्तै बिरामी परे ।
२०७० चैतको आधाआधीदेखि नै उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । मिर्गौलाको कार्यक्षमता घट्दो छँदै थियो । शरीरमा उच्च ज्वरो देखियो । ढाड–काँध दुख्न थाल्यो ।
भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको ७ वर्ष पूरा भइसकेको थियो । संसदीय दलमा पकड जमाइसकेकाले पार्टी अध्यक्षमा उनको सम्भावना बलियो हुँदै थियो । रोगले पो थला बसाल्ने भयो ।
महाधिवेशनको संघारमा पार्टी पुगेकाले उनको स्वास्थ्यका बारेमा अनेकन लख काट्न थालिए । त्यसले शनैःशनैः अफवाहको रूप लियो । तल पुग्दा भ्रमको तुँवालो बन्यो । वास्तविकता ओझेल पर्यो ।
केपी ओलीको स्वास्थ्य दिनानुदिन बिग्रँदै भन्ने सूचना पाएपछि उनको विचार समूहमा सन्नाटा छायो । वैकल्पिक नेतृत्वको खोजी पनि भयो । कतिले आफूलाई केपी ओलीको विकल्पका रूपमा पनि अघि सारे ।
२०७१ वैशाख १७ गते उपचारका लागि बैंककको बुमरुङगार्ड अस्पतालमा उपचार गराउन पुगेका ओली जेठ २० गते स्वदेश फर्किए । फङ्गल मेनेन्जाइटिसबाट त्राण त पाए तर पनि स्वास्थ्य सोचेअनुरूप अनुकूल थिएन । विमानस्थलमा उनको विचारसँग जोडिन खोज्नेहरू झण्डासहित लिन पुगेका थिए । तर, केपी ओलीक्षीण थिए । विमानस्थलमा स्वागत गर्न पुगेकालाई हात हल्लाउन पनि सकेनन् ।
जेठको अन्त्यतिर आइपुग्दा महाधिवेशनको चटारोले छपक्कै छोपिसकेको थियो । प्रतिस्पर्धी माधवकुमार नेपाल भेला, बैठकमा व्यस्त थिए । देशभरिबाट महाधिवेशन प्रतिनिधि छानिनेक्रम तीव्र थियो ।
क्षेत्रीय कमिटी, जनसङ्गठन, पेसागत र सम्पर्क–समन्वय कमिटीमा महाधिवेशन प्रतिनिधिका लागि चुनावै भएकाले कुन पक्षका कति निर्वाचित भए भन्ने प्रष्ट तथ्याङ्क सामुन्नेमा थियो । जित–हारको तस्बिर आँखा अगाडि नै देखेपछि त्यसले बेचैनी बढाउने नै भयो ।
आठौं महाधिवेशन आफ्ना लागि प्रतिकुल रहेकाले जित्नै पर्ने दबाबमा थिए ओली । एक मिनेट आराम पाएनन् । सेतो ब्यान्डेज बेरेको हात बोकेर उनी चुनाव प्रचार–प्रसारमा खटिए । प्रतिस्पर्धीलाई त्यही मसला बन्यो । चुनावी नारा बन्यो ।
बिस्तारै मेनेन्जाइटिसबाट तङ्ग्रँदै थिए । महाधिवेशनले उनलाई थला बसाल्यो । उठेर भाषण गर्ने तागत रहेन । चिकित्सकले भीडभाडमा नजान सुझाइ रहेका थिए । हात मिलाउँदा सङ्क्रमण हुने खतरा औंल्याइरहेका थिए । महाधिवेशन प्रतिनिधिका बीचमा नगए कसरी चुनाव जित्नू ! कार्यकर्तासँग आत्मीयता प्रकट नगरे कसरी मन जित्नू ! मन नजिते कसरी मत जित्नू !
चिकित्सकले महाधिवेशनको दौडधूप र प्रचार–प्रसारको संसर्गबाट टाढा राख्न लाख कोसिस नगरेका होइनन् । सब व्यर्थ भयो ।
दौडधूपको परिणाम राम्रै आयो । ओली पार्टी अध्यक्षमा निर्वाचित भए । स्वास्थ्य अवस्था खस्किएपछि उनको क्षमता मुखरित भयो । राजनीतिक उचाइ शिखरित भयो ।
पार्टी अध्यक्षमा निर्वाचित भइसक्दा पनि कार्यकर्तामा अन्योल कायमै थियो । महाधिवेशनको मैदानमा फिँजाइएको भ्रमले ओलीले पूर्णकाल अध्यक्ष चलाउन सक्छन् भन्ने आशंकाले छोपेकै थियो । ‘ओली अध्यक्ष कतिञ्जेल हो ? आज हो कि भोलि हो,’ भन्ने तुँवालो व्याप्त थियो ।
समय अघि बढ्दै जाँदा भ्रमहरू ओलीको निर्भीक आत्मविश्वास अगाडि टिक्न सकेनन् । पानीमा पैदा भएका फोकाजस्तै क्षणभङ्गुर बन्न थाले ।
ओलीको स्वास्थ्यका बारेमा बेलाबखत बुज्रुग समुदायबाट प्रकट हुने विद्वता, विज्ञता क्रमशः खण्डित–विखण्डित हुँदै अन्ततः खारेज भए । अनेकन अनुमान र अड्कलबाजीहरू पार्टी अध्यक्ष र दुई पटक प्रधानमन्त्री निर्वाचित भएपछि आफैँ धुलिसात भए ।
प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा मिथक खडा छ । प्रधानमन्त्रीले देशमा शासन गरिरहेका छन् । तर यस्तो लाग्छ– होइन, भ्रम र मिथकहरूलेचाहिँ उनीमाथि शासन गरिरहेका छन् ।
देशको प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा चिन्ता र चासो प्रकट हुनु स्वाभाविकै हो । तर,विषयको संवेदनशीलता र गाम्भीर्यको साँध–सीमा मिचेर ‘ब्रेकिङ’को होडबाजी भइरह्यो ।चाँडो पस्कने लिगलिगे दौडमा कतिले शेषपछिका लागि ‘अविच्युरी’ पनि तयारी हालतमा राखे ।
अस्पतालको शय्यामा रोगसँग मुकाबिला गरिरहँदा कयौंपल्ट आफ्नो मृत्युको स्रोता आफैं बन्नुपरेको छ । ती अफवाहको खण्डन गर्दै कयौंपटक आफू जिउँदो रहेको प्रमाण पेस गर्नुपरेको छ । जीवितै रहेको तथ्य पेस गर्नुपरेको छ ।
तर, पनि उनको आत्मविश्वास र जिजीविषामा रत्तिभर कमी आएको छैन । यही तत्त्वले उनलाई पुनः मृत्युको कब्जाबाट छुटाएर निवास फर्काएको छ ।
प्रधानमन्त्रीको जिजीविषाका बारेमा उनका सहयोद्धा राधाकृष्ण मैनालीको एउटा अनुभूति यहाँ उद्धृत गर्नु सान्दर्भिक हुन्छ ।
प्रधानमन्त्री ओली निःसन्देश ‘रोगी’ हुन् । तर उनलाई आज रोग लागेको होइन । २०३० असोज २३ गते पक्राउ परी ४ वर्ष जेलभित्रको जेल, गोलघर सहित १४ वर्ष ताडना सहेका ओलीलाई हतकडी खोल्नासाथ रोगले घेरा हालेको पनि होइन ।
उनलाई राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न मुद्दामा जेलमै बस्दा क्षयरोग र अल्सरले गाँज्यो । अहिलेजस्तो उपचार सहज थिएन । नाक, मुख मलद्वारबाट फाल्साका फाल्सा रगत बग्थ्यो । दुब्लाएर सिन्कीजस्तो भएका थिए । २००८ साल फागुन ११ मा जन्मिएका ओलीलाई ३२ वर्षको उमेरमा अल्सरले जीर्ण तुल्याएको थियो । तौल ३० किलोग्राम पनि थिएन । जेलमा गएर उपचार गर्ने भनेपछि चिकित्सक दिगमिगाउँथे । आँखै अगाडि आफूजस्ता बिरामीको प्राणपखेरु उडेको देखेका र कतिको मृत्युको साक्षी आफैं बस्दा पनि ओलीमा ‘मरिएला कि !’ भन्ने भाव जागृत भएन । आफ्नो दिसा–पिसाब अरूले सह्यार्नुपथ्र्यो । तर, उनी हमेसा देश बनाउने सपनाको मलजल गर्थे । सहकर्मी मोहनचन्द्र अधिकारी जेलको ताडना सहन नसकेर ‘अर्धविक्षिप्त’ भइसकेका थिए । तर, उनी क्षयरोग र अल्सरको जोरमुक्कासँग जुध्दै सपनाको दियोमा तेल थपिरहन्थे ।
‘वर्गशत्रु खतम’ अभियानका सर्जक मैनालीले एउटा भिडियो अन्तर्वार्तामा ती दिन सम्झँदै भन्छन्, “दिसा बस्न सक्दैनथे । मैले सुरुवाल लगाइदिनुपथ्र्यो । तर उनी (ओली) भन्थे– मलाई केही पनि हुँदैन । मरिँदैन । बाँचेर देश चलाउनुपर्छ बुझिस् !”
त्यही जिजीविषाले ओलीलाई अहिले देशको कार्यकारी प्रमुख बनाएको छ ।
मृत्युलाई ह्याकुलाले मिच्ने प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको शुभकामना !