
जनकपुर । प्रदेश २ सरकारको सचिवालय रहेको क्षेत्र (मधेश भवन) मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबारदेखि प्लाष्टिकजन्य वस्तु प्रवेशमा रोक लगाएको छ ।
जनकपुर चुरोट कारखानाको आवास क्षेत्रलाई प्रदेश सरकारको मन्त्रिपरिषद्ले डेढ वर्ष अघि नामाकरण गरेको हो, मधेश भवन । उक्त क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारीबाहेक सबै मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय र निवास, मुख्य न्यायाधिवक्ताको कार्यालय, नीति आयोग तथा मुख्यमन्त्रीसमेत सबै मन्त्रीको निवास राखिएको छ ।
वातावरणमा नकारात्मक प्रभाव पार्ने एक प्रमुख तत्व प्लाष्टिक रहेको ठहर गर्दै मन्त्रालयले बुधबार सम्बन्धित सबै निकायमा पत्राचारगरी बिहीबार (आज) देखि प्लाष्टिकजन्य कुनै पनि वस्तु मधेश भवनको मूलगेटभित्र छिर्न नदिने निर्णय गरेको हो ।
‘वातावरणमा प्रत्यक्ष रुपले नकारात्मक असर पार्ने तत्व हो प्लाष्टिक । प्लाष्टिक वायोडिग्रेडेवल नभएकोले यसको प्रयोगबाट मधेश भवन परिसरको सौन्दर्यतामा समेत ह्रास ल्याउने भएकोमा प्लाष्टिकजन्य झोला, व्याग, ग्लास, प्लेटलगायत वस्तुको प्रयोगमा प्रतिबन्ध लगाइएको हो’ मन्त्रालयका सचिव राजेशकुमार मिश्रले जारी गरेको पत्रमा उल्लेख छ ।