
जनकपुर । यसअघि राजपाले जितेको महोत्तरीस्थित पिपरा गाउँपालिका अध्यक्षको निधन भएपछि भएको उपचुनावमा नेकपा विजयी भएको छ ।
करिब सावा दुई वर्षअघि राजपाका विनोदकुमार चौधरी निर्वाचित भएको उक्त गाउँपालिकामा उनको निधनपछि उपचुनावका लागि पार्टीले दिवंगत चौधरीकै धर्मपत्नी रबितालाई उमेदवार बनायो । रबितालाई जिताउन चुनावी प्रचारको क्रममा राजपा अध्यक्ष मण्डलका करिब सबै नेता त्यहाँ पुगे । तर, मतदाताले कसैको नसुनेको मतपरिणाम पुष्टि गरेको छ ।
पिपरा क्षेत्रबाट संघीय सांसदमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर र प्रदेशसभा सदस्यमा पनि सोही पार्टीका अभिराम शर्मा निर्वाचित भएका छन् । यसअघि गाउँपालिका अध्यक्ष पनि राजपाकै उमेदवारले जितेका थिए । तर, उपचुनावमा नेकपा निर्वाचित हुँदा तेस्रो स्थानमा पुग्यो राजपा ।
निर्वाचित नेकपाका विक्रम चौधरी (यादव) को निकटतम प्रतिद्वन्द्वीको रुपमा आए समाजवादी पार्टीका उमेदवार रामजानकी यादव । नेकपाले तीन हजार २४९ मत पाउँदा समाजवादी पार्टीले तीन हजार ४१ मत ल्याए । राजपाकी रबिता चौधरी दुई हजार ९८४ मतमा सिमित भइन् ।
महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको मतपरिणामसँगै समाजवादी पार्टी र राजपाभित्र सर्लाहीको हरिपुर्वा गाउँपालिका -१ वडा अध्यक्षको लागि भएको उपचुनाव परिणामले पनि निकै चर्चा पाइरहेको छ । कारण हो, यी दुवै पार्टीले पिपरामा पराजित घटनासँग हरिपुर्वा -१ को सम्बन्ध ।
"समाजवादी र राजपाले गठबन्धनमात्रै गर्न सके पनि प्रदेश २ को परिणाम पक्षमा आउने निश्चित थियो" राजपाका महासचिव केशव झाले बाह्रखरीसँग भने, "सर्लाहीको हरिपुर्वा गाउँपालिका वडा नम्बर १ को विवादले दुई पार्टीबीचको गठबन्धन सहमति नै भाँडियो र परिणाम सबैतिर घाटामा पुग्यो ।"
महासचिव झाका अनुसार पहिलो चुनावमा हरिपुर्वाको उक्त वडा नेकपाले जितेको थियो । समाजवादी दोस्रो स्थानमा आएको थियो । सोही आधारमा समाजवादीले उक्त वडामा आफ्नो उमेदवार हुनुपर्ने गठबन्धन प्रस्तावमा अडेका थिए । तर, राजपाले त्यसमा मानेन र सोही कारण महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षलगायत उमेदवारमा पनि गठबन्धन गर्ने सहमति जुट्न सकेन ।
समाजवादी पार्टीका मधेश प्रदेश समिति अध्यक्ष विजयकुमार यादवले राजपा आन्तरिक द्वन्द्वबाट माथि उठ्न नसकेको कारण उपचुनावमा गठबन्धन हुन नसकेको बताए ।
"आज गठबन्धनमा गएको भए कम्तिमा यो प्रदेशमा समाजवादी र राजपालाई अर्को कुनै पार्टीले केही बिगार्न नसक्ने निश्चित थियो", प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका यादवले भने, "पार्टीको प्रदेश अध्यक्षको हैसियतले म आफैं राजपासँग गठबन्धन प्रस्ताव लिएर पुगेको थिएँ । तर, उनीहरुले वास्ता गरेन र आज यो परिणाम आयो ।"
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पनि आफ्नै पार्टीको कमजोरीले पिपरामा पराजित हुनुपरेको गुनासो गरे । "पिपरा गाउँपालिकाको अध्यक्षमा राजपा हार्नुपर्ने कुनै कारण देखिदैन । तर, यस्तो परिणाम आउनुको कारण महोत्तरीकै नेताहरुको छ", महोत्तरीबाट संघीय सांसदमा निर्वाचित महन्थ ठाकुर र शरत्सिंह भण्डारीतर्फ संकेत गर्दै यादवले बाह्रखरीसँग भने ।
प्रदेश २, राजपाका प्रमुख सचेतक परमेश्वर साहले पिपराको मतपरिणामले दुई पार्टीबीच एकताको विकल्प नरहेको सन्देश दिएको बताए । "राजपाभित्रै एकमत नहुँदा समाजवादीसँग एकता र भर्खरै सम्पन्न भएको उपचुनावमा गठबन्धन पनि हुन नसकेको यथार्थ हो" साहले भने, "अब पनि दुई पार्टीबीच एकता भएन भने अगामी चुनावमा पनि दुवै पार्टीको अवस्था संकटमा पर्ने निश्चित छ ।"