
जनकपुर । दोस्रो संविधानसभाका सदस्य डा. चन्द्रमोहन यादव पेशाले चिकित्सक हुन् । नेपाली कांग्रेसका तत्कालिन महामन्त्री डा. रामवरण यादव राष्ट्रपति निर्वाचित भएपछि खाली भएको धनुषाको तत्कालिन क्षेत्र नम्बर ५ मा उपचुनाव हुँदा पहिलो पटक चन्द्रमोहनले निर्वाचनमा भाग लिए ।
त्यसअघि राजनीतिमा खासै चासो नराख्ने उनी बाबु राष्ट्रपति भएपछि उनको बिँडो सम्हाल्न निर्वाचनमा आएका हुन् । दुर्भाग्यवश उक्त निर्वाचनमा पराजित हुनुपरेका चन्द्रमोहन दोस्रो संविधानसभामा सोही निर्वाचन क्षेत्रबाट विजयी हुँदै सदनमा पुगे ।
दोस्रो संविधानसभाले नै बहुप्रतिक्षित संविधान जारी गर्यो र पहिलो पटक मुलुकमा संघीय संरचना अनुसार चुनाव गराउने तयारी भयो । तर, उक्त चुनावमा चन्द्रमोहनले प्रतिनिधिसभा सदस्यको लागि पार्टीबाटै टिकट पाउन सकेनन् । अन्त्यमा प्रदेशसभा सदस्यको लागि उनी उम्मेदवार त भए । दुर्भाग्य ! फेरी उनी पराजित हुनपुगे ।
चुनाव हारेपछि पहिल्यैदेखि अंगालेको चिकित्सा पेशामा उनी फर्के । राजनीतिमा आउनुअघि विदेशमै बसेर स्वास्थ्य सेवामा समर्पित रहेका उनी पछिल्लो पटक चुनावमा पराजित भएपछि क्षेत्रमै बसेर राजनीतिसँगै आफ्नो पुरानो पेशालाई सँगै अघि बढाउने निर्णयमा पुगे । अहिले डा. चन्द्रमोहन दम्पती जनकपुरमै स्वास्थ्य सेवामा सक्रिय छन् ।
श्रीमती जनकपुरस्थित प्रादेशिक अस्पतालमा कार्यरत छिन् भने उनी जनकपुरकै एउटा निजी क्लिनिकमा काम गर्छन् । सपहीस्थित पुर्ख्यौली घरमै बस्ने उनी साँझ–बिहान राजनीतिकर्ममा सक्रिय हुनुपरे पनि दिउँसो स्वास्थ्यसेवामा व्यस्त रहने गरेको बताउँछन् ।
राष्ट्रपतिको छोरो भएकै कारण समस्या
“म राष्ट्रपतिकै छोरा भएर जन्मेको हो त ? होइन नि, म जनकपुरको सरस्वति माविमा अध्ययनरत १८ वर्षे रामवरण यादवको छोराको रुपमा जन्मेको हुँ,” सोमबार बिहान जनकपुरमा पत्रकार सम्मेलन नै गरेर उनले भने, ‘म सायद अन्य राजनीतिक कार्यकर्ता वा स्वास्थ्यकर्मीभन्दा बढी नै मिहिनेत गर्छु । गाउँ वा चोकको चिया पसलमा बसेर अनावश्यक गफ फुक्ने संस्कार ममा छैन । र, पनि जहिल्यै राष्ट्रपति पुत्र भनेर प्रताडित हुनु परिरहेको छ । यस्तो कहिलेसम्म सहेर बसूँ ?”
प्रसंग तीन दिनअघिको हो । जनकपुरबाट प्रकाशित हुने एउटा दैनिक छापा माध्यममा उनको बारेमा एउटा समाचार छापिएको रहेछ । उक्त समाचारमा लेखिएअनुसार न आफूले निजी क्लिनिक चलाएको न जनता ठग्ने कुनै काम गरेको जिकिर गर्दै उनले भने, “राजनीतिमा जहिल्यै राष्ट्रपतिको छोरा भनेर बुवासँगको रिसइबी साध्ने काम मसँग भइरहेको हुन्छ । सांसद पदमा पराजित भएँ र पार्टीबाट पनि सक्रिय रहिरहनुपर्ने जिम्मेवारी नरहेको हुँदा काम गरी खान खोजेपछि लखेट्ने काम भइरहेको छ । आखिर म कहाँ जाऊँ ?”
आरोप के हो ?
जनकपुरस्थित प्रादेशिक अस्पतालको मूलगेट नजिकै ‘दरभंगा सिटी स्क्यान तथा डाइग्नोस्टिक सेन्टर’ सञ्चालनमा छ । उक्त स्वास्थ्य संस्था राष्ट्रपति पुत्र डा. चन्द्रमोहनले चलाएको र सरकारी अस्पतालको सिटी स्क्यान मेशिन बिग्रेको मौका छोपेर शुल्क बढाइ बिरामीलाई ठग्ने काम भइरहेको समाचारमा आरोप छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा दलाली हुने नाम चलेको ठाउँ (दरभंगा) को नाउँबाट यादवले क्लिनिक सञ्चालन गरेको समाचारमा उल्लेख छ ।
डा. यादवले आयोजना गरेको पत्रकार सम्मेलनमा ती स्वास्थ्य संस्थाका सञ्चालक केदार यादव पनि उपस्थित थिए । केदार यादव लामो समयदेखि भारत, बिहारको दरभंगामा धनुषा डाइग्नोस्टिक ल्याब सञ्चालन गर्दै आएका छन् । हालै जनकपुरमा पनि दरभंगाको नाउँमा क्लिनिक सञ्चालन गरेका उनले भने, “सरकारी अस्पतालको मेशिन बिग्रेको विषयसँग म स्वतन्त्र व्यवसायीलाई सरोकार हुनुपर्ने कुरै भएन । सरकारी मेसिन बिग्रेको विषयमा समाचार बनाउनुभन्दा मेरो व्यवसायलाई बदनाम बनाउनु नियोजित हो ।”
एक जना राजनीतिक व्यक्तिको चरित्र बदनाम गराउन आफ्नो पेशा र व्यवसायलाई बदनाम गरेको भन्दै उनी पेशागत सुरक्षाको लागि सरोकारवाला गुहार्न थालेका छन् । उनी भन्छन्, “मैले गल्ती गरेको छु भने कानुन बमोजिम कारवाही होस् म व्यहोर्न तयार छु । तर, गरीखाने व्यक्तिलाई निरुत्साहित गर्ने अधिकार एउटा सञ्चारमाध्यमलाई कुन कानुनले दियो ?”