
जनकपुर । प्रतिनिधिसभाका निलम्बित सांसद अफताव आलमलाई ४५ वर्ष कैद सजाय तोक्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय रौतहटले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष र विष्फोटन पदार्थ सम्बन्धी मुद्दामा १० वर्ष गरी आलमलाई ४५ वर्ष कैद सजाय हुनुपर्ने जिल्ला प्रहरी कार्यालयको राय अनुसार सरकारी वकिल कार्यालयले मुद्दामा माग दावी गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको हो । प्रतिद्वन्द्वीहरुमा पूर्वमन्त्री समेत रहेका आलमसमेत उनका भाई महताव आलम, सहयोगीहरु मोविन आलम, शेख भदइ, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई विपक्षी बनाइएको छ ।
गत असोज २६ गते पक्राउ परेका आलमलाई २० दिनसम्म नियन्त्रणमा राखेर जिल्ला प्रहरी कार्यालयले घटनाको तहगत अनुसन्धानगरी कारवाही प्रक्रिया अगाडि बढाउन आठ सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदन गत शुक्रबार सरकारी वकिललाई बुझाएको थियो । सोही अनुसन्धान प्रतिवेदनको आधारमा सोमबार आलमसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खडिन्द्रराज कटुवालले जनाए । आलमबाहेक १० जना फरार छन् ।
रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका नेता आलम २०६४ चैत २७ गते बम विष्फोटमा घाइते भएका दुई नेपालीसमेत करिब दुई दर्जन युवालाई जिउँदै इँटाभट्टीमा झोंसेर जलाएको अभियोगमा गत असोज २६ गते पक्राउ परेका हुन् । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग तथा विष्फोटन पदार्थसम्बन्धी तीन मुद्दा चलाउन रायसहित जिल्ला प्रहरी कार्यालयले शुक्रबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
चैत २७ गते भएको उक्त विष्फोटनमा परी रौतहट, चारुअठाका त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको छ । बमको छर्रा लागेर घाइते भएका उनीहरुलाई घटना बाहिरिन नदिन आलमले जिउँदै इँटाभट्टामा हालेर जलाएको भन्दै दुवै परिवारले तत्कालिन समयमै किटानी जाहेरी दर्ता गराएका थिए । राजनीतिक आवरणमा कारवाहीबाट जोगिएका आलमसमेत उक्त घटनामा उनलाई सघाउने ११ जनाविरुद्ध सोमबार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।
पूर्वमन्त्री समेत रहेका आलम, उनका भाई महताव आलम, सहयोगीहरु शेख भदै, मोविन आलम र शेष सराजुल विरुद्ध पीडित परिवारहरुले किटानी जाहेरी दिएका थिए । यतिबेला मुद्दाको तहगत अनुसन्धानको क्रममा घटना ढाकछोप गर्न सघाउनेहरुसमेत ११ जना विरुद्ध मुद्दा दर्ता गर्न लागेको जिल्ला सरकारी वकिल कार्यालय रौतहटका कर्मचारी चुनचुन साहले बाह्रखरीलाई जानकारी दिए ।