
जनकपुर । सांसद मोहम्मद अफताव आलमले बम विष्फोटनमा परेका घाइतेहरुलाई जिउँदै इँट्टाभट्टामा हालेर मारेको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सरकारी वकिललाई शुक्रबार अभियोगपत्र बुझाएको छ ।
२० दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका आलमविरुद्ध सोमबार अदालतमा मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले आलमसमेत उनका भाइ महताव आलम, भदै शेख लगायत पाँच जना विरुद्ध तीनवटा मुद्दा दायर गर्न सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
घटनामा घाइते भएर पनि जोगिएका एकमात्र जिवित व्यक्ति सर्लाही निवासी सफी अहमद र मृतक ओसी अख्तरका ससुरा (प्रत्यक्षदर्शी) समसुल मियाँको बयान, प्रयोग गरिएको ट्रयाक्टर, घटना भएको दिन इलाका प्रहरी कार्यालय राजपुरका तत्कालीन इन्स्पेक्टर इन्द्र सुवेदीलाई रातारात सरुवा गरी राजीव बस्नेतलाई पठाउने शंकास्पद निर्णयसहितको विषयले आलमलगायत पाँचजनाको संलग्नता पुष्टि गरिरहेको प्रहरी दावी छ ।
जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रतिवेदन बुझाइसकेकोले सोमबार अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारीमा लागेको जिल्ला सरकारी वकिल खदिन्द्रराज कटुवालले जानकारी दिए । आइतबारै मुद्दा दर्ता गर्न सकिने भए पनि छठको अवसरमा प्रदेश सरकारले विदा दिने घोषणा गरेको कारण सोमबार मात्रै मुद्दा दायर गरिने उनले बताए ।