बाहिर कोही आइसकेजस्तो लागेको थियो । चिरिक्क घाम लागेको थियो । बस्ने कुर्सी भए पनि खुला ठाउँमा सबैतिरबाट घाम लाग्ने हुँदा आराम नहुने पक्का थियो । ‘क्लाइन्ट’ले समय लिएर भेट्ने हुँदा खास अप्ठ्यारो त पर्दैन तर कोही समयभन्दा अगाडि आइदिँदा एउटा कोठामा सीमित मेरो प्य्राक्टिस असुविधा हुन्छ । यसले बेलाबेला अप्ठ्यारो पनि बनाउँछ । हुनत, त्यसरी अगाडि नै आउने बिरलै हुन्छन् तर आज कोही नयाँ क्लाइन्ट आउने र छिटोपनि आएको हुँदा मन केही चञ्चल भयो । भित्र अर्को क्लाइन्टसँग थिएँ तर ध्यान बेलाबेला बाहिर हुत्तिरहन्थ्यो । झन्डै १५ मिनेटपछि क्लाइन्ट बिदा गरेर उनलार्ई बोलाए । यता बिदा गरेको क्लाइन्ट पुरानै हुनाले खासै अप्ठ्यारो मानेनन् । नत्र अर्को मान्छे भेटिन्छन् कि भनेर सोध्ने अनि आउन अप्ठ्यारो मान्ने थुप्रैको अनुभव छ । मानसिक स्वास्थ्यप्रति मानिसको यो दृष्टि अजीव नै लाग्छ ।
उनलाई एकछिन कुर्न र घाममा बस्नु परेकोमा माफी मागेँ मैले तर जवाफमा उनले भने– ‘‘केही छैन, मलाई एकछिन आराम पनि भो, घाम छ आज, त्यसमाथि काठमाडौंको ट्राफिक । फेरि तपाईँले समयमै है, भन्नु भा’को थियो । त्यसैले ढिला हुन पनि चाहिन ।’’
मैले हाँसेर भने– ‘‘समयमा नआउने धेरै हुन्छन् । फेरि हाम्रो पेसामा समयले धेरै महत्त्व राखेको हुन्छ । हामी ‘वाक इन क्लाइन्ट’ लिँदैनौ, त्यसैले जसको लागि भनेर ५० मिनेट छुट्ट्याएका हुन्छौँ त्यो व्यक्ति नआउँदा, त्यो समय खाली बस्नुपर्छ । फेरि अर्को क्लाइन्टलाई पनि त्यसैअनुसार समय मिलाएको हुँदा तलमाथि गर्न गाह्रो हुन्छ ।’’
‘‘हैन म बुझ्छु । मलाई छिटो आएर केही भएको छैन । एकछिन सुस्ताउन पाएँ बरु सजिलो पो भो ’’ उनले भने ।
पहिलो सेसनमै आनन्दले कुरा गर्ने कमै हुन्छन् । मलाई रमाइलो लागिरहेको थियो । विक्रम (नाम परिवर्तन), वर्ष ३५, गहुँ गोरो । उचाइ करिब ५ फिट ७ इन्च, जीउडाल आकर्षक, जिम गएर बना’को जस्तो । तर, पेट अलिकति लागेको, सजिलोसँग अगाडि कुर्सीमा बसेर कुरा गर्दै थिए । उनका हरेक हर्कत, शारीरिक हाउभाउ, बोलीको उतारचढाब आदि राम्ररी नियाल्दै थिएँ । क्लाइन्टको मुखले बोलेको र शरीरले बोलेको दुवै उत्तिकै महत्त्वपूर्ण हुने हुँदा म ध्यान दिएर सुन्दै र हेर्दै थिएँ ।
‘‘अचेल मलाई रिसमात्र उठ्छ । कसैले केही भन्यो कि मेरो ‘इरिटेसन’ सुरु । कोहीसँग बोल्नै नसक्ने भइसकेँ ।’’ मैले सोधेँ – ‘‘कहिलेदेखि सुरु भयो ?’’
‘‘भयो होला एक वर्षजति । मलाई रिस पहिलादेखि नै उठ्ने हो । आमाले सधैँ रिस तेरो नाकको टुप्पोमा छ भन्नुहुन्थ्यो । तर अहिले चाहिँ अलि बढि नै भयो ।’’ मलाई भने किन किन उनी रिसको समस्याले आएका होइनन् भन्ने लागिरहेको थियो । उनलाई असहज बनाउनु थिएन । त्यसैले उनका कुरा सुनिरहेँ ।
‘‘त्यसो भए यो रिस पहिल्यैदेखि नि यस्तै हुने हो ?’’ – मैले सोधेँ ।
‘‘इन्फ्याक्ट, पहिला रिस लुकाउथेँ । अचेल लुकाउन सक्तिन । त्यसले गर्दा पनि रिसाहा देखिन्छुजस्तो छ ।’’
‘‘पहिला रिस लुकाउन सक्ने अहिले सक्दिन भन्नु भो¬ । के भयो अलि विस्तारमा बताउनु हुन्छ कि ?’’ – मैले सोधेँ । यो प्रश्न गरिसक्दा थोरै आत्तिएजस्तो देखिए उनी । अलि छट्पटिएजस्तो पनि देखिए । केहीबेर अगाडिका ‘रिल्याक्सड’ विक्रम कहीँ हराएजस्तो देखिए ! सानो बच्चाजस्तो देखिन थाले । सामान्य प्रश्नमा यति अत्तालिनु पर्ने थिएन । यसले मेरा शंकालाई अझै बल दियोे ।
स्थिति सम्हाल्दै मैले भने – ‘‘केही छैन विक्रम जी ! आजै सबै भन्नु पर्दैन । तपाईँ आफ्नो सजिलो अवस्था छानेर कुरा गर्न सक्नुहुन्छ । फेरि सबै भन्नैपर्छ भन्ने पनि त छैन । बिस्तारै अगाडि बढुँला ।’’
यति भनिसकेपछि केही सहज भए उनी । त्यसपछि यताउताका कुरामा त्यो सेसन सकियो । उनी गएपछि पनि मलाई भने केही खुल्दुली भइरह्यो । के हुन सक्छ ? उनी के भन्न चाहन्थे ? कस्तो कुरा होला ? आदि । मनमा कुरा खेलिरहे ।
यस पेसामा एउटा रमाइलो बानी बस्दै जान्छ । हुनत, सुन्दा अलि कस्तोकस्तो पनि लाग्ला तर जति अल्झिएको, जति खोतल्नु पर्ने केस आयो त्यति रमाइलो हुन्छ । डर हुन्छ, बाटो नभेटिएर दिमाग दही पनि बन्छ ! तर त्यस्तै केसमा मन रमाउँछ पनि ।
त्यसपछिका दुई सेसन बुक गरेर पनि उनी आएनन् । तर, अकस्मात् एकदिन फेरि फोन गरे । जसरी पनि समय मिलाउन आग्रह गरे उनले । साँझको बेला भए पनि हुन्छ भनेपछि साँझ छ बजे भेट्ने कुरा भयो । आउने हो कि होइन ? मलाई भने अन्योलै थियो । तर, छ बज्न केही समय हुँदा, आउँदै गरेको खबर आयो । एकैछिन कुर्न पनि भने । सबा ६ मा उनी आइपुगे हस्याङफस्याङ गर्दै । आएर पनि फेरि ढिला गरेकोमा माफी माग्न थाले । एकैछिन त उनलाई सामान्य बनाउन नै समय लाग्यो ।
यसरी अपर्झट् भेट्नुपर्ने कारण सोधेपछि फेरि पहिलाजस्तै अन्कनाउने क्रम सुरु भयो उनको । एकछिन चुपचाप नियालेपछि मैले भनेँ – ‘‘विक्रमजी, मलाई थाहा छ, जुन विषयवस्तुमा प्रवेश गर्न तपाईँ चाहिरहनु भएको छ, त्यो भन्न कठिन छ । विषयमा प्रवेश नै नगरेरै पनि हामी कुरा गर्नसक्छौँ । तपाईँलाई जे सहज हुन्छ त्यहीँबाटै सुरु गर्न सक्छौँ । तपाईंका निजी कथाहरू, पात्रहरूका बारेमा भन्नै पर्छ भन्ने छैन ।’’
यति भनीसके पछि केही आश्वस्त देखिए उनी । हुनत मनोविमर्श कसरी हुन्छ र के गरिन्छ ? यस विषयमा सुरुमै सबै बताइसकिएको हुन्छ तर केही क्लाइन्टलाई पटकपटक यो कुरा दोहोर्याउनु पर्ने हुन्छ ।
‘बताउन नै नहुने त होइन, तर अलि अप्ठेरो लागेको मात्र हो ।’ सहज हुँदै उनले भने । म चुपचाप उनको भनाइ पर्खिरहे । अप्ठेरो मान्दै उनले भने – ‘‘मैले बिहे गरे नि ।’’ उनी खुलाउन थाले ।
‘‘अस्ति म नआएको त्यही कारण हो । बिहे गरेँ घर सरेँ । त्यसैले आउन पाइन ।’’
मैले बधाई दिएँ र भनेँ – ‘‘ठीकै छ त । तर, त्यस्को कुरै गर्नु भएको थिएन । त्यसैले अलि अचम्म परेको मात्र हो ।’’
‘‘खै मन्दिरमा गएर यसो टीका लगा’को हो । घरमा कसैलाई थाहा छैन । अब यसलाई विवाह भन्ने कि नभन्ने ?’’ उनले अत्यन्त दुःखी भएर भने । ‘‘तपाईँको घरमा यस्को विरोध थियो र ?’’ मैले सोधेलगत्तै उनले भने – ‘‘अब मेरो ‘गे म्यारिज’ कसलाई के भन्नु ? के मिलाउनु ! अहिले चाहिँँ कस्तो कस्तो लागिरा’को छ ।’’
उनले अस्तिदेखि भन्न खोजेको र नसकेको चुरो कुरो अब बल्ल थाहा पाउदै थिएँ । मेरो अस्तिदेखिको खुल्दुली समाप्त भएको थियो । तर, उनको त्यो स्वीकारोक्तिले मलाई केही महसुस गराएन । आफैभित्र नियाली नियाली हेर्दा पनि केही पाइन । सायद अरुलाई नजाँची काम गर्ने बानीले मभित्र धेरैथोक हरायो कि जस्तो लाग्यो । आफ्नो थेरापिस्टसँग गर्नुपर्ने कुराको सूचीमा यो कुरा राखेर म अब पूर्णरुपमा विक्रमलाई सुन्दै थिएँ ।
विक्रम सुरुबाटै आफूलाई अलिक फरक ठान्थे । उनी सजिलै केटीहरूसँग घुलमिल हुन्थे तर उनलाई केटाहरुसँग कुरा गर्न अप्ठ्यारो हुन्थ्यो । खै के भाको हो भनेर आफैँलाई चित्त बुझाउँथे । उनी गे (समलिङगी पुरुष) हुन् भन्ने कुरा एउटा तालिमको सिलसिलामा दिल्ली बसेपछि मात्रै थाहा पाए । यो झन्डै १६ वर्षअगाडिको कुरा थियो ।
दिल्लीको बसाइले उनलाई आफ्नो बारेमा परिचित त गरायो नै सँगै आमिरसँग माया पनि बसायोे । यता काठमाडौं फर्किएपछि पनि आमिरसँग उनको सम्बन्ध रहिरह्यो । तर, केही वर्षमै आमाको स्वास्थ्यस्थिति बिग्रिँदै जाँदा घरबाट बिहेको दबाब आउन थाल्यो । दबाब थेग्न नसक्ने हालतमा पुगेपछि पाँच वर्ष बिहे गर्न नमिल्ने दिल्लीको एक साधुले बताएको भनेर बहाना बनाए ।
कामले दिल्ली गइरहने छोराको कुरा पत्याए सबैले । केही समयलाई आराम भयो । बिहेको तनाबबाट जोगिन पटकपटक जिल्लामा सरुवा लिएर गइरहन्थे । जीवन सजिलै चल्दै थियो । आमिरले बेलाबेला बिहे गर्न भनिरहन्थे तर उनलाई परिवारबाट सधैं टाढा बस्न मन थिएन । कुनै दिन भन्छु र सबैको राजीखुसीमै बिहे गर्छु भन्ने थियो । जिल्लामा बस्दा आमिरको पनि आउनेजाने भइरह्यो । उनी पनि आमिरविनाको जीवन कल्पना गर्न नसक्ने भए । तर, घरमा कसरी भन्ने भनेर बेलाबेलामा झस्काई राख्थ्यो ।
त्यहीबेला बहिनीको बिहेको तयारी भयो । बिहेको लागि आउँदैजाँदै गर्दा घरमा फेरि आउने जाने क्रम बढ्न थाल्यो । आमिर पनि साथीको रुपमा घरमा आउनजान थाल्यो । सबै ठीकै थियो । आमाको स्वास्थ्यका कारण घर नै बस्नुपर्ने भयो । उमेर पनि बढ्दै गइरहेको थियो । फेरि घर सम्हाल्ने कोही भएन भनेर बिहेको लागि कुराकानी सुरु हुनथाल्यो ।
उनी भन्दै गए – ‘‘यसपाली खै कसरी हिम्मत आयो, मेरो आफ्नो बारेमा बताएँ । सुरुमा त कसैले पत्याएनन् तर मैले राम्ररी सम्झाएपछि कोलाहल सुरु भयो । आमाको पूजापाठ झन् धेरै हुन थाल्यो । बुवाले त मेरो मुख नै नहेर्ने हुनुभयो । आमिरले पनि पर्खेको धेरै भा’को थियो । ऊ पनि केही आत्तिएको थियो । अनि के गरुँ कसो गरुँ भएर तपाईँकोमा आएको थिएँ तर कुरा गर्नै सकिन । अस्ति अब जे त होला भनेर मन्दिरमा गएर टीका लगाएँ । अब त्यस्लाई बिहा भन्ने वा के भन्ने थाहा छैन ।’’ एकै सासमा उनले भनी भ्याए ।
उनको कुरा सुनिसकेपछि मैले लामो सास फेरेँ । पुराना कति केसहरू याद आए । भागेर बिहे गरेको, अन्तरजातीय बिहे, असमान बिहे आदि । तर, समलिङगी विवाहको केस पहिलोे पटक हेर्दै थिएँ । समस्या विवाहको कि परिवारको ठम्याउन सकेको थिइन । त्यसैले विक्रमलाई नै सोधेँ – ‘‘मबाट के चाहनु हुन्छ ?’’
मेरो प्रश्नले शायद विक्रमलाई पनि अल्मल्यायो । उनी फिस्स हाँसे – ‘‘मलाई ठ्याक्कै थाहा छैन म किन यहाँ आएको ? मैले गरेको हर्कतले आमिर र मेरो परिवार दुवैलाई केही असर त पार्छ नै । सायद यो मन यति भारी थियो कि बिसाउनमात्रै आएजस्तो लाग्दैछ अहिले । भोलि मेरो घरमा मेरो र आमिरको सम्बन्धले कति असर गर्छ मलाई थाहा छैन । त्यो असरले मेरो र आमिरको सम्बन्धलाई केही असर त गर्छ नै । सायद, त्यही विषय हुनसक्छ मैले यहाँ गर्ने कुराहरू । तर त्यो त मेरो परिवारले थाहा पाएपछि हुने कुरा हो । साँच्चै भन्दा म आत्तिएको छु र डर छ भित्र कतै । परिवारलाई धोखा दिएकोमा ग्लानिजस्तो पनि भएको छ । आमिरसँगको जीवन सम्झिदा खुसी पनि छु । एकदमै ‘मिक्स्ड फीलिङ’ भइरहेको छ ।’’
‘‘यी सबै कुरा तपाईँले अहिले मसँग गरिरहँदा कस्तो अनुभव भयो ?’’
उनले लामो सास फेरे र भने – ‘‘साँच्चै भन्दा आनन्द आयो । कसैले मलाई सुनिदियो । म जे छु जस्तो छु त्यस्तै ‘एक्सेप्ट’ गर्नुभयो । म यो भारी बोकेर हिँडेको वर्षौँ भइसक्यो । बेलाबेला विदेश जान्छु । अनि ढुक्कजस्तो पनि नलागेको होइन । फेरि कतै गाउँकी केटी बिहा गर्छु भन्ने पनि न आ’को होइन । तर, अरुको जीवन बिगार्नै कुराले आफैँलाई थुक्क भन्न मन लाग्यो । आमिरबाहेक तपाईँमात्र हो यो सब थाहा पाउने । अब आमिरसँग पनि सबै भन्न सक्तिन होला । उसको ‘एक्स्पेक्टेसन्’को पनि विचार गर्नुपर्छ मैले । मेरो ‘सेक्सुअलिटी’ भन्दा पनि मलाई महत्त्व दिनुभयो । यो स्पेसको लागि धन्यवाद ।’’
उनी गए पछि म भने केही थकित भएँ । एकदमै थाकेजस्तो भइरह्यो । मनमा अनेक तर्कना आइरहे । आफू हुर्किएको समाजको एउटा खोक्रोपनासँग रिस पनि उठ्यो । आफ्ना आमाबाबुलाई असाध्यै माया गर्ने विक्रमजस्ता कति छोराछोरीलाई नबुझिदिँदा परिवार एक्लिएको छ । टुक्रिएको छ । आफ्नो परिवारसँग छुट्टिएर बस्नुपर्दा वा आफ्नालाई ढाँट्नु पर्दा कति छोराछोरीको मन चिरिँदो हो । यस्तै यस्तै कुराले मन बिथोलिइरह्यो ।
समाज जुन किसिमले अगाडि बढ्दै छ, हामी जहाँ आफ्ना सन्ततिलाई अगाडि बढ्न हौस्याउँदै छौँ, त्यही हामीले सोचेको भन्दा अलि फरक तर त्यो सत्य जुन हामी नकार्न सक्तैनौ अगाडि आयो भने कति सजिलै हामी हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रा प्रथालाई अगाडि तेस्र्याउँछौँ । अझ केही गर्न सकेनौ भने छिमेकी आफन्तको दुहाइ दिन्छौँ । तर आफ्नो आँखा अगाडि हाम्रो आफ्नै हातले हुर्काएका छोराछोरीको कुरा सुन्दैनौ । उसलाई साथ दिँदैनौ । किन हामी ‘सेक्सुअल आइडेन्टिटी’ के हुने भन्ने कुरा कसैको हातमा हुँदैन भन्ने बुझेर पनि बुझ्न चाहँदैनौ ? यसलाई अँगाल्नेबाहेक अर्को कुनै उपाय छैन ।