कुनै ठूलै कारण नपरे चीनका राष्ट्रपति सी जिनपिङ केही साताभित्रै नेपाल भ्रमणमा आउनेछन् । सरकारहरूले भ्रमणको मिति त घोषणा गरेका छैनन् तर तयारी भइरहेको छ । राष्ट्रपति सी भारत भ्रमणसकेर नेपाल आउने कार्यक्रम रहेको बताइएको छ । यही अक्टोबर ११ देखि सीले भारत भ्रमण गर्ने कार्यक्रम सार्वजनिक भइसकेकाले नेपाल आउने मिति पनि स्वतः अनुमान गर्न सकिन्छ । चीनका राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो । यसअघि सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए । राष्ट्रपति सीको नेपाल भ्रमणप्रति सर्वसाधारण जनतामा समेत गहिरो चासो र चाख देखिएको छ । नेपालमा चीनको मित्रताप्रति जनस्तरमा पनि अविश्वास छैन । चीनप्रति नेपाली समाजमा कुनै गुनासो र कटुता छैन । छिमेकीहरूबीच यस्तो सद्भाव बिरलै देखिन्छ ।
राष्ट्रपति सीको भ्रमणमा सहयोगका ठोस निर्णयहरू हुने अपेक्षा धेरैले गरेको देखिएको छ । भ्रमणका अवसरमा रेल, सडक, सुरुङमार्ग, जलविद्युत् निर्माण र प्रसारणलगायत पूर्वाधारका केही योजनामा वार्ता हुने बताइएको छ । मित्रतालाई अनुदानसँग दाँज्ने बानी परेका नेपाली राजनीतिकर्मी र अर्थशास्त्रीहरूले भ्रमणको सफलताको मापन परियोजना सम्झौताका आधारमा गर्न पनि सक्छन् । तर, राष्ट्रपति सीको भ्रमणको महत्त्वलाई परियोजनासँग दाँज्नु मूर्खता हुन्छ । यति नै बेला कुनै परियोजनामा सम्झौता हुन सकेन वा कुनै योजना वा अनुदानको घोषणा भएन नै भने पनि राष्ट्रपति सीको भ्रमणको महत्त्व कम हुँदैन । उनी नेपाल आएर देखाएको सद्भाव अनुदानभन्दा धेरै मूल्यवान् हुन्छ । विशेषगरी नाकाबन्दीबाट आत्तिएका बेला उनको नेतृत्वमा चीनले दिएको आडभरोसको गुन नेपालीले जनताले बिर्सेका छैनन् । यसै पनि अतिथिसँग याचना गर्नु नेपाली संस्कार विपरीत हुन्छ ।
राष्ट्रपति सीको भ्रमणलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले दलगत स्वार्थ पूरा गर्न प्रयोग गर्न खोज्नु हुँदैन । नेकपा र यसका नेताहरूको महत्त्वाकांक्षा र मूर्खताले राष्ट्रपति सीको भ्रमणको ओज घट्यो वा विवादमा पर्न गयो भने देशकै लागि दुर्भाग्य हुनेछ । यस्तै, विपक्षी दलहरूले पनि नेकपाका नेताहरूको मूर्खता र अहंकारको रिसमा राष्ट्रपति सीको भ्रमणको महत्त्व कम हुने वा विवादमा पर्ने कुनै काम गर्नु प्रत्युत्पादक हुनेछ । राष्ट्रपति भ्रमणका अवसरमा सुरक्षा सर्तकता अवश्यक पनि बढ्नेछ । विशेषगरी तिब्बती समुदायप्रति निगरानी बढाइनु स्वाभाविकै हुन्छ । तर, सरकारले तिब्बतीहरूसँग यति बेला गर्ने व्यवहारमा विशेष सजग हुनुपर्छ । अलिकति पनि असावधानी वा बढी शक्ति प्रयोग भयो भने प्रत्युत्पादक हुनसक्छ भन्ने पनि हेक्का राख्नुपर्छ ।
सरकारी अधिकारीको सानो असावधानी वा गल्तीबाट विश्वभर गलत असर पर्नसक्छ । राष्ट्रपति सीको भ्रमणका क्रममा कुनै पनि प्रकारको अप्रिय घटना नेपालका लागि सह्य नहुने स्पष्ट जानकारी नेपालमा रहेको तिब्बती समुदायलाई दिनुपर्छ । यस्तै, उनीहरूलाई विनाकसुर नसताइने आश्वासन पनि दिनुपर्छ । राष्ट्रपति सीको भ्रमणका अवसरमा संसारको ध्यानमा केन्द्रित हुने हुनाले पनि बढी सावधान हुनुपर्छ । पश्चिमा सञ्चार माध्यमले राष्ट्रपति सीप्रति नेपालीको भावनात्मक सद्भाव हैन कुनै चुक फेला पारे भने त्यसैको प्रचार प्रसार गर्नेछन् । यतिबेला सरकारी अधिकारीहरूको कुनै क्रियाकलापबाट लोकतन्त्र, मानव अधिकारजस्ता मूल्य मान्यताको उल्लंघन भएमा त्यसको अवगालको छिटा राष्ट्रपति सीमाथि पनि पर्न सक्छ । सबै नेपालीले हार्दिकतापूर्वक राष्ट्रपति सीको स्वागत गर्ने र उनको नेपाल बसाइ सुखद एवं चिरस्मरणीय हुने वातावरण बनाउन नेपाल सरकार नचुकोस् !