site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङका डेढ लाख नागरिकले पाए नयाँ दृष्टि

दाङ । राप्ती आँखा अस्पताल दाङबाट डेढ लाख बढीले आँखाको नयाँ दृष्टि पाएका छन् ।

आँखा अस्पताल र यसअन्तर्गत सञ्चालित उपचार केन्द्रहरुबाट एक लाख ६६ हजार सात सय २ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । तीमध्ये ३४ हजार ३२ जनाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए । 

Argakhachi Cement Island Ad

अस्पतालले दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, आँखा उपचारसम्बन्धी सचेतना तालिम सञ्चालन गर्नुका साथै राप्तीमा रहेको ०.८७ प्रतिशत अन्धोपनलाई घटाएर हाल ०.१३ प्रतिशतमा ल्याउन सफल भएको प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।

अस्पतालले २९ बर्षको अवधिमा २५ लाख ४६ हजार १ सय ८७ जनालाई आँखा उपचार सेवा उपलब्ध गराएको छ । जसमध्य तीन वटा आँखा अस्पतालबाट १७ लाख ४३ हजार ५ सय ४ जनालाई उपचार सेवा उपलब्ध गराएको हो । 

त्यस्तै विभिन्न दुर्गम स्थान र विद्यालयमा आँखा जाँच कार्यक्रम आयोजना गरि ३ लाख ८३ हजार १ सय २३ जना र आँखा उपचार केन्द्रबाट ४ लाख १९ हजार ५ सय ६० जनालाई आँखा उपचार सेवा दिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत थापाले जानकारी दिएका छन ।

अस्पतालले पछिल्लो समयमा स्थानीय तहहरुसंग साझेदारी कार्यक्रम सञ्चालन गरी विपन्नहरुलाइ मोतियाविन्दुको निःशुल्क शल्यक्रियामा सहयोग गर्दै आएको बताएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १७:००
प्रतिक्रिया दिनुहोस्