
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सहित सल्लाहकारद्वय कुमार व्यञ्जनकार र सुनिल लम्सालले विदेश भ्रमणका क्रममा ३० लाख ७२ हजार १६२ रुपैयाँ खर्च गरेको खुलेको छ । महालेखा परीक्षकको कार्यालयको ६२औँ प्रतिवेदनले सो कुरा औंल्याएको हो ।
प्रतिवेदनअनुसार, २०८१ असार १० मा भएको कार्यपालिकाको निर्णयबमोजिम महानगर प्रमुख र सल्लाहकार सुनिल लम्साल ब्राजिलको एक बैठकमा सहभागी हुन जाँदा १० लाख २३ हजार रुपैयाँ खर्च भएको छ । हवाई भाडा खर्चमा सो रकम भुक्तानी भएको देखिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।
त्यस्तै, कार्यपालिकाको २०८१ असार १० मा भएको निर्णयबमोजिम महानगर प्रमुख र सल्लाहकारद्वय लम्साल र व्यञ्जनकार समेतको फ्रान्सको पेरिस स्थित ७७औँ क्यानेस फिल्म फेस्टिभलको भ्रमणमा जाँदा २० लाख ४९ हजार १६५ रुपैयाँ खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
भ्रमणमा संलग्न कर्मचारीको मनोनयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट हुनुपर्नेमा सो प्रक्रियाको पनि पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।