site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपप्रधानमन्त्रीको वरिष्ठता विवाद, अब के हुन्छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले बिहीबार बिहानै एउटा ट्वीट गरे, ‘प्रोटोकलको गाईजात्रा कहिलेसम्म देखाउनुहुन्छ देश र दुनियाँलाई प्रधानमन्त्रीज्यू ? व्यक्तिका अहंकारमा रमिताहरु अति हुन थाले, कहिलेसम्म ?’
उनको ट्वीटले नै स्पष्ट पार्छ, सरकारमा कस्तो गाईजात्रे अवस्था छ भनेर ।  साताव्यापी चीन भ्रमण पूरा गरेर स्वेदश फिर्ता भएका प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि त्रिभुवन विमानस्थल पुगेका उपप्रधानमन्त्रीले देखाएको रमिता र गाईजात्रे अवस्था अन्त्यको प्रयास प्रधानमन्त्रीले सहजै गर्नसक्ने अवस्था छैन । 

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरिष्ठ र वरियतामा को अघि रहने भन्ने विवादले १५ दिनदेखि सरकारको काममा समेत अवरोध सिर्जना भएको छ ।

विवाद सुल्झाउन नसक्दा मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेको छैन । कसैलाई कार्यवाहक नदिई प्रधानमन्त्री चीन भ्रमण पुगेर फिर्ता भएका छन् । 
प्रधानमन्त्री आइपुग्नुभन्दा आधा घण्टापहिले नै विमानस्थल पुगेका उपप्रधानमन्त्री थापा सभामुखसँगै बसे । त्यसपछि पुगेका निधिले थापा र आफ्नो बीचमा अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई राख्न गरेको प्रयास अस्वाभाविक देखिन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि निधि प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा समेत सहभागी नभएर फर्किए । थापा प्रधानमन्त्रीसँगै रहे ।

कसरी सुरु भयो विवाद ?
सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन एक साताको अल्टिमेटम दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापासँग सल्लाह गरे ।

Global Ime bank

राप्रपा जो सरकारमा रहेर पनि विपक्षीको भूमिकामा थियो, मोर्चासँगै राप्रपाले पनि आफ्ना दुई मन्त्री फिर्ता गरेको खण्डमा सरकार अल्पमतमा पर्ने निश्चित थियो ।
त्यसैले कांग्रेस सभापति देउवा र दाहालले कमल थापालाई पनि सरकारमा सहभागी गराउन छलफल गरेका थिए । त्यसबेला नै थापाले सरकारमा वरिष्ठता र मन्त्रीको कुरा स्पष्ट पार्न आग्रह गरेका थिए । उच्च स्रोत भन्छ– त्यही बेला नै कांग्रेस सभापति देउवाले फ्याट्ट भनिदिए, वरियतामा प्रधानमन्त्री भन्दा पछि उपप्रधान र स्थानीय विकास मन्त्रालय दिन सकिन्छ ।

त्यसपछि थापा सरकारमा सहभागी भए । थापा सरकारमा सहभागी भएपछि मात्रै निधिलाई जानकारी गराइएको स्रोतको दाबी छ ।
त्यसपछि निधिले यसबारेमा प्रधानमन्त्रीसँग पनि जानकारी मागे । कांग्रेसका केही नेता तथा मन्त्री पनि प्रधानमन्त्रीकहाँ पुगे । उनीहरुले प्रधानमन्त्रीलाई सोधे– किन निधिलाई थापाभन्दा तल राख्ने प्रयास गरियो ?”

प्रधानमन्त्रीको जवाफ थियो, ‘शेरबहादुरजीले नै भनेपछि यस्तो निर्णय गरिएको हो । तपाईँहरु पनि एकपटक शेरबहादुरजीलाई सोध्नुहोस् ।”
यो बीचमा थापा संसद्को बैठकमा पनि प्रधानमन्त्री भन्दा पछिल्लो सिटमा बसे । त्यसबेला निधि भारत भ्रमणमा थिए ।  निधि भारत भ्रमणमा रहेका बेला बसेको मन्त्रिपरिषद् बैठकमा पनि थापा प्रधानमन्त्रीपछि (जहाँ यसअघि निधि बस्ने गर्थे) बसे ।
त्यसपछि मात्रै यो विवाद बाहिर आएको हो ।
“कांग्रेस सभापतिले नै थापालाई सरकारमा ल्याउने बेला भएको वार्तामा तपाईँ नै वरियतामा प्रधानमन्त्रीपछि पहिलो भनेर भनिदिनुभएको रहेछ,” सरकारमा सहभागी कांग्रेसका एक मन्त्रीले बाह्रखरीसँगको कुराकानीमा भने, “त्यसपछि हामीले प्रधानमन्त्रीलाई किन यस्तो गर्नुभयो भनेर सोध्यौं ? कांग्रेसका केही नेताहरु पनि प्रधानमन्त्रीकहाँ पुगे । तर उहाँको जवाफ थियो– मैले बनाएको होइन, शेरबहादुुरजीले हुन्छ भनिदिनुभयो, मैले हुँदैन भन्ने कुरै भएन ।”
उनका अनुसार कमल थापाले पनि त्यो कुरालाई पुष्टि गरेका छन् । 
चीन भ्रमणमा नजाँदै प्रधानमन्त्रीले दुवै उपप्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेको बालुवाटार स्रोतको दाबी छ । “मलाई पहिले नै वरियताको कुरा होइन भनेर भनेको भए हुन्थ्यो,” थापाको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने, “म संसद्को कुर्सीमा बसिसकेँ । मन्त्रिपरिषद्को एउटा बैठकमा सहभागी भइसकें । त्यो बेलामा मलाई कसैले केही नभन्ने, अहिले मलाई ह्युमिलेट गर्ने ?”

उनका अनुसार थापालाई पनि अब पछि हट्दा म पछि हटें भन्ने लाग्ने र कांग्रेसलाई पनि ठूलो दलका तर्फबाट पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी भएको व्यक्तिलाई तल पार्ने काम भयो भन्ने लागेको छ । त्यसैले यसलाई दुवैले अस्तित्वको लडाईँ बनाएका छन् ।

उनले पनि आफ्नै तर्क अघि सार्दै भने– “कमल थापाको तर्क मात्रै मान्न सकिँदैन, पहिला को गयो भन्ने भन्दा पनि दलको हैसियत पनि हुनुपर्छ । को पहिला गयो र को पहिले जन्मियो भन्ने कुराले अर्थ राख्दैन । प्रधानमन्त्रीले तत्कालै यो विवाद सल्टाउने प्रयास नगरे झनै बढ्ने देखिन्छ ।”

थापा निकट स्रोतले भने त्यसको ठाडै खण्डन गर्दै भन्छ– स्कुलमा को पहिला आयो भनेजस्तो कुरा होइन, ८ बजे आउने पहिलो सिटमा बस्ने र १० बज्ने बेला आउने लास्ट सिटमा बसेजस्तो होइन मन्त्रीको वरियता । वरियतामा प्रधानमन्त्रीपछि राखेको होइन भने मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीपछि नेमप्लेट कसले राखेको त ? यसमा मन्त्री आफैं गएर त लेखेनन् !”

तर यसबारेमा न त थापाले निधिसँग कुरा गरेका छन् न त निधिले पनि थापासँग । दुवैले बोलचाल समेत गरेका छैनन् ।

उनका अनुसार सरकार ढल्ने अवस्था आएपछि देउवा र दाहालले थापालाई सरकारमा आइदिन आग्रह गरेका छन् जुन राप्रपाका कार्यकर्ताले समेत राम्रो मानेका थिएनन् । त्यस्तो अवस्थामा निर्णय गरेर थापा सरकारमा सहभागी भएका हुन् ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले पटक पटक आग्रह गरेपछि चुनावको सुनिश्चितता कायम गर्न राप्रपा सरकारमा सहभागी भएको बताए ।

भनेअनुसार नभए सरकारमा रहेका दुई मन्त्री पनि फिर्ताको तयारी भएको थियो । “सरकारमा सहभागी हुनुभन्दा अघि प्रधानमन्त्री र कांग्रेस सभापतिले प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहनेगरी आउनुपर्यो भनेपछि हामी सरकारमा सहभागी भएका हौं । अहिले विवाद गर्नुको कुनै अर्थ छैन,” उनले भने । 


देउवाले निधिलाई तल पार्ने निर्णय किन गरे ?
गृह मन्त्रालयको नेतृत्व सम्हालेका निधि कांग्रेस सभापति देउवाका विश्वासपात्र मात्रै नभएर नजिकका नेता हुन् ।  तर संविधान संशोधन, मन्त्रीको काममा सभापतिको हस्तक्षेप बढेपछि निधि पनि देउवासँग पछिल्लो समय खासै सन्तुष्ट थिएनन् ।
निधिले प्रहरी महानिरीक्षकमा पनि नवराज सिलवाललाई नै बढुवा गर्नुपर्ने अडान राख्दा देउवाले जयबहादुर चन्दलाई नबनाउने हो भने सरकारबाट फिर्ता आउन समेत चेतावनी दिएको स्रोतले जानकारी दियो ।

कांग्रेस नेताहरुका अनुसार देउवाले आफ्नो काममा अवरोध गरेको र आफूलाई नै टक्कर दिन लागेको देखेपछि निधिलाई तल पार्न र सरकार बचाइराख्न एउटै अस्त्र प्रयोग गरे– थापालाई वरिष्ठ उपप्रधानमन्त्री बनाउने । देउवाको यस्तो निर्णय कांग्रेसकै कतिपय नेता र आफू निकटकाले नै मन पराएका छैनन् । 

अब के हुन्छ ?
कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । उसैको आडमा बनेको हो अहिलेको सरकार । राप्रपाचाहिँ ढल्न लागेको सरकारलाई आड दिएको पार्टी ।
त्यसैले पनि प्रधानमन्त्री आफैंलाई निर्णय गर्न गाह्रो देखिएको छ । प्रधानमन्त्रीले यसबारेमा छलफल गर्न बिहीबार गृहमन्त्री निधिलाई बोलाएको निधि निकट स्रोतले जानकारी दियो ।
दाहालले यसको टुंगो लगाइदिन कांग्रेस सभापति देउवालाई नै आग्रह गरेको स्रोतको दाबी छ ।

तस्बिर, रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७३  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement