अहिले देशभर नै डेंगुको प्रकोप छ । डेंगुका कारण पाँचजनाको मृत्यु भइसकेको छ भने हजारौं संक्रमित छन् । यो रोग डेंगु भाइरसका कारण हुन्छ । डेंगु भाइरसको जिन आरएनए भाइरस हो ।
डेंगु रोग एइडेस नामको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टे उष्ण प्रादेशिक तथा उपउष्ण प्रादेशिक क्षेत्रमा पाइन्छ । एउटा डेंगु भएको मानिसले चारदेखि छ दिनसम्म (अधिकतम १२ दिन) भाइरस स्वस्थ व्यक्तिलाई सार्न सक्छ । संक्रमित लामखुट्टेले आफ्नो जीवनकालमा (दुई हप्तादेखि एक महिना) सम्म रोग सार्ने क्षमता राख्दछ ।
यो लामखुट्टेको दुई प्रजाति र चार वटा सेरोटाइप हुन्छन् । यो लामखुट्टेले पानी जमेका खाल्डाखुल्डी, पुराना टायरहरु, मानिसहरूले जताततै फालेका डब्बाहरु, पानीले भरिएका बोतल, गमला, भाँडाकुँडाहरुमा अण्डा पार्छ । अण्डा पानी सुख्खा हुञ्जेल बाँच्छ । जब पानीको सम्पर्कमा आउँछ, अनि लामखुट्टेले बच्चा काढ्छ । यो लामखुट्टे दिउँसोको समयमा बढी सक्रिय रहन्छ ।
शरीर–विज्ञान–विकृति
सुरुसुरुमा यो रोगको संक्रमण भइसकेपछि संक्रमित रोगी लक्षणविहिन हुनसक्छ । यो प्रतिशत ५० देखि ९० सम्म हुन्छ । बिस्तारै कडा ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, कमजोरी महसुस हुने, वान्ता हुने, घाँटी खसखसाउने, स्वाद बदलिने, शरीरमा धब्बादार दानाहरु देखिने, आँखाको गेडी दुख्ने, जोर्नीहरु दुख्ने हुन्छ । यो रोगलाई धेरै दुखाइ हुने भएकाले ‘ब्रेक बोन फिभर’ पनि भनिन्छ ।
केही थोरै प्रतिशत व्यक्तिहरु जसलाई एउटा सेरोटाइपको संक्रमण भइसकेको थियो, त्यसैमा अर्को सेरोटाइपको संक्रमण भयो भने रक्तस्राव र इन्डोथेलियल लिकेज हुनसक्छ । त्यसलाई कडा डेंगु भनिन्छ । जसमा अचानक बढी ज्वरो, रक्तकोशिकाको मात्रा घट्दै जाने, प्रोटिनको कमी हुने, रक्तचाप कम हुने, शरीरमा रगतका धब्बाहरु देखापर्छन् र बिरामी बेहोस हुन्छ । जसमा निरन्तर शरीरमा पानीको मात्रा मापन र सघन उपचार कक्षमा राखी उपचार गराउनपर्ने हुन्छ ।
इतिहास
विश्वमा ४०–५० प्रतिशत मानिसहरु डेंगुको जोखिममा छन् । यो रोग सहजै ठिक हुन्छ यदि बिरामीले निगरानीमा राम्रो उपचार पायो भने । यसको मृत्युदर पाँच प्रतिशतभन्दा कम रहेको छ । तर उपचार पाएन भने मृत्युदर २० प्रतिशतभन्दा बढी छ । यो रोगबाट विश्वभर १२८ देशहरु प्रभावित छन् ।
माहामारीको क्रम
१) पहिलो डेंगु महामारी सन् १६३५ मा पश्चिम भारतमा फैलिएको थियो ।
२) सन् १८९० मा पूर्वी अफ्रिकामा महामारी देखिएको थियो । जसलाई स्वाहिलि, की डेंगो पेपो भनिन्थ्यो । जसको अर्थ अचानक आत्माले श्रापेको भन्ने बुझिन्थ्यो । पछि अंग्र्रेजी अनुवादमा डान्डे फिभर राखिएको थियो ।
३) सन् १८२७–०२८ तिर स्पेनको क्यारेबियनमा महामारी फैलिएको थियो । जसलाई डेंगु नाम दिइएको थियो । दोस्रो विश्व युद्धपछि डेंगु ज्वरो जहाँतही देखापर्न थाल्यो ।
४) सन् १९५० मा नौ वटा देशमा देखा परेको थियो डेंगु । धेरै देशहरु दक्षिण पूर्वी एशिया चीन, ताइवान, भारत, अष्ट्रेलिया, मलेसिया, फिलिपिन्स, भियतनाम, थाइल्याण्ड, इण्डोनेशिया, पाकिस्तानमा डेंगु लगातार फैलिरह्यो ।
५) सन् २०१४ मा चीन, मलेसियालयायत केही देशमा सेरोटाइप–३ डेंगु महामारी फैलिएको थियो ।
६) सन् २०१५ मा फिलिपिन्समा एक लाख ६९ हजारभन्दा बढी, मलेसियामा एक लाख ११ हजारभन्दा बढी र ब्राजिलमा डेढ लाखभन्दा बढी मानिसहरु प्रभावित भएका थिए । भारतको दिल्लीमा भएको महामारीलाई २००६ भन्दा यताकै भयानक माहामारी भनिएको थियो ।
विश्व स्वास्थ्य संगठनले यो रोगलाई सन् २०१९ को प्रमुख १० विश्व स्वास्थ्य समस्यामा समावेश गरेको छ ।
प्रवाहिकरण प्रणाली
१) इपिडेमिक
कुनै ठाउँमा एक्कासी देखापर्छ । पर्याप्त र उपयुक्त बासस्थान पाउँछ भने डेंगुले विकराल रुप (२५–५० प्रतिशतमा संक्रमण फैलिने) लिन्छ । यो प्रक्रिया रोकथामका लागि लामखुट्टे नष्ट अभियान, मौसम परिवर्तन र हर्ड इम्युनिटीले सहयोग पुग्छ ।
२) हाइपरडेमिक
यस्तो प्रकारको सर्ने प्रक्रियामा भाइरसको धेरै सेरोटाइप उपयुक्त बासस्थानमा निरन्तर रुपमा देखापर्छ । यो विश्वको प्रमुख डेंगु सर्ने प्रक्रियाको रुपमा रहेको छ । यस्तो प्रकारको प्रक्रियामा डेंगु हेमोरेजिक फिभरको जोखिम बढी रहन्छ ।
डेंगु संक्रमण बढ्नुका कारणहरु
१) अत्यधिक जनसंख्या वृद्धि
२) अपर्याप्त जनस्वास्थ्य सेवासँगै अव्यवस्थित सहरीकरण
३) रोकथामका उपायहरुको प्रभावकारी कार्यान्वयन नहुनु
४) भाइरसको स्वरुप बदलिनु
५) असुरक्षित यात्रा
लक्षणहरु
कडा ज्वरो
टाउको दुख्ने
आँखाको गेडी दुख्ने
मांसपेसी बेसरी दुख्नु (प्रायः खुट्टा, पाखुरा)
जोर्नी दुख्ने (प्रायः घुँडा र पाखुरा)
शरीरमा रगतका धब्बाहरु आउनु
कमजोरी महसुस हुनु
खानेकुरामा स्वाद हराउनु
भोक नलाग्नु
घाटी खसखसाउनु
कहिलेकाही छालामा रगतको थोप्ला देखिनु
गिजा, नाक, पिसाबबाट रगत आउनु
लिम्फनोड सुनिनु
निदान (परीक्षण–जाँच)
१) डेंगु एन्टिबडी जाँच
२) रिभर्स ट्रान्स्कृप्टेज पोलिमरेज चेन रियाक्सन
३) अरु जाँचहरु (रगत, प्रोटिन, कलेजोको जाँच)
उपचार
यो रोग भाइरसले गर्दा हुने र आफैँ निको भएर जाने हुनाले कुनै विशेष उपचार छैन ।
–ज्वरोका लागि प्यारासिटामोल मात्रै प्रयोग गर्ने, पानीपट्टी गर्ने ।
–आइबुप्रोफेन, एस्पिरिन आदिको प्रयोग नगर्ने ।
–आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्रावजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
–बालबालिका, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई विशेष ख्याल गर्नुपर्दछ ।
–जुनसुकै ज्वरो आए पनि यथेष्ट आराम गर्ने, मुखबाट खान सक्ने प्रशस्त पुनर्जलीय झोलहरु, फलफूलको जुस, पानी, जीवनजल सागसब्जी र फलफूल र गेडागुडीको रस, दाल, सुप नियमित खाने ।
–मुखबाट खान नसक्नेका लागि नसाबाट सलाइन पानी दिने ।
–एक मात्रा मिथाइल प्रेडिनसोलोन डेंगु शक सिन्ड्रोममा दिन सकिन्छ (तर विशेषज्ञको सल्लाहनुसार मात्रै ।
रोकथाम
–लामखुट्टे भगाउने स्प्रे अथवा लोसन (ओडोमस आदि) शरीरमा लगाउने ।
–शरीर ढाक्ने गरी लामो बाहुला भएको कपडा लगाउने ।
– डेंगु सार्ने लामखुट्टे दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, झारपात उखेलेर सफा राख्ने ।
– घरभित्र पानीलाई छोपेर राख्ने र पानी ट्याङ्की सफा गर्ने–राख्ने ।
–बाथरुम ओभानो राख्ने, टायर र पाइप आदिमा पानी जम्न नदिने ।
–छरछिमेक–टोलमा पनि सरसफाई राख्न अनुरोध गर्ने ।
डेंगु खोप
यो खोप हाल उपलब्ध छैन । डिसेम्बर २०१५ मा मेक्सिकोमा खोपको प्रयोग गरिएको थियो । तीन डोज निर्धारण गरिएको थियो (०, ६ र १२ महिनामा) ।
(साउद चौखाम स्वास्थ्य चौकी बैतडीमा कार्यररत छन्)