site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘ती दिनहरु’ : डाक्टर त चलचित्रको गेष्ट आर्टिस्टजस्तो मात्रै हुन्

काठमाडौं । ‘हामी (चिकित्सक) त चलचित्रको गेष्ट आर्टिस्टजस्तो मात्रै हौं । चलचित्रको गेष्ट आर्टिस्टको कहिलेकाहिँ चलचित्रमा महत्वपूर्ण भूमिका पनि हुनसक्छ, कहिले काहिँ महत्वपूर्ण भूमिका नहुन पनि सक्छ । तर महत्वपूर्ण व्यक्तित्व भएकाले पैसा चाहिँ राम्रै लिन्छ,”भीमप्रसाद गुरागाईंले आफ्नो जीवनमा डाक्टरको रुपमा भगवान बनेर चिकित्सक वसन्त पन्त आएर पुनरजन्म दिएको बताएपछि वसन्त भन्दै थिए, “पहिलो, बिरामी बाँच्ने त उसको दरो इच्छा शक्तिले नै हो । दोस्रो, बिरामीको परिवारको हेरचाह । चिकित्सक त तेस्रो स्थानमा फिल्मको गेष्ट आर्टिस्टजस्तो बनेर आउने मात्रै हो ।”

सन्दर्भ भीमप्रसाद गुरागाईंको जीवनीमा आधारित पुस्तक ‘ती दिनहरु’को विमोचनको हो । दुई दशक अगाडि भीमप्रसाद बिरामी भएपछि डाक्टर पन्तले उनको शल्यक्रिया गरेर बचाएका थिए । पुस्तकमा उक्त प्रसंग पनि समावेश भएकाले डाक्टर पन्तले सो पुस्तकबारे बोल्दै भीमप्रसादको उपचारको प्रसंग सुनाएका थिए । 

पत्रकार गोपाल गुरागाईंका बुवा भीमप्रसादले ८८ वर्षको उमेरसम्म भोगे-देखेका उकालीओराली भञ्ज्याङ चौतारीका घटना परिघटनालाई समेटेर पुस्ताकार गरिएको ‘ती दिनहरु’ आज (शुक्रबार) सार्वजनिक गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डाक्टर पन्तले ‘ती दिनहरु’ पढेर आफ्नो बुवाको बाल्यकालीन जीवनलाई पुस्तकमा उतार्ने चाह बढेको बताए । 

साहित्यकार तथा समालोचक नारायण ढकालले ‘ती दिनहरु’ पूर्वी पहाडको ब्राह्मण समुदायको इतिहास भएको दाबी गरे । “मैले पुस्तकमा रहेका केही कमीकमजोरीहरु हेरिदिन्छु भनेर पाण्डुलिपी मागेको थिएँ । तर पाण्डुलिपी पढ्न थालेपछि मलाई छोड्नै मन लागेन,” ढकालले भने, “इतिहास कुरा समेटिएको महत्पूर्ण पुस्तक बनेको छ । यस्तै पुस्तक अन्य जाती र समुदायको पनि आउने हो भने इतिहासको अभिलेख तयार हुँदै जान्छ ।”

अग्रज पत्रकार भैरव रिसालले ‘ती दिनहरु’ले सामान्य ठानिएका हरेक व्यक्तिसँग महत्वपूर्ण कथाव्यथाहरु हुने पुष्टि गरेको बताए । आत्मवृतान्त लेखनलाई प्रोत्साहन गर्न सके पुराना कुराहरु अभिलेखका रुपमा सुरक्षित रहने बताए ।

डाक्टर सरोज धितालले ‘ती दिनहरु’ फगत पुस्तक मात्रै नर्भर ‘टाइम मेसिन’ भएको बताए । पुस्तकले ८० वर्षको इतिहास, तत्कालीन समयको सपना, चाहना र उद्देश्य बुझ्न सहयोग गर्ने बताए । उनले तत्कालीन नेपालको पूर्वी पहाडको परिवेश बुझ्न ‘ती दिनहरु’लाई विश्वविद्यालयले प्रयोग गर्नसक्ने बताए ।

पत्रकार गोपाल गुरागाईंले आफ्नो पारिवारिक इतिहास र अवस्थाको अभिलेख राख्ने उद्देश्यले सुरु भएको लेखनले पुस्तकमा रुपान्तरण भएको सुनाए । 

पुस्तकका मुख्य पात्र भीमप्रसाद गुरागाईंले आफूले आफ्नो जीवन अनुभव र तत्कालीन परिवेश बताएको स्मरण गर्दै पछि त्यही पुस्तकाकार भएर आउँदाको फरक अनुभव सुनाएका थिए । 
‘ती दिनहरु’लाई बुलबुल पब्लिकेशनले प्रकाशन गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १७:५९
प्रतिक्रिया दिनुहोस्