दाङ । सामान्यतया सहरबजारका घरका कौसीहरु गमलामा रोपिएका फूलहरुले सजिएका हुन्छन् । तर दाङको घोराही बजारका घरहरु भने विभिन्न जातका तरकारीले सजिएका छन् । यी तरकारी कौसी तथा छतमा फलेका हुन् । पछिल्लो समय घोराही बजारमा कौसीमा तरकारी खेती गर्ने क्रम बढदै गएको छ । विशेषगरी बजारमा विषादी राखेको तरकारी आउन थालेपछि बजारबासीहरुले आफ्नै घरको छतलाई तरकारी बारी बनाउन थालेका हुन् ।
केहीका घरका छतमा अम्बा तथा कागती लटरम्म फलेका छन् । कौसी खेती गर्नेहरुले घरबाट निस्किएको फोहोरलाई नै मलको रुपमा प्रयोग गर्ने गरेका छन् । केही छत त झट्ट हेर्दा करेसाबारी जस्तै लाग्छ । घरको छतमा तरकारी खेती गर्ने घर २ सयको हाराहारीमा रहेको घोराही उपमहानगपालिका वातावरण शाखाको अनुमान छ ।
बजारबासस्हरुले सडक सजाउन बनाइएको क्यारीमा समेत तरकारी लगाउन थालेका छन् । यो घोराही बजारकै सडकको किनार हो, जहाँ बोडीदेखि खुर्सानीसम्म रोपिएको छ । घोराहीलाई हरितनगर बनाउन कौसी तरकारी खेतीले निकै सहयोग पुर्याउने उपमहानगरको विश्वास छ । तर कौसी खेतीलाई प्रवद्र्धन गर्न उपमहानगरसँग अहिलेसम्म कुनै योजना नभएको कौसी खेती गर्नेहरुको भनाइ छ ।