विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा भव्य रुपमा आयोजना भएको छ । शनिबार अपरान्ह एक समारोहबीच प्रदेश १ का प्रमुख डा. गोबिन्दबहादुर तुम्बाहाङ रसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरेका छन् ।
तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्राले नगर परिक्रमा गरेको छ । मनोकांक्षा पूरा हुने अपेक्षासहित हज्जारौं भक्तजनले रथ डोहोर्याउन जोडिएको लठ्ठा तानेका छन । यसलाई छोए मात्र पनि मनोकमाना पूरा हुने विश्वास गरिन्छ । रथयात्रा हिंड्ने मेनरोडसहितका सडकमा दर्जनौ धार्मिक झाँकीहरुसहितको र्याली निकालिएको थियो । भारत तथा छिमेकी जिल्ला सुनसरीसहितका क्षेत्रबाट आएका भक्तजन रथयात्रामा सहभागी भएका छन् । रथयात्रा शुरु भएसँगै हेलिकेप्टरबाट पुष्पबृष्टि गराइएको थियो ।
विराटनगरका चौक चौक र गल्लीहरुमा चिसोपानी र लस्सी खुवाउन व्यक्ति तथा संघसंथाका प्रतिनिधि खटिएका थिए । स्वयम्सेवक र सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो । राधाकृष्ण रथयात्रा तीनपैनी चौकबाट शुरु भई शनिहाट, गोल्छा मोड, जलजला मोड, गुद्री चौक, ट्राफिक चौक, जनआन्दोलन चौक,भट्टी मोड, भृकृटी चौक, मुनालपथ, बरगाछी हुँदै फेरि मन्दिरसम्म पुगेको थियो । रथयात्राले तय गर्ने दूरी ७ किलोमिटर छ ।
श्रीकृष्णको जन्म भएको हर्षबढाईं गर्न विराटनगरमा हरेक वर्ष रथयात्रा आयोजना गरिन्छ । यो पटकको संस्करण ५२ औं भएको मूल आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । पाँच दशकअघि खटमा राखेर राधाकृष्णलाई नगर परिक्रमा गराइन्थ्यो । पछि भने रथ बनाएर त्यसमै राखी परिक्रममा गराउन थालिएको हो ।