site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बौरेला त नेपाली कांग्रेस ! 

सत्ताले सधैँजसो ‘प्रधान शत्रु’ ठानेको र भनेको नेपाली कांग्रेस अहिले ‘अर्धमूच्र्छित’ देखिएको छ । (कांग्रेस सरकारमा हुँदा पनि सत्ता उसको नभएको स्पष्ट प्रमाण त २०५८ को होलेरी काण्ड नै हो ।) पदाधिकारीको चहलपहल र विश्व भ्रमण हेर्दा कांग्रेसलाई ‘अर्धमूच्छित’ भन्नु अलि नमिल्ने देखिएला । तर, केही प्रश्नहरूको उत्तर नखोजी कांग्रेसलाई जीवन्त राजनीतिक दल भन्न पनि मिल्ने देखिँदैन । 

कांग्रेसभित्र सक्कली कांग्रेस छन् ?

के अहिलेको कांग्रेस त्यही पुरानै ‘विद्रोही’ नेपाली कांग्रेस हो ? कांग्रेसभित्र कांग्रेसजन कति छन् ? अहिले कांग्रेसका हर्ताकर्ता भनिएकाहरू सक्कली कांग्रेस हुन् भने यिनीहरूभन्दा बेग्लै देखिने पुराना कांग्रेसहरू के हुन् ? कांग्रेस नेताका रूपमा अब रामहरि जोशी, भीमबहादुर तामाङहरूको अनुहार सम्झने कि उमेशलाल र जिप छिरिङहरूलाई सम्झने ? पार्टीमा भएका कांग्रेसजनको पार्टी संगठन र निर्णयमा कुनै प्रभाव वा अस्तित्व देखिन्छ ? 

हाताहाती किनबेच ! 

कांग्रेसमा धनाड्यहरू त पहिले पनि थिए । पार्टी स्थापना कालदेखि २०२५ सम्म त पूरै खर्च सुवर्णजीले धानेका थिए । तर, उनैले २०१४ सालमा भद्र अवज्ञा आन्दोलन हुने भएपछि सभापति पद छाडेका थिए । विसं २०१२ सालमा सभापति पदमा गणेशमानजी र सुवर्णजीबीच चुनावै भएको थियो । सुवर्णजीले जितेका थिए । त्यसरी जितेका भए पनि पार्टी आन्दोलनमा जाने भएपछि उनले सभापति पदबाट राजीनामा गरे । तर, पार्टीको खर्च भने चलाइरहे । 

अर्को सुवर्ण शमशेरको त कल्पना पनि गर्न सकिँदैन । सम्भवतः सुवर्णजीले जसरी देशको लोकतान्त्रिक आन्दोलनमा २ पटकसम्म सशस्त्र क्रान्तिको नेतृत्व र त्यसको सम्पूर्ण खर्च आफैँले बेहोर्ने व्यक्ति संसारकै इतिहासमा अर्को भेटिँदैन । तैपनि, नेपाली कांग्रेसलाई सिद्धान्तका आधारमा सहयोग गर्न धनाड्यहरू तयार नभएकै हुन् ? यसैले उनीहरूलाई पार्टीलाई आर्थिक सहयोग गरेबापत हाताहाती पद चाहिएको हो ? कि नेताहरूको आचार विचारका कारण पुराना सहयोगीहरू पाखा लागेकाले पद किनबेचको ‘कम्युनिस्ट’ चलन सिक्नुपरेको हो । 

अनिवार्य शुल्क कि लगानी ?

कांग्रेसले कार्यकर्तासँग अनिवार्य पैसा उठाउने विधान बनाउन लागेको चर्चामा छ । पार्टी चलाउन पक्कै पनि पैसा चाहिन्छ तर पैसाविना चल्दै नचल्ने हो भने कम्तीमा नेपाली कांग्रेसजस्तो पार्टी नचलाए हुन्छ । कार्यकर्ताले स्वेच्छाले पार्टी चलाउन पैसा दिने व्यवस्था गर्नु र पार्टीको विधानमै महिनावारी शुल्क बुझाउने व्यवस्था राख्नु उस्तै हैन । अहिलेका नेता र तिनले सुरु गरेको कार्यकर्ता तथा पद किनबेचको चलनले नियमित शुल्क तिर्नेहरूले पार्टीमा ‘लगानी’ गरेको ठाने भने आश्चर्य हुनेछैन । लगानी त नाफासहित उठाउने हो नि ! पार्टीको आउने चुनावमा भोट हाल्दा कार्यकर्ताले आफ्नै नेतासँग हाताहाती नगद मागे भने आश्चर्य नमाने हुन्छ ।

मौलिकता गुमाएको कांग्रेस  

नेपाली कांग्रेसले मौलिक सोच त २०४८ पछि नै त्याग्दै गएको हो । ‘नवउदारवादी’ भनिने अहिलेको ‘क्रूर पुँजीवादी’ आर्थिक ढाँचा कांग्रेसकै उत्तराधिकारमा कम्युनिस्टहरूले चलाएका हुन् । नेपालको भूराजनीति र जनताको अवस्था बुझेकाहरूले ‘समृद्ध र सुखी’ हैन ‘स्वतन्त्र र खुसी’ नेपाल बनाउन खोज्थे होलान् । त्यो बाटै छाड्यो कांग्रेसले । सुरसाको मुखमा त पस्यो तर हनुमान हुने सामथ्र्य भएन । अहिलेको जनविरोधी अर्थतन्त्र जति ठूलो हुन्छ, निम्नमध्यम वर्गमाथि बोझ उति थपिँदै जान्छ । मध्यम वर्गको आकार खुम्चिँदै जान्छ । मध्यमवर्ग सानो भयो भने लोकतन्त्र कमजोर हुन्छ । नेपाली कांग्रेसले नै खनेको बाटोले मुलुकलाई त्यही खाडलतिर लैजाँदैछ । तर, कांग्रेसमा अझै पनि त्यही बाटो समात्ने सोचकै प्रभुत्व छ । आफ्नो सिद्धान्त र व्यवहार दुवैमा चुकेको कांग्रेस हुनु र नहुनुमा फरकै पो के हुन्छ र ?

कम्युनिस्टभन्दा कति फरक ?

नेपाली कांग्रेसले जितेको स्थानीय तहमा मात्रै पनि जनताका हितमा फरक कार्यक्रम कार्यान्वयन गरिएको भए कांग्रेस कम्युनिस्टभन्दा यति कारणले फरक छ भन्ने ठाउँ हुन्थ्यो । कांग्रेसले निर्वाचित प्रतिनिधिहरूसँग दोहोरो संवाद गर्न पनि सायद अहिलेसम्म आवश्यक ठानेन । उनीहरूमध्ये धेरैले उमेदवारी किनेका छन् । चुनावमा ‘लगानी’ गरेका छन् । लगानी उठाउने दौड सुरु भएको छ । सुरुकै वर्ष पार्टीले जनमुखी बाटो देखाएको भए सायद अधिकांश प्रतिनिधि ‘लगानी’ उठाउने दौडमा लाग्ने पनि थिएनन् । अब सायद ढिलो भइसकेको छ । त्यसो त कांग्रेससँग जनमुखी सोचै छैन । नेताहरू धनमुखी जो भएका छन् ।  

अर्कोपटक कति बच्लान् ?

अहिले करिब एक चौथाइ स्थानीय तहमा नेपाली कांग्रेसले चुनाव जितेको छ । आउने चुनावमा यीमध्ये कतिले फेरि जित्लान् ? अझ कति जना कांग्रेसकै उमेदवार भएर चुनाव लड्लान् ? चुनाव जित्ने भएमा यीमध्ये कति अर्को पार्टीको उमेदवार होलान् ? अर्को चुनावसम्म अहिले पार्टीसँग पद किनेकाहरू कतिजना कांग्रेस भइरहलान् ? व्यापारीहरूले त घाटाको सौदा गर्दैनन् !  

नालायकले थुनेको बाटो

नेपाली कांग्रेस चरित्रका दृष्टिबाट जनाधारित पार्टी हो । नेताको व्यक्तित्वबाट चल्नेपार्टी । संसारभरकै जनाधारित उदार लोकतान्त्रिक दलहरू नेताकै ‘करिस्मा’को ऊर्जाले चल्ने हो । अहिलेको पुस्तामा करिस्मा भएको नेता भएनन् भन्दैमा पार्टीको मौलिकता नै समाप्त पार्ने षड्यन्त्र गरियो । अस्तित्व नै सकिएपछि संगठन वा व्यक्ति हुनु र नहुनुको पनि अर्थ हुँदैन । नेतृत्व नालायक हुँदा लायकहरूको बाटो थुन्नु सायद स्वाभाविकै हो ।   

बौरिने सम्भावना !

नेपाली कांग्रेस समाप्तै भने अझै पनि हुँदैन तर अहिलेकै नेता, संगठन, कार्यशैली र सोचका भरमा सत्तामा पनि पुग्दैन । सत्ताबाट जति टाढा हुन्छ संगठन उति नै खुम्चिँदै जान्छ । संगठन जति खुम्चिन्छ उति नै नालायकहरू नेता बन्छन् । यही दुश्चक्रमा केही वर्ष कांग्रेस भासिने लक्षण देखिएको छ । पार्टीको चरित्रअनुरूपको कुनै चमत्कारी नेताले नेतृत्व गर्ने मौका पायो भने दुश्चक्र तोडेर पार्टीलाई अर्धमूच्छाबाट बिउँताउन सम्भव छ । परन्तु, संगठनमा कुण्डली मारेर बसेका नालायकहरूको बथानले उनीहरू बाँचुन्जेल कसैलाई पनि अगाडि आउन दिनेछैनन् । र, यिनीहरू समाप्त नहुँदै पार्टी बौरिने समय सकिन सक्छ ।

Twitter : @agovinda

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro