
काठमाडौं । विज्ञान कथाकार तथा पत्रकार लोकमणि पौडेलद्वारा लिखित ‘अग्निदहन’ उपन्यास लोकार्पण गरिएको छ । कार्यक्रममा सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले उपन्यासको विमोचन गरेकी थिइन् ।
वरिष्ठ मनोचिकित्सक डा. देशराज बहादुर कुँवर, इथियोपियाका लागि नेपाली राजदूत राजेन्द्र गिरी तथा समाजसेवी भुवनेश्वर शर्माको उपस्थिती रहेको थियो । लोकार्पण पश्चात् वरिष्ठ साहित्यकारहरुले उक्त उपन्यासका बारेमा समालोचना प्रस्तुत गरेका थिए ।
उपन्यासका बारेमा धारणा राख्दै शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले कृति मनोरञ्जक हुनुसँगै उद्देश्यपूर्ण भएकाले यसलाई स्कूल तथा कलेजले पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । समाजमा घटिरहेका घटनाहरुलाई जस्ताको तस्तै उतार्न सक्ने लेखकको खुबीको उनले खुलेर प्रशंसा गरे ।
त्यसैगरी, वरिष्ठ साहित्यकार, समालोचक तथा भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेलले वैज्ञानिक ढंगबाट सामाजिक रुपान्तरणको संकल्प बोकेको हुँदाहुँदै पनि उपन्यास पढ्दा समय गएको पत्तै नपाइनु यसको मुख्य विशेषता रहेको बताए । उपन्यासको भाषा सरल हुनुसँगै लोकबोलीलाई यथारुपमा पस्कनु उपन्यासको विशेषता रहेको उनको धारणा थियो ।
पूर्व समाज कल्याण मन्त्री जाकिर हुसेनले लेखकको लेखनशैलीबाट आफू धेरै वर्षदेखि प्रभावित भएको बताउँदै यो उपन्यास मनोरञ्जक सँगसँगै उद्देश्यपूर्ण भएकाले साहित्यका क्षेत्रमा यो एउटा कोशे ढुंगो सावित हुने दावी गरे । बजारमा देखिएका अन्य उपन्यासभन्दा अलग शैलीको उपन्यास भएकाले यसलाई सबैले रुचाउने बताए ।
लेखक पौडेलले उपन्यास समाजमा घटिरहेका घटनाहरुको नजिकबाट अध्ययन गरेर लेखेको बताउँदै उपन्यास पूरा गर्न पाँच वर्ष लागेको बताए । उपन्यासमा वर्णन गरिएका घटनाहरु सत्य हुँदाहुँदै पनि पात्रहरुको नामलाई परिवर्तन गरेर निजी जीवनलाई खलल नपर्नेगरी लेखेको उनको भनाइ थियो ।
उपन्यासमा २०६७ सालदेखि २०७२ सालसम्मका घटनाहरु समावेश भएकाले उपन्यास लेखन पाँच वर्ष लागेको उनले प्रस्ट पारे । उपन्यास पाण्डुलिपि अवस्थामै हुँदा यसलाई मन पराएर एउटा सामाजिक संस्थाले त्यसैमा चलचित्र तयार गरेको र त्यो चलचित्रलाई चलचित्र विकास बोर्डले २०७४ को सर्वश्रेष्ठ सामाजिक चलचित्रको पुरस्कार प्रदान गरेको कुराले आफू उत्साहित भएको लेखक पौडेलले बताए ।
१७६ पृष्ठको उक्त उपन्यासको मूल्य ३२५ रुपैयाँ राखिएको छ । छपाई र उपन्यासको प्रकाशन गोरखा पब्लिकेशन्सले गरेको हो ।