site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दी फ्लाइट : मानव तस्करीविरुद्धको कथा रंगमञ्चमा

काठमाडौं । परिवारको पुरानो ‘धन्दा’मै लाग्ने वा आफ्नो जीवनका अन्य आयामलाई पहिचान गर्ने भन्ने दुविधामा रहेको प्रमुख पात्रबाट सुरू हुन्छ नाटक ‘फ्लाइट’ । 

गाउँको शक्तिशाली परिवारसँग पात्रको संघर्ष चल्छ । उसको मुक्तिको चाहना पूरा हुन पाइराखेको हुँदैन । उ बाहिर निस्कन पनि सक्दैन । गलत भएको जान्दाजान्दै पनि परिवारले चलाएको महिला भारतका कोठीमा पुर्‍याउने धन्दामा अभ्यस्त हुँदै जान्छन् ती युवक पनि । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महिलालाई अर्न्त्यको सौन्दर्यभन्दा पनि आवरणलाई हेरेर उपयोगको साधन बनाएको सन्दर्भले नाटक गर्ने दर्शकलाई प्रश्न गर्न बाध्य बनाउँछ । नाटक क्रमशः अघि बढ्दै जाँदा शक्तिशाली पंक्षी चीलको प्रवेश हुन्छ । त्यसपछि जुन सन्देश नाटकमार्फत् प्रस्तुत गरिएको छ, त्योचाहिँ समाजको युगान्तकारी छलाङ्‍को कसी बन्न पुग्छ ।

फ्रान्सेली कलाकार अलिजे बिआनिकको लेखन तथा निर्देशन रहेको नाटक ‘दी फ्लाइट’काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन भइरहेको छ । नाटकमा सामाजिक विषयको उठान गरिएको निर्देशक अलिजेले बताइन् ।

"आर्थिक प्रलोभनले सामाजिक विचलनले बढिरहेको छ, तर परिवर्तन आवश्यक र अवश्यम्भावी छ भन्ने विषयको उठान नाटकमा गरिएको छ," उनले भनिन्, "दी फ्लाइटको सन्देश सोच र चिन्तनमा सम्पूर्ण परिवर्तन आवश्यक छ भन्ने नै हो।"

सोलिस पर्फमिङ आर्ट्स र वान वर्ल्ड थिएटरको प्रस्तुति रहेको नाटकमा पशुपति राई, विजया राई, किरण श्रेष्ठ, सृष्टि महर्जन, निसिला शाक्य, सरोज श्रेष्ठ, सलमान खान गुरुङ, जेडी तमु, कल्पना सियोङ सोङ, सुनिल तामाङ, रोश्नी कार्की लगायत २६ जना कलाकारको अभिनय छ ।


प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १५:१८
प्रतिक्रिया दिनुहोस्