site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सांस्कृतिक संस्थानमा नवोदित प्रस्तुत

काठमाडौं । दुई दशकदेखि कविता लेखनमा सक्रिय मीनकुमार नवोदित सांस्कृतिक संस्थानमा प्रस्तुत भएका छन् । 

हरेक महिनाको तेस्रो बिहीबार आयोजना हुने कार्यक्रमको पन्ध्रौं शृंखलामा विराटनगरका कवि नवोदित प्रस्तुत भएका हुन् । ‘आमा र जून’ कविता वाचन गरेर कार्यक्रमको मेलो पसेका नवोदितले ‘सम्झनामा बा’ कविता वाचन गरेर कार्यक्रमको बिट मारेका थिए । उनले ‘अर्गानिक अनुहार’, ‘अन्तिम इच्छा’, युगको अन्तिम रात’, ‘तस्बिर र प्रेम’, ‘देश छाड्नुअघि’, ‘देशका नाममा’ गरी जम्ममा १२ वटा कविता वाचन गरे । उनलाई ठाकुर बेल्वासेले ‘रहर’, ज्योति जंगलले ‘घाइते समय’ र उमेश राई अकिञ्चनले ‘अनुहारको बयान’ शीर्षकको कविता वाचन गरेर सघाएका थिए । वाचित कवितामाथि युवा समालोचक महेश पौड्यालले टिप्पणी गरे । नवोदितको कविताले वर्तमान युगबोध गरेको बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांस्कृतिक संस्थानले भाषा, साहित्य र कलाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले एकल कविता वाचन राखिएको स्वागत मन्तव्यका क्रममा संस्थानका वरिष्ठ नाटक प्रबन्धक प्रभाकर शर्माले बताए । “हाम्रो यो अभियानमा सबैको साथ र सहकार्य आवश्यक छ,” शर्माले भने, “भाषा र संस्कृति रहे मात्रै राष्ट्र र राष्ट्रियता बच्छ ।” 
प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कवि प्रा.डा. तुलसी दिवसले कवितामा आफ्नोपन र निजत्व हुनुपर्नेमा जोड दिए । “कवि अरु हुने होइन आफू हुने हो,” उनले थपे, “यदि जुन कवि अरु हुन खोज्छ त्यसको अस्तित्व त्यहिँ सकिन्छ ।”

दिवसले नवोदित युवायुस्ताका सशक्त र सम्भावना भएका कवि भएको बताए ।  कार्यक्रममा प्राज्ञ खेम नेपाली, रमेशरञ्जन झा, गंगा सुवेदीलगायतले नवोदितका कवितामा अहिलेको युग बोलेको चर्चा गरे । नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ दुईवटा कविता प्रकाशित छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १९:०९
प्रतिक्रिया दिनुहोस्