_1914307526.jpg)
काठमाडौं । कलाकार दीपकराज गिरीले नेपालमा लगातार ठूला कार्यक्रम स्थगित हुँदा नकारात्मक सन्देश जाने खतरा रहेको बताएका छन् । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नगर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएपछि आयोजक पर्यटन बोर्डले कार्यक्रम तत्काल नगर्ने निर्णय गरेपछि आईफा अवार्ड नेपालमा नहुने भएको छ ।
“आइफा नगरेर देशको पैसा त बच्यो राम्रो कुरा हो तर अन्तरराष्ट्रियस्तरका कुनै पनि ठूला कार्यक्रम गर्न नसक्ने देश भनेर पनि प्रचारित हुँदैछ कि ?” कलाकार गिरीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
निजीस्तरले गर्न लागेको होस् वा सरकारीस्तरबाट हुन लागेको ठूला कार्यक्रमहरू लगातार धेरै पटक स्थगित हुँदा यसले नराम्रो सन्देश गइरहेको उनको धारणा छ ।
“पैसा मात्रै बचेर हुँदैन प्रतिष्ठा पनि बच्नु पर्छ,” उनले लेखेका छन् । कलाकार गिरी एकैपटक बलिउडका धेरै सुपरस्टार आउँदा सरकारले सुरक्षाको प्रवन्ध गर्न सक्छ अथवा सक्दैन त्यसमा शंका गर्दै आएका थिए । सुरक्षाको उचित प्रवन्ध मिलाउन सके आईफा अवार्ड गर्नु राम्रो हुने उनले बताएका थिए । एउटै नेताको भ्रमणमा करोडौं खर्च हुने गरेकोभन्दै उनले ४४ करोड रुपैयाँ ठूलो नभएको तर सुरक्षा प्रवन्ध भने चुनौतिको विषय भएको विचार राख्दै आएका थिए ।
यसअघि निजीस्तरबाट सलमान खान र कपिल शर्मालाई नेपालमा ल्याउने प्रयास भएपनि सुरक्षाका कारण स्थगित भएको थियो ।
काठमाडौं महानगरपालिका र पर्यटन बोर्डले आईफा अवार्डका लागि ४४ करोड २५ लाख रुपैयाँ आईफालाई दिने निर्णय गरेपछि अधिकांश कलारकारले उक्त निर्णयको विरोध गरेका थिए । आफ्नै देशको चलचित्र क्षेत्रको विकासका लागि चासो नदेखाउने तर विदेशी अवार्ड गर्न मोटो रकम खर्च गर्ने भन्दै विरोध भएपछि सरकार पछि हटेको थियो ।