site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यो पुरस्कार उत्साहित भइहाल्नु पर्ने विषय होइन !

विगत पाँच दशकदेखि निरन्तर काव्य सिर्जनामा सक्रिय कवि हुन् विश्वविमोहन श्रेष्ठ । पूर्वी पहाडी जिल्ला तेह्रथुमको म्याङलुङ बजारका विश्वविमोहनले २०३२ सालको राष्ट्रिय कविता महोत्सवमा द्वितीय स्थान पाएका थिए । यिनै कविलाई नेपाल सरकार, संस्कृति मन्त्रालयले कविता विधातर्फ २०७६ सालको ‘महाकवि देवकोटा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । केही दिनअघि कवि विश्वविमोहनसँग भेटहुँदा छोटो कुराकानी भएको थियो । प्रस्तुत छ उक्त कुराकानीको अंश । 

महाकवि देवकोटा पुरस्कार, कविता विधातर्फ तपाईँलाई दिने निर्णय भएको छ । तपाईँको प्रतिक्रिया के छ ?

तपाइँहरूकै शुभकामना र शुभेच्छाले पुरस्कार दिने वा सिफारिस गर्ने व्यक्ति र संस्थाले धेरैपछि भए पनि मलाई सम्झियो । खुशी लाग्नु स्वभाविक हो । तथापि, धेरै उत्साहित भइहाल्नु पर्ने विषय भने होइन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उत्साह किन शिथिल भयो त ? 

पुरस्कारमा के हुँदो रहेछ भने, मान्छेले कसरी सिर्जना गरिरहेको छ, योभन्दा अगाडि क–कसले कसरी पुरस्कार पाए, यी सबलाई ध्यानमा राख्दा केही पुरस्कार यस्ता छन् जसलाई पाएर त्यति धेरै गौरव अनुभूत हुँदैन । पाउनु पर्ने बेलामा पाइएन भनेपछि पाउँदा त्यसले त्यति धेरै महत्व नराख्दो रहेछ । रमाइलो पनि नहुने रहेछ । 

पुरस्कार र सम्मानमा यस्तै अभिव्यक्ति धेरैबाट आइरहेको छ नी ?

नेपाली साहित्यको क्षेत्रमा यो धेरै ठूलो चर्चाको विषय बनेको छ । हामीले पढिरहेका छाँै । वास्तवमा समग्र नेपाली राजनीतिले नेपाली संस्कृति र सामाजिक परम्परालाई नै बिथोलिसकेको अनुभव हुन्छ । यो विकृति हरेक क्षेत्रमा हेर्न सकिन्छ । यसको मूल बिन्दु हाम्रो राजनीतिक संस्कार र राजनीतिमा लागेका नेताहरूको वैयक्तिक आचरणमाथि निर्भर गरेको विषय हो । त्यसैले समाजमा फैल्याएको विकृृति हो यो । आफ्नो बेलामा तानीहालूँ, गरिहालूँ भनेर पुरस्कार र सम्मान दिने प्रवृत्तिले यो क्षेत्र विकृत बन्दै गएको हो । समयमा नै उचित व्यक्तिले पुरस्कार पाउँदा गौरव हुन्छ नै । तर हामी कहाँ त्यो अवस्था छैन । 

तपाईँले धेरै ढिलो पाउनु भयो सरकारले दिएको पुरस्कार ?

यो पुरस्कार पाएपछि बोलेका कुरा हुन्छ । हेर्नुस्, समयमा पाउने धेरै पुरस्कारहरू छुटेका छन् । र असमयमा दिने पुरस्कारहरू नचाहिनेहरूले धेरै ठाउँमा पाएका छन् । त्यसैले पनि होला व्यक्तिगत खुशी त्यति नजाग्ने रहेछ ।

पछिल्लो समय पुरस्कार र सम्मानप्रति साहित्यकारहरूको आशक्ति बढेको हो ?

एकदमै बढेर गएको छ । यो पुरस्कारको घोषणा भएको चार पाँच दिनभित्र मैले धेरै साथीहरूको प्रतिक्रिया पाएँ । कतिले ‘कसरी ट्रिक लाग्दो रहेछ ? कसरी मिल्दो रहेछ ? कहाँ भन्नु पर्ने रहेछ यार ?’ पनि भने । जबकी मलाई यो विषयमा थाहा नै थिएन । मलाई संस्कृति मन्त्रालयले ‘तपाईको फोटो र बायोडाटा पठाइ दिनु’ भने । त्यसपछि मात्रै मलाई थाहा भएको हो । 

अनि बायोडाटा पठाउनु भयो ? 

हेर्नुस, एउटा लेखकलाई समाजले ‘रिकग्नाइज’ गरोस्, सम्मानित गरोस्, लेखनलाई स्वीकृति देओस् र समाजले मेरो काममा ध्यान देओस् भन्ने जोसुकैलाई हुन्छ । यो सामान्य कुरा हो । 

मैले २०२४ सालदेखि लेख्न थालेको हुँ । २०३२/०३३ सालदेखि त राष्ट्रियस्तरमै सक्रिय भएँ । मलाई धेरै अगाडि नै सम्झनुपर्ने थियो होला । तर अहिले आएर भए पनि सम्झियो । त्यसको लागि सम्बन्धित निकाय र सिफारिस गरिदिनेलाई धन्यवाद दिन्छु । आभार व्यक्त गर्छु ।

निजी क्षेत्रबाट पनि साहित्यिक पुरस्कारहरू दिइँदै आएको छ । तपाईँ के भन्नु हुन्छ ?

पुरस्कार जसले दिए पनि खासै फरक पर्दैन भन्ने मलाई लाग्छ । तर पनि हाम्रो समाजले यसो हेर्दा सरकारले ‘रिकग्नाइज’ गर्‍यो, सरकारको दृष्टिमा पर्‍यो सोच्न पाउँछन् । त्यति हो । हैन भने पुरस्कारहरू आफ्नो ठाउँमा सबै ठीक हुन्छ भन्ने मलाई लाग्छ । म त के भन्छु भने, यो मुलुकको भाषा, साहित्य, संस्कृति मात्र होइन, पत्रकारितालाईसम्म आजको विशालस्वरुपमा स्थापित गर्नमा सरकारी क्षेत्रको भन्दा निजी क्षेत्रको योगदान, समर्पण, त्याग, तपस्या धेरै ठूलो छ । यहाँ भाषा साहित्यको उन्नयनका लागि धेरै मानिस सहिद भएका छन् । तिनले आफ्नो गोजीको पैसा प्रयोग गरेका छन् । पत्नीको गहना बेचेका छन् । राज्यबाट एक पैसा नपाएर पनि निरन्तर सिर्जनामा लागेका छन् । केही लेखेका छन् । छापेका छन् । तिनको योगदान अथाह छ, तर सरकारबाट तिनले केही पाएका छैनन् । यो स्थितिमा पनि आफ्नो मार्गमा सक्रियरुपमा लागिरहेका छन् । त्यो त्याग र तपस्या हेर्दा सरकारले गरेको एउटै काममा उफ्रिउफ्रि मच्चिनु पर्ने र निजी क्षेत्रलाई बेकारको भन्नु पर्ने म देख्दिन । निजी क्षेत्रले गरेको त्यागले नै सरकारको आँखा खुलेको हो । सरकारलाई पनि केही गर्नुपर्छ भनेर घच्घचाएको हो । त्यसैकारण निजी क्षेत्रको पनि त्यतिनै महत्व छ । तिनको पनि उच्च मुल्यांकन र प्रशंसा गरिनु पर्छ ।

आजका दिनमा तपाइँको कविता लेखन क्रम कस्तो छ ? निरन्तर वा बन्द ?

लेखिरहेको छैन भन्दिन म । लेख्छु नै । जतिबेला धेरै लेखियो त्यो बेलामा पनि असाध्यै कम लेख्नेमा पर्ने मानिस हुँ, म । अहिले पनि कविता लेखन कम नै छ, तर लेखन निरन्तर छ । वर्षमा तीन÷चार वटा कविता लेख्छु नै । 

सामान्यतया पुरस्कार पाए पछि लेखकले भन्ने गरेको विषय हो, ‘मलाई उर्जा मिलेको छ’ । तपाई के भन्नु हुन्छ ?

केही पुरस्कार पाए पछि समाजले मलाई सम्मान गर्‍यो । समाजले मलाई हेर्‍यो भन्ने लाग्छ । त्यसले उत्साह बढ्छ नै । पुरस्कार भनेको सम्मान मात्रै होइन एउटा जिम्मेवारी पनि हो । यसले पुरस्कार पायो अब यसले के लेख्दो रहेछ भनेर गहिरिएर हेर्ने पनि हुन्छन् । त्यसैले लेखनमा उत्साह आउनु स्वभाविक हो ।

जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, पुरस्कार पाएँ । सम्मानित भएँ । बस् । अब फेरि पनि पुरस्कार पाउँछु नै भनेर मैले लेख्ने पनि होइन । लेख्न चैँ लेखिरहन्छु । यो समाजप्रतिको मेरो व्यक्तिगत दायित्व हो । लेखन त मेरो यात्रा हो । गन्तव्य हो । पुरस्कार नपाए पनि मेरो लेखनलाई मैले जारी राख्छु । 

मलाई के लाग्छ भने मभन्दा अग्रज, सिर्जनशील र त्याग गर्ने लेखक साहित्यकार कति छन् कति । तिनले राष्ट्रलाई धेरै दिएका छन् । तर तिनले राष्ट्रबाट के पाए भनेर खोज्ने र निर्धक्क हुने दिन कहिले आउने ? म कुनै वाद, कुनै सिद्धान्त वा कुनै खेमाभित्र छैन भने पनि मेरो सिर्जनालाई निस्वार्थरुपमा मूल्यांकन गरिन्छ भनेर निश्चिन्त हुने कहिले ? चिन्ता भनेकै यही हो !

तपाईँको मूल्यांकन त भयो नी ?

मैले अघि नै भनेँ, मलाई राज्यले पुरस्कार दियो भनेर मैले उफ्रिनु पर्छ भन्ने मलाई लाग्दैन । यसो भनिरहँदा कस्तो असन्तुष्ट रहेछ भन्नु होला । तर यो सर्जकहरूको राष्ट्रका निम्ति समर्पित स्रष्टाहरूको पक्षको कुरा हो । म एक जनालाई सम्मानित गरेर केही हुन्न । अग्रज र समर्पित सर्जकहरुको खोजी  सरकारी निकायले निस्वार्थरुपमा गर्नुपर्छ । पुरस्कार प्रदान गरिँदा हाम्रो होइन राम्रोतर्फ लाग्नुपर्छ ।

विश्वविमोहन त एमाले निकट रहेछन् त्यसैले उनले पुरस्कार पाए भन्ने चर्चा पनि छ नि ?

यस्तो चर्चा चल्यो नै । एक जना वामवृत्तकै मित्रले त ‘काले काले मिलेर खाउँ भाले भयो नी, कविजी’ भन्ने टिप्पणी पनि गरे, सामाजिक सञ्जालमा । मैले सोचें यहाँ कोसँग मिल्नु छ मैले ? यो पुरस्कार पाएर रातारात म अर्कैखालको लेखक पनि हुन्न । एकजनाले त ‘अहिलेका प्रधानमन्त्री ओलीजी पनि तेह्रथुमको, तपाई पनि तेह्रथुमको भएकोले यो पुरस्कार पाउनु भएको होला’सम्म पनि भने । म के भन्छु भने, योगदान र समर्पणका हिसाबले पाउनु पर्ने धेरै कुरा थियो । तर म पार्टीतिर ध्यान दिने मानिस पनि होइन । मलाई धेरै पार्टीले आफ्नो पार्टीमा आउन भने । तर म गईँन । 

एउटा सर्जक र लेखकको सिर्जनालाई नै जहिले पनि हेरिनु पर्छ । मुल्यांकनको आधार पनि त्यही नै हुनुपर्छ । मूल्यांकनको आधार पार्टी र झण्डा हुनुहुँदैन ।
प्रस्तुतिः राजेश खनाल
   
  

 
 

 
 
  

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  ०७:०९
प्रतिक्रिया दिनुहोस्