काठमाडौं । संसदीय समितिले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटानका लागि तत्काल अनुमति दिन वन तथा वातवरण मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटान गर्न अनुमति दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो ।
डिपीआर हेरेर सो विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि आवश्यक वन कटान गर्ने अनुमति दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देश गरिएको समितिकी सभापति दिलकुमारी रावल थापाले जानकारी दिइन् । त्यसैगरी समितिले सो विमानस्थलको केन्द्र भागमा रहेको टाङ्गिया बस्तीलाई उचित ठाउँमा व्यवस्थापन गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराएको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सो विमानस्थलको कामलाई अघि बढाउन वन तथा वातावरण मन्त्रालयबाट वन कटानका लागि अनुमति पाउन नसकेको समितिलाई जानकारी गराएका थिए । उनले सो विमानस्थलको कामलाई अघि बढाउने गरी जग्गाको मुआब्जा वितरणको कामलाई पनि अघि बढाएको बताए ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सो विमानस्थलको कामलाई अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले सो विमानस्थलको डिपीआरको काम समेत सम्पन्न किन नगरेको भनेर सरकारलाई प्रश्न पनि गरे ।
बैठकमा समितिका सदस्यहरुले टाङगिया बस्तीको उचित व्यवस्थापन समेत अझै हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।