site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हटाउनै लागिएको हो त गगन थापालाई ?  
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘गगन थापालाई कांग्रेसले मन्त्रीबाट फिर्ता बोलाउँदैछ रे ! एकदम सही निर्णय हो । यो सरकारबाट गगन थापा, जनार्दन शर्माजस्ता एक–दुईजना मन्त्रीलाई हटाउनैपर्ने भा’छ... म सोचिरा’थेँ, चिडियाखानामा यी दुई मान्छेलाई किन राखिएको होला ?,’  कलाकार दीपकराज गिरिले मंगलबार सामाजिक सञ्जालमा यस्तो भावना व्यक्त गरे ।

संविधान संशोधनका लागि दुई तिहाई पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई पनि सरकारमा सहभागी गराउन प्रयास जारी राखेर स्वास्थ्य मन्त्री गगन थापालाई फिर्ता गराउने समाचार सार्वजनिक भएपछि कलाकार गिरिले यस्तो टिप्पणी गरेका हुन् ।

उनीमात्रै होइन, मंगलबार सामाजिक सञ्जालमा गगन थापालाई कुनै पनि हालतमा फिर्ता गराउन नहुने धारणाहरू प्रशस्तै सार्वजनिक भएका छन् ।
सरकारमा काम गरेका मन्त्रीमध्येमा परेका युवा नेता थापालाई हटाएर अर्को ल्याउनै नहुने भावना सामाजिक सञ्जालमा व्यक्त भइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

थापालाई हटाउनै लागिएको हो त ?
गत साता प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका सभापति देउवाले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गराउन राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई पनि सरकारमा सहभागी गराउने भन्ने बारेमा आन्तरिक छलफल जारी राखेका थिए ।

यसैबेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन एक साताको समयसीमा दियो । मोर्चाले समर्थन फिर्ता लिएपछि सरकार अप्ठेरोमा पर्ने अवस्था आइसकेपछि राप्रपा अध्यक्ष थापा संविधान संशोधनको विपक्षमा भए पनि तत्कालै सरकारमा सहभागी गराइहाल्नुपर्ने निष्कर्ष निकाल्दै देउवा र दाहालले आफू निकटका एक–एक मन्त्री फिर्ता गराएरै कमल थापालाई सरकारमा सहभागी गराए ।
तर गच्छदारले अघि सारेको माग भने जटिल थियो । जुन पूरा गर्न दाहालले भन्दा देउवाले अग्रसरता लिनुपर्ने देखियो ।

Global Ime bank

दाहाल र देउवासमक्ष गच्छदारले सरकारमा मर्यादाक्रममा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा रहनुपर्ने, आफूलाई भौतिक पूर्वाधार मन्त्रालय दिनुपर्ने र आफ्नै पार्टीका रामजनम चौधरीलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने सर्त अघि सारे ।

चौधरी अहिले गच्छदारको पार्टीका निर्णायक नेताका रूपमा चिनिन्छन् । उनले आफूलाई सरकारमा सहभागी नगराई एक्लै सहभागी भए पार्टी नै टुक्र्याउने धम्की गच्छदारलाई पटक–पटक दिएका छन् ।

दुवै मन्त्रालय कांग्रेस नेतृत्वमा रहेका कारण देउवाले नै विशेष निर्णय गर्ने परिस्थिति आइलाग्यो ।

देउवाले यो कुरा घुमाउरो तरिकाले स्वास्थ्य मन्त्री थापाकहाँ पुर्याए ।  थापाले कृष्ण सिटौलालाई यसबारेमा जानकारी गराए । स्रोतका अनुसार सिटौलाले अहिले मन्त्रालयमा आफ्ना कुनै पनि काम नरोक्न आग्रह गर्दै देउवासँग आफूले छलफल गर्ने बताए ।

सिटौलाले देउवासँग गरेको छलफलमा संविधान संशोधन नहुने अवस्थामा गच्छदारलाई सरकारमा ल्याउनुको कुनै औचित्य नहुने भएकाले अहिले निर्णय भइनसकेको जवाफ फर्काएको स्रोतको दाबी छ ।

“कृष्ण सिटौलाले पनि अहिले कुनै काम नरोक्न भन्ने आग्रह गर्नुभएको छ,” थापा निकट स्रोतले भन्यो, “अहिले बाहिर आएका सबै हल्लामात्रै हुन् भन्ने भएको छ ।”

कांग्रेसकै रणनीति !
स्वास्थ्य मन्त्री थापालाई फिर्ता गराउन कांग्रेसकै रणनीतिअन्तर्गतको काम भएको अर्का एक नेता दाबी गर्छन् ।

“पहिलो संविधानसभा निर्वाचन होस् या दोस्रो, गगन थापा नपुगेको गाउँ नै थिएन,” ती नेताले भने, “अब दुई महिनाका लागि सरकारमा बसिरहने कि गाउँ–गाउँ फेरि पुगेर निर्वाचन र कांग्रेसको पक्षमा माहोल बनाउने ?” ती नेताले भने ।

उनका अनुसार मतदातालाई सम्बोधन गरेर कांग्रेसको पक्षमा माहोल बनाउन सक्ने पार्टीभित्र थापामात्रै एक नेता हुन् ।

तर अहिले उनी पार्टीको तेस्रो धारका सशक्त नेता भएकाले उनलाई निर्वाचनमा जान नदिएरै सरकारमै राख्नुपर्ने अर्को पक्ष पनि कांग्रेसमा देखिएको स्रोतको दाबी छ ।

अहिले निर्वाचन आयोगले मन्त्रीलाई आचारसंहिता जारी गर्दैै पार्टीका कुनै पनि कार्यक्रममा सहभागी हुन नपाइने भनेपछि कांग्रेसभित्रैबाट गगन थापालाई चुनावमा परिचालन गर्न सरकारबाट फिर्ता गराउनुपर्ने दबाब देउवालाई परेको स्रोत बताउँछ ।

मन्त्रालयमा अघि सारेका कामको अवस्था के हुन्छ ?
स्वास्थ्य मन्त्रालयमा अहिलेजस्तो पारदर्शी तरिकाले इतिहासमै कहिले पनि काम नभएको कर्मचारी बताउँछन् । 
थापा मन्त्री भएको साढे ६ महिना बित्न लागेको छ । उनी अहिले पनि दैनिक १६ घण्टा मन्त्रालयकै लागि खट्छन् । उनले धेरै सुधारका कामहरु अघि सारेका छन्, जो पूरा हुने चरणमा छन् । 

उनले थुप्रै नीतिगत काम पनि गरेका छन् । सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि सेवा पाउने व्यवस्था गरेका छन् । विभिन्न रोगको उपचार निःशुल्क गर्न सकिने लगायतका थुप्रै काम थापाको यो छोटो अवधिमा भइसकेका छन् ।

“हामीले गरेका कामको विस्तारै रिजल्ट देखिन थालेको छ,” थापाका एक सल्लाहकार भन्छन्, “हाम्रो चिन्ता यो आधार भताभुंग हुन्छ कि भन्ने मात्रै हो, जसको परिणाम देखिन अझै केही महिना लाग्न सक्छ ।”

उनका अनुसार डा. गोविन्द केसीका माग पूरा गराउन अघि सरेदेखि नै मेडिकल माफियाले गगन थापालाई स्वास्थ्य मन्त्रालयमा राख्न नहुने भन्दै लबिङ जारी राखेका छन् ।

मन्त्रालयबाटै पनि रामजनमको माग !
स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयमा केही यस्ता कर्मचारी छन्, जो जे काम गर्नका लागि पनि कमिसन बाहेकको कुरै गर्न चाहँदैनन् । जुन काम रामजनम चौधरी यसअघि स्वास्थ्य मन्त्री हुँदा गर्न पाइएको थियो ।

तर अहिले सबै रोकिएको छ । “यहाँ एउटा पेपर तयार गर्न पनि बिसौं लाख आवश्यक पर्छ भन्दै लिने गर्दा रहेछन्,” मन्त्रालय स्रोत भन्छ, “थापा मन्त्री भएपछि ती सबै रोकिएका थिए । त्यसैले पनि केही कर्मचारीमा छटपटी छाएको छ ।”

निजी क्षेत्रका अस्पताललाई पनि नियमन गर्ने भन्ने निर्णय गरेपछि केही अस्पताल सञ्चालक थापासँग बेखुसी छन् । 

“हामीले चिकित्सक तोकिएको अस्पतालमै पुगेर बिरामीको सेवामा खटिनैपर्छ भन्यौं, त्यसबाट पनि कैयौं चिकित्सक असन्तुष्ट छन्,” थापा निकट स्रोतले भन्यो, “५ बजेसम्म स्वास्थ्यकर्मी बस्नुपर्ने भन्यौं, त्यहाँ पनि असन्तुष्टि देखिएको छ । जहाँ–जहाँ सुधार गर्ने प्रयास गरेका छौं, त्यहीँबाट खेल्ने काम पनि नभएका होइनन् । तर यस्तो काम गर्दा गर्दै फिर्ता गराउन पार्टी र सरकारले सोच्नैपर्ने हुन्छ ।”

निर्णय गर्न दाहाल र देउवा दुवैलाई सजिलो छैन 
कमल थापा सरकारमा सहभागी भए पनि उनले सार्वजनिक रूपमै भनिदिए– बरु सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार छौं तर संविधान संशोधनको पक्षमा मतदान गरिँदैन ।”

यसपछि दाहाल र देउवालाई गच्छदारलाई ल्याउने कि नल्याउने भन्नेमा बहस भएको छ । कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दल एक ठाउँमा उभिने हो भने संशोधन विधेयक पारित गर्न सजिलो पर्छ । तर कमल थापाले संविधान संशोधनको पक्षमा मतदान नगर्ने अडान राखे भने त्यो पनि पूरा हुन भने सक्दैन ।

त्यसैले अहिले नै पार्टी र सरकारमा रहेकाहरुलाई थप असन्तुष्ट पारेर निर्णय गर्न देउवा र दाहाललाई अप्ठेरो परेको छ । 
स्वास्थ्य मन्त्री थापा कांग्रेसमा पनि तेस्रो धारका नेता भएकाले देउवाले अहिले पार्टीभित्रको सन्तुलन कायमै राख्नका लागि पनि थापालाई फिर्ता गर्ने निर्णय गर्न सक्ने देखिँदैन ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७३  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement