भारतीय सभ्यता योगी, तपस्वी र ऋषिहरुबाट निर्मित हो । भारत राष्ट्रको निमार्णमा योगीहरुको समेत उल्लेख्य योगदान छ । पूर्वीय सभ्यता वा संस्कृत सम्यताको उद्गम स्थल नेपाल र भारतका पहाडी एवं हिमाली क्षेत्र नै हुन् । जसरी पश्चिमी सम्यताको सूत्र, मन्त्र अथेन्स, रोम हँुदै आएको मानिन्छ, त्यसरी नै यो क्षेत्रले पूर्वीय चिन्तलाई मन्त्र र जीवन सूत्र दिएको छ । राष्ट्र बन्ने क्रममा ती केही ठाउँ पाकिस्तानतिर परे होलान् वा अफगानिस्तान पनि पुगे होलान् । तर, पूर्वीय सम्यताको प्रमुख केन्द्र नेपाल, भारतको (भारतीय उपमहाद्विप) उच्चभूमि नै हुन् ।
भारत योगीहरुबाट शासित, पालित र संरक्षित भएको इतिहास कथा प्रशस्त छ । चाणक्य (विष्णु गुप्त) को प्रेरणामा चन्द्रगुप्त ‘मौर्य’ हरुले योग स्वरुपमै विशाल मगध राज्य (मौर्य साम्राज्य) को स्थापना गरे । मगध पनि भारत नै हो । भारतमा योग आशन मात्रै होइन, योग शासन पनि अद्भूत छ । राज्यको शासनसत्ता लिएर गरिने शासन र जनताको भाव आस्थामाथि गरिने शासन भिन्न तरिका हुन् । तर, भारतले दुवै तरिकाको विगत बनाएको छ ।
‘भगवा’ वस्त्र धारण गर्ने गुरु रामकृष्ण परमहंश हुन् कि ‘शून्य’ को चमत्कारी व्याख्यालाई सिर्जना अघिको वा पछिको प्राकृत अवस्थितसँग जोडेर विश्वप्रसिद्ध प्रवचन दिने स्वामी विवेकानन्द, यी सबैले मानिसको आध्यात्मिक आस्था, चेतना र विवेकलाई उन्नत नेतृत्व दिएका हुन् । अहिले नरेन्द्र दामोदरदास मोदी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) यी दुवै तरिकाले अर्थात् योग आशन र योग शासन मार्फत भारतलाई दिशा निर्देश गर्ने प्रयत्नमा छन् ।
अंग्रेज शासन सत्ताले भारतलाई आफ्नो साम्रज्यमा गाभ्नुअघि त्यहाँ विद्यमान कविला राज्यहरु स्थापना र सञ्चालनमा योगीहरुको प्रभाव र पहुँच अत्यन्त सशक्त थियो । प्रशस्त राजा रजौटाहरुले भारत भूमिको खण्ड, खण्डमा राज गरेका थिए । ज्वलन्त उदाहरण कस्मिर राज्य हो । स्वतन्त्र भारतको अवसरसँगै कस्मिर राज्य राजा हरिसिंह (भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता कर्णसिंहका पिता) को पालामा भारतमा समाहित भएको हो । भन्न खोजिएको कुनै बेला भारत खण्ड खण्डमा शासित थियो । त्यहाँ तपस्वी योगीहरुको प्रचुर वर्चस्व थियो ।
भारत राष्ट्रको निर्माण, भारतीय संस्कृतिको उत्थापन, उन्नयन र राष्ट्र संस्कृतिको रक्षामा भारतीय योगीहरु सधैं सम्लग्न रहे । मुगल साम्राज्य होस् कि अन्य आक्रमणविरुद्ध योगीहरु सशस्त्र लडेको इतिहास छ त्यहाँ । शंकराचार्यले हिन्दुत्व रक्षाको लागि गरेको प्रयत्न प्रसिद्ध छ र अहिले पनि शंकराचार्य परम्परा यथावत् छ । तिनको प्रभाव भारतीय सत्ता र मानसिकतामा कति छ भन्ने बुझ्दा योगी सत्ताको शक्ति पहिचान हुन्छ ।
नेपाल नाम रहनुको कारणमा विभिन्न तर्कहरु भए पनि एउटा भनाइ ‘ने’मुनिले लालनपालन गरेकोले नेपाल नाम भएको तर्क पनि छ । त्यस्तै भारत, महाभारत कथामा पुरु वंशका भरत भन्ने पात्र छन् तिनको नाममै भारत भएको मान्यता पनि छ । र, जडभरत भन्ने पात्र पनि त्यहाँको पूरा कथामा भेटिन्छन् । ने मुनिबाहेक नेपालमा ऋषि, महर्षिहरु छन् तर ती राजनीतिक सत्ता सरकारमा उच्च प्रभाव राख्ने भेटिँदैनन् । गोपालवंशी हुँदै किरात र लिच्छवी राजाहरुले नै यहाँ राज गरेको पाइन्छ । तर, भारतमा प्राचीन कालदेखि ऋषि, महर्षिको राजकीय योगदान नेपालको भन्दा भिन्न वा प्रभावशाली रहेको छ ।
हालै सम्पन्न गयाको कुम्भमेलामा बाह्र करोड श्रद्धालु सहभागी रहेको तथ्यांक छ । त्यसो त सबा अर्ब जनसंख्या रहेको विशाल भारतमा कुम्भमा सहभागी त्यो संख्या ठूलो नमानिएला । अर्कोतर्फ सबै श्रद्धालु त्यहाँ सहभागी हुन पुगे वा पुग्नसके भन्ने पनि होइन । त्यो संख्यामा त्यहाँ नेपालजस्तै अन्य देशका श्रद्धालु पनि पुगेका हुनसक्छन् । तर, अहिलेकै भारतीय जनता पार्टीको सरकार नरेन्द्र मोदीको नेतृत्वमा त्यहाँ थियो र त्यो सरकारले कुम्भमेलालाई दिएको प्राथमिकता कति उच्च थियो भन्ने दृश्यले पनि योगी महाराजहरुको प्रभाव बुझिन्छ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सक्रियता यस पर्वको तयारीमा थप उल्लेखनीय रह्यो ।
समुद्र मन्थनबाट निस्किएको अमृत कुम्भसँग जोडिएको र अमृत प्राप्त हुने मतमा सुरु कुम्भमेलाको पहिला पथ प्रदर्शक योगी, तपस्वीहरु नै हुन् भन्ने त त्यो मेलामा सहभागी दिगम्बरदेखि गेरुवा वा शुभ्र वस्त्रधारी योगीहरुको उत्साहले प्रमाणित गर्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मेलाका अवसरमा सफाइ मजदुरको गोडा धोएर दिएको सम्मान, सन्देश र प्रेरणा कुनै राजनीतिकर्मीको भन्दा बढी आध्यात्मिक ‘मोडेल’को थियो ।
भारतीय नेता नरेन्द्र मोदी कुनै राजनीतिज्ञभन्दा बढी आस्तिक, आध्यात्मवादी शासक देखिएका छन् । भारतजस्तो विशाल प्रजातान्त्रिक मुलुकको सरकार प्रमुख मोदी प्रतिपक्षी विचार वा औचित्यलाई जति बेवास्ता र त्यसप्रति जति असहिष्णु देखिन्छन् त्यसभन्दा बढी उनको धार्मिक आस्था अत्यन्त प्रबल छ । यस अर्थमा उनी राजनीतिक शासक कम र धार्मिक शासक बढी हुन् ।
‘योगी’ नरेन्द्र मोदी भारतीय मान्यता र संस्कृति वा संस्कारलाई पुनः योगी, महर्षि स्थापित पूर्वीय सभ्यताको अनुकूल र समकक्षमा पुर्याउन प्रयासरत छन् । राजनीतिलाई उनले पूर्वीय आध्यात्मिक चिन्तनबाट सञ्चालन(ड्राइभ) गर्न खोजेका हुन् । उनको आदर्श, आध्यात्मिक चिन्तन र जीवनपद्धति हिन्दुत्व भावधारले अनुप्राणित छ । कट्टर हिन्दुत्व संस्कार उनको राजनीतिक निर्देशक समेत हो ।
स्वतन्त्र भारतअघि इसाई धर्मावलम्बी अंग्रेज शासन सत्ता रहे पनि भारत कुनै धार्मिक राज्य घोषित थिएन । स्वतन्त्रतापछि भारतको वर्तमान संविधान बनाउने प्रमुख व्यक्ति डा. भीमराव अम्बेडकर दलित समुदायका जो थिए । यही संविधानमा भारत धर्मनिरपेक्ष राष्ट्र हुन पुगेको हो र आजसम्म भारत आधिकारिकरूपमा धर्मनिरपेक्ष नै छ । शासकहरुको धार्मिक आस्था भलै जे होस् !
पिछल्लो समय हिन्दुत्वको पुनर्जागरणको अगुवाइ विनय सावरकरले गरेका हुन् । यही मान्यताको कडीमा भारतीय जनता पार्टी(बीजेपी)को मूलस्रोत राष्ट्रिय स्वयंसेवक संघ (रासस) स्थापना भएको हो । र, बीजेपीका अधिकांश नेता यही संघका उत्पादन हुन् । प्रधानमन्त्री नरेन्द्र मोदी वा गृहमन्त्री अमित शाहलगायत अरु त्यही स्वयंसेवक संघहँुदै भारतीय राजनीतिमा आएका हुन् ।
दोस्रोपटक निर्वाचित ‘धार्मिक’ नेता नरेन्द्र मोदीले अद्भूत कौशल देखाएका छन् । उनको आदर्श चिन्तन कट्टर हिन्दुत्व भए पनि व्यवहार समपक्षीय बनाएका छन् । चाहे, मुस्लिम समुदायमा रहेको तीन तलाकविरुद्ध कानुन बनाएर मुस्लिम महिलाहरुलाई न्याय दिने विषय होस् वा इस्लाम पाठशाला मदरसालाई अरु समान उन्नत बनाउने घोषणा गरेर उनले मुस्लिम महिला र समुदायको चित्तहरण गर्ने न्याय देखाएका छन् । अथवा अल्पसंख्यक मुस्लिम र अन्य समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर तिनका अभिभावक र छात्रछात्रालाई उन्नत भविष्यको सकारात्मक सपना देखिइदिएका छन् । न्याय र समानताको उद्बोध गराएका छन् । उनको समन्यायी प्रयत्नले भारतमा लामो समयदेखि चल्दै आएको जातीय वा समुदायको मतमा आधारित राजनीतिलाई भत्काइ दिएको छ । यही कारण मुस्लिम वा कथित अल्पसंख्यकको ठूलो मत यसपटकको निर्वाचनमा मोदीहँुदै उनको दल बीजेपीले पाएको छ ।
अल्पसंख्यक र पिछडा वर्गप्रतिको उनको ध्यानदृष्टिले गर्दा लामो समयदेखि भारतमा चलेको प्रादेशिक वा क्षेत्रीय दलहरुको दबदबालाई पनि नेता मोदीले अहिले सीमित पारिदिएका छन् । उत्तर प्रदेशको दलित, पिछडावर्ग वा अल्पसंख्यको जगमा उभिएको पूर्व मुख्यमन्त्री मयावतीको बहुजन समाजवादी पार्टी वा अर्का पूर्व मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीको ओरालो यसैको परिणाम हो । विहारको राष्ट्रिय जनता दल( आरजेडी ) पनि नराम्रोसँग धराशायी भयो ।
धर्मनिरपेक्षताको कट्टर समर्थक भएकै कारण मुस्लिम मत आकर्षित गर्दै आएको मानिने भारतीय राष्ट्रिय कांग्रेसले यसपटक मुस्लिम मत आकर्षित गर्न नसकेको निष्कर्षको आधार पनि प्रधानमन्त्री मोदीको समपक्षीय व्यवहारको परिणाम हो ।
समग्रमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्ने गरेको ‘सबका साथः सबका विकास’ व्यवहारमै प्रयोग गर्दै छन् । भारतलाई हिन्दुराज्य घोषणा गर्ने हतार नरेन्द्र मोदीमा छैन । तर, हिन्दुत्व दर्शन वा चिन्तन पद्धति सबै मानव समुदायलाई समान दर्जामा राख्ने आध्यात्मिक पद्धति हो भन्ने स्थापित गर्न उनी लालायित देखिन्छन् । समग्र भारतमा हिन्दुत्वलाई समन्यायिक जीवनपद्धतिको उदाहरण बनाउन उनको योगीवृत्ति सम्लग्न छ । योगित्व झल्कने सेतो दारी धारी नरेन्द्र मोदी राजनीतिकर्मीभन्दा बढी योगी, महर्षिजस्तो छनक दिन्छन् । भारतीय राजनीतिलाई पूर्वीय चिन्तनले अनुप्राणित वा सञ्चालित गर्न चाहने नरेन्द्र मोदी सफल योगी र त्यही सफलतामा भारतीय राजनीतिलाई पनि शिखर चढाउने उनको धोको देखिन्छ । यही कारण भारतमा यतिबेला पुनः योगी राज छ । हिन्दुत्वको पुनर्जागरण गरिँदैछ ।