
काठमाडौं । लेखक अभय वैद्यको सन् २०१७ मा प्रकाशित खोजमूलक पुस्तक ‘हू किल्ड ओशो’ माथि अन्तरसम्वाद सम्पन्न भएको छ । लेखक वैद्य भारतीय पत्रिका हिन्दूस्तान टाइम्सका रेसिडेन्ट सम्पादक हुन् ।
काठमाडौंको उत्तर पश्चिमस्थित ओशो तपोवनमा हालै आयोजना गरिएको सो अन्तरसम्वाद कार्यक्रममा लेखक अभय वैद्यले सन् १९९० जनवरी १९ का दिन भएको ओशोको निधनसँग सम्बन्धित करिब ३० वर्षको आफ्नो खोजबाट निस्केका विविध रहस्यमाथि प्रकाश पारे । ओशोको मृत्यु अस्वाभाविक र षड्यन्त्रमूलक रुपमा भएको उनको भनाइ छ ।
“ओशोको निधन हुनुभन्दा करिब दुई वर्ष अगाडिदेखि नै ओशोलाई उनको परिवार र आमालाई पनि भेट्न नदिई पुना आश्रम माथि एकछत्र कब्जा जमाएका तीन विदेशीहरूले ओशोलाई घेरामा पारेको” तथ्य कार्यक्रममा लेखक वैद्यले खोल्दा उपस्थित साबै अचम्भित बनेका थिए ।
उनले ओशोको मृत्युको दिन पनि नाक कान घाँटीका डाक्टर गोकुल गोकानीलाई षड्यन्त्रमूलक रुपले डेथ सर्टिफिकेटमा हस्ताक्षर गर्न लगाएको स्वयं डाक्टर गोकानीले दिएको अन्तवार्तासमेत सो पुस्तकमा समेटिएको बताए । कार्यक्रममा ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुणले आफूले सन् १९९० देखि नै ओशोको मृत्यु स्वाभाविक नभई हत्या नै भएको भन्दै आएको उल्लेख गरे । उनले अभय वैद्यको पुस्तकले आफूले उठाउँदै आएको आवाजलाई बल प्रदान गरेको बताए ।
कार्यक्रमका अतिथि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओशोको मृत्यु अस्वाभिक भएको आफूले पनि सुन्दै आएको तर स्वयं पत्रकार अभय वैद्यबाट ओशोको मृत्युको बारेमा प्रस्तुत गरेका तथ्यहरु सुनेपछि ओशोको मृत्यु षड्यन्त्रमूलक भएको बारेमा आफू स्पष्ट भएको बताए ।