
– लक्ष्मी लम्साल ‘लक्ष्मीपूजा’
यसै पनि विवाहित नेपाली नारीका लागि पराई घर शुरू–शुरूमा बिरानो नै हुन्छ । त्यसमाथि हिमालपारिको देश चीन । जहाँको धर्म, संस्कृति, रीतिरिवाज नितान्त भिन्न छ ।
“अब त म पनि बहादुर भएँ,” बेइजिङ नगरपालिकादेखि ६० किलोमिटर टाढा ‘च्वियुङक्वान’ ग्रेटवालको मध्यभागमा खुट्टा कमाउँदै पुगेपछि दीपाले निर्भीकताका साथ वाक्य फुटाइन् । त्यहीँ युनथाई प्रवेशद्वारमा नेपाली रञ्जना लिपिमा कुँदिएका बुद्धसूत्र देखेपछि नेपाली परिवेशबाट टाढिँदाको उनको न्यास्रो केही हदसम्म शान्त भयो ।
‘जो जीवनमा एकपटक पनि ग्रेटवाल चढेको छैन, त्यो पौरूषेय हुन सक्दैन,’ नयाँ चीनका प्रणेता माओको चुनौती पनि सामना गरियो । साथमा विश्वको एउटा आश्चर्यमा नेपाली तत्व पनि देखियो । परदेशमा टेकेको तेस्रो दिनमै उनले पनि एउटा आत्मीयता महसुस गर्न पाइन् ।
काठमाडौंदेखि चीनको सछ्वान प्रान्त, जहाँ चिलगाडीबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको दृश्य देखिन्थ्यो, त्यहाँसम्म पनि गाउँठाउँ नै सोचिरहेकी दीपालाई बेइजिङ उत्रिएपछि बिरानोपनले छोप्दै लग्यो । मेरो कर्मथलोतर्फ जाने क्रममा उनले जीवनमै पहिलोपटक अन्तर्राष्ट्रिय विमानको उडान भरेकी थिइन् ।
छोटो समयमा फेसबुकमार्फत् लमीको मध्यस्थामा हामीबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो । हामीले एक–अर्काको आनीबानी पनि त्यति राम्ररी बुझिसकेका थिएनौं । विवाह गरेको साता दिनमै उनी नेपाल छोडेर परदेशीसँगै बेइजिङ आइपुगेकी थिइन् । वरमालाले गर्दन कसिएपछि हामी एक–अर्काको सुखदुःखको सहयात्री बनेर परदेश हिँडेका थियौं ।
संसारका सबैभन्दा महँगा शहरमध्येकै एक बेइजिङ शहर । अस्ट्रेलियाको ग्रिनकार्डवाला प्रस्ताव अस्वीकार गरेर उनी बेइजिङको वर रोज्नेमा परिन् । पहिलोपटक उनले चीनमा पाइला टेक्दाको रोमाञ्चक तथा बालसुलभ लाग्ने भावभंगिमा हेर्नलायक थियो ।
“कति विशाल क्षेत्रफल ! कति ठूलो जनसागर ! कति अग्ला–अग्ला गगनचुम्बी भवनहरू ! कति फराकिला चाक्ला–चाक्ला सडकहरू ! चीनको राजधानी त्यसै बनिएको होइन रहेछ,” दीपाका विस्फारित नजरले आश्चर्यभाव पोखिरहेका थिए । यति अद्भूत रहस्यभूमिमा उतार्न सकेकोमा मभित्र पनि अस्ट्रेलियालीविरूद्ध विजेता भाव जागिरहेको थियो ।
बेइजिङ अवतरण गरेपछिका केही दिन मेरो बिदा बाँकी भएकाले हनिमुनको रमाइलो, घुमाघाम चल्यो । विश्वको सबैभन्दा ठूलो थ्यानआनमन चोक पुगेर माओको तस्बिरलाई हातमा राखेझैं गरेर फोटो खिच्नु, समर प्यालेसको प्रांगणमा उडेको फोटो कैद गर्नु, श्वेतचैत्य पुगेर नेपाली कलाकार अरनिकोको कला महात्म्य हेर्नु, भएभरका चिडियाखाना पुगेर पान्डा र अद्भूत जनावरको स्वरूप नजर गर्नु, फरबिडन सिटी (निषिद्ध दरबार) हेर्नेदेखि अनेकन संग्रहालय चहारेपछि बेइजिङमा हेर्ने कुराहरू लगभग भ्याइएका थिए ।
एक साता नबित्दै एकजना चिनजानका चिनियाँ रोङ शङले रेस्टुरेन्टमा पनि लगे । बोल्न पनि सिकाए, “नि हाउ, नमस्ते ।”
चपिस्टिकले खाना खाने तरिका सिकाउँदै उनले दार्शनिक कन्फ्युसियसको सिद्धान्त, बेइजिङ ओपेरा, चिनियाँ हस्तलिपि, भित्तेचित्र र ड्रागनका किम्वदन्तीबारे पनि भट्याए । चिनियाँ कुङ्फू, थाइची देखाउन लैजाने वचन दिए । तर, मैले चिनेका रोङ दाइको मुख्यालयले नयाँ फाइनान्सियल शाखा खोल्यो । बेइजिङबाहिर हपै प्रान्तमा । मीठा–मीठा खानेकुरा र साहित्य, संगीत, कला संस्कृतिको उपभोग गर्ने अवसर थियो, तत्कालका लागि यत्तिमै सीमित हुने भयो । पछि–पछिसम्म वसन्त चाड (नव वर्ष), ड्रागन बोट फेस्टिभल र लामो बिदाका अवधिमा भेट भएमात्रै, नत्र अधिकांश समय व्यस्त हुने भएकाले चिनियाँ सामाजिक सञ्जाल ‘वीच्याट’मा पठाएका इमोजीको जवाफ पनि हत्तपत्त फर्किंदैनथ्यो ।
बेइजिङ घुम्दाघुम्दै युगल जीवनका प्रारम्भिक घडीहरू छिनमै बिते । बिदा सकियो । मेरा दिनहरू पहिलेजस्तै निरन्तरतामा चल्न थाले । तर, उनी दिनदिनै घरभित्र बसिरहनुपर्ने भयो । कतै बाहिरसम्म जानका लागि उनीसँग भाषा थिएन र हराउने डर पनि । घरभित्रै कोच्चिइरहँदा उनको दैनिकी पट्यारलाग्दो हुन थाल्यो । उनले पनि मलाई बारम्बार ‘अब के गरूँ, कहाँ जाऊँ ?’ भनेर करकर गर्न थालिन् । सन् २००९ देखि नै ट्वीटर, फेसबुकहरू प्रतिबन्धित भएकाले चीनमा फेसबुक चलाउन सजिलो थिएन । नेपालमा भएका आफन्तले वीच्याट खोलिसकेका थिएनन् । त्यसैले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क)को सहारामा केही आफन्तसँग कहिलेकाहीँ सम्पर्क हुने गथ्र्यो ।
उनले निराशा (डिप्रेसन)को कहानी सुनेकी थिइन् । गाउँबाट काठमाडौं भित्रिएकाहरूले पनि त्यस्तै निर्जन र एक्लोपनको आभास गर्छन् । वल्लो घरमा बिहे भोज हुन्छ, पल्लो घरमा मलामीको रोदन । एकले अर्कोसँग कुरा गर्दैन । परिआएको बेला मानवीयता पनि देखाउँदैन । गाउँले जीवनबाट शहर भित्रिएकाहरू त विरक्तिएको कथा उनले सुन्दै आएकी थिइन् । परको देशमा डिप्रेसनको सम्भावना अझै बढी हुन्छ । पछिल्लो पटक कसैले घरमै बसिरहनेहरूको निराशाको कहानी सम्झादिएको थियो शायद । उनका कुनै आफन्तजन पनि अमेरिकातिर यस्तै परिस्थितिजन्य समस्यामा थिए ।
बेलुका अफिसबाट थकित भएर कोठामा पुग्नेबित्तिकै उनी भन्न थालिन्, “साँच्चै ! के–के सोचेर बस्छु । तपाईंले त मलाई डिप्रेसनमै धकेल्नुहुने भो । केही उपाय त निकाल्नुस् ताकि मैले पनि रमाइलोसँग दिनहरू काट्न सकूँ ।”
बेइजिङमा नेपालीहरूको संख्या एकदमै थोरै । भएका नेपालीहरू पनि बसाइ क्षेत्रदेखि धेरै टाढा । यहाँका नेपालीमा पनि ग्रिनकार्डधारीहरूको जस्तै आनीबानी देखा पर्न थालेको थियो । मेरो मूल्यांकनअनुसार उनीहरूमा एकले अर्को नेपालीसँग खुलेर नबोल्ने, मनका वह नपोख्ने, आत्मीयता नदेखाउने, केही सहयोग गरिहाल्नुपर्छ कि भनेर तर्किने स्वभाव थियो । संसारको जुनसुकै कुनामा पुगे पनि एक नेपालीले अर्को नेपालीसँग नेपालीझैं आत्मीयता देखाउन सक्यो भने पो नेपालीपन ! तथापि पहिलोपटक बेइजिङको सबवे रेल चढाउने र नेपालीसँग चिनजान गराउने उद्देश्यले एक नेपालीको घर धाएँ । फर्किंदा थाहा भयो— उनले खासै रमाइलो महसुस गरिनछन् ।
उनको दिक्दारीलाई लिएर मैले झपारें पनि, “परदेशमा आफन्तहरू कहाँ पाइन्छन् त ? भेटिएका मानिसहरूसँग मित्रता गाँस्ने, हाँसखेल गर्ने, निकटता देखाउने अनि पो आत्मीयता हुन्छ । कसैसँग नबोल्ने, गमक्क परेर बस्नेलाई कसैले भाउ दिन्छ ? यहाँ अरू देशका खैरेहरू यस्तरी मस्ती मारिरहेका हुन्छन्, सिक न उनीहरूबाट पनि ।”
उनको बेचैनीले मेरो छटपटी पनि बढाउन थाल्यो । बेइजिङको पूर्वतिर पर्ने कुलौताच्येस्थित एउटा पुरानो बस्ती, जसलाई ‘हुथोङ’ भनिन्छ, सिनोलोजी नामक भाषा स्कुल थियो । पुरानो बेइजिङको चालचलनको झल्को दिनका लागि केही क्षेत्रमा पुराना शैलीका घर र वासिन्दाहरूको प्रतिविम्ब त्यहाँ राखिन्छ । विदेशीहरू, अझ पश्चिमाहरू पनि प्राचीन चीनको अनुभव लिन त्यहाँ झुम्मिन्छन् ।
लामो समयदेखि वीच्याटमा मित्रता भएकी भाषा स्कुलकी एकजना शिक्षिका जोजोलाई व्यक्तिगत कक्षा महँगो पर्ने भएकाले समूह कक्षाका लागि अनुरोध गरें तर अहिले नै ‘बेसिक शिकारू’ विद्यार्थी थिएनन् । त्यसैले एक महिनापछि केही अमेरिकी विद्यार्थी आउने जोजोले बताइन् । थप एक–दुई महिना कुर्न पनि उनलाई हम्मे–हम्मे पर्न थाल्यो । उनले भन्न थालिन्, “मेरो नेपाल जाने टिकट काट्दिनुस्, म फर्किन्छु ।”
अब त उनका माइतीपक्षतर्फ र अरू आफन्तहरू पनि निरन्तर वीच्याटमा आउन थाले । हालचाल सोध्न थाले, “के गरेर दिन बिताउँछ्यौ ?”
विशाल जनसंख्या भएको चीनमा भाँडा माझ्ने काम पनि पाइँदैनथ्यो । त्यो पनि डिपेन्डेन्ट भिसामा आएकाले के काम पाउनू ? बच्चाहरूलाई अंग्रेजी पढाउन सकिन्थ्यो । तर, अंग्रेजी भन्नेबित्तिकै कालो वा गोरो छाला हुनुपर्ने चिनियाँहरूको मानक नै बन्न थालेको थियो । उनी निरूत्तर हुन्थिन् । त्यसमाथि चीन नउड्दै उनको मनमा हुलिएको डिप्रेसनवाला बाघ ख्यालठट्टामै आफन्तले ब्युँताइदिन थाले, झस्काइरहन थाले ।
० ० ०
हामी राष्ट्रिय आवासगृहको सातौं तलामा बसेका थियौं । तीनवटा कोठा, एउटा बैठक कक्ष, भान्छा र शौचालय । ढोकाबाट छिर्नेबित्तिकै पहिला बैठक कक्ष पथ्र्यो । पुरानो साइकल थन्क्याइएको, धूलोमैलोले छोपिएको, झ्यालका पर्दा पनि फोहरले भरिएको, टिभी, शोफा र टेबुल पनि धूलो लपक्कै टाँसिएको, माकुराको जालो लागेको, घामका किरण पनि कहिल्यै नपरेको जस्तो ठाउँ थियो । त्यहाँ कोही पनि जाँदैनथ्यो । पहिल्यैदेखि कसैलाई चासो पनि थिएन । उनी आएको एक महिनापछि जब म जागिरको नियमिततामा फर्किएँ, त्यस कोठाले पुनर्जीवन पायो । झ्यालका पर्दाहरू खोलिएछन् । शोफा, टेबुल, कुर्सीहरू प्रयोग लायक अनि टेलिभिजन बजाउन लायक भएछ । नेपाली कुनै च्यानल नआए पनि हिन्दी र केही एसियन च्यानल आउने रहेछन् । दीपाले गुमराहमा रहेको एउटा अँध्यारो ओडारमा तुरून्तै रोशनी पोखिदिइछन् ।
तीनमध्ये एउटा कोठामा नाइजेरियन, अर्कोमा मंगोलियन बस्थे । उनीहरूसँग शायदै भलाकुसारी हुन्थ्यो । भाषिक र सांस्कृतिक भिन्नताले पनि थियो शायद । बस्ने बैठक कोठाको आत्मा नै थिएन त कसरी संवाद र भेटघाट हुनू ? चिया पकाउने वा आत्मीयता बाँड्ने वातावरण वा चलन पनि थिएन । त्यति राम्रा सामग्री, उपकरण भएर पनि त्यो बैठक कोठा कसैलाई चाहिएको थिएन । बैठक कक्ष कुनै पिछडिएको विकट ठाउँजस्तै थियो ।
झ्यालमा राखिएका सिसाका फूलदानीहरू पनि माझिएर चिटिक्क भएका छन् । ओइलाउन लागेका फूलहरू पनि छाँटिएका छन् । केही पहेंलिँदै गरेका पातहरू बचेका छन् तर पनि सुनजस्तै शोभायमान । निरूद्देश्य समय कटाउन धौ–धौ परिरहेका बेला उनको ध्यान यस्ता सिर्जनात्मक कुरामा मोडिन थालेकोमा मलाई पनि सन्तोष भयो । उनले भनिन्, “यी फूलहरू मर्नै लागेका रहेछन्, मलाई फूल साह्रै मनपर्छ । हामी बजारबाट केही फूलहरू ल्याऊँ । यहाँ हुर्काऊँ न ।”
मेरो मनमा हठात् एउटा उपाय सुझ्यो । उनको ध्यान यहाँ भएका फूलदानीमै घुमिरह्यो भने अलिक दिनलाई मेरो दबाब शान्त हुनेछ । मैले भनें, “पहिला यी मर्न आँटेका फूलहरू जगाऊ अनि नयाँ–नयाँ किन्न जाउँला ।”
अब त दिनदिनै उनको मुखबाट फूलको स्याहारसुसारको गाथा गुँथिन थाल्यो । फूलमा यति पानी हालें, यति माटो हालें, छेउ–छेउमा यस्ता ढुंगा खोजेर सजाएँ, यस्तै–यस्तै । तथापि फूलहरू उनको मेहनतबमोजिम उज्यालिन सकिरहेका थिएनन् । उनी मेहनतको गाथा सुनाउँथिन् । म प्रशंसा गर्थें तर नतिजाले उनको मनोदशालाई झनै डगाउँथ्यो ।
उनी भन्थिन्, “मेरो उदास मनजस्तै यी फूलहरू पनि झन्–झन् ओइलाउन खोज्दै छन् । मेरो भागमा परेको यो लामो समय मैले कसरी कटाउन सकूँला जब यी फूलहरूसँग पनि सहयात्रा हुन सक्दैन ? मजस्तै झर्न खोजिरहेछन् यी पातहरू । कति बेसहारा थिए, बेलैमा कसैले हेरिदिएको भए यिनीहरू यस्तो विचल्लीमा त पर्ने थिएनन् । कठै विचरा ।”
समय बित्दै गयो । राति ओछ्यानमा पुगेपछि उनी फूलहरू झन्–झन् थाकेको र आफूले हरेस खाएको कुरा सुनाउँथिन् । चिन्ता नलिन सुझाएर कोल्टो फेर्थें । उनी शिरानीमुन्तिर राखिएको मोबाइल झिकेर सर्च गर्थिन्— डिप्रेसनका संकेतहरू ।
मैले पटक–पटक निराशाका पूर्वसंकेतबारेका लेख पढ्दै गरेको देख्थें । त्यो कुरा मैले थाहा पाएको छु भन्ने उनलाई हेक्का नहोस् भनेर म थाहा नपाएझैं गर्थें ।
एक साँझ अफिसमा थकित र गलित भएर फर्किएको मेरो आँखाले उनको अनुहार तुलनात्मक मलिन ठह¥यायो । पस्किएको खाना मैले नबोलीकन खुरूखुरू खाएँ । उनले चाहिँ खाएजस्तो मात्रै गरिन् । कतै जोरीपारीले केही नराम्रो बिंगा त लगाएनन् ? अथवा मैले उनलाई अप्ठ्यारो मुलुकमा खुशी राख्न नसकेको दोषारोपण त भएन ? मनमनै भुत्भुति चढिरह्यो ।
ओछ्यानमा पल्टिएर बत्ती निभाएपछि कोठामा सन्नाटा छायो । मैले आज चन्द्रग्रहण लाग्नुको कारण सोधें । उनी सुँक्क–सुँक्क गरिन् ।
“त्यो फूलदानीको अन्तिम एउटा पात पनि पहेंलै भैसक्यो । अब त्यो पनि झर्छ, जसरी ममा डिप्रेसन बढिरहेछ । तपाईंको पनि जीवन बर्बाद भयो, मलाई माफ गर्नुस् । मैले सुनेकी थिएँ, डिप्रेसनमा गएको मानिसले कुनै पनि बेला आत्महत्या गर्न सक्छ रे ! त्यसैले तपाईंको जीवनमा त्यस्तो झट्का आउनुअघि मैले पूर्वजानकारी दिएकी छु है । माफी पनि मागेकी छु, नभुल्नुहोला ।”
अप्रत्याशित शब्दहरू सुनेर मेरो मन विचलित भयो । एकैछिन स्तब्ध, एकैछिन अन्यमनस्क, एकैछिन अप्रत्याशित । मनभित्र विचारहरूको लहर चल्न थाल्यो । त्योभन्दा पनि बढी प्रश्नवाचक चिन्हहरू भरररर उठ्न थाले । कुनचाहिँ प्रश्नको उत्तर दिऊँ जस्तो लागिरह्यो । अनि कोल्टे फेरेर मनभित्र अन्तरसंवाद चलाइरहें ।
असावधानीवश फूलदानी फुटाइदिऊँ कि कुनै कहानीमा लेखिएजस्तै पातहरूमा हरियो रंग दलिदिऊँ ? वा अर्को कुनै ताजा हरियो फूल किनेर गमलामा नयाँ जीवन भरिदिऊँ ?
सुनेको त थिएँ तर प्रकृतिसँग मानिसले यसरी गहिरो साइनो गाँस्न सक्छ जस्तो लागेको थिएन । कथा, कवितामा मानव र प्रकृतिबीचको आत्मीयता त पढेको थिएँ तर आफ्नै वरिपरि यस्तो सम्भाव्यता छ भन्ने लागेको थिएन । साँच्ची फूललाई के भएको होला ? फूल किन यसरी मर्दै गएको होला ? उनीभित्र यस्तो चकमन्न कालरात्रि छाउनुमा त्यही फूलकै दोष होला र ? मैले उनलाई सान्त्वना दिने उद्देश्यले भनें, “फूल मरे पनि केही छैन । नयाँ किन्न सकिन्छ । भन, तिमीलाई यो फूलको बदलामा कस्तो फूल चाहिन्छ ? म भोलि नै बजारबाट त्यस्तै फूल किनेर ल्याइदिउँला । अहिलेचाहिँ सुत ।”
उनले भनिन्, “नयाँ फूल चाहिँदैन । मैले जुन महत्वाकांक्षा र विश्वासका साथ तनमन लगाएर यो फूलको हेरचाह गरें, अन्तर्मनदेखिको गरिएको यत्नको उपहास भएपछि दबेको विश्वास कसरी तंग्रिन सक्छ ? मलजल पाएर पनि फूलमा नयाँ पालुवाको छेकछन्द देखिएन, किन ? के म पनि फूलजस्तै डिप्रेसन हुन खोजेको हो ? मलाई कारण खोजिदिनुस् ।”
म निदाउन प्रयासस्वरूप आँखा चिम्लिन्छु । कोल्टो फेर्छु । एक्लोपनले रन्थनिन्छु । आखिर फूल मर्नुपर्ने वैज्ञानिक कारण के थियो ? पानी, मल, माटो सबथोक हुँदा पनि फूलको लेखा त्यतिमात्रै थियो त ? के समयले उनीमाथि परीक्षा लिइरहेको छ ? जाबो एउटा फूलसँग आफ्नो जीवन दाँज्ने, के उनी पनि मनोरोगी नै भएकी हुन् त ?
० ० ०
झल्याँस्स ब्युँझिँदा झ्यालबाहिर झलमल्ल घाम झरिसकेको रहेछ । उनी रातभरि रोइछन् शायद । आँखाहरू निकै गढेका थिए । अनुहार फुंग उडेको थियो । मैले उनलाई उठ्न र नयाँ आशाको सञ्चार गरेर जीवन थाल्न प्रेरित गरें । उनी भारी ज्यान बनाएर ओछ्यानबाट अलग्गिइन् । एकैछिनमा उनी चिया पनि लिएर भित्रिनेछिन् । म भने उत्तरको खोजीमा पुनः गम्न थालें ।
हामी दुवैजना गम्भीर सोचमा चिया पिइरहँदा बिहानको साढे ८ बजेको छ । चिनियाँहरूको कार्यालय समय प्रारम्भ भइसकेको छ ।
ढक् ढक् ढक् ढक्... !
ढोका खोल्नेबित्तिकै दुईजना मिस्त्री भित्रिन्छन्, भर्याङ बोकेर । कोठाको भित्री छानामा भएका उपकरण के–के खोले, हेरे, मिलाए, कसे र निस्किन खोजे । मैले चिनियाँमा जिज्ञासा राखें, “छिङ वन्, यौ शन् म वन् थी ? (कृपया, के समस्या रहेछ ?)”
एक मिस्त्रीले भन्यो, “एयर कन्डिसन चेकजाँच गरेको, केही समस्या छैन । बेलुकादेखि हिटिङ सिस्टम चालू हुन्छ, हिउँदभरि ।”
मेरो अहिलेसम्मको चिसो मुटुमा न्यानो छायो । उन्मत्त न्यानो । हत्तेरिका हिउँद ऋतु पो आएछ ! धुम्म परेको एउटा दिन अचानक खुलेजस्तै भयो । जिज्ञासु नजरले उनले आँखाका गेडी मतर्फ तेस्र्याइन् । मैले पनि उस्तै जिज्ञासा फर्काएँ, “तिमीलाई अब हेक्का भयो प्राकृतिक नियमको ?”
उनको मुहारमा मात्रै दिप्ति छाएन, हृदयमा कान्तिमात्रै थपिएन, पत्थर हटाएजस्तो मुटु हल्कामात्रै भएन— भ्रमको पर्दा घरक्क उघ्रिएजस्तो मात्रै पनि भएन ।
(सुर्खेत । हालः बेइजिङ, चीन)