_286020134.jpg)
– पुण्यसागर मरहट्टा
इटहरीबाट उकालो लागेपछि सेउती काटेर उँभो लाग्दै जाँदा बायाँ मोडिए घोपा क्याम्प जाने पुरानो बाटो हो क्यारे, सोझै जाँदा दायाँ इन्जिनियरिङ क्याम्पसको क्याम्प, चारकोशे झाडीको पुछार भन्दा पनि भयो— हो त्यहीँनेर नगरपालिकाको ढोका आउँछ । तीनकुने भन्छन् त्यसलाई । त्यो बाटो रिठ्ठो नबिराई उत्तर सोझिएर हिँड्नु कि लांघाली चोक, ट्राफिक चोक हुँदै हुँदै नेपालकै सुन्दरतम एक मझौलो शहर पुगिन्छ । शहरको नाम पत्तो लागिगो होलान्त ? धरान ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, हात्तीसार क्याम्पस, इन्जिनियरिङ क्याम्पस, महेन्द्र क्याम्पस, पिण्डेश्वर विद्यापीठ अंग–अवयवमा उनेर शैक्षिक केन्द्र बन्न सक्ने ल्याकत राख्ने धरान रमणीय त छ नै— नेवार, मारवाडी र लाहुरे समुदायको बेजोड आत्मीयता भएको जगा हो धरान । पिण्डेश्वर विद्यापीठका कारण धुरन्धर ब्राह्मण पो छैनन् कि धरानमा ? हीरालाल विश्वकर्मा हुन् कि मीन विश्वकर्मा— सबैको जन्मथलो, कर्मथलो हो धरान । दन्तकाली, पिण्डेश्वर, बूढासुब्बा, बूढी सुब्बेनी— आहा ! धरान ।
त्यही धरानमा पैंतालीसको भुइँचालोलगत्तै मेघालयतिरबाट खेदिँदै शरणागत हुन आइपुगे गुरुप्रसाद शर्मा, आफ्नो गुँडसमेत । बूढो गुरुप्रसाद, बूढी तिला, जेठी छोरी प्रगति, माइली रीति, साहिँली स्थिति र काइँलो सन्तान छोरो परिवर्तन— यी ६ जनालाई दियो नि हाउ मजैले शरण धरानले ।
गुरुप्रसादको इंग्लिस अच्छा थियो, त्यसैले छाता चोकभन्दा अलिक माथि जिरो माइल नपुग्दै एउटा काठको घर भाडामा लिए, साँझ बिहान ट्युसन पढाए, दिनको मेलो कटाउन एउटा किराना दोकान चलाए । खेदिँदा बोकेको १७ हजार कम्पनी रुपैयाँबाट जोड्दै–जोड्दै अलिक समय खोले फाँडो गर्दै–गर्दै चारै सन्तानलाई पढाई पो हाले नि बूढाले ! सर्लक्कै चारै सन्तान ग्रेजुएट भए । चारमध्ये जेठी छोरीले बीए सकेर त्यतै जुनिएर पायोनियर हो कि के हो स्कुलमा टिचरको जागिर खान शुरु गरेकी थिइन्, उँधो ब्राठन’रतिरबाट धरणीधर पण्डितले नीलकुमार कुइँकेलका जेठा छोरा निरञ्जन कुइँकेलको कुरो ल्याए । घरसल्लाह हुँदा प्रगतिले केही भन्न सकिनन् र बिहे भयो ०५९ वैशाखमा । प्रगति शर्माको नाममा ट्याग लाग्यो— कुइँकेल । प्रगति शर्मा कुइँकेल । यो कथा तिनै प्रगतिको हो ।
बुहारी बनेर प्रगति मधेस झरिन्— विराटनगर । चलनचल्तीको बोलीमा ब्राठन’र भनिए पनि विराटनगर रोडशेष चोकको पश्चिम–दक्षिण, बसपार्क पछाडि नहर नपुग्दैको एक ठीकैको घरमा बुहारी बनिन् भनेर भन्दा अझ न्यायोचित ठहर्छ । नहरपारि पिचराभन्दा डेढ किलोमिटर पश्चिम करिब सात बिघा जग्गा–जमिनको एकलौटो उत्तराधिकारी, डिग्री कलेज सकेर लोकसेवा लड्दै गरेको करिब ६ फुटे निरञ्जन र खुट्टाको पञ्जाले टेक्दा पनि उनको काँधसम्म आइपुग्ने भुरुंगी प्रगति मेनरोडतिर टहल्न जाँदा अमिताभ बच्चन–जया भादुडी आए भन्थे मान्छेहरू ।
मान्छे रिझाउन जान्ने हुन् निरञ्जन । टाठा उत्तिकै तर चम्बु भने होइनन् । केटाकेटीदेखि नै लगनशील, तीक्ष्ण बुद्धि, लक्ष्यभेदन गर्न सक्ने अठोट देखाएका हुन् उनले । बिहेकै साल काठ्मान्डू गएर लोकसेवा लेखे र ठक्कै नाम निकाली पो हाले त शाखा अधिकृतमा । हिजैजस्तो लाग्छ— प्रगतिले पाँच किलो मिठाई ल्याएकी मेन रोडको ‘आँगन स्विट्स’बाट, यही खुसियालीमा । उनी अझै सम्झिन्छिन् त्यो दिन, ससुरा बाका ती झोलिएका आँखा र त्यसमा डबाडब भरिएका खुशीका आँसु । त्यसै दिन बाले टोलैभरिका सबैलाई मिठाई बाँड्नुभो, अझ नपुग्दा छिमेकी रमेश मण्डलको आरएक्स मोटरसाइकलको पछाडि बसेर शनि मन्दिर अगाडिसम्म पुगेरधरी मिठाई ल्याउनुभएको प्रगतिलाई हिजैजस्तो लाग्छ । खुशी त यस्तो हुन्छ नि— निःस्वार्थ खुशी । न बालाई छोरोको कमाइ खानु छ न प्रगतिलाई उनको बूढोको तर आफ्नो मान्छे सफल हुँदा को दुःखी हुन्छ र त ?
त्यो खुशीको पल करिब सिन्दुरे जात्रामा परिणत भएको परिवेशमा बाले टोल छिमेकले सुन्ने गरी समाजलाई चिनाए, “यो मेरो मेधावी सेक्सन अफिसर छोरो निरञ्जन । यिनी मेरी लच्छिनकी बुहारी प्रगति ।”
दुबैले क्रमैसँग टिमिक्क कसिएको नैनसुतको सुरुवालको मोताबाट चिहाइरहेका बाका एक जोडी घुर्मैला गोडा ढोगे । बाले दुबैको टाउकामा दुबै हात राखेर भने, “कुलको इज्जत राखे ।”
यसको करिब दुई सातापछि निरञ्जनको नियुक्तिपत्र आयो, मुकाम धरान रहने गरी । विजयपुरको शीतल हावावाला धरान, देशको राजनीतिको विहंगम छलफल केन्द्र भन्दा हुने छाताचोकवाला धरान, पुस्तैनी दुकान्दारी गरेर जुग रुँघेको पुरानो बजारवाला धरान, एकसे एक फुटबल खेलाडी जन्माएको धरान । त्यही धरानको नियुक्तिपत्र बुझेर शायद निरञ्जन योभन्दा अघि यति खुशी कहिल्यै भएन । उसो त गणेशको भट्टी, ट्राफिक चोकअघिको मासुको लहरे दुकान, पुतली लाइन, पालिका बजार, भानु चोक, सिन्ड्रेला क्याफे— आम्मा हौ ! धरानको यो सबै गणना गरिबस्न धरानेहरूले मायाले एउटा घण्टाघर पनि थापेका पनि छन् कि, तर निरञ्जनलाई अलिक गर्मी हुनासाथ सररर पानी पर्ने ससुराली शहर धरान सबै कारणले सधैं आकर्षण लाग्थ्यो । उसैमाथि नियुक्ति त्यहीँको, निरञ्जन खुशीले भुइँमा न भाँडामा भएकै हुन् । घरपायक भन्दा पनि हुने, ससुराली पायक त हुँदै हो, निरञ्जनले नेपाल सरकारको सिन्दुर हाले धरान गएर । फुस्रेभन्दा अलिक तल पुरानो बजार झर्ने बाटोको मुखैजस्तोमा एकजना ब्रिटिस लाहुरेको घर थियो कि, हो त्यहीँ डेरा कसे । प्रगति त्यहीँको स्कुलमा मेम हुन थाली पो गइन् नि ।
त्यस्तै ०६० सालतिरको कुरो हो । ठूलै मान्छेको फोन आयो निरञ्जनलाई ।
“हस् हजुर !”
“भोलि हजुर ?”
“भोलि नै पो ?”
“बुद्धको ?”
“बिहानै ?”
“भैजान्छ नि हजुर ।”
एकोहोरो यति हुन् सुनेकी प्रगतिले फोनमा । निरञ्जन भोलि बिहानै काठमान्डू जाने भए । सालो परिवर्तनले विराटनगर पु¥याइदियो उसको हिरोहोन्डामा र बिहान ९ः३० को फ्लाइटमा उडे उनी काठमान्डू । उता उडेको पर्सिपल्ट फिर्के उनी विराटनगर । अनुहार मलिन–मलिन नै थियो । बाले सोधे, “भाइ (खोइ किन हो, त्यतातिर अलि हुर्केको छोरोलाई पनि भाइ पो भन्छन्), अनुहारमा त चमक गायब छ नि ? रुघा मर्की पो छ कि ?”
निरञ्जनले ‘सञ्चै छु कि बा, अलिक धपेडी चिँ हो त्यो पनि । अहिलेको राजधानी जवाइचाहिँ उति रमाइलो भएन भने’ र जुरुक्क उठेर सुत्ने कोठातिर लागे । बाले असन्तोकको हात पल्टाइ पल्टाउनुबाहेक एकबाजी ओंठ यस्सो लोप्य्रयाए— बस् ।
भोलिपल्ट बिहानै गाँस टिपेर धरान हाजिर लाउन बसपार्क हिँडेका निरञ्जनलाई जोगबनीतिरबाट आएको मारुती भ्यानले बाटो रोक्यो । शंकर चाचन रहेछन्, सोधे, “भिना, दर्शन गरें । हजुर लाग्नुभाको नि धरान ?”
जवाफ फर्काउनुअघि शंकरले नै ‘म पनि उतै हिँडेको कि भिना, इट’रीको गोर्खा डिपार्टमा हल्का काम छ, सँगै जुम्’ भनी भ्याई त हाल्यो । निरञ्जनले पनि विचार गरे, “हुन त हो, सालोको साथी, धराने बेपारीको छोरो, बसको घच्चमच्चभन्दा यही चाचनकै गाडीमा जाने पो हो कि ? फेरि काल जमाना ठीक छैन । सरकारी कर्मचारी बेपारीको गाडीमा भनेर ‘ब्लास्ट दैनिक’ले पो छाप्ने हो कि ?”
यस्तै सोच्दै थिए, शंकरले तानेझैं ग¥यो । निरञ्जन त्यही भ्यान चढेर गए धरान । बाटामा सुख–दुःखका मीठा कुराबाहेक कुनै अधर्म, कुकर्म भएन ।
इटहरीमा केही समय रोकिए पनि करिब पौने १२ मा अफिस पुगेको निरञ्जन कोठा फिर्दा साँझ पौने ६ भएको हुँदो हो । प्रगति भर्खर आएर चिया, पाउरोटी खाँदै रहिछन् । मायाले भनिन्, “ओहो बुडो, सञ्चै आउनुभो नि ? तपाईंलाई काठमान्डू फापोइन । जहिल्यै रुघा मर्की पक्डेर आउनुहुन्छ ।”
निरञ्जन करिब छाँद हालेर रोए प्रगतिको कुममा । उनी हक्क न बक्क भइन् । अलि सम्हालिएर निरञ्जनले भने, “मलाई बूढाहरूले सक्ने भए । मैले सही नगर्दा काम रोकिन्छ, मैले सही गर्दा काम त अघि बढ्छ तर मेरो इमानको यात्रा रोकिन्छ । सानो सही गरिदेऊ, तिमीलाई बढुवासहित काठ्मान्डू तानिदिन्छौं भन्न बोलाएका पो रहेछन् । के गरौं ? लु तिमी नै भन ।”
प्रगतिले स्नेहले गाला मुसारेर भनिन्, “इमानले दिँदैन ? नगर्नुस् सही । के पो गर्लान् र ! बढुवा रोक्लान्, त्यति न हो ।”
आल्हादित निरञ्जनले एक अबोध बालकझैं प्रगतिको आँखामा पुलुक्क हेरेर सन्तोषको स्मित हाँसो हाँसे । प्रगतिले स्कुटी निकालिन् । बूढाबूढी पुतली लाइनको माछाबजार गए, जलकपुर किनेर ल्याए, मजाले पीरो माछा र भात खाएर सुते ।
निरञ्जन काठमान्डूबाट फिर्केको केही समयपछि केन्द्रबाट चिठी आयो— ३५ दिनभित्र मुसिकोट मुकाममा हाजिर हुनू भनेर । प्रगतिको नौ नाडी गली पो गो नि यो सुनेर । तर, गर्नु के ? निरञ्जन जाने भए मुसिकोट, प्रगति अन्यमनस्क थिइन् । तल ब्राठ्न’र बासँग पनि, यता आफ्नै बाबासँग पनि सल्लाह गरिन् । दुबैको सल्लाह ‘धरानकै जागिर टिकाउनू’ भन्ने रह्यो । तसर्थ, उनी माइती सरिन्, निरञ्जन मुसिकोट गए । इमान नडगाउने शर्तमा प्रगतिले खुशीको चाँदीको घेरो देख्दी भइन् ।
मुसिकोटबाट चार वर्ष इकिढिकी हुन पाएनन् निरञ्जन । उता प्रगति पनि गलित भइसकेकी थिइन् । घरि फोन नलाग्ने, घरि लागेको फोन कुटाइममा परिदिने गर्दै–गर्दै बल्ल–बल्ल एकदिनको वार्तामा एक शर्तमा एउटा सानो अनिमियतता गर्ने भए निरञ्जनले । शर्त— सुगमको सरुवा, अनिमियतता ठेकेदारबाट उठाएर ५० लाख ‘बूढा’को पार्टीलाई नजराना । गरे । पहिलो यो कुकामले उनलाई निकै पछिसम्म गिजोलिरह्यो, गिज्याइरह्यो । प्रगति त झन् आफैंभित्र गुम्सिरहिन् । ऐना हेरेर आफैंलाई घुस्याहाकी स्वास्नी भनाउन कसलाई रहर हुँदो हो र !
अब पालो ठेकेदार र ‘बूढा’को थियो । हरेकपल्ट बूढालाई द्रव्य चाहिन्थ्यो, निरञ्जनको कानमा मन्त्र फुकिन्थ्यो, पर्साएझैं गरी तर्साइन्थ्यो । बलिको बोकोलाई झैं संकल्पसहित होमिन्थ्यो । प्रत्येक त्यस्ता बलिपछि निरञ्जन प्रगतिसमक्ष गिड्गिडाउँथे, “फेरि मलाई फसाए ।”
प्रगति यी सबै दुर्घटनाकी साक्षी थिइन् । यो सबै उहापोहबाट उम्किन लगालग १० वर्ष डीभीसमेत नभरेकी होइनन् । हुने त ललाटमा लेखिएकै हुने हो । त्यो डीभी उनीहरूलाई कहिल्यै परेन । यता निरञ्जन ‘बूढा’को इच्छाका खातिर जाकिइरहनु पर्ने, उता डीभी कहिल्यै नपर्ने । एकदिन प्रगतिले निरञ्जनको मुख सुँघिन्, “बुडो, बरु अस्ट्रेलिया, क्यानडातिर पो जाने हो कि पीआर गरेर ?”
‘लु न, खोजी पस’ पनि भने निरञ्जनले । उनीहरू इमान बेचेर ‘बूढा’का गुलाम हुन कत्ति तयार थिएनन् तर विडम्बना ! वनमारा झारझैं भ्रष्टाचार यति बढिसकेको थियो कि बूढालाई बुझाउने ब्रिफकेसमा नै नखाँदिने गरी ‘क्यास’ आउँथ्यो । एकदिन उनले ‘बूढा’लाई सोधे, “हजुर, क्यास त बेसरी आउन लागेको छ । सबै यतै ल्याउँदा अरूले के भन्दा हुन् ? के पो गर्ने होला ?”
बूढाले के बुझे कुन्नि, भने, “मलाई मैले भनेजति व्यवस्था गर्नू, बाँकी आफैंले व्यवस्था मिलाउनु ।”
निरञ्जन धूर्त त होइनन् तथापि जुक्ति निकाल्नै पर्ने देखियो । पीआरको चक्करले दिशा नसमाउन्जेल पैसो कसरी व्यवस्थापन गर्ने ? यही सोचमा ससुरालीतिर साला, सालीका खाता प्रयोग गर्ने निधो गरे । ‘बाबाका कानमा यस्तो कुकर्मी धनका कुरा नसुनाउनू, बाबाका मुखमा यो धन नपार्नू’ भन्ने उर्दीसहित रकम जम्मा गर्दै जाँदा रीति, स्थिति र परिवर्तन रातारात करोडपति भए । ‘बूढा’ खुशी थिए तथापि ‘मेरो नाम मुछेछौ भने सकिन्छौ’ भन्न छोड्दैनथे ।
“त्यसरी त एकदिन बेइज्जत हुन्छ बुडो, पक्डाउ खायौं भने । सबैले घुस्याहा भनिसके, भो रीतिका, स्थितिका अनि परिवर्तनका नाममा सम्पति जोड्न बन्द गर,” एक सासमा प्रगतिले भनी भ्याइन् । निरञ्जनले यो सतआग्रह एक पेग ब्लुलेभल र केही नमकिनसहित घुटुक्क निले । आक्रोशमिश्रित आँखाले प्रगतिलाई हेरे र भने, “तिमीलाई मेरो बालुवाटारसम्मको कनेक्सन थाहै होला नि ? कि छैन ?”
उनी बालुवाटारको कवच सुरक्षित मान्थे । तर, एकदिन भाटभटेनीको अख्तियार दैलोमै आइलाग्यो । ‘मैले त ‘बूढा’का खातिर यो सबै गरेको हुँ’ भने एकबाजी र अचम्मका साथ त्राण पाए । त्यसै सालको चुनावमा बूढाको पार्टी लुड्कियो र ‘बूढा’का विरोधी सरकारमा आए । फेरि अख्तियार आयो । यो बाजी अख्तियारले ‘बूढाका खातिर’को रक्षाकवच भेदन गरिदियो र निरञ्जनले पानी भन्न पाएनन् । यतिखेर समेत प्रगतिले सोधिन्, “हाम्रो जीवन नारकीय बनाउन हामी कति जिम्मेवार र कति ‘बूढा’हरू जिम्मेवार ? मेरो असल कर्तव्यपरायण लोग्नेलाई निहित स्वार्थका लागि, दलीय स्वार्थका लागि घुस्याहा बनाउने व्यवस्थाबाट उन्मुक्ति पाउने अधिकार के हामीसँग छैन ?”
उनले अठोट गरिन् र अख्तियारलाई मद्दत गर्ने उद्देश्यले मुखर भइन् । विडम्बना ! जो जुन संस्थाबाट आशा थियो, उही सेटिङबाज निस्क्यो । जो अलि खाइलाग्दो, उही जेठाजु प¥यो भनेजस्तो पो भयो ।
प्रगतिले हिम्मत हारिनन् तर उनको हातमा जित पनि परेन । सल्लाहले नै पीआर लिएर क्यानडा गइन्, शुद्ध आफ्नो कमाइ करिब १५ हजार क्यानडेली डलर बोकेर । उनलाई अझै विश्वास छ— जबजर्जस्ती पिलाइएको बिखवाला सजाय काटेर निरञ्जन उनलाई साथ दिन टोरोन्टो आउनेछन् । त्यहाँ न निरञ्जनले घूस खाएर बूढा रिझाउनुपर्ने छ न प्रगतिले ‘घुस्याहाकी स्वास्नी’ नामक कलंक फेरि–फेरि बोकिहिँड्नु पर्नेछ ।
प्रगति सुखी छिन्÷छैनिन्, उनै जानून तर खुशी छिन् त्यो त्रासद वास्तविकताबाट पाएको उन्मुक्तिमा । तर, गाउँमा जाने पहिरोले ऐंठन चैं पक्कै हुनेगर्छ, दीप श्रेष्ठको गीतमा झैं । यदाकदा हुने औडाहा शान्त पार्न भेडेटार पनि त मिस हुने भैगो नि हाउ !
(जुन ३, २०१९)